दैनिक ३३ करोड राजस्व असुलीको लक्ष्य, भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले ठप्प
काठमाडौं । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सारमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूको आकस्मिक आन्दोलनका कारण सोमबार भैरहवा भन्सारबाट राजस्व असुली हुन सकेन । जसले दैनिक करोडौंको राजस्व लक्ष्यमा गम्भीर असर पारेको छ । आन्दोलित भन्सार एजेन्टका कर्मचारीहरूले विशेष गरी भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध गरेका छन् । उक्त दफामा गरिएको व्यवस्थाअनुसार (झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको १० प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँच पास गर्नु पर्ने उल्लेख छ । भन्सार एजेन्टहरूका अनुसार यो व्यवस्था अव्यावहारिक छ । कागजात संलग्न गर्ने प्रक्रियामा सामान्य त्रुटि वा मानवीय भूल भएमा पनि लाग्ने महसुलको १० प्रतिशत जरिवाना तिर्नुपर्ने भएकाले यसले काम गर्न असहज बनाएको र अनावश्यक आर्थिक भार थोपरेको उनीहरूको तर्क छ । आन्दोलनकर्ता राजु बस्नेतले पहिला सहज रुपमा भइरहेको कामलाई पनि यो ऐनले बल्झाएको बताए । ‘काम गर्दा त्यहाँ मानवीय त्रुटि हुन सक्छ त्यसमा ठूलो जरिवाना लगाउँदा हामी बेरोजगार हुने अवस्था आउँछ । त्यो रकम व्यापारी र भन्सार एजेन्टले तिर्दैन । त्यो हामी कर्मचारीको तलबबाट काटिने हो,’ उनले भने । आन्दोलित पक्षले यसको निकास न निस्केसम्म काम नगर्ने जनाएका छन् । यस विषयमा नेपाल भन्सार एजेन्ट सङ्घले भने आधिकारीकता जनाएको छैन । सङ्घका रुपन्देही अध्यक्ष मधु पन्थीले यो भन्सार एजेन्ट सङ्घको आन्दोलन नभई एजेन्टहरूसँग काम गर्ने कर्मचारीको मात्र रहेको बताए । तर, कर्मचारीहरूको माग जायज रहेकाले अब यस विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलका अनुसार भैरहवा भन्सारले यो महिनाको लक्ष्य ८ अर्ब ५९ करोड प्राप्त गरेको छ । यस हिसाबले दैनिक ३३ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य भन्सारको छ । तर भन्सार एजेन्टको कर्मचारीको आन्दोलनका कारण भन्सार जाँच पास अवरुद्ध हुँदा सम्पूर्ण राजस्व सङ्कलन ठप्प भएको छ । भन्सार प्रशासनले हरेक मामिलामा बदनियतको अवस्था हेरेर जरिवाना लगाउने वा नलगाउने निर्णय गर्नसक्छ । तर ऐनमा कडा व्यवस्था राख्नुले भविष्यमा हुने छल्ने प्रयासलाई निरुत्साहित गर्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
आज सुदूरपश्चिम र विराटनगर आमनेसामने, जित्ने टोली सिधै फाइनल पुग्ने
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपरान्ह ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका ७ खेलमध्ये ६ र विराटनगरले भने ७ मध्ये ५ खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । आज जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।
टरिगाउँ विमानस्थलबाट असहाय यात्रुलाई भाडामा १ हजार रुपैयाँ छुट
काठमाडौं । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौंसम्मको यात्रा गर्दा ८ हजार ७७५ रुपैयाँ भाडा रहेकामा असहाय व्यक्तिलाई ७ हजार ६४५ रुपैयाँ मात्रै भाडा लिने व्यवस्था गरिएको तुलसीपुरस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार हाल टरिगाउँबाट हप्तामा ४ दिन उडान भइरहेको छ । आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान भइरहेको जनाउँदै उनले यात्रुको सङ्ख्या भने न्यून हुने गरेको छ । दैनिक ४/५ जनाभन्दा बढी यात्रु नहुने गरेको उनले बताए । कात्तिकसम्म यात्रुको सङ्ख्या हुने गरे पनि अहिले यात्रु न्यून हुने गरेका प्रमुख सुनारले उल्लेख गरे । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । विमानस्थलको धावन मार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने समस्याले यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावन मार्ग ७५० मिटरको छ । उक्त धावन मार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल विसं २०११ मा स्थापना भएको हो ।
सर्वाेच्चको आदेशपछि शाक्यले भने- न्यायको जीत भयो, देश, जनता र प्राधिकरणको हितमा काम गर्छु
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः बहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सरकारको निर्णयबाट आहत भएकामा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, ‘न्यायालयको निर्णयले राहत महसुस भएको छ ।’ उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्याए । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यका पक्षमा परमादेश जारी गरेको हो । सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।
लुम्बिनी महोत्सवमा १२ करोडको कारोबार, स्थायी संरचनाको माग
काठमाडौं । चेम्बर अफ कमर्स तथा उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ यही मङ्सिर ३ देखि सिद्धार्थनगर नगरपालिका-८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सव मङ्सिर २१ गते समापन भएको हो । महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिए । उनका अनुसार महोत्सव १ लाख २० हजार दर्शकले अवलोकन गरेका छन् । संयोजक सचिन रोक्काले आगामी दिनमा यस्ता महोत्सव सरकारले स्वामित्व लिएर आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसमा निजी क्षेत्र सहभागी हुने बताए । ‘महोत्सव सञ्चालनका लागि ठूलो रकम अस्थायी संरचना निर्माणमा खर्चिनुपर्ने बाध्यता छ । स्थायी संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भने । अध्यक्ष रोक्काले भारतीय पर्यटकको सङ्ख्या बढाउन र धेरै खर्च गर्ने वातावरण बनाउन कम्तीमा १० लाख भारु रुपैयाँ लिएर नेपालमा आउन दिनुपर्ने माग गरे ।
हितेन्द्रदेव शाक्यको पक्षमा फैशला, कुलमानलाई सर्वोच्चको धक्का
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश गरेको हो । यससँगै शाक्यलाई प्राधिकरणमै हाजिर भई कामकाज गर्ने वातावरण समेत मिलाउन भनिएको छ । जेनजी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई आयोगमा सरूवा गरी कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए । आफूलाई कार्यकारी निर्देशकबाट हटाइएपछि उनी सर्वाेच्च पुगेका थिए ।
हुण्डीमार्फत कारोबार एकजना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले हुण्डीमार्फत ५७ लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौं महानगरपालिका- १४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत बढी ५७ लाख ४७ हजार ३५० रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी सोमबार (आज) सार्वजनिक गरेको हो । पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
एनसेलको डेटा सेन्टर अवलोकन गर्दै सञ्चारमन्त्री खरेलले गरे सहयोगको प्रतिबद्धता
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डेटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् । खरेललाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरे । अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेनजी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए । उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो । मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍‍याएको योगदानको प्रशंसा गरेका छन् । उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिएका छन् । त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेनजी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसासमेत गरे । बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए । फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए । सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए । विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पुर्‍यायाउँदै एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ । नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको छ ।