काठमाडौं । चाड पर्वलाई लक्षित गरी अनलाइन स्क्याम तथा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगी नियन्त्रण गर्न साइबर ब्यूरोले विशेष सतर्कता अपनाएको छ । सार्वजनिक बिदाका समयमा हुन सक्ने ठगीका घटना तत्काल सम्बोधन गर्न ब्यूरोले भुक्तानी सेवा प्रदायक संस्थासँग सम्पर्क व्यक्ति र २४ घण्टा सक्रिय रहने इमेल विवरण मागेको छ ।
चाडपर्वका बेला अनलाइन कारोबार बढ्ने र ठगी गर्नेहरूले उपहार, छुट तथा विभिन्न आकर्षक अफरको प्रलोभन देखाएर सर्वसाधारणलाई निशाना बनाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै शंकास्पद कारोबारको पहिचान र नियन्त्रणमा जोड दिइएको हो ।
साइबर ब्यूरोले भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक संस्थाहरूलाई आर्थिक ठगीसँग सम्बन्धित कारोबारको विवरण समयमै उपलब्ध गराउन र शंकास्पद वालेट तथा कारोबार तत्काल रोक्का गर्न अनुसन्धानमा सहजीकरण गर्ने व्यवस्था मिलाउन भनेको छ ।
यसका लागि सम्बन्धित संस्थाहरूले जिम्मेवार सम्पर्क व्यक्तिको नाम, पद र मोबाइल नम्बर तथा २४ सै घण्टा अनुगमन हुने ड्युटी/अनकल इमेल ठेगाना नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा पठाउनुपर्नेछ । उक्त विवरण [email protected] मा उपलब्ध गराउन सूचनामार्फत आग्रह गरिएको छ ।
शंकास्पद कारोबारबारे तत्काल जानकारी आदानप्रदान गर्न र आवश्यक अनुसन्धान अघि बढाउन भुक्तानी सेवा प्रदायक तथा प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको राष्ट्र बैंककाे सूचनाले औंल्याएको छ ।
चाडपर्वमा नक्कली अनलाइन सपिङ साइट, सामाजिक सञ्जालमा राखिने भ्रामक विज्ञापन, फर्जी उपहार योजना, नक्कली भुक्तानी लिंक तथा ओटीपी र बैंकिङ विवरण मागेर रकम चोरी गर्ने जस्ता गतिविधिबाट जोगिन सर्वसाधारणले पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
अनलाइन कारोबार गर्दा अपरिचित लिंक नखोल्ने, ओटीपी तथा पिन नम्बर अरूलाई नदिने र शंकास्पद कारोबार देखिएमा तत्काल सम्बन्धित बैंक वा वालेट सेवा प्रदायकलाई जानकारी गराउनु आवश्यक छ ।