काठमाडौं । ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गरिने भएको छ । वन्यजन्तुको वास्तविक संख्या, प्रजनन अवस्था र उमेर संरचनाको मूल्याङ्कन गरी वैधानिक सिकारको कोटा निर्धारण गर्ने उद्देश्यले आरक्षले गणनाको तयारी गरेको हो ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै आरक्षका प्राविधिक र कर्मचारीलाई गणनामा परिचालन गर्ने तयारी गरिएको आरक्षले जनाएको छ । आरक्षभित्र रहेका सातवटै सिकार ब्लकमा नाउर र झारलको गणना गरिनेछ । त्यसका लागि टाउको गन्ने विधि अपनाइने आरक्ष कार्यालयले जनाएको छ ।
ढोरपाटनमा नाउर र झारलको संख्या प्रत्येक पाँच वर्षमा गणना गर्ने अभ्यास रहेको छ । तर, कोरोना महामारीका कारण निर्धारित समयमा हुन नसकेको पछिल्लो गणना २०७९ सालमा गरिएको थियो । उक्त गणनामा एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । यसपटकको गणनाले त्यसयताको वन्यजन्तुको अवस्था र संख्यामा आएको परिवर्तनबारे जानकारी दिने अपेक्षा गरिएको आरक्षले जनाएको छ ।
आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक रहेको आरक्षले जनाएको छ । आरक्षका अनुसार गणनाका क्रममा यी सबै क्षेत्रमा नाउर र झारलको उपस्थिति तथा संख्याको विवरण सङ्कलन गरिनेछ ।
वन्यजन्तुको अवस्थाले निर्धारण गर्छ सिकारको कोटा
ढोरपाटनमा वैधानिक सिकारको कोटा निर्धारण गर्दा वन्यजन्तुको कुल संख्या मात्र हेरिँदैन । वयस्क नाउर र झारलको संख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्थालाई समेत आधार बनाइने आरक्षले जानकारी दिएको छ । यही विवरणका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वार्षिक सिकार कोटा निर्धारण गर्दै आएको छ ।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार पछिल्ला वर्षमा वार्षिक १९ देखि २४ नाउर र १४ देखि १९ झारलसम्म सिकार गर्न अनुमति दिने गरिएको छ ।
यसपटकको गणनाबाट प्राप्त नतिजाले आगामी सिकार कोटामा परिवर्तन ल्याउन सक्ने सुवेदीले बताए । उनका अनुसार गणनाले वन्यजन्तुको संख्या मात्र नभई तिनको उमेर र लिङ्गगत संरचनाको अवस्थासमेत स्पष्ट पार्नेछ ।
गणनामा आरक्षका रेञ्जर तथा अन्य कर्मचारीसँगै भरिया र सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासीलाई पनि सहभागी गराइनेछ । स्थानीय भूगोल र वन्यजन्तुको बासस्थानबारे जानकार व्यक्तिको सहभागिताले गणनालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पहिलो सिकार याममा १० नाउर र सात झारलको अनुमति
ढोरपाटनमा प्रत्येक वर्ष दुई याममा वैधानिक सिकार सञ्चालन हुन्छ । पहिलो याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म रहने गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो सिकार यामका लागि १० नाउर र सात झारलको सिकार कोटा निर्धारण गरिएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अनुमति प्राप्त विदेशी सिकारी नेपाल आउने क्रम सुरु भएको छ ।
अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका र नर्वेलगायत देशका व्यावसायिक सिकारी ढोरपाटन पुग्ने गरेको बरालले जानकारी दिए । सिकारको अनुमति प्राप्त गरेपछि उनीहरू दुर्गम भूभागमा रहेका सिकार क्षेत्रसम्म पुगेर निर्धारित प्रक्रिया पूरा गर्दै सिकार गर्छन् ।
ढोरपाटनको भौगोलिक बनावट, हिमाली भूदृश्य र नाउर तथा झारलको उपलब्धताका कारण यो क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा वैधानिक सिकार गन्तव्यका रूपमा परिचित छ । कतिपय सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गरेको स्थानिय जुम्ले विकले बताए ।
संरक्षण र राजस्वबीचको सन्तुलन चुनौती
ढोरपाटनमा वैधानिक सिकारबाट प्राप्त राजस्व आरक्ष व्यवस्थापन तथा वन्यजन्तु संरक्षणका लागि महत्वपूर्ण स्रोत मानिन्छ । तर, सिकारको निरन्तरता वन्यजन्तुको संख्या र प्रजनन क्षमतासँग प्रत्यक्ष जोडिने भएकाले वैज्ञानिक गणना र उपयुक्त कोटा निर्धारण यसको प्रमुख आधार हुने वन विज्ञ डा. अनन्त भण्डारीले जानकारी दिए ।
नाउर र झारलको संख्या घटेको अवस्थामा सिकार कोटा पुनरावलोकन गर्नुपर्ने हुन सक्छ भने पर्याप्त संख्या र अनुकूल उमेर तथा लिङ्ग संरचना देखिएमा त्यसअनुसार व्यवस्थापनको निर्णय लिन सकिने डा भण्डारीले जानकारी दिए । डा. भण्डारीका अनुसार पाँच वर्षमा गरिने गणना सिकार अनुमति वितरणको प्रक्रियामा मात्र सीमित नभई वन्यजन्तुको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि पनि महत्वपूर्ण मानिन्छ ।
गणनाले ढोरपाटनमा नाउर र झारलको पछिल्लो अवस्था कस्तो छ भन्ने स्पष्ट पार्ने र त्यसबाट प्राप्त तथ्याङ्कले आगामी वर्षका सिकार कोटा निर्धारणसँगै आरक्षको संरक्षण रणनीति तय गर्नसमेत आधार प्रदान गर्ने भण्डारीले जानकारी दिए ।
नाउरको सिकार गर्न २३ लाखसम्म बोलकबोल
गत वैशाखको याममा नाउरको सिकारका लागि अधिकतम २३ लाख र झारलका लागि १८ लाख रुपैयाँसम्म बोलकबोल भएको थियो ।
ढोरपाटनमा विदेशी सिकारीले अनुमति प्राप्त कम्पनीमार्फत प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सिकारको अनुमति लिने गर्छन् । सिकारको कोटा निर्धारण गर्न आरक्षमा प्रत्येक पाँच वर्षमा नाउर र झारलको गणना गरिन्छ ।
सिकार पर्यटनबाट सरकारले करोडौँ रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ । वन्यजन्तुको संख्या र अवस्थाका आधारमा निश्चित कोटा निर्धारण गरी सिकार अनुमति दिने व्यवस्था रहेको आरक्षले जनाएको छ ।