काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिले केन्द्रीय सदस्यतर्फको बाँकी मतगणना सम्पन्न गरी आजै सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिएका छन् ।
सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अहिले केन्द्रीय सदस्यका विभिन्न समूहअन्तर्गत मतगणना जारी छ । खुला, महिला, प्रदेशगत तथा समावेशी समूहका उम्मेदवारको अन्तिम परिणाम आउन बाँकी छ ।
सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । उनले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए। सभापति पदमा कुल ७ हजार १३ मत खसेको थियो ।
त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन् । सहमहामन्त्रीका विभिन्न समूहको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । खुला सहमहामन्त्रीतर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यतर्फ भने उम्मेदवारको संख्या धेरै र मतपत्रको चाप ठूलो भएकाले गणना लम्बिएको छ। खुला केन्द्रीय सदस्यका ४५ पदसहित विभिन्न समूहका पदमा उम्मेदवारबीच प्रतिस्पर्धा छ। निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छुट्टाछुट्टै समूह बनाएर मतगणना अघि बढाइरहेको छ।
बाँकी समूहको गणना आजै सम्पन्न गर्ने लक्ष्य राखिएको निर्वाचन समितिले जनाएको छ। निर्धारित समयमै सबै परिणाम सार्वजनिक भए कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुंगो लाग्नेछ।
मतगणनाको अन्तिम परिणामसँगै सभापति गगनकुमार थापाको नेतृत्वमा रहने केन्द्रीय कार्यसमितिमा कुन समूहका कति नेता समेटिए भन्ने पनि स्पष्ट हुनेछ। यसले पार्टीभित्रको शक्ति सन्तुलन र नयाँ नेतृत्वको संगठनात्मक संरचनाको तस्बिरसमेत प्रस्ट पार्नेछ।