च्याटजीपीटीमाथि गम्भीर आरोप, ओपनएआईविरुद्ध अमेरिकामा मुद्दाको लहर

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान ।

काठमाडौं । अमेरिकाका आठ राज्यले च्याटजीपीटीले किशोरकिशोरीसहित आफ्ना नागरिकलाई हानि पुर्याएको आरोप लगाउँदै यसको निर्माता कम्पनी ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन् ।

डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलको प्रतिनिधित्व हुने आठ राज्यका महान्यायाधिवक्ताहरूले बुधबार देशका विभिन्न अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।

उनीहरूले च्याटजीपीटीले किशोरकिशोरीसहित आफ्ना प्रयोगकर्तालाई आफैलाई वा अरूलाई हानि पुर्याउन उक्साएको आरोप लगाएका छन् ।

मुद्दा दायर गर्ने राज्यहरूमा आयोवा, क्यान्सस र एरिजोनालगायत छन् । ती राज्यका महान्यायाधिवक्ताहरूले च्याटजीपीटीलाई प्रयोगकर्ताको विश्वास जित्न उनीहरूका कुरामा सहमति जनाउने र निरन्तर संवादमा संलग्न गराइराख्ने गरी डिजाइन गरिएको दाबी गरेका छन् ।

तर, यस किसिमको डिजाइनले प्रयोगकर्ताका भ्रमपूर्ण विश्वासलाई थप बल पुर्याउने, खतरनाक गतिविधिमा प्रोत्साहित गर्ने र सामूहिक गोलीकाण्डजस्ता हिंसात्मक घटनाको योजना बनाउनसमेत सहयोग गर्ने गरेको उनीहरूको आरोप छ ।

ओपनएआईविरुद्ध राज्य सरकारहरूले समन्वयात्मक रूपमा चालेको यो हालसम्मकै सबैभन्दा महत्त्वपूर्ण कानुनी कदम मानिएको छ । 

कम्पनीले सेयर बजारमा सूचीकृत हुने तयारी गरिरहेका बेला उसले सामना गरिरहेका कानुनी चुनौतीहरूमा यी मुद्दा थपिएका हुन् ।

यसअघि जुन महिनामा फ्लोरिडाका महान्यायाधिवक्ताले ओपनएआईविरुद्ध यस प्रकृतिको पहिलो राज्यस्तरीय मुद्दा दायर गरेका थिए ।

नयाँ मुद्दाहरूमा ओपनएआईले च्याटजीपीटीको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रामक जानकारी दिएर राज्यका उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । 

साथै कम्पनीले आफ्ना नागरिकको स्वास्थ्यलाई जोखिममा पारेर सार्वजनिक हितमा प्रतिकूल असर पुर्याएको दाबीसमेत राज्यहरूले गरेका छन् ।

मुद्दामार्फत राज्यहरूले च्याटजीपीटीको कार्यप्रणालीमा परिवर्तन गर्न ओपनएआईलाई बाध्य पार्ने अदालतको आदेश माग गरेका छन् ।

विशेषगरी, मानव मूल्य र मान्यतासँग मेल खाने सुनिश्चितता गर्न नसकेसम्म आफैलाई सुधार र विकसित गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) मोडेल विकास गर्न कम्पनीलाई रोक लगाउनुपर्ने उनीहरूको माग छ ।

मुद्दा दायर गर्ने अन्य राज्यहरूमा अर्कान्सस, आइडाहो, मोन्टाना, नेब्रास्का र वेस्ट भर्जिनिया रहेका छन् । यी राज्यहरूले कानुन उल्लंघन गरेको आरोपमा ओपनएआईमाथि आर्थिक जरिवाना लगाउन र क्षतिपूर्ति दिलाउनसमेत माग गरेका छन् ।

यस विषयमा प्रतिक्रिया माग्दा ओपनएआईका प्रवक्ताले तत्काल कुनै जवाफ दिएका छैनन् ।

ओपनएआईले यसअघि पनि व्यक्तिगत रूपमा मुद्दा दायर गर्ने दर्जनौं व्यक्तिबाट कानुनी चुनौती सामना गरिरहेको छ । ती मुद्दाहरूमा च्याटजीपीटीले प्रयोगकर्तालाई सामूहिक गोलीकाण्ड वा अन्य हिंसात्मक गतिविधिको योजना बनाउन सहयोग गरेको आरोप लगाइएको छ ।

Share News