११३९ मत गणना हुँदा अध्यक्षमा ओलीको अग्रता कायमै, अधिकांश पदाधिकारीमा ओली पक्ष हावी
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा १ हजार १३९ मत गणना हुँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् । हालसम्मको गणनाअनुसार ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् । अध्यक्ष पदमा ओलीको झण्डै तीन गुणा मतको अग्रताले महाधिवेशनको परिणाम ओली पक्षको पक्षमा जाने संकेत देखिएको छ । उपाध्यक्ष पदमा बहुपदका लागि भइरहेको प्रतिस्पर्धामा पृथ्वी सुव्वा गुरुङले सबैभन्दा धेरै ९०० मत प्राप्त गरेका छन् । विष्णु प्रसाद पौडेलले ८४६ मत ल्याउँदै बलियो उपस्थिति जनाएका छन् भने गोकर्णराज विष्टले ७१३ र रघुजी पन्तले ६१७ मत प्राप्त गरेका छन् । गुरु प्रसाद बराल (५८५), रामबहादुर थापा ‘बादल’ (४७४) र विन्दा पाण्डे (४७४) पनि प्रतिस्पर्धामा देखिएका छन् । अन्य उम्मेदवारहरूमा अरुण नेपाल (२२३), पर्शुराम मेघि गुरुङ (२३४), भीम प्रसाद आचार्य (१४३) र टंकप्रसाद कार्की (१८६) छन् । महासचिव पदमा शंकर पोख्रेलले ६१३ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् । मतान्तर अत्यन्तै कम भएकाले यो पदमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उपमहासचिव पदमा लेखराज भट्टले ७३४ मत ल्याउँदै शीर्ष स्थानमा छन् । योगेश भट्टराई (७०९) र रघुवीर महासेठ (६८९) नजिकै पछ्याइरहेका छन् । विष्णुप्रसाद रिमालले ५४० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूमा आनन्द प्रसाद पोख्रेल (३३४), वैजनाथ चौधरी (२७१) र राजेन्द्र प्रसाद गौतम (१४०) रहेका छन् । सचिव पदतर्फ पद्मा कुमारी अर्यालले ७७८ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । महेश बस्नेतले ७८३ र शेरधन राईले ७६७ मत पाउँदै कडा प्रतिस्पर्धा देखिएको छ । खगराज अधिकारी (६८०), यमलाल कँडेल (६२६), भानुभक्त ढकाल (५५२), गोकुलप्रसाद बास्कोटा (५२८) लगायतका उम्मेदवारहरू पनि अग्रपंक्तिमा छन् । अन्य उम्मेदवारहरूले २०० देखि ४६० मतसम्म प्राप्त गरेका छन् ।
एनभीडीयाको एकाधिकारलाई चुनौती, चिनियाँ एआई चिप कम्पनीहरूको उदय
काठमाडौं । बुधबार शाङ्घाइ बजारमा चिप निर्माता मेटाएक्स इन्टीग्रेटेड सर्किट्सको सेयर सूचीकृत हुनेबित्तिकै ७०० प्रतिशतले उक्लिँदा डेजा भू (पहिले देखिएको) अनुभूति भयो । यसअघि दुई हप्ता अगाडि मात्रै मुर थ्रेड्सका सेयरहरू पहिलो दिनमै ४०० प्रतिशतभन्दा बढी उछाल आएको थियो । यी दुवै चीनका पछिल्ला कृत्रिम बौद्धिकता (एआई) चिप कम्पनीहरू हुन्, जसमा देशका लगानीकर्ताहरूले ठूलो मात्रामा लगानी गरिरहेका छन् । अमेरिकाको निर्यात नियन्त्रणबीच आफ्नै सेमिकन्डक्टर विकास गर्ने र एनभीडीयाको प्रभुत्वलाई चुनौती दिने चीनको दौड तीव्र बन्दै गएको छ । यी दुवै कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गरिरहेका छन्, जुन एनभीडीयाले उत्पादन गर्ने र उन्नत एआईका लागि प्रयोग हुने चिप हो । म्याकक्युरीका इक्विटी विश्लेषक यूजिन सियाओका अनुसार अमेरिकासँगको तनाव जारी रहँदा चीनले आत्मनिर्भर सेमिकन्डक्टर इकोसिस्टम निर्माण गर्ने विश्वाससहित चिनियाँ एआई–चिप आईपीओप्रति लगानीकर्ताको उत्साह देखिएको हो । वाशिङ्टनले एनभीडीयाका सबैभन्दा उन्नत सेमिकन्डक्टर चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही एनभीडीया चिपमा निर्यात नियन्त्रण खुकुलो पारे पनि फाइनान्सियल टाइम्सका अनुसार यस महिनाको सुरुमा चीनका नियामकहरूले एआई दौडमा विदेशी प्रविधिमा निर्भरता घटाउने उद्देश्यले कम्पनीका प्रोसेसरमा पहुँच सीमित गर्ने योजना बनाइरहेका थिए । हालसम्म हुवावे, अलिबाबा र बाइडुजस्ता प्रविधि दिग्गजहरू समेत समेटिएका चीनका कुनै पनि एआई चिप निर्माताले एनभीडीयाका सबैभन्दा उन्नत प्रोसेसरसरह क्षमतायुक्त चिप विकास गर्न सकेका छैनन् । यद्यपि उपकरणजस्ता केही आपूर्ति शृंखलाका क्षेत्रमा निर्यात नियन्त्रणले चुनौती कायम राखे पनि मेमोरीजस्ता क्षेत्रमा चीनले उल्लेखनीय प्रगति गरेको छ । यहाँ चीनका एआई चिप क्षेत्रमा एनभीडीयाका प्रतिस्पर्धीहरूको अवस्था प्रस्तुत गरिएको छ । हुवावे निजी स्वामित्वको प्रविधि दिग्गज हुवावेले असेन्ड सिरिजका चिपहरू विकास गरिरहेको छ । यसको आगामी पुस्ताको मोडेल असेन्ड ९५० सन् २०२६ मा सार्वजनिक हुने तयारीमा छ । नयाँ प्रणाली घोषणा हुँदा एनभीडीयाले प्रतिस्पर्धा सुरु भइसकेको भनेको थियो । पहिलेका असेन्ड मोडेलहरू चिप–टु–चिप आधारमा एनभीडीयासँग प्रतिस्पर्धी मानिएका थिएनन् । तर हुवावेले धेरै प्रोसेसरहरू आपसमा जोडेर उच्च कार्यक्षमताका क्लस्टर निर्माण गर्दै एनभीडीयाका अत्याधुनिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सफल भएको छ । काउन्टरपोइन्ट रिसर्चका सहनिर्देशक ब्राडी वाङका अनुसार ‘यो रणनीतिले उच्च–गति, सम्भवतः अप्टिकल इन्टरकनेक्ट प्रयोग गरेर ठूला क्लस्टरभर डाटा छिटो सार्न सहयोग गर्छ । जसका लागि अत्याधुनिक चिप आवश्यक पर्दैन र यो चीनका हालका क्षमतासँग मेल खान्छ ।’ बाइडू चीनको सबैभन्दा ठूलो खोज प्लेटफर्म बाइडूले एआईमा लगानी बढाउँदै आएको छ र चिप डिजाइनर कुनलुनसिङमा बहुमत स्वामित्व राख्छ । नोभेम्बरमा कम्पनीले कुनलुनएआई चिपका लागि पाँचवर्षे रोडम्याप सार्वजनिक गर्दै २०२६ र २०२७ मा नयाँ प्रोसेसर ल्याउने योजना घोषणा गरेको थियो । नासडकमा सूचीकृत बाइडूले आफ्ना डाटा सेन्टरमा स्वदेशी चिप र एनभीडीयाका उत्पादन दुवै प्रयोग गरेर आफ्नै एआई मोडेल सञ्चालन गर्छ । कम्पनीले चिप, सर्भर, डाटा सेन्टरदेखि एआई मोडेल र एप्लिकेसनसम्म उत्पादन गर्ने फुल–स्ट्याक प्रदायकको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । डोयचे बैंका विश्लेषकहरूका अनुसार, ‘कुनलुनसिङ ठूला भाषा मोडेल प्रशिक्षण र इन्फरेन्स, क्लाउड कम्प्युटिङ, टेलिकम तथा उद्यमीय कार्यभारका लागि उच्च कार्यक्षमताका घरेलु एआई चिप विकासकर्ताका रूपमा उदाएको छ ।’ जेपीमोर्गनले पनि यसको एआई चिपलाई चिनियाँ हाइपरस्केलरहरूले स्थानीय समाधान प्रदायकबाट चिप खरिद बढाउँदै जाँदा ‘सबैभन्दा राम्रो स्थितिमा रहेका’ मध्ये एक मानेको छ । अलिबाबा स्थानीय रूपमा ठूला क्लाउड प्रदायकमध्ये एक अलबाबाले सन् २०१० को अन्त्यतिर एआई चिप विकास सुरु गरेको थियो । सीएनबीसीका अनुसार कम्पनीले अगस्टमा प्रशिक्षणभन्दा इन्फरेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको नयाँ एआई चिप विकास गरिरहेको थियो। सेप्टेम्बरमा अलिबाबाका सेयरहरू बढेका थिए, जब कम्पनीले आफ्ना एआई चिपका लागि ठूलो ग्राहक सुरक्षित गरेको समाचार आयो । मर्निङस्टारकी विश्लेषक चेल्सी ट्यामका अनुसार स्व–विकसित चिपको सुधारिएको प्रदर्शन अलिबाबाको क्लाउड डिभिजनको आम्दानी वृद्धि सहयोग गर्ने प्रमुख कारणमध्ये एक हो । कामब्रिकन एआई प्रशिक्षण र इन्फरेन्सका लागि चिप विकास गर्ने कामब्रिकनले २०२५ को पहिलो छ महिनामा रेकर्ड नाफा कमाएको छ । सन् २०१६ मा स्थापना भएको यस कम्पनीको आम्दानी वार्षिक आधारमा ४ हजार प्रतिशतभन्दा बढीले बढेर २.८८ अर्ब युआन पुगेको छ भने खुद नाफा १.०४ अर्ब युआन पुगेको छ । एबरडीन समूहका लगानी निर्देशक जेमी मिल्स ओ’ब्रायनका अनुसार कामब्रिकन चीनको एआई एक्सेलेरेटर बजारमा सबैभन्दा सम्भावित विजेता हो, जुन चिप पहुँचको दृष्टिले अमेरिकी बजारको तुलनामा अझै प्रारम्भिक चरणमै छ । उनले आगामी १–२ वर्षमा उत्पादन परिपक्वता, ग्राहक स्वीकृति र इकोसिस्टम निर्माणजस्ता चुनौतीहरू क्रमशः समाधान हुँदै जाने र कामब्रिकनलाई चीनमा एनभीडीयाका डाउनग्रेडेड चिपहरूको ‘निकै राम्रो’ विकल्प बनाउने अपेक्षा व्यक्त गरे । अन्य एआई चिप कम्पनीहरू मेटाएक्सले बुधबारको आईपीओमार्फत करिब ६० करोड डलर उठाएको छ । यो कम्पनी पूर्व एएमडी कार्यकारी चेन वेइलियाङले स्थापना गरेका हुन् । सन् २०२० मा एनभीडीयाको चिनियाँ शाखाका पूर्व महाप्रबन्धकले स्थापना गरेको मुर थ्रेड्सलाई कहिलेकाहीँ चीनको एनभीडीया भनेर पनि चिनिन्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार कम्पनीले यस हप्ता बेइजिङमा हुने डेभलपर सम्मेलनमा आफ्नो पछिल्लो जीपीयू आर्किटेक्चर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओबाट प्राप्त रकम स्व–विकसित एआई प्रशिक्षण र इन्फरेन्स जीपीयू चिप उत्पादनसहित मुख्य अनुसन्धान तथा विकास कार्यलाई तीव्र बनाउन आवश्यक रहेको बताएको छ । इनफ्लेम सन् २०१८ मा पूर्व एएमडी कर्मचारीहरूले स्थापना गरेका हुन् र एआई प्रशिक्षणमा केन्द्रित डाटा सेन्टर चिप डिजाइन गर्छ । सन् २०१९ मा स्थापना भएको बिरेन टेक्नोलोजीले उच्च कार्यक्षमताका जीपीयू डिजाइन गरिरहेको छ । चिनियाँ नियामकले मंगलबार कम्पनीलाई आईपीओका लागि स्वीकृति दिएको छ ।
यी हुन् महाधिवेशनमा मत नहाल्ने महाधिवेशन प्रतिनिधिहरू
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केन्द्रीय कमिटी, विभिन्न आयोग, विभाग तथा महाधिवेशन प्रतिनिधिसहित ३६ जना मतदानमा उपस्थित नभएको बुझिएको छ । निर्वाचन समितिका अनुसार केन्द्रीय कमिटीका ६ जना सदस्य मतदानमा अनुपस्थित रहे । मतदानमा नआउने केन्द्रीय सदस्यहरूमा मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिवहादुर राजवंशी छन् । त्यस्तै, अनुशासन आयोगका ४ जना पनि मतदान प्रक्रियामा सहभागी भएनन् । आयोग सदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल ९सुशील० मतदानमा अनुपस्थित रहेका छन् । प्रदीप प्याकुरेल भने मतदानस्थलमा उपस्थित भए पनि मतदाता कार्ड नभएकाले मतदान गर्न नपाएको जनाइएको छ । निर्वाचन आयोगका २ जना सदस्य समीर नेपाल र रचना राजोपाध्याय पनि मतदानमा सहभागी भएनन् । साथै लेखा आयोगका अशोक केसी मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, विभागतर्फका २ जना घनश्याम कोइराला र संजीव रोकाहा पनि मतदानमा उपस्थित भएनन् । महाधिवेशन प्रतिनिधितर्फबाट भने २० जनाले मतदान नगरेको विवरण सार्वजनिक भएको छ । मतदानमा अनुपस्थित रहने प्रतिनिधिहरूमा झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्र प्रसाद यादव, अशु आनन्द र मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरीसहित दानबहादुर विक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मीना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली छन् । निर्वाचन समितिका अनुसार अनुपस्थित सदस्य तथा प्रतिनिधिको कारणबारे विस्तृत विवरण संकलन भइरहेको छ । मतदान प्रक्रिया भने निर्धारित कार्यतालिका अनुसार नै अगाडि बढिरहेको आयोगले जनाएको छ ।
सुनको मूल्य २ लाख ६० हजार नाघ्यो, चाँदीमा लगातार दोस्रो दिन रेकर्ड
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले वृद्धि हो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार भने सुनले हालसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन अझै पनि ऐतिहासिक उच्चकै सूचीमा छ । यस्तै, चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । लगातार दुई दिनदेखि चाँदीले नयाँ मूल्य रेकर्ड बनाउँदै गएको छ भने सुन पनि उच्च विन्दुको वरिपरि कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण मूल्यमा उतार-चढाव जारी रहने अनुमान गरिएको छ ।
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै अग्रता कायमै गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन् । सार्वजनिक मतपरिणामअनुसार ओलीको मतान्तर उल्लेख्य देखिएको छ, जसले पार्टी नेतृत्वमा उनको पकड पुनः पुष्टि गरेको छ । बाँकी औपचारिक प्रक्रिया पूरा भएसँगै अन्तिम नतिजा घोषणा हुने निर्वाचन समितिले जनाएको छ ।
झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा ३ जना पक्राउ
काठमाडौं । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौं तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ परेकाहरु माथि नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए ।
लामिछाने र जोशीको धरौटी मागसम्बन्धी मुद्दामा आज पेसी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित दिएको निवेदनमा बिहीबार (आज) पेसी तोकिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा साप्ताहिक पेसीअन्तर्गत आज सम्बन्धित अदालतमा पेश हुन लागेको हो । यसअघि दुवै पक्षका कानुन व्यवसायीले थुनामुक्त भएर मुद्दा लड्न पाउने संवैधानिक र कानुनी अधिकार रहेको दाबी गर्दै धरौटीमा छाड्न माग गरेका थिए । अभियोगअनुसार सुप्रिम सहकारीको रकम अपचलन र त्यसमा संगठित रूपमा संलग्न भएको आरोप लगाउँदै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । मुद्दाको अनुसन्धान र सुनुवाइ जारी रहेकाले आजको पेसीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । अदालतले आज हुने सुनुवाइपछि धरौटीमा छाड्ने वा थुनामै राखेर मुद्दा अघि बढाउने विषयमा निर्णय लिन सक्ने बताइएको छ । यस मुद्दाले राजनीतिक र कानुनी क्षेत्रमै व्यापक चासो पैदा गरेको छ ।
एमाले महाधिवेशन: अध्यक्षमा ओलीको अग्रता, कसले कति मत ल्याए ?
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । विद्युतीय मतदान प्रणालीमार्फत भएको मतगणनाको प्रारम्भिक विवरणअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा प्रतिस्पर्धी उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गरेका छन् । अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले १५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत पाएका छन् । उपाध्यक्ष पदमा बहुप्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार विष्णु प्रसाद पौडेलले १७३ मत, पृथ्वीसुव्वा गुरुङले १७१ मत, रामबहादुर थापा ‘बादल’ले १५३ मत, गोकर्णराज विष्टले १३३ मत तथा रघुजी पन्तले १२३ मत प्राप्त गरेका छन् । गुरु प्रसाद बरालले १०९, विन्दा पाण्डेले ९८, पर्शुराम मेघी गुरुङले ४७, टंक प्रसाद कार्कीले ४३, अरुण नेपालले ३८ र भीम प्रसाद आचार्यले २७ मत पाएका छन् । महासचिव पदतर्फ शंकर पोखरेलले ११५ मत प्राप्त गर्दा सुरेन्द्र प्रसाद पाण्डेले १०८ मत पाएका छन्, जसले प्रतिस्पर्धा निकै नजिक रहेको संकेत गरेको छ । उपमहासचिव पदमा लेखराज भट्टले १४७ मतसहित अग्रता बनाएका छन् । उनीपछि योगेश भट्टराईले १४०, रघुवीर महासेठले १२६, विष्णु प्रसाद रिमालले १०५, आनन्द प्रसाद पोखरेलले ७१, वैजनाथ चौधरीले ५४ र राजेन्द्र प्रसाद गौतमले २६ मत प्राप्त गरेका छन् । सचिव पदतर्फ पनि प्रतिस्पर्धा कडा देखिएको छ । पद्मा कुमारी अर्यालले १५२ मत, महेश बस्नेतले १५०, छविलाल विश्वकर्माले १४५, शेरधन राईले १४१, हिक्मत कुमार कार्कीले १३८ र खगराज अधिकारीले १३२ मत प्राप्त गरेका छन् । यस्तै, राजन भट्टराईले ११३, भानुभक्त ढकालले १०७, गोकुल प्रसाद बास्कोटाले १०४, कर्णबहादुर थापा र ठाकुर प्रसाद गैरेले समान ९३ मत पाएका छन् । अन्य उम्मेदवारहरूको मतसंख्या ४१ देखि ८३ को बीचमा रहेको छ । निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक परिणाम हो र बाँकी मतगणना तथा औपचारिक घोषणा प्रक्रिया जारी रहेको छ । अन्तिम नतिजा सार्वजनिक भएपछि एमालेको नयाँ नेतृत्व संरचना स्पष्ट हुने आयोगले जनाएको छ ।