अग्रवाल सेवा केन्द्रले बाढीपीडितको राहतका लागि दियो ४१ लाख

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।

अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले सदस्यहरूको तर्फबाट उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सेवा केन्द्रले बाढी प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको जनाएको छ ।

यस अवसरमा अध्यक्ष अग्रवालले अग्रवाल युवा मञ्चमार्फत थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने योजना रहेको जानकारी पनि अर्थमन्त्री वाग्लेलाई गराएका थिए ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेका बेला अग्रवाल सेवा केन्द्रको सहयोगले प्रभावित परिवारलाई राहत पुर्याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News