भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार
भारत, २० साउन । भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानमा अन्य यात्रु भने थिएनन् । आईएएफले विमान दुर्घटनाबारे जानकारी लिन लगाएको भए पनि दुर्घटनाको पुष्टि गरिसकेको छैन । एक महिनाअघि पनि भारतीय वायुसेनाको एएन–३२ ले २९ सैनिक लिएर तामिलनाडूबाट उडिरहेको बेला दुर्घटनाग्रसत भएको थियो । रासस/सिन्ह्वा
प्राइम कमर्सियल बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं, २१ साउन । वल्ड्र कन्फिडिरेशन अफ बिजनेसले प्राइम कमर्सियल बैकलाई “द बिज २०१६”, बिनजेश एक्सिलेन्स् अवार्ड प्रदान गरेको छ । अमेरिका स्थित ह्यूस्टन, टेक्सासमा आयोजित एक समारोहबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई बिनजेश एक्सिलेन्स् अवार्ड २०१६ प्रदान गरिएको हो । बिज अवार्ड उद्योग र व्यापार क्षेत्रमा प्रदान गरिने संसारको सबैभन्दा महत्वपूर्ण मध्येको एक हो । २००४ मा वल्ड्र कन्फडरेशन अफ बिजनेशले “द बिज अवार्ड” स्थापना गरी विश्व व्यापार, स्थानीय समुदायको उत्थान र विकास, स्थानीय अर्थतन्त्रको वृद्धि र विश्व अर्थ व्यवस्थामा पु¥याएको योगदानलाई ध्यानमा राखी विभिन्न क्षेत्रका संघ संस्था तथा अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सो समारोहमा यस बैंकका संचालक समितिका सदस्य श्यामबहादुर श्रेष्ठ , उत्तमनारायण श्रेष्ठ , उदयमोहन श्रेष्ठ र दिनेश श्रेष्ठको समेत उपस्थित थियो ।
सजिलो छैन खिचडी विधेयक चलाउन अर्थमन्त्री महरालाई
काठमाडौं, २१ साउन । ‘विधेयकको अन्तरवस्तु करको प्रगतिशिल दायरा भित्र छैनन् । बजेटलाई समाजवाद उन्मुख भनिएको छ तर करको दायरा समाजवादी नभएर एकाधिकार पुँजीवादी र समाजवाद बीचको खिचडी जस्तो छ । बजेटले अघि सारेको करले नेपाली जनतालाई फाइदा पुर्याउँदैन् । करको चुहावट यति धेरै छ कि त्यसलाई रोक्न सकिए मुलुक आन्तरिक तथा विदेशी ऋणमा डुब्नै पर्दैन् । मुलुक ऋणमुक्त बन्न सक्छ तर बजेटले करको दर र दायरा बढाउन जोड दिएकै छैन । कर उठाउने राम्रो र सक्षम मेकानिजम् बनाउनेतर्फ पनि यी बिधेयकहरु लक्षित छैनन् । त्यस कारण यि विधेकयहरुको औचित्य छैन् । र, हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउन चाहान्छु ।’ उल्लेखित भनाई सभासद कृष्ण बहादुर महराले साउन ७ गते माओवादी केन्द्रको तर्फबाट संसदमा व्यक्त हुन् । उनले केपी ओली सरकारले ल्याएको बजेटमा आश्रित विधेकहरुमाथीको छलफलका क्रम उठाएको प्रश्न हुन् । तिनै महरा अहिले अर्थमन्त्री बनेका छन् । अब प्रश्न उठ्छ, हिजो त्यसरी कामै नलाग्ने खिचडी भनिएको बजेट आश्रित विधयकहरुलाई के गरिन्छ ? अर्थविद चन्द्रमणि अधिकारीका अनुसार ओली सरकारले नै ल्याएको बजेट आश्रित विधयकमा थोरै संसोधन गरेर पुनः व्यवस्थापिका संसदमा पेश गर्ने विकल्प मात्रै नयाँ सरकारसँग छ । त्यसमा पनि कुल बिनियोजीत बजेटमा रकम घटबढ गराउन मिल्ने अवस्था देखिन्न । किनकी विनियोजन बिधेयक पारित भैसकेको छ । त्यतिबेला आफैंले खिचडी बजेट भनेर गाली गरेको बजेटलाई महराले कसरी ‘राम्रो बजेट छ, पास गर्नु पर्यो’ भनेर संसदमा बोल्छन त्यो दृश्य हेर्न लायक नै हुनेछ ।
एनसेलद्धारा डाटा र भ्वाइसको रोमिङ्ग शुल्कमा व्यापक कटौती
काठमाडौं, २१ साउन । एनसेलले आफु एक्जियटा गुर्प बर्हाद अन्तर्गत आए पछि उक्त ग्रुपको नेटवर्क भित्र पर्ने देशहरुमा रोमिङ् योजना मार्फत रोमिङ्गको शुल्क घटाई सकेको छ । रोमिङ शुल्क घटाइएका देशहरुमा ग्रुपको नेटवर्क अन्तर्गत पर्ने मलेसिया, श्रीलंका, बाङ्लादेश र क्याम्बोडिया रहेका छन् । केही समय अगाडी एनसेलले यस गुर्प नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुको सहजतालाई विशेष प्याकपनि सार्वजनिक गरेको छ । तिनको सुविधा तथा सहजतालाई दृष्टिगत गर्दै कम्पनीले आकर्षक दैनिक अनलिमिटेड डाटा रोमिङ् प्याक सार्वजनिक गरेको थियो । यस योजना अन्र्तगत कम्पनीका उपभोक्ताले कर सहित जम्मा १ हजार ५ सय रुपैयाँमा प्याक खरिद गरी भ्रमणको समयमा दैनिक अनलिमिटेक डाटा सेवा उपयोग गरी फाइदा लिन सक्छन् । कम्पनी अहिले रोमिङ शुल्कमा कटौती ल्याउनका लागि छलफलको क्रममा रहेको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताएका छन् । तीन हप्ता पहिले आईडियासँग यस बारेमा छलफलका लागि कम्पनीको एक समुह पुगेको थियो । छलफललाई नतिजाको अझ नजिक लाने सोचका साथ सो समुह पूणः छलफलका लागि जाने तयारीमा रहेको उनले बताए । “भारत र मलेसिया जस्ता देशहरुका लागि अहिले जे जति भएको छ त्यो भन्दापनि बढि गर्न चाहन्छौं,” उनले भने “हाम्रा ग्राहकहरुले एनसेलको सिम बोकेर ती देशहरु जाउन् र लोकल कल झैं सुलभ दरमा नेपालमा कल गर्न पाउन् भन्ने हाम्रो चाहना हो ।” ठूलो संख्यामा नेपालीहरु विषेशगरी वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका छन् । अहिले मलेसिया भ्रमणमा रहेका बेलामा एनसेलका ग्राहकले रु १५ प्रति मिनेटमा रोमिङ्गको योजना अन्र्तगत नेपालमा कल गर्न वा आगमन कल उठाउन सक्छन् । त्यसै गरी एसएमएस प्रेशित गर्दा प्रति सन्देश रु १५ पर्छ । आगमन एसएमएस सुविधा भने निःशुल्क रहेको छ । ईण्डिया रोमिङ्गको योजना अन्र्तगत अहिले ग्राहकले त्यहाँ रहेको बेलामा रु २५ प्रति मिनेटमा नेपालमा फोन गर्न सक्छन् र प्रति एसएमएसको १० रुपैयाँ पर्छ । पर्किन्स देश बाहिर बस्ने सम्पुर्ण नेपालीहरुका लागि योजनाहरु हुनु पर्ने पक्षमा रहेका देखिन्छन् । मध्यपुर्व, कतार, कुवेत अनि साउदी अरेविया जस्ता देशमा पनि थुप्रै नेपालीहरु रहेका छन् । एनसेलको एक टोली केही अगाडी कतार गएको थियो र त्यहाँका सेवा प्रदायकहरुसँग भेटेर कसरी त्यहाँ रहेका नेपालीहरुलाई सस्तोमा नेपालमा कुरा गर्न सकिने अवस्थाको सिर्जना गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । पर्किन्सका अनुसार एनसेलको योजना, कतारको सेवाप्रदायकहरुले के भन्छन् त्यसमा निर्भर रहने छ । एनसेलले रोमिङ्ग शुल्कका साथै यहाँबाट बाहिर जाने कलको शुल्कपनि घटाउने जनाएको छ । यसै अनुरुप एनलेसले गत हप्ता भारतकालागि ‘ईण्डिया कलिङ्ग’ योजना ल्याएको थियो । यो योजनाअनुसार ग्राहकले कर बाहेक प्रतिमिनेट जम्मा रु १ रुपैया ९९ पैसामा भारतको कुनै पनि नम्बरमा कल गर्न सक्छन् । “विदेशबाट आउने कलमात्र होईन यहाँबाट उता रहेका आफ्ना परिवार र आफन्तहरुसँग सस्तोमा कल गर्न सक्ने वातावरण बनाउनु हाम्रो उदेश्य हो ” पर्किन्सले भने ।
एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले १४०१६७ क्रमाङ्कका परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी २०७२ सालको परीक्षासम्म दुई वर्षका लागि निष्काशन गरिएको छ । रासस
३० करोड रुपैयाँको लागतमा नयाँ भवन बनाउँदै महानगरपालिका
काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिका (कामपा)ले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी दुईवटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति प¥याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको कामपाको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । सात रोपनी जग्गामा बन्न लागेको उक्त भवनको छिटै शिलान्यास हुने प्रवक्ता कार्कीले जानकारी दिए। नौ रिक्टर स्केलसम्मको भूकम्प धान्नसक्ने ती भवनको नक्साङ्कन समेत तयार गरिसकेको छ । भूकम्पपछि आफ्नो कार्यालय जेडिए कम्प्लेक्समा सञ्चालन गर्दै आएको कामपाले मासिक करिब दश १० लाख रुपैयाँ भाडा तिर्दै आएको छ । टेकुस्थित नगर प्रहरी ब्यारेकनजिकै निर्माण गर्न लागिको उक्त भवनको लागि ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान कामपाले गरेको छ । अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी कामअघि बढाइने बताइएको छ । गोरखा भूकम्पले क्षति पु¥याएको बाघदरबारको भवनलाई पुरातत्व विभागले मर्मतसम्भार गरेर सञ्चालन गर्न अनुमति दिएकाले सोहीअनुरुप सञ्चालन गर्ने तयारी कामपाको छ । रासस
शाहस उर्जामा ११ बैंकको सहवित्तियकरण, ८६ मेगावटको आयोजनामा ८ अर्व लगानी
काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकको ‘कन्सोर्टिएम लिड’ मा जलविद्युत लगानी तथा विकास कम्पनीसहित १० बैंकले सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनामा ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । शाहस उर्जा र बैंकबीच आयोजना निर्माणका वित्तीय लगानी गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोही दिन जलविद्युत विकास कम्पनी, ९ बाणिज्य र १ विकास बैंकले आयोजनामा लगानी गर्ने सम्झौता भएको हो । कृषि विकास, राष्ट्रिय बाणिज्य, सानिमा, सेन्चुरी, एनसीसी, प्रभु, सिभिल, सनराइज र एनएमबी बैंकले इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा आयोजनामा लगानी गर्ने भएका हुन् । आयोजनामा एनआईडिसी डेभलपमेन्ट बैंकले पनि लगानी गर्ने भएको छ । कम्पनीका अनुसार सबैभन्दा बढी लिडर इन्भेष्टमेन्ट बैंक एक्लैले डेढ अर्ब रुपैयाँ लगानी गर्नेछ । त्यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनीले १ अर्ब र बाँकी रकम अन्य बैंकहरुले लगानी गर्नेछन् । आयोजनाको कूल लागत ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । बैंक ऋणबाट नपुगेको रकम प्रवर्द्धकहरुले लगानी गर्नेछन् । सोलु र दुधकोशी नदीको संगममा बन्न लागेको परियोजनाबाट उत्पादित विद्युत खरीदका लागि गत बर्षनै नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाबाट उत्पादित विजुलीे प्रतियुनिट बर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा पाउनेछ । परियोजनाबाट उत्पादित बिद्युत लामाने स्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेसनमा जडान गरि सोलु करिडोर प्रशारणलाईमा जोडिने कम्पनीले जनाएको छ । प्रशारण लाईन नेपाल बिद्युत प्राधिकरणले निर्माण गर्नेछ ।
केपी ओली सरकारद्धारा सिफारिस १४ राजदुतको नाम फिर्ता
काठमाडौं, २१ साउन । सरकारले अघिल्लो सरकारद्धारा फितारिस १४ जना राजदुतको नाम फिर्ता गरेको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दलिया कोटामा सिफारिस गरेका १४ राजदुतहरुको नाम प्रचण्ड सरकारले फिर्ता लिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषदको दोश्रो बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरुको सुनुवाई शुरु भइसकेको थियो । नाम फिर्ता गरिएका प्रस्तावित राजदुतहरुमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा।खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा।शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् । त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । राप्रपा नेपालको कोटामा सिफारिस गरिएका निरन्जन थापा र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ । त्यसबाहेक खगेन्द्र बस्न्यात र शर्मिला पराजुली ढकालको नाम फिर्ता भएको छ ।