विकासन्युज

कार्तिकभित्र जीएपी मोडेलमा नजाने औषधि उद्योग खारेज गरिने, १३ उद्योगले जीएमपी लिन बाँकी

काडमाडौं, २२ साउन । कार्तिक भित्र देशभरिका सबै औषधि उद्योग जीएमपी (असल उत्पादन प्रणाली) मोडलमा जानु पर्ने भएको छ । नयाँ निर्देशिका मार्फत औषधि उत्पादनलाई व्यवस्थित गर्न विभागले सो अवधिभित्र उद्योगीहरू जीएमपीमा जानैपर्ने वाध्यकारी व्यवस्था गरेको हो । कात्तिकसम्म पनि जीएमपी नजाने उद्योगलाई बन्द गरिने विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए । ‘हामीले आगामी कात्तिकभित्र सबै औषधि उद्योगलाई जीएमपी मोडलमा लैजाने गरी तयारी थालेका छौं,’ उनले भने । विभागले विगत लामो समयदेखि उद्योगलाई जीएमपी मोडलमा जान समय सीमा तोक्दै आएको थियो । तर, सबै उद्योगले जीएमपी अपनाउन सकेका थिएनन् । नेपालमा औषधि उद्योगलाई जीएमपी मोडलमा लैजाने अभ्यास २०६५ सालमा शुरु गरिएको हो । निर्देशिका अनुसार नयाँ स्थापना हुने उद्योगले भने अब शुरूमै जीएमपी प्रणालीमा गएपछि मात्र औषधि उत्पादन गर्न पाउने छ । यसअघि सरकारले सबै औषधि उद्योगमा जीएमपी लागू गर्ने प्रयास गरे पनि पूर्वाधार अभावका कारण सम्भव नदेखिएको थिएन । उद्योगीहरुले पूर्वाधार तयार पार्न समय माग गरेकाले पहिला अनिवार्य नगरिएपनि अब भने सबै उद्योगहरु जीएमपी जान सक्ने अवस्थामा पुगेको विभागले बताएको छ । हाल नेपालमा ३६ फर्मास्युटिकल्स र एउटा आयुर्वेदसहित ३७ औषधि उद्योगले जीएमपी मोडलको आधारमा औषधि उत्पादन गरिरहेका छन् । नेपालमा हालसम्म झण्डै ५० ओटा एलोप्याथिक औषधि उद्योग (फर्मास्युटिकल्स) छन् । जीएमपी लिन बाँकी अन्य उद्योगले विभागमा आवेदन दिए सकेको विभागले बताएको छ । ‘अहिले प्राय सबै उद्योगले जीएमपीका लागि आवेदन दिएका छन्,’ उनी भन्छन् ‘विभागले ती आवेदनको अध्ययन गरिरहेको छ ।’ मुलुकमा हाल सरकारी स्वामित्वको एकमात्र औषधि उत्पादक कम्पनी सिंहदरबार वैद्यखानालाई तत्काल जीएमपी मोडलमा लैजान नसकिने विभागको भनाइ छ । विभागका अनुसार चालू आवमै जीएमपी मोडलमा लैजानका लागि वैद्यखानालाई सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । जीएमपीमै लैजान आफूले नक्सासहितको नमूनासमेत उपलब्ध गराए पनि वैद्यखाना तत्काल जीएमपीमा जान अवस्थामा रहेको छ । हाल विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध विश्वका १ सय मुलुकका उद्योगले जीएमपी मोडलअन्तर्गत औषधि उत्पादन गर्दै आएका छन् । जीएमपी प्रमाणपत्र प्राप्त औषधि उद्योगद्वारा उत्पादित औषधिको विश्वसनीयता बढी हुन्छ भने निर्यात क्षमता पनि बढी हुने बताइएको छ । के हो जीएमपी ? जीएमपी विश्व स्वास्थ्य सङ्गठनले औषधिजन्य वस्तुको उत्पादनका लागि तोकेको गुणस्तर, वातावरणीय स्थितिलगायतको मापदण्ड हो । औषधि उत्पादन गर्दा उत्पादित क्षेत्रको वातावरणीय स्थिति, उत्पादन कार्यमा संलग्न व्यक्ति तथा उपकरणको सरसफाइ, उत्पादनमा प्रयोग भएका वस्तुको विस्तृत जानकारीसहितको उत्पादित औषधि सबै हिसाबमा ठीक छ भनी प्रमाणित गर्ने पद्धति जीएमपी हो । विश्व स्वास्थ्य सङ्गठनले सन् १९६९ देखि नै जीएमपी मोडल अपनाएको हो ।

एकै दिन सयभन्दा बढीले घट्यो बीमा कम्पनीहरुको सेयर मूल्य

काठमाडौं, २२ साउन । गत विहिवार अधिकांश बीमा कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा बढीले घटेको छ । सो दिन ४५ अंकभन्दा बढीले घटेको पूजी बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य उल्लेख्य रुपमा घटेको हो । सो दिन लाइफ इन्स्योरेन्स कम्पनीले ११९ रुपैयाँले घटेको छ । गत बुधवार ३४१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३३०० रुपैयाँमा कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११६ रुपैयाँले घटेको छ । गत बुधवार ३९३९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ३८२३ रुपैयाँमा कारोवार भएको छ । सो कम्पनीको प्रमोटर सेयर पनि १०७ रुपैयाँले घटेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १५९ रुपैयाँले घटेको छ । गत बुधवार २२८९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २१३० मा कारोवार भएको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर १०० रुपैयाँले घटेको छ । गत बुधवार १५७०० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर विहिवार १५६०० मा कारोवार भएको नेप्सेले जानकारी दिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १९३ रुपैयाँले घटेको छ । गत बुधवार २४०३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २२१० रुपैयाँमा कारोवार भएको हो । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एकै दिन १३५ रुपैयाँले घटेको छ । गत बुधवार ३५५५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर मूल्य गत विहिवार ३४२० रुपैयाँमा कारोवार भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने एक दिनमा ६७ रुपैयाँले घटेको छ । अघिल्लो दिन १८३७ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १७७० रुपैयाँमा कारोवार भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने १२ रुपैयाँले मात्रै घटेको छ । अघिल्लो दिन १९१० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १८९८ रुपैयाँमा कारोवार भएको छ । गुरास लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ४१ रुपैयाँले घटेको छ । गत बुधवार ९५६ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९१५ रुपैयाँमा कारोवार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा २१ रुपैयाँले घटेको छ । गत बुधवार १४६९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४४८ रुपैयाँमा कारोवार भएको छ । नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ६९ रुपैयाँले घटेको छ । गत बुधवार २१०९ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०४० रुपैयाँमा कारोवार भएका छ । नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३० रुपैयाँले घटेको छ । गत बुधवार १२१० रुपैयाँमा कारोबार भएको सो कम्पनीको सेयर गत विहिवार ११८० रुपैयाँमा कारोवार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक दिनमा ३१ रुपैयाँले घटेको छ । गत बुधवार २०६० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २०२९ रुपैयाँमा कारोवार भएको छ । सो एक दिनमा प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन १५८० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १४९० रुपैयाँमा कारोवार भएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सो दिन २८ रुपैयाँले घटेको छ । अघिल्लो दिन २४७३ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २४४५ रुपैयाँमा कारोवार भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले घटेको छ । अघिल्लो दिन १५७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार १५३१ रुपैयाँमा कारोवार भएको हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७० रुपैयाँले घटेको छ । अघिल्लो दिन २३७५ रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार २३०५ रुपैयाँमा कारोवार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २९ रुपैयाँले घटेको छ । अघिल्लो दिन ९५० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ९२१ रुपैयाँमा कारोवार भएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १२३० रुपैयाँमा कारोवार भएको सो कम्पनीको सेयर गत विहिवार ११६५ रुपैयाँमा कारोवार भएको छ ।

एभरेष्ट बैंकको पुँजी वृद्धि योजना सार्वजनिक, चार वटा बैंकसँग मर्जर प्रयास, ४५ करोडको एफपीओ

काठमाडौं, २२ साउन । एभरेष्ट बैंकले चार वटा वाणिज्य बैंकसँग मर्जरको लागि नेगोसिएशन गरिरहेको जनाएको छ । ढिला गरी पुँजी वृद्धि योजना सार्वजनिक गरेको यस बैंकले मर्जरको लागि ४ वटा वाणिज्य बैंकसँग छलफल भईरहेको र त्यसमध्ये एउटासँग मर्ज गर्ने जनाएको छ । मर्जबाट कम्तिमा २ अर्ब पुँजी प्राप्त हुने र मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । मर्जरको लागि नेगोसिएशन भईरहेका बैंकहरुको नाम खुलाईएको छैन । तर कुमारी र एभरेष्ट बैंकबीच मर्जरको लागि करसरत भईरहेको बताईन्छ । कुमारी बैंक एनसीसी बैंकसँगको मर्जरबाट बारिनु अघि नै एभरेष्ट बैंकसँग मर्जको नजिक पुगेको बताईएको थियो । एनसीसीसँगको डिमर्ज निर्णयलाई राष्ट्र बैंकले स्वीकृत नगरेका कारण कुमारीले एभरेष्टसँगको मर्जप्रक्रिया औपचारिक रुपमा अगाडि बढाउने पाएको छैन । एभरेष्ट बैंकले मर्जपछि ४५ करोड रुपैयाँको फ्रेस पब्लिक अफरिङ (एफपीओ) प्रिमियम मूल्यमा जारी गर्ने जनाएको छ । प्रिमियम मूल्य नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर तय गर्ने उसले जनाएको छ । बैंकले संचित कोषमा रहेका ‘स्वतन्त्र कोष’ (फ्रि रिर्जभ)बाट २ अर्ब ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्ने जनाएको छ । त्यस्तै बैंकको नियमित नाफाबाट वार्षिक ७५ करोड रुपैयाँ पुँजीकरण गर्दै जाने बैंकले जनाएको छ । पुँजी वृद्धि योजनामा बैंकले फ्रि रिजर्भ र नाफालाई बोनस सेयरको रुपमा वितरण गर्ने विषयलाई खुलस्त पारेको छैन । बैंकले ४ करोड रुपैयाँको अग्राधिकार (प्रिफिरेन्स) सेयरलाई साधारण सेयरमा रुपान्तरण गरी त्यसबाट ४ करोड रुपैयाँ सेयर पुँजी थपिने बैंकको पुँजी वृद्धि योजनामा उल्लेख छ ।

योजना आयोगवाट खतिवडाले राजिनामा दिने, उपाध्यक्ष बन्न फत्तवहादुर दौडधुपमा

काठमाडौं, २२ साउन । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष डा. युवराज खतिवडाले  राजिनामा दिने भएका छन् । आयोगमा अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने ब्यवस्था छ । आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएर नयाँ प्रधानमन्त्री नियुक्त भइसकेकोले उनी राजिनामा गर्ने अवस्थामा पुगेका हुन् । आयोग अध्यक्ष तथा प्रधानमन्त्री परिवर्तन हुने वित्तीकै उपाध्यक्षसहित आयोगका सदस्यले राजीनामा गर्ने चलन छ । नयाँ प्रधानमन्त्रीले आयोगका पूर्वबर्ती सरकारले नियुक्त गरेका उपाध्यक्षसहित सदस्यहरुलाई पदमुक्त गर्ने सम्भावना हुनाले सरकार परिवर्तनसँग आयोग पदाधिकारीले राजीनामा गर्ने गरेका हुन् । उपाध्यक्ष खतिवडा सहितका पदाधिकारीले आइवार प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटेर राजिनामा बुझाउने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । दाहाल नेतृत्व सरकारले आफ्नो कानुनी सल्लाहकार अर्थात महान्यायधिवक्तामा रमण श्रेष्ठलाई नियुक्त गरिसकेको छ । अब आयोगको उपाध्यक्ष कसलाई बनाउने भन्ने चर्चा पनि चलेको छ । आयोग उपाध्यक्षको लागि बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसी दौडधुपमा लागेको स्रोतले जानकारी दिएको छ । यसको लागि केसीले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर आफूलाई नियुक्त गर्न अनुरोध गरेका बताइएको छ ।

धितोपत्र बोर्डले पुँजीबजार संकूचित बनाउने काम गर्यो– नेपाल इन्भेष्टर्स फोरम

काठमाडौं, २२ साउन । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारलाई संकुचित बनाउन नेपाल धितोपत्र बोर्डले अनुचित काम गरेको भन्दै आपत्ति जनाएको छ । नियमनकारी निकाय तथा जिम्मेवार पदाधिकारीबाट गैर जिम्मेवार अभिव्यक्ति दिने, लेख पत्रिका तथा अनलाईनमा छपाउने र बजारलाई अनुचित तवरबाट प्रभाव पार्ने, बजारलाई संकुचित पार्न कानुन विपरित अनेक अस्त्रहरु प्रयोग गर्ने कार्य भएको भन्दै फोरमले खेद व्यक्त गरेको छ । धितोपत्र बोर्ड, बजार सञ्चालक तथा नियामक निकायले आफ्नो क्षेत्राधिकार भित्र रहेर बजारलाई पूर्ण स्वाचालित रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न फोरमले माग गरेको छ । सेयर बजारका लगानीकर्ताले एकाण्ट पेयी चेकको माध्यमबाट कारोबार गर्ने भएकोले सेयर बजारको लगानी अरु क्षेत्रको तुलनामा पारदर्शी रहेको फोरमको भनाई छ । लगानीकर्तालाई साना र ठूलो भनेर वर्गिकरण गर्नु अबैज्ञानिक भएको भन्दै फोरमले बजारलाई आधुनिक बनाउने र कारोबार सरल र सहज बनाउने तर्फ जिम्मेवार निकायले पहल गर्ने माग गरेको छ ।

प्रधानमन्त्रीलाई नेउवा महासंको शुभकामना, गुणात्मक आर्थिक वृद्धिमा जोड

काठमाडौँ, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिवार प्रधानमनत्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल सफल र उद्योगी व्यवसायीमैत्री हुने विश्वास समेत व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आफू इच्छुक रहेको बताउँदै आर्थिक क्षेत्रमा गुणात्मक प्रगति गर्ने विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए । सो अवसरमा उद्योगी व्यवसायीले निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै कृषि क्षेत्रका विज्ञ तथा एवम् कर्मचारीले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरुले मुलुकको प्रमुख आर्थिक वृद्धि र आम मानिसको जीविकोपार्जनको क्षेत्र भएकाले त्यसलाई अगाडि बढाउन सरकारको विशेष साथ र सहयोग रहनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले कृषि क्षेत्रमा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा सरकारले पूर्ण क्षमताका साथ काम गर्ने र विज्ञको सुझावलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सम्बद्ध विज्ञले कृषि क्षेत्र र मन्त्रालयसँग सम्बद्ध समस्या र चुनौतीबारे जानकारी गराएका थिए । यस्तै आजै तनहुँ काठमाडौँ सम्पर्क मञ्चका प्रतिनिधिले समेत प्रधानमन्त्री दाहालको सफल कार्यकालको कामना गरेको थियो । महासंघका उपाध्यक्षहरु किशोर कुमार प्रधान र शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल, अशोक कुमार तोदी, ज्योत्साना श्रेष्ठ, अशोक कुमार टेमानी र विजयसिं वैध, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडीया, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत रहनु भएको उक्त भेटघाटमा महासंघका अध्यक्ष मुरारकाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य

काठमाडौं, २१ साउन । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य भएको छ । सदस्यता लिने विषयमा फाइनान्सको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठ र सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट कार्यकारी प्रमुख देवप्रकास गुप्ताबीच सम्झौता भएको छ । सिडिएस एण्ड क्लियरिङ्गमा निक्षेप सदस्यता लिनेमा फाइनान्स कम्पनीहरुमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स पहिलो फाइनान्स कम्पनी भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गएिको छ ।

चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द

चीन, २१ साउन । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा