विकासन्युज

नेपाल टेलिकमको रिचार्ज समस्या समाधान

काठमाडौं, २३ साउन ।  नेपाल टेलिकमको रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको छ । शनिबारदेखि कम्पनीको एनटि रिचार्ज सिष्टम अपग्रेड गर्ने क्रममा एनटि रिचार्ज कार्ड मार्फत हुने रिचार्जमा विशेष प्राविधिक समस्या उत्पन्न भएको थियो । सोही दिनदेखि रिचार्ज हुन नसकेकोमा कम्पनीले ग्राहकहरुसँग क्षमा मागेको छ । उक्त समयमा ग्राहकले देखाएका धैर्यता र कम्पनीप्रति देखाएको सद्भाव प्रति कम्पनीले आभार व्यक्त गरेको छ । आइतबार दिउँसो करिव ३ बजेबाट उक्त रिचार्ज सिष्टममा आएको समस्या समाधान भई पूर्ववत रुपमा संचालन भएको कम्पनीले जनाएको छ । साथै भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिन कम्पनी कटिबद्ध रहेको छ ।

आइतबार पनि घट्यो सेयर बजार

काठमाडौं, २३ साउन । अघिल्लो साता लगातार घटेको पुँजी बजारमा यो साताको आइतबार पनि बजार घटेको छ । आइतबार बजार खुल्ने वित्तिकै नेप्से परिसूचक उकालो चढ्न सुरु गरेको थियो तर बन्द हुँदा भने ओरालो झरेको छ । बजार खुलेको ४० मिनेट भित्रै परिसूचक १३ दशमलब ८८ अंघले बढेर १७८२ दशमलब ४८ अंकमा पुगेको थियो । सो अवधीमा ७ करोड मूल्य बराबरको सेयर किनबेच भैसकेको थियो । त्यस्तै १२ बजे बढेर १८०५ अंकमा पुगेको थियो । सोही दिन बजार बन्द हुँदा परिसूचक ३ दशमलब ८८ अंकले घटेर १७६४ अंकमा पुगेको छ । आइतबार बजारमा एक अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको २१ लाख १६ हजार कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक र सिद्धार्थ बैंकको पनि १० करोड बढी रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका ८ कम्पनीहरु मध्ये ४ कम्पनीको समूह ओरालो लागेको छन् भने अन्य ४ कम्पनीको समूह उकालो लागेका छन् । उत्पादनमूलक, बीमा, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ८१, ५२, ७ र ०.०२ अंकले ओरालो लागेका छन् । अन्य समूह, होटल, विकास बैंक र फाइनान्स समूहको सेयर सामान्य अंक क्रमशः १७, ४, ३ र ०.६३ अंकले उकालो लागेका छन् ।

निकुञ्जको जग्गा मिची बनाइएका ‘रिसोर्ट’ भत्काइए

काठमाडौं, २३ साउन । काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर खोलिएका ‘रिसोर्ट’ डोजर लगाएर भत्काइएको छ । निकुञ्जको जग्गा मिचेर होटल र ‘रिसोर्ट’ खोल्नेको सङ्ख्या बढेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले वैशाख १२ गते सार्वजनिक सूचना प्रकाशित गरी ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको थियो । जेठ २ गते निकुञ्जको जग्गा मिचेका पर्यटन व्यवसायी सङ्गठित भई पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले जेठ १२ गते सुविधा र सन्तुलनका आधारमा निकुञ्जको जग्गा मिचेका ‘रिसोर्ट’ नभत्काई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । निकुञ्जले असार ५ गते अन्तरिम आदेश बदर गरी पाऊँ भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको थियो । अदालतले साउन १२ गते निकुञ्जको माग अनुसार पुनरावेदनको अन्तरिम आदेश बदर गरेपछि पनि जग्गा मिचेकाहरुले हटाउन नमानेपछि भत्काइएको कार्यालय प्रमुख कमलजङ्ग कुँवरले बताए । चिसापानी काठमाडौँको गोकर्णेश्वर नगरपालिका, सिन्धुपाल्चोकको हैबुङ गाविस र नुवाकोटको तलाखु गाविसको सीमासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्छ । सो बाटो भएरै विदेशी पर्यटक गोसाइँकुण्ड, लाङ्टाङ, पाँचपोखरी, मेलम्ची, नगरकोट, भोटेचौर चियाबगान र हेलम्बु लगायत पर्यटकीयस्थलमा पदयात्रामा जाने भएकाले यहाँ होटल एवम् रिसोर्ट व्यवसाय फस्टाएको हो । काठमाडौं उपत्यकाबाट नजिक भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक जाने चिसापानीमा गत वर्षको भूकम्पले सबै होटल र रिसोर्ट भत्केका थिए । भत्केका होटल र रिसोर्ट बनाउने क्रममा निकुञ्जको जग्गा समेत मिचेर संरचना बनाउन सुरु भएको थियो । कार्यालयका अनुसार नुवाकोटको तलाखु गाविस क्षेत्रमा बनेका होटल र रिसोर्टले बढी सार्वजनिक एवम् निकुञ्जको जग्गा अतिक्रमण गरेका छन् । “तलाखु गाविस– १ को होटल दर्पण, चिसापानी माउन्टेन भ्यु, गोल्डेन सनराइज भ्यु, होटल ग्यालेक्सी, अहिले छाप्रोमा सञ्चालन भइरहेको होटल अन्नपूर्ण, होटल प्याराडाइज, होटल बिबिसी र अन्य ३० छाप्रामा सञ्चालित साना होटलले निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा अतिक्रमण गरेका थिए”, कार्यालय प्रमुख कुँवरले बताए। सिन्धुपाल्चोक, हैबुङ गाविसपट्टिको भागमा पूर्ण तामाङको रिसोर्टले पनि निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा मिचेको थियो । वरिपरिका डाँडा देखिने रमणीय अग्लो स्थानमा रहेको चिसापानी सिन्धुपाल्चोकको हैबुङ, थकनी र नुवाकोटको तलाखु गाविसको बिसौनी, तलाखे, बतासे लगायत दुई हजारभन्दा बढी घरधुरीको पानीको स्रोत भएको स्थान पनि हो । सरकारले गत चैत १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरेको निकुञ्ज कार्यालयका रेन्जर लव गुरागाईँले बताए। चिसापानी बजारमा निकुञ्ज र सार्वजनिक जग्गा मिच्नेले पानीको मुहान समेत फोहर गर्न थालेपछि तलाखु र हैबुङका युवाले एक जुट भएर त्यसविरुद्ध अभियान सुरु गरेका थिए । स्थानीय अभियानकर्मी सन्दीप लामा प्राकृतिक स्रोतसाधन कब्जा गर्ने र सार्वजनिक एवम् निकुञ्जको संरक्षित जग्गा मिच्ने काममा भूमाफिया लागेकाले त्यसका विरुद्ध जिल्लाको सीमा जोडिएका गाउँका युवा हातेमालो गरेर लागेपछि निकुञ्जको जग्गा खाली गराउन सहयोग पुगेको बताए । “भूमाफियाले सार्वजनिक जग्गा मिच्नुका साथै निकुञ्जको जङ्गल समेत मासेका थिए, निकुञ्ज कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर होटल एवम् रिसोर्ट नचलाउन र चलाइरहेका यस्ता संरचना ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना टाँस गर्दा पनि अटेर गरी राति संरचना बनाउने, अदालतको फैसला नमानी अटेर गरेपछि भत्काउन बाध्य हुनुपरेको हो, अब यो स्थानलाई पर्यटकीय स्मारक (पार्क) बनाइनुपर्छ”–उनले भने । दुई जिल्लामा गरी १५० रोपनीभन्दा बढी जग्गा मिचिँदा पर्यावरणमा समेत नकारात्मक असर परेको बताउँदै सार्वजनिक जग्गा खाली भएपछि पर्यटकीयस्थलको वातावरणीय स्वच्छता कायम हुने विश्वास अभियानमा लाग्नुभएका युवक राजेन्द्र तामाङ व्यक्त गर्छन् । “एक आना जग्गाको भाउ यहाँ रु पाँच लाख पुगेको छ, यहाँ चलेको भाउले हिसाब गर्ने हो भने पनि १५० आना जग्गाको रु एक करोडभन्दा बढी मूल्यको भूमि भूमाफियाले अतिक्रमण गरेका थिए, निकुञ्जभित्रको करोडौँको काठ समेत यो समूहले बेचेको थियो, अब यसको संरक्षण हुनुपर्छ”–उनले भने । यहाँका चालिस प्रतिशत होटल मात्र लालपुर्जा भएको जग्गामा चलेका थिए । भूकम्पपछि अचाक्ली गरेर एउटैले दसौँ रोपनी निकुञ्ज मध्यवर्ती क्षेत्रको जग्गा हडप्न थालेपछि स्थानीयवासी विरोधमा उत्रेका थिए । अतिक्रमित जग्गा खाली गरेपछि उक्त स्थानलाई सामुदायिक वनको रुपमा संरक्षण गर्ने योजना स्थानीयवासीको छ । कार्यालय प्रमुख कुँवर संरक्षणमा सहयोग गर्ने उद्देश्यले मध्यवर्ती क्षेत्रको एक सय ५० रोपनी जग्गा समुदायलाई हस्तान्तरण गरिने बताउछन्। उक्त क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा अगाडि बढाई स्थानीय समुदायको आर्थिकस्तरमा वृद्धि गराउने लक्ष्य छ । साथै आदिवासी कला– संस्कृति तथा स्थानीय तामाङ, गुरुङ, मगर, नेवार समुदायको संस्कृति उत्थानका निमित्त घरबासको अवधारणा अगाडि बढाउन लागिएको छ । रासस

डलर खाता खोल्नेले बर्षमा १५ हजार डलर खर्चन पाउने

काठमाडौं, २३ साउन । विदेशी मुद्रामा खाता खोल्ने नेपालीले बर्षभरीमा १५ हजार रुपैयाँ अमेरिकी डलरसम्म खर्च गर्न पाउने भएका छन् । यसअघि बार्षिक १० हजार अमेरिकी डलर मात्रै खर्च गर्न पाउने ब्यवस्थामा संसोधन गर्दै ५ हजार अमेरिकी डलरको सीमा बढाएइको हो । विदेशी मुद्रा आर्जन गर्ने नेपालीले नेपालमा बैंकमा खाता खोलेर विदेशी मुद्रा जम्मा गर्न प्रोत्साहन मिलोस भनेर यस्तो ब्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए । ‘विदेशी मुद्रा आर्जन गर्ने नेपालीले विदेशी मुद्रामै खाता खोलेर नेपालका बैंकमा रकम जम्मा गरेको अवस्थामा यस्तो सुविधा पाइने हो, यसले विदेशी मुद्राको बचतलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छौं,’ ढुंगानाले भने । यस्तो सुविधा पासपोर्ट एक्सचेन्ज सुविधा वाहेकको हो । प्रत्येक नेपालीले विदेश जानु पर्ने अवस्थामा भिसा लागेको पासपोर्टको आधारमा २ हजार ५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउछ । विदेशी मुद्रामा खाता खोल्ने नेपालीलाई दिइएको यस्तो सुविधा थप हो । थप सुविधा रकमवाट नेपालीले विदेशवाट बस्तु तथा सेवा खरिद गर्न पाउने राष्ट्र बैंकले जानकारी दिएको छ । यो ब्यवस्था आज (२३ साउन) देखि कार्यान्वयनमा आएको ढुंगानाले जानकारी दिए ।

सनराइज बैंक लिमिटेडको सुनवल शाखा स्थानान्तरण

काठमाडौं, २३ साउन । सनराइज बैंक लिमिटेडले सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले बैंकले उक्त शाखा स्थानान्तरण गरेको हो । सुनवल शाखा कार्यालयको समुद्घाटन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्स नवलपरासिका अध्यक्ष भिमबहादुर थापा (भरत)ले गरेका हुन् । साथै बैंक परिसरमा रहेको ए.टि.एम्.को समुद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका हुन् । सुनवल शाखामा निक्षेप संकलन तथा साना एवंम् मझौला व्यवसाय, हायर पर्चेज लगायत सेफ डिपोजिट लकर सुविधा उपभोग गर्न सकिने छ । नयाँ स्थान स्थानान्तरणको अवसरमा बैंकको सो शाखामा श्रावण २३ देखि भदौ १६, २०७३ सम्मका लागि लकर सुबिधामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा र ७१ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चितवन मेडिकल कलेज नारायणघाटमा एक्स्टेन्सन काउन्टर तथा ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

अरुन भ्यालीले १० प्रतिशत बोनस सेयर दिने, ३१ लाख कित्ता एफपिओ पनि

काठमाडौं, २३ साउन । अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले शुन्य दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसका साथै कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता सेयर एफपिओ जारी गर्ने भएको छ । समितिको दुबै निर्णय कम्पनीको धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै सेयरधनीले सो लाभांशका साथै सेयर किनबेच गर्न पाउने छन् ।

विराटनगरमा घरजग्गाको कर चार गुणाले वृद्धि

मोरङ, २३ साउन । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् । न्यूनतम सुविधासमेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाड सेक्ने गरी घरजग्गा कर बढाएपछि यो अव्यावहारिक निर्णयको सर्वत्र आलोचना हुन थालेको छ । दश धुर जग्गामा एकतले पिलर हालेको घरको बढीमा रु ४०० सम्म कर तिरेका नगरवासीले यही साउनदेखि अब दुई हजारसम्म कर तिर्नुपर्ने भएको छ । विराटनगर उपमहानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले घरको कर बढेको पुष्टि गरेका छन् । बढेको करले ठूला करदातालाई राहत पुग्ने तर साना करदाता भने मार्कामा पर्ने थपलियाले जानकारी दिए । वैज्ञानिक हिसाबले कर बढेको छ उनले भने, जसले प्रत्येक वर्ष रु ४० लाखसम्म तिरिरहेको छ त्यस्ता करदातालाई यो निर्णयबाट राहत पुग्ने छ । दुई वर्षअघि मालपोत कार्यालयको मूल्याङ्कनका आधारमा घरजग्गा कर बढाउँदा स्थानीयवासीहरुले आन्दोलन गरेका थिए । त्यसपछि आव २०७२/७३ मा घरजग्गा कर बढाइएको थिएन । घरको मूल्याङ्कन गर्दा सुरुको अङ्क ६३५ ले गणना गरी ० दशमलव ५ प्रतिशतले गुणा गरिन्थ्यो । अहिले सुरुकै अङ्क बढाएर एक हजार ५०० पु¥याएको छ र एक हजार ५०० लाई एक प्रतिशतले गुणा गरेर दस्तुर लिने गरेको वित्तीय व्यवस्थापन शाखाले जनाएको छ । ठूला करदाताको हकमा भने पहिलेको १ दशमलव ५ प्रतिशतलाई घटाएर ० दशमलव ४ प्रतिशतमा झारिएको छ । नयाँ नियमअनुसार जग्गाको कर भने जिल्ला मालपोत कार्यालयले निर्धारण गरेअनुसारकै सरकारी दर रेटअनुसार रहेको शाखाको भनाइ छ । वित्तीय व्यवस्थापन महाशाखा प्रमुख थपलियाले सरकारको निर्णयअनुसार नै घरजग्गा करको दस्तुर उपमहानगरपालिकाले वृद्धि गरेको बताए। उपमहानगरपालिकाका ठूला करदातामा नोबेल मेडिकल कलेज, नेपाल आयल निगम, कृषि सामग्री संस्थान, नेसनल ट्रेडिङलगायतका सरकारी कार्यालय र अस्पताल छन् । नोबेलले गत आवमा घरजग्गा करबापत रु ४७ लाख उपमहानगरपालिकामा बुझाएको थियो । ठूला करदाताको दस्तुर घटेपछि नोबेलले बढीमा रु २० लाखसम्म कर बुझाए हुन्छ । पछिल्लो तथ्याङ्कअनुसार विराटनगरमा २० हजार ५०० को हाराहारीमा करदाता छन् । जसमा ठूला करदाता २००को सङ्ख्यामा पनि छैनन् । यसको प्रत्यक्ष मार अन्ततः साना करदातालाई नै पर्ने देखिन्छ । गत आवमा घरजग्गा करबाट नगरपालिकाले रु सात करोड ५० लाख उठाउने लक्ष्य लिएकामा रु आठ करोड २० लाख सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्य रु आठ करोड ७० लाख रहेकामा घरजग्गा करको यो उच्च वृद्धिसँगै रु १५ करोड सङ्कलन हुने अनुमान गरिएको छ । रासस

पोखरा फाइनान्सले साँढे १३ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २३ साउन । पोखरा फाइनान्सले १३ दशमलब ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि शुन्य दशमलब ७१ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले परित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।