पाँच मुलुकको मुद्रा खरिद-बिक्रि खुल्ला
काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले थप पाँच वटा मुलुकको मुद्रा खरिद तथा बिक्रि सुबिधा थपेको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी नयाँ निर्देशीका जारी गर्दै स्विडेन, डेनमार्क, हङकङ, बहराइन र कुवेतको मुद्रा खरिद तथा बिक्रि सुबिधा खुल्ला गरेको हो । यस अघि अन्य १७ मुलुकको मुद्रा मात्रै खरिद तथा बिक्रि सुबिधा थियो भने यी मुलुकको मुद्रा खरिदको सुबिधा मात्रै थियो । अब यी पाँच मुलुकमा जाने नेपालीहरुले तिनै मुलुकको मुद्रा बोकेर जान पाउनेछन् । यस अघि ती मुलुकमा जाने नेपालीहरुले डलर बोकेर जानुपर्ने बाध्यता थियो । राष्ट्र बैंकको विदेशी विनियमय व्यवस्थापन विभागका प्रमुख भिष्म ढुङगानाले मुद्रा सटहीको खर्च कटौती हुने तथा ती मुलुकमा जाने नेपालीहरुले सोही मुलुकको मुद्रा लैजान पाउने जानकारी दिए ।
पूँजी बजारलाई अप्राकृतिक ढंगले घटाउने प्रयास भैरहेको छः अम्बिकाप्रसाद पौडेल
अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक, हाथवे इन्भेष्टमेन्ट लिमिटेड हाथवे इन्भेष्टमेन्ट कम्पनी विगत लामो समयदेखि नै सेयर बजारको सक्रिय लगानीकर्ताका रुपमा रहेको छ । हामीले राम्रो नाफा कमाएका छौं र पोर्टफोलियो पनि राम्रो छ । हामी पुँजी बजारबाट बहिर्गमन भएका छैनौं । असार मसान्तभन्दा आजको मितिमा मैले २५ देखि ३० प्रतिशत भन्दा बढी सेयर किनिरहेको छु । म के मान्यतामा विश्वास राख्छु भने अहिले नेपालको पुँजी बजार हिजोको अवस्थामा जस्तो छैन् । २१/२२ बर्षको मेरो अनुभवमा पुँजी बजारमा तीन/चार वटा उचारचढाव व्यहोरेको छु । पुँजी बजारमा आरोह अवरोह आउन तीन/चार वटा फ्याक्टरले काम गरेको हुन्छ । तर अहिलेको अवस्थामा त्यस्तो कुनै पनि फ्याक्टर देखा परेको छैन् । पहिले बजार घट्दा देखापरेका कुनै पनि कारण अहिलेको बजारमा देखापरेका छैनन् । त्यसकारण पुँजी बजार घट्नु पर्ने अवस्था छैन् । पहिले बजार घट्दा बजारमा तरलता अभाव भैसकेको थियो । बैंक तथा वित्तिय संस्थाको परफरमेन्स घट्दो अवस्थामा थियो । कतिपय वित्तिय संस्था त खारेजीमा लैजानु पर्ने भैसकेका थिए । त्यस नतिजाका रुपमा पुँजी बजार विस्तारै घट्दै गएको थियो । हिजो र आजको तुलना गर्दा आज प्रत्येक बैंक तथा वित्तिय संस्थाको ग्रोथ विगत वर्षको भन्दा धेरै राम्रोसँग वृद्धि भएको देखिन्छ । हामीले गत वर्ष ठूलो भूकम्प र नाका बन्दी खेप्यौं । तै पनि कम्पनीहरुको परफरमेन्स राम्रो छ । भवितव्य भूकम्प त आउला तर नाकाबन्दी त अब हुने छैन । हामीले आजको दिनमा हेर्दा निकट भविष्यमै त्यति ठूलो संकट आउने सम्भावना देखिन्न । भूकम्प र नाका बन्दीका बावजुद बैंक तथा वित्तिय संस्थाहरुको बिजनेश ३० देखि ४० प्रतिशतसम्म बढेको छ । यो बर्ष कति बढ्ला हामीले नै अनुमान गर्न सक्छौं । अर्काे कुरा भनेको अहिले बैंक तथा वित्तिय संस्थाहरुसँग पर्याप्त मात्रामा तरलता छ । हिजो बैंक तथा वित्तिय संस्थाहरु सेयरको सर्टिफिकेट देख्दा डराउँथे । अहिले कोसँग सेयरको सर्टिफिकेट छ भनेर खोजेर हिडिरहेका छन् । अनि हामी किन डराउने ? विगतमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या पनि बढ्ने र सेयर संख्या पनि बढ्ने क्रम थियो । तर अहिले बैंक तथा वित्तिय संस्थाहरु पनि मर्ज हुने क्रम बढेको छ । हिजो एक सय कित्ता सेयर हुनेहरुको सेयर संख्या अहिले मर्ज भएर घट्दै ५० कित्तामा झरेको छ । बोनस र राइट सेयरले सेयर संख्या बढ्यो भन्ने भन्दा पनि समग्र बजारमा कति कित्ता बढ्यो भनेर हेर्नु पर्छ । सेयरको संख्या घटेकै देखिन्छ । मार्जिन ल्याण्डिङको ऋण लिएर सेयरमा लगानी गर्नेहरुको संख्या निकै कम देखिन्छ । यो कसैले पनि कल्पनासम्म गरेका थिएनन् । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कम मात्रामा ऋण गएको सेयर बजारमा मात्रै हो अन्यत्र धेरै गएको छ । अहिले सेयर बजारमा भएको लगानी सबै रिजर्भ बेस र सेभिङ बेसका लगानीकर्ताको हो । ऋण लिएर लगानी गर्नेहरुको संख्या कम छ । नेपालमा सेयर बजार पहिलो क्षेत्र हो जहाँ ५० प्रतिशत महिलाहरुको सहभागीता रहेको छ । अरु क्षेत्रमा नियम बनाएर आउनुस भन्दा पनि महिलाहरुको सहभागीता कम छ, पुँजी बजारमा स्वतः ५० प्रतिशत भन्दा बढिको उपस्थिती छ । महिलाहरु जहिले पनि राम्रो बुझेर लगानी गर्नुहुन्छ । ऋण लिएर भन्दा पनि बचत गरेको पैसा लगानी गर्नुहुन्छ । त्यसकारण पनि अहिले सेयर बजार जोखिममा छैन् । सात/आठ बर्ष पहिलेसम्म एउटा ब्रोकर कहाँ जम्मा २० देखि २५ जना लगानी कर्ता हुन्थ्यौं । आज एउटै ब्रोकर कहाँ दुई तीन सय लगानी कर्ता झुम्मिरहनु भएको छ । घरैबाट डिजिटल माध्यमबाट लगानी गर्नेको संख्या पनि बढेको छ । लाखौं लाख लगानी कर्ता थपिएका छन् । पहिले पहिले प्लेयरले बजार घुमाए भन्ने सुनिन्थ्यो । अहिले बजारमा कोहि पनि प्लेयर छैनन् । लाखौं लगानी कर्ता थपिएका छन् । आज सबै लगानी कर्ता बजारका प्लेयर हुन् । बजार माग र आपुर्तिका सिद्धान्तका आधारमा अघि बढेको छ । त्यसैले नेप्से परिसूचक २९२ बाट १८ पुग्दा पचासौं पटक इन र आउट भएको छ । पछिल्लो चार दिनदेखि बजारको प्राकृतिक नियमलाई तोडमोड गरेर बजार घटाउने चलखेल भैरहेको छ । बजारमा साना र ठुला लगानी कर्ताको चर्चा चलाईएको छ । लगानी कर्ता साना र ठुला हुँदैनन् । कसैले आफुसँग भएको दुई लाख रुपैंयाँ सबै सेयर बजारमा लगानी गर्यो भने उसलाई साना लगानीकर्ता भन्न मिल्छ ? मेरो विचारमा ऊ सबै भन्दा ठूलो लगानीकर्ता हो । आफुसँग भएको कुल नेटवर्थ नै बजारमा लगानी गर्नेलाई साना लगानी कर्ता भन्न मिल्दैन् । अर्काे कुरा धन पनि कालो र सेतो हुन्न । श्रोत मात्रै कालो र सेता हुन सक्छ तर धन आफैंमा कालो र सेता हुनै सक्दैन् । के हो कालो धन भनेको ? मैले त कालोधन देखेकै छैन् । सेयर बजार कालो धन लगाउने ठाउँ हो र ? फेरी कालोधन र सेतो धन कुन हो भनेर छानविन गर्ने अधिकार पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको होइन् । कालोधन को अनुसन्धान गर्ने सम्पति सुद्धिकरण विभागले हो । राजश्व अनुसन्धान विभाग पनि छ, अख्तियार पनि छ । यी निकायले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर कालोधनको छानविन गर्न सक्छन् । बोर्डले इनसाइडर टे«डिङ, खरिद प्रक्रिया मिलेको छ की छैन भनेर हेर्ने हो । बोर्डले अरु तरिकाबाट पुँजी बजारलाई अतिरञ्जित बनाउने र लगानी कर्तालाई हतोत्साहित गर्न पाउँदैन् । मेरो निष्कर्ष के हो भने पुँजी बजार हिजोको भन्दा धेरै सुरक्षित छ । कम्पनीहरुको छनौट लगानी कर्ताले राम्रोसँग गर्नु पर्छ । ब्यालेन्ससिट हेर्ने, गत वर्षको अवस्था, अहिलेको अवस्था, भावी अवस्था के हुन सक्छ भनेर हेर्ने अनि लगानी गर्ने हो । केहि नबुझी लगानी गर्ने हो भने त जुवाको खाल छँदै छ नी । पुँजी बजार त सूचनाको बजार हो । सबै कुरा बुझेर विवेक सम्वत ढंगले लगानी गर्नुपर्छ । आजको दिनमा नेपालको पुँजी बजार सुरक्षित छ । यो विन्दुको पुँजी बजार भनेको नेपालका सन्दर्भमा ठिकै हो । तरलता, न्युन ब्याजदर र लगानीको उपयुक्त विकल्प नभएकाले यो अवस्थामा पुँजी बजार लगानीको उपयुक्त क्षेत्र हो र यो लगानीको उपयुक्त समय पनि हो । (सेयर लगानीकर्ता संघको घोषणा सभामा पौडेलले व्यक्त गरेको विचार)
हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जनाको मृत्यु
गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका चार जना परेका छन् । सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ ल्याइँदै थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू सथए। रासस
सात दिनमा सेयर बजारमा २०२ अंकको गिरावट, किन घट्यो बजार ?
काठमाडौं, २४ साउन । साउन १२ गते १८८१ अंकमा पुगेर नेप्से परिसूचकमा इतिहासकै सर्वाधिक उचाई कायम भएको थियो तर साउन २४ गते आईपुग्दा बजार ओरालो लागेर १६७५ दशमलब ९१ अंकमा आईपुगेको छ । पछिल्लो ७ वटा कारोबारमा नेप्से परिसूचक २०२ दशमलब २१ अंकले घटेको छ । त्यसो त पछिल्लो आठ दिनको कारोबारमा भने बजार २०६ अंकले घटिसकेको छ । पुँजी बजार साउन १३ गतेदेखि नै ओरालो लाग्न थालेको थियो । एक साता अघि लगानी कर्ता कहाँबाट आएका थिए र अहिले कहाँ गए भन्ने जिज्ञासा उत्पन्न भएको छ । तर नियामक निकायसँग यसको चित्त बुझ्दो जवाफ भेटिन्न । यस्ता छन बजार घट्नुका कारणहरु धितोपत्र बोर्डको लगाम नेपाल धितोपत्र बोर्डले बजार अनावश्यक रुपमा बढेको भनेर पटक पटक सचेत गराउँदै विज्ञप्ति प्रकाशित गर्दै आएको थियो । पछिल्लो पटक बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले नियमित पत्रकार भेटघाट कार्यक्रममा बजार अश्वभाविक रुपमा बढेको र साना लगानी कर्ता जोखिममा परेको बताएका थिए । त्यसको केहि दिनपछि बजारका बारेमा एउटा लेख नै लेखेका थिए । त्यहि लेखका कारण बजार ओरालो लाग्न थालेको आरोप लगानी कर्ताहरुको छ । ब्रोकरको बदमासी सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो । कालोधनको सकस सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् । ठुला लगानी कर्ताको चलाखी नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ ।
धितोपत्र बोर्डले भन्यो–लगानीकर्ताहरु हतोत्साहित नभई लगानी गर्नुस
काठमाडौं, २४ साउन । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ता हतोत्साहित नभई लगानी गर्न आग्रह गरेको छ । केहिदिन देखि धितोपत्र बोर्डले नियोजीत ढंगले बजार घटाउन लागिपरेको आरोप लगानी कर्ताहरुले लगाईरहेका छन् । त्यसको जवाफमा बोर्डले सूचिकृत कम्पनीहरुको वित्तिय विवरणको सुक्ष्म अध्ययन गरि सुझबुझपुर्ण ढंगले लगानी गर्न पनि आग्रह गरेको हो । बोर्ड आफ्नो उदेश्य बजार घटाउनु वा बढाउनु नभएर लगानी कर्ताको हित सुरक्षित गर्ने तर्फ केन्द्रित रहेको समेत स्पष्ट पारेको छ । नेपालको पुँजी बजारलाई थप व्यवस्थित र लगानी कर्ता मैत्री बनाउने अभियानमा सामेल भएको बोर्डलाई बजार घटाउन लागेको आरोप लगाइनु आपक्ति जनक भएको पनि बोर्डले भनेको छ । सोमबार बजार ८८ दशमलब ८१ अंकले घटेर सर्किट ब्रेक लगाउँदै कारोबार बन्द भएपछि बोर्डले लगानीकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गरेको हो ।
पानासोनिक मोबाइलको पार्टनर्स मिट सम्पन्न
काठमाडौं, २४ साउन । नेपालका लागी पानासोनिक स्मार्ट् फोनको आधिकारिक बिक्रेता अलाईड ट्रेडलिन्क इन्टर्नेसनल प्रालिले देशभरका आफ्ना आधिकारिक बिक्रेताको भेला पानासोनिक पार्टनरस मिट२०१६ सम्पन्न गरेको छ। अलाईडट्रेड लिन्क इन्टर्नेसनलका प्रबन्ध निर्देशक मनिस राजभण्डारीले बजार विस्तारमा प्रमुख प्राथमिकता दिने बताए । पानासोनिक इन्डियाबाट आएका बिनित शर्माले नेपालमा आगामि योजना तथा रणनितीका बारेमा चर्चा गरेका थिए ।उक्तकार्यक्रममा बिक्रेतहरुसंग कम्पनीका प्रतिनीधीहरुले बजार विस्तार बारे सुझाव समेत मागेका थिए ।
नेप्से ५ प्रतिशतभन्दा बढीले घट्यो, कारोवार रोकियो
काठमाडौं, २४ साउन । बजार अत्याधिक घटेपछि सोमवार कारोवार नै रोकिएको छ । दिउसो साढे १ बजेसम्ममा बजार ५ प्रतिशतले घटेपछि दिनभरकै लागि कारोवार रोकिएको हो । गत सातादेखि घट्न लागेको बजार सोमवार ८८ दशमलब ८१ अंकले घटेको छ । सो दिन बजार ५ दशमलब ०३ प्रतिशतले घटेको छ । सेयर कारोवार रकम पनि उल्लेख्य रुपमा घटेको छ । सोमवार जम्मा ८७ करोड ९३ लाख रुपैयाँको मात्रै सेयर कारोवार भएको छ । अघिल्लो साता दैनिक करिब २ अर्ब रुपैयाँको हाराहारीमा कारोवार हुदै आएको थियो । सेयर विक्री गर्न आउनेको मात्रै चाप बढेको धितोपत्र दलाल ब्यवसायी संघका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले जानकारी दिए । सोमवार बैंकिङ समुह ९२ दशमलब ३८ अंकले, होटल समुह ६२ दशमलब ९६ अंकले, विकास बैंक समुह ६९ दशमलब ६१ अंकले, जलविद्युत समुह ११७ दशमलब ३५ अंकले, फाइनान्स समुह ३० दशमलब ३० अंकले, बीमा समुह ५३७ दशमलब ८४ अंकले र अन्य समुह ३२ अंकले घटेको छ ।
टेलिकमका १० टावर बन्द, एक दर्जन गाविस सम्पर्कविहीन
बागलुङ, २४ साउन । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ । टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द रहेको प्रयोगकर्ताले जनाएका छन् । लघुजलविद्युत् आयोजनाबाट निस्कने विद्युत्मा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको नेपाल टेलिकम बागलुङले जनाएको छ । तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको इन्जिनियर अमृत नेपालले बताए । विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएको उनको भनाइ छ । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ । अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ । तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ । त्यसो गर्दा बुर्तिवाङ बजार क्षेत्रमा रहेका ‘ल्याण्ड–लाइन’ टेलिफोन सञ्चालनमा ल्याउन सकिने जनाइएको छ । अन्य केही स्थानका टावरमा पनि सानो जेनेरेटर राखेर सेवा सुचारु गर्ने तयारी भइरहेको छ । “सडकमार्ग अवरुद्ध भएका कारणले पनि जेनेरटरलगायतका उपकरण पु¥याउन कठिन भइरहेको छ । ग्वालीचौरदेखि पश्चिमका गाविसमा टेलिकमको कुनै पनि नेटर्वकले काम नगरेको बुर्तिवाङका ऋतुवर्ण पौडेलले बताउनुभयो । ठूलो सङ्ख्यामा लघुजलविद्युत् आयोजना बन्द भएपछि १० हजारभन्दा बढी घरधुरी अहिले अँध्यारोमा बस्न बाध्य छन् । आयोजनाको पावर हाउस, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग समेत बन्द भएका छन् । जिल्लाको पश्चिमका निशी, भुजी र तमान खोलामा आएको बाढीले आसपासका बस्ती, भौतिक संरचना र सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ ।