दिनेश दुरालाई दियो एनसेलले बाइक
काठमाडौं, २० साउन । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटर साईकल उपहार प्रदान गरेको छ । लमजुङ्ग कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत मोटर साईकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् । उनलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रम माझ सो उपहार प्रदान गरेको थियो ।
एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय पहुचँ अभिवृद्धि गर्ने सम्झौता
काठमाडौं, २० साउन । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुचँ अन्र्तगत एभरेष्ट बैंक सेवा इविएल सेवा परियोजनाका लागि सम्झौता भएको छ । होटल सांग्रिलामा आयोजित कार्यक्रममा, एभरेष्ट बैंकका प्रमुखकार्यकारी अधिकृत एके अहलुवालीया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजित बोहराले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौताका पश्चात्, एभरेष्ट बैंकले बैंकिंङ सेवा नपुगेको समाजको विभिन्न क्षेत्रहरुमा शाखारहित बैंकिंङ मार्फत बैंकिङ सेवामा सर्वसाधारणलाई अभ्यस्त गराउने छ र वित्तिय साक्षरता कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि गर्नुका साथै व्यक्तिगत, कृषि सहकारीहरु तथा साना लघु उद्यमहरुको वित्तिय आवश्यकतालाई पुरा गर्नेछ । नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर शिवराज श्रेष्ठ कार्यक्रमका प्रमुख अथिती थिए । त्यसैगरी, उक्त कार्यक्रममा अर्थ मन्त्रालयका उप–सचिव किसान सिँह बस्नेत, डि.एफ.आई.डी नेपालका निजी क्षेत्र विकास सल्लाहकार रवि रायमाझी तथा राष्ट्र बैंक र एभरेष्ट बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यो सुविधा देशका सुदुर पश्चिम, मध्य पश्चिम र पश्चिम क्षेत्रका २७ जिल्लाहरु पुग्नेछ । हामीले शाखा रहित बैंकिंङ्को नौलो आयामको रुपमा ट्याब्लेट बैंकिग पनि शुरु गरेका छौं साथै यस सेवा परियोजना मार्फत विपन्न वर्ग र कृषि कर्जा अझ बिस्तार गर्ने छौं ।’ नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर शिवराज श्रेष्ठले भने, ‘सक्षम र नेपाल राष्ट्र बैंकबीच कार्यगत सम्बन्ध रहेको छ र कयौं योजनाहरुमा सँगसँगै काम गरिरहेकोमा हामी खुशी छौं । वित्तिय समावेशीताको लक्ष्यका लागि एभरेष्ट बैंक सहितअन्य बैंक तथा वित्तिय संस्थाहरुसँग सक्षमले कामगरिरहेको सुन्दा मलाई खुशीलागेको छ, जुन वास्तवमा नेपाल राष्ट्र बैंकको पनि प्राथमिकताको क्षेत्र रहेको छ ।’ यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजित बोहराले भने, ‘विभिन्न किसिमको वित्तिय सेवाहरु जसले ग्रामिण अर्थतन्त्रलाई माथि उकास्नका लागि सहयोग गर्दछ त्यसका लागि सक्षमको प्राविधिक सहयोग र च्यालेन्ज फण्डिंगले ग्रामिण जनसंख्या सम्म सेवा पुर्याउने लक्ष्यमा एभरेष्ट बैंकलाई सहयोग गर्नेछ । सरकारले हालै ल्याएको एक नागरिक एक बैंक खाता नीतिका तथा सरकारको सार्वजनिक भूक्तानीलाई बैंकमार्फत नै गर्ने नीतिलाई अगाडि बढाउन सरकार सँगै कार्य गर्ने छौँ ।’ एभरेष्ट बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । त्यसैगरी, आफ्ना ३०० भन्दा बढि शाखारहित बैंकिग केन्द्रहरुबाट बैंकले सेवा पुर्याउदै आएको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।
बाइस लघुजलविद्युत् आयोजना बन्द, ८३५ किलोवाट विद्युत् उत्पादन रोक्का
बागलुङ, २० साउन । बागलुङ र म्याग्दीका बाइस लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि बन्द भएका छन् । आयोजना बन्द भएपछि जिल्लाका दुर्गम भेगका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् गृह, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । दश हजार बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रले जनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग बन्द भएका छन् । जिल्लाको पश्चिम भेगका दर्जनौँ गाविसमा विद्युत्सँगै सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । लघुजलविद्युत् आयोजना क्षेत्रका खोलामा आएको भिषण बाढीले ठूलो क्षति पु¥याएको हो । दुई आयोजना पूर्णरुपमा क्षति भएको केन्द्रका सामाजिक परिचालक संयोजक नेत्रलाल उपाध्यायले जानकारी दिनुभयो । पूर्ण क्षति हुनेमा देविस्थान–४ स्थित २७ किलोवाट क्षमताको लेवाङखोला लघुजलविद्युत् आयोजना र बुर्तिवाङ–४, ५ स्थित ३२ किलोवाट क्षमताको निशीदोभान लघुजलविद्यत् आयोजना रहेको छ । अधिकांश आयोजनाको मुहान, कुलोमा क्षति पुगेको छ । क्षतिपछि बन्द भएका आयोजनामा बुर्तिवाङ–९ स्थित २२ किलोवाट क्षमताको ‘आरसिजी’, सोही स्थानमा रहेको ३४ किलोवाटको भुजिखोला दोस्रो, बुर्तिवाङ–३ स्थित २३ किलोवाटको भुजीखोला छैटौँ, बुर्तिवाङ–७ स्थित ७४ किलोवाटको रिठाखोला, अधिकारीचौर–९ स्थित ६० किलोवाटको बुढाथोक, अधिकारीचौर–३ स्थित ४० किलोवाटको सैखोला लघुजलविद्युत् आयोजना रहेको छ । यस्तै, बोवाङ–१ स्थित १७ किलोवाटको भुजीखोला तेस्रो, अधिकारीचौर–४ मा रहेको आठ किलोवाटको ओख्रेनी खोला, अधिकारीचौर–५ स्थित २२ किलोवाटको गादीखोला, अधिकारीचौर–५ स्थित २० किलोवाटको खानीखोला, राजुकतस्थित १७ किलोवाटको कुतखोला र राजकुतकै आठ किलोवाटको कुतखोला दोस्रोमा समेत क्षति पुगेको छ । राजकुत गाविसकै २० किलोवाटको कुतखोला तेस्रो, देवीस्थानस्थित ४८ किलोवाटको निशीखोला प्रथम र ५० किलोवाटको बायखोला, बोहरागाउँस्थित १०० किलोवाटको निशीखोला दोस्रो, निशीस्थित १०० किलोवाटको निशीखोला तेस्रोमा पनि बाढीले क्षति पु¥याएपछि आयोजना बन्द भएको छ । क्षतिका कारण निस्कोट–३ को ५१ किलोवाटको रुमखोला, रुमको ११ दशमलव ५ किलोवाटको थेरवाङ पात्लेखोला र मुना गाविसस्थित ५१ किलोवाट क्षमताको दरखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । रासस
बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक १७६८ बिन्दुमा, १५० करोडको कारोबार
काठमाडौं, २० साउन । यो साता भरि सेयर बजार निरन्तर ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार, बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक ४५ दशमलब १२ अंकले ओरालो लागेर १७६८ अंकमा पुगेको छ । सो दिन एक अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १४२ कम्पनीको २७ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको हो । बजारमा सबै समूहको परिसूचक आरालो लागेको छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९९ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १०२ अंकले ओरालो लागेको छ । त्यस्तै हाइड्रोपावर, विकास बैंक, उत्पादनमूलक र बैंकिङ् समूहको परिसूचक क्रमशः ५८, ५२, ५१ र ४० अंकले घटेका छन् । त्यसैगरि फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः १७ र १२ अंकले तल झरेको छ । सिद्धार्थ बैंकको सबैभन्दा बढी ११ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंक र नेपाल बैंकको ९ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एनएमबी बैंकको करिब ६ करोड भन्दा कम रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी कन्काइ विकास बैंकको करिब ५ प्रतिशतले बढेको छ । त्यस्तै सिनर्जी फाइनान्स, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, कञ्चन डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र लुम्विनी फाइनान्सको सामान्य प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । आरिएन्टल होटल र देब विकास बैंकको करिब ७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स, अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र काष्टमान्डप डेभलपमेन्ट बैंको करिब ६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बैंकहरुले व्याज माथि व्याज लगाउन नपाउने, पेनाल व्याज २ प्रतिशत भन्दा कम लिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं, २० साउन । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग व्याज माथि व्याज लगाउन नपाउने भएका छन् । त्यस्तै पेनाल व्याज पनि बढीमा २ प्रतिशत लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । ‘कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा बार्षिक पेनाल ब्याजदर २ प्रतिशत भन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिकामा भनिएको छ । त्यस्तै पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ता (साँवा, ब्याज) रकममा बार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधीका लागि कायम हुन आउने रकम भन्दा बढी लिन पाइने छैन । त्यस्तै, पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन । राष्ट्र बैंकका सहयाक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार यसअघि राष्ट्र बैंकले पेनाल व्याजदरको सीमा तोकेको थिएन । कर्जा भुक्तानीमा ढिलाई हुँदा बैंकहरुले पेनाल व्याज बढी लिए भन्ने गुनासो उपभोक्ताबाट आएपछि नयाँ व्यवस्था गरिएको हो । बैंकहरुले व्याज र पेनाललाई पु्ँजीकरण (क्यापिटलाईज) गरेर त्यसमाथि व्याज लगाउन पनि नपाउने व्यवस्था गरिएको उनले बताए । यसअघि बैंकहरुले भाका नाघेका ऋणीबाट उठाउन बाँकी व्याजमा पुनः सावाको सरह व्याज लगाउदै आएका थिए । नयाँ व्यवस्थाले तोकिएको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्न नसेका तर ढिला गरि बैंकको ऋण भुक्तानी गर्ने ग्राहकलाई लाभ मिल्नेछ । बैंकको आम्दानीमा भने थोरै नाकारात्मक असर पर्नेछ ।
चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा वितरण हुने
काठमाडौं, २० साउन । खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण गर्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घको चौधौँ वार्षिक अधिवेशनमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सञ्जय शर्माले मेलम्ची आयोजना सम्पन्न गर्न तीव्रगतिमा कार्य भइरहेको र उक्त आयोजनापछि काठमाडौं उपत्यकामा १७ करोड लिटर खानेपानी प्रतिदिन आपूर्ति गर्न सकिने जानकारी दिए । सरसफाइका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम भइरहेको र विभिन्न गाविस तथा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहरसमेत चलेको उल्लेख गर्दै उनले स्थानीयवासीको सहयोगबिना सरकारका कुनै पनि कार्यक्रम सफल नहुने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष विष्णु दाहालले ‘काठमाडौं उपत्यकामा ट्याङ्करबाट खानेपानी आपूर्तिको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै खानेपानीको गुणस्तरअनुसार ट्याङ्करमा स्पष्टसँग ‘खानेपानी ट्याङ्कर’ भनी उल्लेख गरिनुपर्ने सुझाव दिए । उनले अहिलेको खानेपानी ऐन, उद्योग ऐनलगायतका ऐनलाई समयानुकूल नियमन गर्ने किसिमले संशोधन गर्नुपर्ने र खानेपानी विकास बोर्डको छुट्टै निर्देशिका बनाउन बताए । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर माग हुँदै आएकामा अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुक्खायाममा नौ करोड लिटर र वर्षायाममा ११ करोड लिटर पानी मात्र आपूर्ति गर्न सकेको छ । हाल मन्त्रालयले देशभर ८५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याएको जनाएको छ । सन् २०३० सम्ममा सबै नेपालीलाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । रासस
क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुग्योः नेप्से
काठमाडौं, २० साउन । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले क्लियरिङ बैंकको संख्या बढाउन दिएको समय सिमा नाघेको करिब चार महिनापछि बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो । बोर्डले २०७२ साल माघ १३ गते नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेखेर ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो । नेप्सेले हाल प्रयोग गरिरहेको सफ्टवेयरको भेण्डर कम्पनीसँग बार्षिक मर्मत सम्झौता(एन्युअल मेन्टिनेन्स एग्रिमेन्ट) नभएको तथा उपयोगमा रहेको प्रबिधीले दुई वटा क्लियरिङ बैंक राख्न नसकिने भएकाले ढिलो भएको स्पष्टीकरण दिएको छ । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । नेप्सेले खुल्ला प्रतिष्पर्धाका आधारमा थप क्लियरिङ बैंक थप्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी धितोपत्र बोर्डलाई समेत दिईसकेको छ ।
दुबई उडानबाट वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने निगमको लक्ष्य
काठमाडौ, २० साउन । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो । विसं २०४१ माघदेखि काठमाडौं–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौं–दुबई उडानबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेकोे उल्लेख गरे । निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाइड बढी विमान किन्ने तयारी गरेको छ । हाल मुलुकमा २७ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमका प्रवक्ता रामहरि शर्माले नेपाल एयरलाइन्सले व्यावसायिक सफलता गर्ने क्रममा रहेको र विमान खरिदका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा ठूला बैंकले बजेट दिन आतुर रहेको जानकारी दिए । उनले दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको बताए । निगमका अनुसार काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मि र दुबईबाट काठमाडौं चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय गन्तव्य आठ पुग्नेछन् । नेपाल एयरलाइन्सले हाल हङ्कङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ । रासस