यस्तो छ प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशीको प्रमाण पत्र
काठमाडौं । संसदिय सुनुवाईमा पुगेर कायम मुकायम प्रधानन्यायधिश दिपक राज जोशीको प्रधानन्यायधिश बन्ने यात्रा अनिश्चित बनेको छ । उनलाई अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे सुनुवाई समितिमा सहमति जुटेको छैन् । नेकपाका सांसदहरु पार्टी नेतृत्वको निर्देशन कुरेर बसेका छन भने काँग्रेस सांसदहरुले जोशीको नाम अनुमोदन गर्नुपर्ने बताईरहेका छन् । यसैबिच जोशीले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । उनीहरुबीचको भेटमा के के कुरा भयो भन्नेबारे अझै खुलेको छैन् । जोशीको शैक्षिक योग्यताको प्रमणपत्र माथी प्रश्न उठिरहेको छ । त्यस्तै उनले गरेका केहि फैसलाहरुमाथी पनि प्रश्न उठेका छन् । जोशीले पेश गरेका शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजातहरु यस प्रकार छन् ।
किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका सेयर ?
काठमाडौं । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा सेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई सेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई सेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै सेयर मूल्य ५०० रुपैयाँ भन्दा माथि छ । धेरैजसो कम्पनीको सेयर मूल्य न्यूनतम बिन्दुमा छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै सेयर मूल्य ७४० रुपैयाँ छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य ४३६ रुपैयाँ छ । बाँकी रहेका १६ वटा कम्पनीको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत फागुनमा थप सेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको सेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा सेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ । नेशनल हाइड्रो पावर कम्पनीको सेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता सेयर ८६ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । गत वर्ष ६५६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको सेयर हाल २७४ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको २५५ रुपैयाँ, अरुण भ्यालीको १४० रुपैयाँ, बरुण हाइड्रोपावर कम्पनीको सेयर १४१ रुपैयाँ मूल्यमा खरीद बिक्री भइरहेको छ । निरन्तर ओरालो लागेको सेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ । स्टकका अनुसार छ्याङ हाइड्रो पावरको सेयर १२८ रुपैयाँमा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको २७४ रुपैयाँ, खानीखोला हाइड्रो पावरको १०६ रुपैयाँमा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको सेयर गत वर्ष पनि २०५ रुपैयाँ बिक्री भएको थियो । यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको रु १६५, न्यादी समूहको रु १६०, राधी विद्युत् कम्पनीको रु २३२, रैराङ हाइड्रोको रु १५५, रिडी हाइड्रो पावरको रु १२२, सानिम माइक्रोको रु ३१९, सिनर्जी पावरको रु ११८ र युनाइटेड मोदीको प्रतिकित्ता रु १६६ मा शेयर खरीद बिक्री भएको छ । सेयर बजारमा जलविद्युत् कम्पनीको सेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस सेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि सेयर बजारमा दबाब परेको छ । सेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण सेयर बिक्रीका लागि अनुमति दियो । यस्तै सेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् । सेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको सेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ । बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर सेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ । स्टकका अनुसार आज बजार २.९१ बिन्दुले घटेको छ । यस्तै क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २५१।०८ बिन्दुमा पुगेको छ । आज कूल १६३ कम्पनीको पाँच लाख ७८ हजार ९३३ कित्ता सेयर रु १६ करोड ७७ लाख ३९ हजार ६९७ मा खरीद बिक्री भएको छ । मंगलबार तीन उपसमूहको सेयर बढ्दा सात उपसमूहको सेयर भने घटेको छ । बैंकिङ २.२६, होटल १७.१८, निर्जीवन बीमा २४.९५, उत्पादन ५.३६ अन्य २।४६, माइक्रोफाइनान्स ५.६१, बीमा २७.६१ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ३.११, जलविद्युत् २.९८ र फाइनान्स समूहको सेयर ०.७८ बिन्दुले बढेको छ ।
महाबौद्धस्थित ९ तले सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा
काठमाडौं । महाबौद्धस्थित निमार्ण भइरहेको ९ तलाको सैनिक अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । ३२ वर्ष पुरानो यस अस्पताल भत्काएर ९ तलेको भवन बनाइएको हो । शुरुमा यस अस्पताल १७ तले बनाउने निर्णय गरिएको थियो । तर २०७२ सालको विनाशकारी भुकम्पका कारण ९ तले मात्र बनाइएको हो । सेनाका अनुसार भवन सम्पन्न भएपछि वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिइने भएको छ । अस्पताल चलाउन भनेर बनाइएको अत्याधुनिक भवन सेनाले व्यापारिक प्रयोजनको लागि एभरेष्ट इन्टरप्राइजेनका सञ्चालक चन्द्रबहादुर श्रेष्ठले १५ वर्षका लागि भाडामा लिने भएको छन् । यस भवन कुल ३ लाख ३० हजार वर्गफिट क्षेत्रफलमा बनेकाे छ । सो मध्ये २ लाख ८५ हजार वर्गफिट एभरेष्ट इन्टरप्राइजेजले सेनासँग लिएर प्रयोग गर्ने भएको छ ।
डलर अर्बपति अनिल अम्बानीको रिलायन्स कम्युनिकेसनको सबैभन्दा बढी सेयर कारोबार
एजेन्सी । भारतीय डलर अर्बपति अनिल अम्बानीको स्वामित्वमा रहेको रिलायन्स कम्युनिकेसन्स (आरकम) सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीको सुचिमा परेको छ । नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सुचिकृत मध्ये यो वर्ष आरकमको सेयर सबैभन्दा बढी कारोबार भएको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाईन संस्करणमा उल्लेख गरेको छ । आरकमको सेयर दिनको औसत ११ करोड भारु बराबर कारोबार भएको छ । अनिलले ऋण तिर्नका लागि आरकमको केही हिस्सा बिक्री गरेकाले यो वर्ष उसको सेयर मूल्यमा व्यापक उतारचढाव आएको छ । सन् २०१७ र १८ मा एनएसईमा सबैभन्दा बढी ८२ करोडको इक्विटी सेयर कारोबार भएको छ । सोही समयमा आरकमको सेयर मूल्य १०० प्रतिशतसम्म बढेको थियो । मंगलबार दिउसोसम्म आरकमको सेयर मूल्य १.८१ प्रतिशत बढेर प्रतिकित्ता ३ करोड ७३ लाख भारुको सेयर किनबेच भएको छ ।
गोदावरी नगरपालिकाले भ्याट असुल्यो, खानेपानी ट्याङकरलाई १६९ रुपैंयाँ कर
काठमाडौं । ललितपुरस्थित गोदावरी नगरपालिकाले भ्याट असुली गरेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले पानी ट्याङकरहरुसँग प्राकृतिक श्रोतको उपयोग गरे वापत असुल गरेको करसँग भ्याट उठाएको प्रमाण विकासन्युजले फेला पारेको हो । नगरपालिकाले प्राकृतिक श्रोतहरुको उपयोग शुल्क वापत निकासी कर उठाउने क्रममा १३ प्रतिशत भ्याट असुली गरेको हो । गोदावरी नगरपालिकाले साउन १ गतेदेखि नै पानी ट्याङकरहरुसँग भ्याट असुल्दै आएको छ । ‘हामीले ट्याङकरहरुसँग भ्याट असुल्दै आएका थियौं तर अब रोक्ने तयारी भैरहेको छ’, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने । नगरपालिकाले हालसम्म उठाएको भ्याट के हुने भन्नेबारे चाँही मेयर महर्जनले केहि बताएनन् । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले स्थानीय तहहरुले भ्याट असुल्न नपाउने स्पष्ट व्यवस्था रहेको बताउँदै गोदावरी नगरपालिकाले भ्याट उठाएकोबारे मन्त्रालय अनभिज्ञ रहेको बताए । ‘संबिधानले नै भ्याटलाई केन्द्र सरकारको मातहतमा राखेको छ, स्थानीय तहले उठाउन पाउँदैन, के भएको हो हामी बुझ्छौं’, खरेलले भने । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले पनि स्थानीय तहले भ्याट उठाउन नपाउने बताए । अधिवक्ता खिमलाल देवकोटाले स्थानीय तहरुले बुझेर वा नबुझेर अनावश्यक कर संकलन गरिरहेको बताए ।‘कतिपय अवस्थामा नबुझेर त कतिपय अवस्थामा बुझेरै पनि स्थानीय तहरुले अनावश्यक कर उठाईरहेका छन्, अधिकार क्षेत्रबारे सबैलाई स्पष्ट पार्नु आवश्यक देखिन्छ’, अधिवक्ता देवकोटाले भने । गोदावरी नगरपालिकाले पानी ढुवानी गर्ने ट्याङकरहरुलाई १ सय देखि १५० रुपैंयाँसम्म ढुवानी कर र १३ प्रतिशत भ्याट असुल्दै आएको छ । ५ हजार लिटर देखि ९ हजार लिटरसम्म पानी बोक्ने ट्याङकरहरुसँग प्रति ट्याङकर एक सय रुपैंयाँ र भ्याट तथा ९ हजार लिटर भन्दा ठूला ट्याङकरहरुसँग प्रति ट्याङकर १५० रुपैंयाँ र भ्याट असुलिरहेको छ । त्यसका लागि नगरपालिकाले ओजस निर्माण सेवा नामकको कम्पनीलाई ठेक्का दिएको छ ।
नेपालमा पहिलो पटक क्रियटिभ बिजनेस कप हुँदै, विजेतालाई ९ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । नेपालमा पहिलो पटक उद्यमीहरुको लागि क्रियटिभ बिजनेस कप प्रतियोगिता हुने भएको छ । नेपालमा नयाँ सोच भएका नव उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण ‘स्टार्टअप इकोसिस्टम’ विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । करिब ३ वर्षदेखि सक्रिय संस्था अन्तरप्रेरणा र उद्यमशिलताको क्षेत्रमा विश्वभरि कार्यरत डेनमार्कको कोपनहेगनमा रहेको क्रियटिभ बिजनेस कपबिच नेपाली उद्यमीहरुलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । यसबाट यहि वर्ष नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रियटिभ बिजनेस कप प्रतिस्पर्धामा नेपाली उद्यमीलाई सहभागी हुने अवसर मिलेको छ । नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा उद्यमशीलताका विविध क्षेत्रमा नविन र सृजनशील कार्यहरु गरिरहेका उद्यमीहरुले प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिताबाट छानिएका उत्कृष्ट प्रतियोगीले कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय बिजनेस कपमा आफ्नो प्रस्तुती दिन पाउने छन् । तीन दिने अन्तराष्ट्रिय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेले ७००० यूरो बराबरको नेपाली रुपैयाँ(अर्थात ९ लाख ३ हजार रूपैयाँ) नगद पुरस्कारसँगै अन्य सुविधाहरु पाउनेछन् । क्रियटिभ बिजनेस कपले उद्यमीहरुको सशक्तिकरण, उद्यमीहरुलाई विश्व बजार, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ । हाल अन्तरप्रेरणाले नेपाली उद्यमीहरुका विचमा राष्ट्रिय प्रतियोगिताकोलागि आवेदन आव्हान गरिरहेको छ । यस बिजनेस कपमा सहभागी हुनको लागि अन्तर्प्रेरणाको वेभसाईट https://www.antarprerana.com.np/cbc बाट आवेदन दिन सकिने छ र थप जानकारी पनि पाउन सकिने छ ।
२ वर्षमा एनसीसी बैंकको नाफा पौने २ अर्ब नाघ्ने, लगानीकर्ताले कति पाउनेछन् लाभांश ?
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले आउदो २ वर्षमा नाफा दोब्बर बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा दोब्बर बढेर १ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ पुग्ने अनुमान गरेको हो । बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा दोब्बर बढाउने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष ०७४/ ०७५ मा बैंकले ९० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक वर्षमा बढाएर १ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुग्ने अनुमान छ । नाफामा भएको वृद्धिसंगै प्रति सेयर आम्दानी (ईपीएस) पनि बढ्ने भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २२ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा बैंकको ईपीएस १९ रुपैयाँ ३२ पैसा, चालु आर्थिक वर्षमा १९ रुपैयाँ ४६ पैसा पुग्नेछ । यस्तै प्रतिसेयर नेटवर्थ पनि बढेर १७६ रुपैया पुग्ने छ । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा घटेर १५० रुपैयाँ कायम भएको छ । बैंकले निक्रिय कर्जा अनुपात घटाएर १ प्रतिशतमा झार्ने भएको छ । गत वर्ष बैंकको यस्तो कर्जा ३.१९ र चालु आर्थिक वर्षमा १.९४ प्रतिशतमा झर्ने बैकको प्रक्षेपण छ । यस्तै पुँजी कोषको आकार १४.५१ प्रतिशत हुने अनुमान छ । गत आवमा बैंकको पुँजीकोष १३.७९ र चालु वर्षमा १७.२१ प्रतिशत पुग्ने अनुमान छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकको ब्याज आम्दानी २ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ गर्ने भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ८० लाख, चालु वर्षमा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी हुने बैंकको प्रक्षेपण गरिएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन २५ प्रतिशत बढेर ९५ अर्ब ६४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । चालु अर्थिक वर्षमा बैंकको निक्षेप बढेर ७६ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । कर्जा लगानी ३०.७६ प्रतिशत बढ्ने अनुमान छ । आगामी २ वर्षमा बैंकको कर्जा लगानी बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । यस्तै चालु आर्थिक वर्षमा ६४ अर्ब १० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जगेडा कोषको आकार पनि बढेर ५ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ पुग्ने अनुमान बैंकको छ । गत आर्थिक वर्षमा बैंकको जगेडा कोष ३ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आवमा बढेर ४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । २ वर्षमा पनि निक्षेपको ब्याजदर १०.६१ प्रतिशत नै हुने अनुमान बैंकको छ । गत वर्ष औसत ९.१२ र चालु आर्थिक वर्षमा ९.६९ प्रतिशत पुग्ने छ । यस्तै कर्जाको औसत ब्याजदर १४.३० प्रतिशत पुग्ने छ । गत वर्ष १३.४६ र यो वर्ष अझ बढेर १३.९९ प्रतिशत पुग्ने अनुमान छ । बैंकले भदौ ४ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ ।
लगानीकर्ता एनएमबी बैंकको बोनस सेयरमा लोभिए, सबैभन्दा बढी कारोबार
काठमाडौं । लगानीकर्ता बोनस सेयरमा लोभिदा मंगलबार एनएमबी बैंकको सबै भन्दा बढी कारोबार भएको छ । एनएमबीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ । बिहीबारसम्म किन्ने मात्र बोनस सेयर पाउने भएपछि लगानीकर्ताले लोभिएका हुन् । बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । बिहीबारसम्म सेयर खरिद गर्नेले सो १५ प्रतिशत बोनस सेयर पाउने छन् । एनएमबीको प्रतिकित्ता ३६४ रुपैयाँमा ७८ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले पुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओमा लगानी गर्नेले प्रतिसेयर ३० रुपैयाँ बढी र थप बोनस पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले एफपीओ जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।