विकासन्युज

काठमाडौं उपत्यकामा भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान सम्झौता शुरु

काठमाडौं, १९ कात्तिक । भूकम्पपीडितलाई पुनःनिर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गर्न काठमाडौं उपत्यकामा अनुदान सम्झौता सुरु भएको छ । काठमाडौंका ११ नगरपालिकामध्ये तारकेश्वर, टोखा, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिकाका पूरै र कामपाका दुई वडामा अनुदान सम्झौता सुरु भएको स्थानीय विकास अधिकारी गोपाल अधिकारीले बताए । बाँकी छ नगरपालिकामा सोमबारदेखि अनुदान सम्झौता सुरु हुने जनाइएको छ । “काठमाडौंमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार १०२ लाभग्राहीको सूची स्वीकृत गरेको छ, तिनसँग सम्झौता गर्न मन्त्रालयबाट २० हजार मात्र फाराम प्राप्त भएकाले समस्या परेको छ”, उनले भने । ललितपुरमा वज्रबाराही, महालक्ष्मी र कार्यविनायक नगरपालिका एवम् ललितपुर उपमहानगरपालिकाबाट अनुदान सम्झौता सुरु भएको छ । उपमहानगरपालिका सहित पाँच नगरपालिका र १९ गाविस रहेको ललितपुरका ग्रामीण भेगमा भने छठपछि मात्र अनुदान सम्झौता सुरु हुने जिविसका तर्फबाट भूकम्पसम्बन्धी काम गर्न तोकिनुभएका सम्पर्क अधिकृत सरिता महर्जनले जानकारी दिए । ललितपुरमा सूचीमा परेका लाभग्राहीको सूचना नगरपालिकाका वडा कार्यालय एवम् गाविस कार्यालयमा टाँस गरी जानकारी गराउने र सूचीमा नपर्नेको गुनासो दर्ता गर्ने काम पनि सुरु भएको छ । भक्तपुर नगरपालिकाका सबै वडामा लाभग्राहीको सूची सार्वजनिक गरी अनुदान सम्झौताको तयारी गरिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, आयोजना कार्यान्वयन एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए । प्राधिकरणले उपत्यकामा ९० हजार ८८८ पीडितलाई अनुदान पाउने सूचीमा समावेश गरेको बताइएको छ । रासस

राष्ट्रपति भण्डारीद्धारा न्यायपरिषद् सदस्यमा पदमप्रसाद वैदिक नियुक्त

काठमाडौं, १९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्यूठान नगरपालिका– १९ का अधिवक्ता पदमप्रसाद वैदिकलाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेकि छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा १५३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवक्ता वैदिकलाई उक्त पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

जापानले बाढी नियन्त्रणका लागि दुई करोड बढी अनुदान दिने

काठमाडौं, १९ कात्तिक । जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न दुई करोड ४५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो। यहाँस्थित जापानी राजदूतावासमा शुक्रबारआयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा जापानी गैरसरकारी संस्था सप्ला सिटिजन्स कमिटिका देशीय निर्देशक तोयाकी कोमातिसुले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सप्ला सिटिजन्स कमिटी र चितवनस्थित गैरसरकारी संस्था ग्रामीण पुनःनिर्माण नेपाल नामक संस्थाले स्थानीय तहमा बाढीपहिरोलगायत विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्दै आएका छन् । रासस

निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त

काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । रासस

राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबस्दा ४५ बैंक तथा वित्तीय संस्थाको मर्जरमा ढिलाइ, ६० अर्ब रुपैयाँ अनधिकृत रुपमा सर्कुलर

काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंक भित्र सुविधा भोगको होडबाजी र विदेश घुम्ने मोहका कारण लामो समयदेखि बैंक सञ्चालक समितिको बैठक बस्न सकेको छैन । त्यसको परिणाम वित्तीय बजारमा गम्भिर असर परेका छन् । राष्ट्र बैंकको निर्णय विना ६० अर्ब रुपैयाँ अनधिकृत रुपमा मुद्रा बजारमा आएको छ भने पुँजी वृद्धि र मर्जको अन्तिम सीमा वर्षमा राष्ट्र बैंकले यस सम्बन्धि फाइलहरुमा निर्णय दिन सकेको छैन । राष्ट्र बैंक सञ्चालक समिति राष्ट्र बैंकको निर्णय अनुसार ३७५ अर्ब रुपैयाँ भन्दा बढी मुद्रा बजारमा पठाउन मिल्दैन । तर हाल ४३५ अर्ब रुपैयाँ मुद्रा बजारमा सर्कुलर भएको राष्ट्र बैंक स्रोतले बतायो । ‘राष्ट्र बैंकको अन्तिम निर्णय अनुसार बढीमा ३७५ अर्ब रुपैयाँ मुद्रा बजारमा पठाउन सकिन्छ । दसैं र तिहारको समयमा अधिक मुद्राको माग भएकाले यतिबेला ४३५ अर्ब रुपैयाँ मुद्रा सर्कुलेशन भएको छ’ उच्च स्रोतले भन्यो । ‘दसैं र तिहारको समयमा नयाँ नोट लिन लाईन बस्नेले बैंक घेरे । तर बैंक सञ्चालक समितिको बैठक बस्न सकेन । निर्णय भएको छैन भनेर छापेर ल्याएको नोट नबाँढी बस्न सकिएन’ स्रोतले भन्यो–‘निर्णय पछि गरौला भनेर नोट वितरण गरियो ।’ थप ६० अर्ब रुपैयाँ नयाँ नोट सर्कुलर गर्ने र अधिकतम नोट सर्कुलेशन सीमा ४५० अर्ब बनाउने प्रस्ताव अब बस्ने सञ्चालक समितिमा लैजाने तयारी भएको स्रोतले बतायो । त्यस्तै, राष्ट्र बैंक सञ्चालक समितिको बैठक मर्जर प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको प्रस्तावमा राष्ट्र बैंकले निर्णय दिन सकेको छैन । एनसीसी बैंकमा चार वटा विकास बैंक मर्ज भई असोज ३० गतेदेखि एकिकृत कारोबार गर्ने तयारी थियो । तर राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न नसक्दा अन्तिम स्वीकृति पाएको छैन । ‘४५ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा छन् । उनीहरुको मर्जर पुरा हुन प्रत्येक संस्थाको फाइल कम्तिमा तीन पटक सञ्चालक समितिमा पेश हुनुपर्छ, सञ्चालक समितिले निर्णय दिनुपर्छ । ती सबै काम रोकिएका छन्’ ती अधिकारीले भने ‘पुँजी वृद्धि गर्ने सीमा अवधिको अन्तिम वर्षमा बैंक तथा वित्तीय संस्थाले छिटो निर्णय चाहेका छन् तर हामीले नै स्वीकृति दिन सकिरहेका छैनौं ।’ त्यस्तै बैंक तथा वित्तिय संस्थाको स्थलगत अनुगमन रिपोर्टलाई सञ्चालक समितिले अन्तिम रुप दिएपछि कार्यान्वयनमा जाने गर्छ । पछिल्लो तीन महिनामा सम्पन्न अनुगमन रिपोर्टबारे सञ्चालक समितिमा छलफल हुन सकेको छैन । यसले वित्तीय क्षेत्र सुधार प्रक्रियामा समेत असर गरेको छ । यो पनि पढ्नुहोस् ; आन्तरिक विवादले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेन, राष्ट्र बैंक ऐन समेत उल्लंघन

दाँत किराले खाएर हैरान हुनु भयो ? अपनाउनुस यी ४ घरेलु उपाय

काठमाडौं, १९ कात्तिक । आम नेपालीका लागि दाँत किराले खानु सामान्य जस्तै भैसकेको छ । नियमित ब्रस नगर्नाले अन्नका स साना कणहरु दाँतका किनारामा बस्छन जसमा किराले संक्रमण गरेपछि दाँतमा पनि किरा लाग्छ । यसरी दाँतमा लागेको किराको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ । १) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँत माझ्दा गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ । २) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ । ३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । ४) किरा लागेको दाँतमा बरको चोप लागाउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

आन्तरिक विवादले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेन, राष्ट्र बैंक ऐन समेत उल्लंघन

काठमाडौं, १९ कात्तिक । आन्तरिक विवादमा फसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन । सामान्य अवस्थामा सातामा दुई पटक बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठक विगत अढाई महिनादेखि नियमित बस्न सकेको छैन । राष्ट्र बैंक ऐन अनुसार सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्न सक्छ, तर महिनामा कम्तिमा एक पटक बस्नै पर्नेछ । राष्ट्र बैंक सञ्चालक समितिले यतिबेला ऐनको दफा २० उल्लंघन गरिरहेको पाईएको छ । (हेनुहोस कानुनी व्यवस्था) राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबसेको एक महिनाभन्दा बढी समय भएको र कानुनको पालना गर्न समेत नसकिएको राष्ट्र बैंकका एक डेपुटी गभर्नरले स्वीकार गरे । राष्ट्र बैंकका दुबै डेपुटी गर्भनर सञ्चालक समितिका सदस्य हुन् । ‘बैठक नियमति बस्न नसकेको  त साढे दुई महिना भयो । बीचमा कार्यालय खुल्नुभन्दा अगाडि नै दुई पटक बैठक बसेका थियौ । पछिल्लो ढेड महिनामा एक पटक पनि बैठक बसेको छैन’–उनले भने । कर्मचारी संघको अवरोधका कारण बैठक नियमित बस्न नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकका कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै संघले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय संघले अन्य विरोधका कार्यक्रम रोकेर सञ्चालक समिति बैठक कक्ष अगाडि धर्ना दिँदै आएका छन् । तर सञ्चालक समितिको बैठक बस्नै नसक्ने गरी धर्ना तथा विरोधका कार्यक्रम नरहेको संघका अध्यक्ष बसन्त पाण्डेले बताए । ‘कि गभर्नर कि डेपुटी गभर्नरहरु पालै पालो विदेश गईरहनु भएको छ । कोरम नपुगेर गर्भनरले बैठक राख्न सक्नु भएको छैन, उहाँले चाहेको अवस्थामा सार्वजनिक विदाको दिन वा कार्यालय समय अघिपछि पनि बैठक राख्नु नै भएको थियो’ पाण्डे भन्छन्–‘उहाँहरु आफै बैठक राख्न सक्नुहुन्न, वहाना हामीलाई देखाउनुहुन्छ ।’ स्रोत अनुसार कर्मचारीसँग आन्तरिक सहमति भएपछि मात्र बैठकमा आउने भन्दै विज्ञ सञ्चालकहरु श्रीराम पौडेल, रामहरि अर्याल र बालकृष्ण मान सिंह बैठकमा आउन मानेका छैनन् । कर्मचारी व्यवस्थापनको विषयमा आफूहरु संलग्न नहुने उनीहरुले बताएका छन् । ‘दुई÷तीन पटक बैठक बस्ने भनेर आउनु भयो, कर्मचारीको विरोधका कारण बैठक कक्षमा प्रवेश गर्नै पाउनु भएन, दुई पटक कार्यालय खुल्नु अगाडि नै बैठक बस्यो । त्यसपछि उहाँहरुले कर्मचारी समस्या हल भएपछि मात्र बैठकमा आउने बताउँदै आउनु भएको छ’ स्रोतले भन्यो । सञ्चालक समितिकाे बैठक बस्न नसक्दा  गम्भिर समस्या देखिन थालेकाे एक डेपुटी गभर्नरले बताए ।

तिहारमा सवा अर्बको सुनचाँदी व्यापार, अ‍मेरिकी चुनावको प्रभाव नेपाली सुन बजारमा

काठमाडौं, १९ कात्तिक । तिहारमा सवा अर्ब रुपैयाँको सुनचाँदीबाट बनेका गहनाको व्यापार भएको छ । तिहारमा २ सय किलो सुन र ३ हजार किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । ‘तिहारको एक सातामा सुन तथा सुनबाट बनेका गहना एक अर्ब रुपैयाँ र ३० करोडको चाँदी व्यापार भयो,’ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले भने ‘हाल विक्री भएको सुन अघिल्लो महिनाकोभन्दा ५० प्रतिशत र गत वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।’ तिहारमा अघिल्लो महिनाको तुलनामा सुनको भाउ ३ हजारले घटेका कारणले पनि सुन व्यापार फस्टाएको हो । केही समयअघिसम्म ५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अहिले घटेर साढे ५६ हजारमा आएकोले पनि बजार बढ्न सहयोग पु¥याएको शाक्यले बताए । अस्ति बुधबार ५६ हजार ८ सयमा कारोबार भएको सुन हिजो बिहीबार एक सय रुपैयाँले घटेको थियो । आज भने अझ घटेर ५६ हजार ५ सय सुन विक्री भइरहेको छ । गत वर्ष भूकम्पका कारण थला परेको सुन बजार दसै तिहारमा आएर उकालो लागेको थियो । पछिल्ला महिनासम्म यसले निरन्तरता पाएपनि गत साउनदेखि बजार मन्द गतिमा अघि बढेको हो । अमेरिकी राष्ट्रपतिको चुनावको प्रभाव सुन बजारमा अब अमेरिकी राष्ट्रपतिको चुनाव नसकिञ्जेलसम्म सुनको मूल्य घट्ने अनुमान व्यवसायीहरुले गरेका छन् । गत साताको तुलनामा अहिले विश्व बजारमै सुनको भाउ ओरालो लाग्दै आएको छ । अमेरिकाको चुनाव पछि मात्र बजार भाउ बढ्ने अनुमान गरिएको हो । ‘विश्व बजारले यस्तै संकेत गरेको छ,’ शाक्यले भने । साउनदेखि मन्दगतिमा अघि बढेको सुन व्यापार तिहार लागेपछि एक्कासी उक्लिएको थियो । तर, अहिले तिहार सकिएको तीन दिन वितिसक्दा पनि बजार भने सुनसान छ । आउँदो साताबाट सुन बजार फेरि बढ्न आशा व्यवसायीहरुको छ ।