काठमाडौं । काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण संरक्षणका नाममा नरोक्ने स्पष्ट पारेका छन् । पछिल्लो समय वन संरक्षणका नाममा वन मन्त्रीले रोकेको आरोप लाग्दै आएको थियो ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कम भन्दा कम वन विनास गरेर विमानस्थल बनाई छाड्ने संकल्प पनि पेश गरे । उनले आफ्नो चाहेज चासोलाई स्थानीय स्वार्थ र राजनीतिक स्वार्थसँग जोडेर आफुलाई विकास बिरोधी देखाउने षडयन्त्र गरिएको आरोप पनि लगाए ।
“न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ, यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवाललाई सरकारले उचित सम्मान तथा सम्बोधन गर्छ ।”, मन्त्री बस्नेतले भने ।
विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । २५ सय हेक्टर क्षेत्रफलमा निर्माण हुने निजगढ विमानस्थलको पहिलो चरणका लागि एक लाख ९५ हजार रुख कटान गर्ने तयारी पर्यटन मन्त्रालयले गरेको छ ।
१२१ अर्ब बजेट लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । ८ हजार ४५ हेक्टर जमिन ओगट्ने विमानस्थलको निर्माणका लागि भने ७ खर्ब लाग्ने भनिएको छ ।