विकासन्युज

पुरातात्विक सम्पदा बनाउन दातृ निकायको ओइरो, १० स्थानको पुनःनिर्माण सम्झौता

काठमाडौं १९, कात्तिक । काठमाडौं उपत्यका र वरपरका पुरातात्विक सम्पदा पुनःनिर्माणमा दातृ निकायमार्फत सहयोगको प्रतिवद्धता एक पछि अर्को गर्दै बढिरहेको छ । नेपाल सरकारले विदेशी दातृ निकायलाई २०७२ बैशाखको भूकम्पले ध्वस्त बनाएका संरचना पुनः निर्माणमा आग्रह गरेपछि विदेशी दातृ निकायको ओइरो नै लागेको छ । विभिन्न विदेशी दातृ निकायले बनाइदिने नेपालले ऐतिहासिक—पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न १० स्थानको भने नेपाल सरकारसँग सम्झौता नै भइसकेको पुरातत्व विभागका उपसचिव तथा विश्व सम्पदा संरक्षण विभाग प्रमुख सुरेस सुरस श्रेष्ठले बताए । विश्व सम्पदा सूचीमा सूचीकृति विभिन्न क्षेत्र मध्ये काठमाडौं उपत्यका पहिलो प्राथमिकतामा राखेर पुनः निर्माण हुने पनि उनले बताए । उनका अनुसार सम्वन्धित निर्माण क्षेत्रको विश्व सम्पदा संघ (युनेस्को) र पुरातत्व विभागसँग सम्झौता सम्पन्न भइसकेकोले दातृ निकायले अब भटाभट पुनर्निमाणका काम सुरु गर्ने भएको छ । सम्झौता सम्पन्न भएका उपत्यकको पुनर्निमाण तीन वर्ष भित्रै सकिने पनि पुरातत्व विभागको भनाइ छ । विभागले पाँच वर्ष भित्रमा सबै पुरातात्विक सम्पदाको पुनः निर्माण सक्ने लक्ष्य अगाडि सारेको छ । पुरातत्व विभागका अनुसार भूकम्पपछिको पुनः निर्माणमा सरकारसँग सम्झौता भएका विभिन्न मुलुकको प्राथमिकता पनि विश्व सम्पदामा सूचिकृत क्षेत्रलाई पहिले बनाउने भन्ने नै रहेको छ । विभागको विश्व सम्पदा संरक्षण विभागका अनुसार चीनले हुमानढोकाको नौतले दबबार, नौतले दरबारसँगका हनुमान ढोका क्षेत्र भित्रकै चार वटा टावर बनाउने भएको छ । श्रीलंकाले रातो मछेन्द्रनाथ, बुङमति र स्वयम्भूको आनन्दकुटी महाविहार निर्माण गर्ने भएको छ । जापानले हनुमान ढोकाको अन्वेषण, बुङमति, खोकनाको पुनःनिर्माण गर्ने सम्झौता गरेको छ । बेलायतले उपत्यकाको पुरातत्व अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ । जापानिज संस्था मियामातोले हनुमान ढोका गद्दि बैठक बनाउने भएको छ । जर्मनीले भक्तपुर उपमहानागर पालिकाका पुरातत्विक स्मारक बनाउने विषयमा औपचारिक रूपमा नै सहमति गरिसकेको छ । औपचारिक रूपमा दुइपक्षिय सम्झौता भएका विभिन्न १० स्थानबाहेक अन्यको पनि विदेशी दातृ निकायबाट निर्माण गर्न सम्झौताको तयारीमा रहेका छन् । पुरातत्व विभागका अनुसार एउटै क्षेत्रसँग नाम मिल्दोजुल्दो भएपनि एउटा संरचाना एउटै दातृ निकायले पूरा गर्ने छन् । हनुमानढोकामा भने विभिन्न फरक फरक संरचना रहेकोले भूकम्प अगाडिको संरचना जस्तो गरेर पुनः निर्माण हुने भएको छ । भूकम्प अगाडिकै जस्तो संरचाना बनाउनुपर्ने र कुनै पनि संरचना फरक ढंगबाट निर्माण गर्न नपाईने गरी पुरातत्व विभागसँग सम्झौता भएको उल्लेख छ । नेपाल सरकारसँग सम्झौता भएका बाहेक रुची देखाउने, सम्झौताको चरणमा रहेको अन्य मठमन्दिर र पुरातात्विक सम्पदा पनि रहेका छन् । भारतले पसुपति क्षेत्रको पुनःनिर्माणको प्रस्ताव गरेको छ । यो क्षेत्रको जिम्मा भारतलाई दिने भनेपनि सम्झौता भने हुन बाँकी रहेको विभागको भनाइ छ । यी बाहेक थुप्रै मठमन्दिर र गुम्बामा पनि दातृ निकायको सहयोगको प्रतिवद्धता आएको विभागको भनाइ छ ।

छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य तीनगुनाले आकासियो, उपभोक्ता मारमा

लहान, १९ कात्तिक । छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ । यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा नहरा रिगौलका शङ्कर यादवको आरोप छ । सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् ।उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।रासस

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त

काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

भारतीय राष्ट्रपतिको सम्मानमा १० करोड खर्च हुने अनुमान, धुर्मुस र सुन्तलीले निर्माण गरेको नमूना बस्ती भन्दा महँगो

काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान नेपाल सरकारले गरेको छ । भ्रमणका क्रममा अहिलेनै सबै खर्च विवरण नआएपनि भ्रमणका क्रममा गरिएको तयारी तथा बसाइलगायतका खर्चले यति रकम पुग्न सक्ने अनुमान नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले गरेका हुन् । अधिकारीहरुले खाना, खाजा, स्वागतद्वार, होटेल खर्च, गाडी र जहाज भाडा, तेल, सुरक्षालगायतका खर्चमा सो खर्च हुने अनुमान गरेको हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो भने भ्रमणमा भएको खर्च सबै अर्थ मन्त्रालयले बेहोर्ने छ । ‘हाल भएको खर्चको बिल, भरपाई तथा कागजातका आधारमा उक्त खर्च बेहोर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । जहाज तथा खानपीनमा बढी खर्च हुने अनुमान अर्थ तथा परराष्ट्र मन्त्रालयले गरेको छ । राष्ट्रपति मुखर्जीसँग आएका भारतीय पहुना तथा उनीसँगै जनकपुर तथा पोखरा जाने नेपालीका लागि आज बुद्ध एयरको दुई वटा भाडामा लिएको छ । मुखर्जीसँग ६० जना पाहुँनाआएका छन् । जहाजका लागि अतिबढी खर्च हुँदै छ भने बसोबास तथा खानपान गरी सबै खर्चलाई एकिकृत गर्दा करिब १० करोड रुपैयाँ भेट्ने अनुमान गरिएको हो । डेढ वर्षअघि गएको भूकम्पका कारण अधिकांश भुकम्प पीडित संघारमा आएको जाडो पालमुनिनै विताउन वाध्य रहको अवस्थामा अथिति सत्कारमा भएको ठूलो खर्चलाई स्वभाविक मान्न नसकिने अधिकारीहरु बताउँछन् । एकातिर भूकम्प पीडित जनता यो जाडोमा पनि कठाङ्ग्रिने अवस्थामा पुगेका छन् भने सरकार भने भीभीआईपीको सम्मान तथा स्वागतमा व्यस्त छ । तिहार यता प्राय अधिकांश सरकारी कार्यालयमा काम सुचारु हुन सकेको छैन । देशलाई नै ठप्प जस्तै पारेर सरकार एकसाताअघिदेखि राष्ट्रपति आगमन र भ्रमणको तयारीको व्यवस्थापनमा जुटेको छ । अहिले राष्ट्रपतिको भ्रमणमा गरिएको तामझाममा लागेको खर्चलाई एकत्रित गर्दा सो खर्चले धुमुस सुन्तलीले निर्माण गरेका जस्ता १ सयभन्दा बढी घर निर्माण देखिएको छ । उनीहरुले एउटा घर करिब ७ लाखमा निर्माण गरेको बताएका छन् । यदि प्रतिघर १० लाखसम्मका दरले खर्च गरेर बनाउँदा पनि एक सयभन्दा बढी घर बन्ने अनुमान सरकारी उच्च अधिकारीले नै गरेका हुन् ।

उपत्यकाका तीन जिल्लामा ९४ हजार भूकम्प पीडितलाई घर बनाउन तीन लाख, अनुदान सम्झौता सुरु

काठमाडौं, १९ कात्तिक । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाका ९४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि ३ लाख रुपैंयाँ दिने भएको छ । उपत्यकाको घरधुरी सर्वेक्षणबाट ९४ हजार परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको हो । ‘उपत्यकाका तीन जिल्लाको घरधुरी सर्वेक्षण सकिएको छ, ९४ हजार परिवारलाई लाभग्राहीको सूचिमा राखेका छौं र धमाधम सूचि प्रकाशित भैरहेको छ’, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख गणेश वस्तीले विकासन्युजसँग भने । आयोजनाले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा धमाधम अनुदान सम्झौताको कामलाई अघि बढाएको छ । जस अनुसार तारकेश्वर नगरपालिकामा कात्तिक ११ गतेबाटै अनुदान सम्झौता आरम्भ गरिएको छ भने कार्यबिनायक नगरपालिकामा कात्तिक १८ गतेबाट काम अघि बढेको छ । त्यस्तै, शंकरापुर नगरपालिकामा पनि अनुदान सम्भौता सुरु भैसकेको छ ।भक्तपुर जिल्लामा भने शुक्रबारबाट अनुदान सम्झौता सुरुहुने आयोजना प्रमुख वस्तीले जानकारी दिए । वस्तीले लाभग्राहीको विवरण प्रकाशित गर्न सम्बन्धीत वडा कार्यालयहरुलाई निर्देशन दिइसकिएको बताए । लाभग्राहीको विवरण प्रकाशित गरेसँगै आवश्यक कागजात जुटाएर नगरपालिकाका वडा कार्यालय र गाबिसहरुमा अनुदान सम्झौता गर्न सकिन्छ । उपत्यकाका तीनै जिल्लाका भूकम्प पीडितलाई मंसिरको पहिलो सातादेखि निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराउने लक्ष्य अनुसार काम अघि बढिरहेको पनि उनले जानकारी दिए ।

अर्जेन्टिनाले विश्व कप खेल्न नपाउने सम्भावना

काठमाडौं, १९ कात्तिक । अर्जेन्टिनाले सन २०१८ मा रुसमा आयोजना हुने विश्व कप फुटबल प्रतियोगीता खेल्न नपाउने सम्भावना बढेको छ । अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजा स्वयंले नै अर्जेन्टिना विश्व कप छनौटका लागि चुनौतीपुर्ण अवस्थामा पुगेको खुलासा गरेका हुन् । फिफाले विश्व कप छनौट खेलिरहेको बोलिभियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारवाही गरेपछि अर्जेन्टिनाको विश्वकप खेल्ने सम्भावनामा कम भएको हो । बोलिभियाले चिलीलाई बराबरीमा रोकेको थियो भने पेरुलाई २ गोलले पराजित गरेको थियो । तर फिफाले बोलिभियालाई चिली र पेरुसँग ३ गोलले पराजित भएको नजिता घोषणा गरिदिएको छ । यसले चिलीलाई थप २ अंक प्राप्त भएको छ र ऊ पाँचौं नम्बरमा उक्लिएको छ । दक्षिण अमेरिकी समुहबाट चार मुलुकले आगामी विश्वकप खेल्न पाउनेछन् । तर हालसम्म अर्जेन्टिना सो समुहको ६ औं नम्बरमा रहेको छ । अब अर्जेन्टिनाले चार खेल खेल्न बाँकी रहेको छ । जसमा ब्राजिल र कोलम्बिया जस्ता बलिया प्रतिष्पर्धीसँगको खेल्नुपर्नेछ । नोभेम्र १० मा अर्जेन्टिनाले ब्राजिल र १५ तारिखका दिन कोलम्बियासँग प्रतिष्पर्धा गर्नेछ ।

रानीदेखि धरानसम्मको सडक चारलेनको बन्ने

मोरङ, १९ कात्तिक । विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ । दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो । सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहेपनि स्थानीयवासीको असहयोगले ६ लेन सडक निर्माण हुने सम्भावना न्यून रहेको बताए । सो सडकलाई ६ लेनको बनाउने प्रस्ताव गरिए पनि विभिन्न कारणले चार लेन मात्रै बन्ने भएको हो । सडक विस्तार हुँदा दुहवीका पक्की र कच्ची गरी एक सय ७७ घर र इटहरीको मूलचोकबाट दक्षिणतर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलाठूला पक्की घर रहेका छन् । योजनाअनुसार ६ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक ६ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का छैन । मुुलुककै व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगवनीबाट विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तार गर्ने सरकारको योजना थियो । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ । जोगवनीदेखि विराटनगरको पहडगछ लगायतका क्षेत्रमा ६ लेनको सडक हुने आयोजनाले भन्दै आएपनि सो मार्गमा पर्ने दुहवी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेको भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो । सडकमा दायाँबायाँ तीनरतीन लेन हुने र मध्य भागमा दुईतिर सडक विभाजित गर्ने क्रङ्किटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदल यात्रीका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ । सडक आयोजना प्रमुख दीपक भट्टराईका अनुसार दुहवीबजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरू दुई बिघा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनु पर्नेभएकाले जग्गा उपलब्ध गराइदिन भनी सडक विभागलाई पत्रचार गरिसकेको छ । उनका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेको र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घरजग्गाभन्दा घर भत्काउँदा ठूलो क्षति हुनेहुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहवीबजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ । सरकारले घरजग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराइको छ । सडक विस्तारका लागि चालु आवमा दुहवीको उत्तरदेखि इटहरीको मूल चौकभन्दा केही दक्षिणसम्मको ठेक्का लागेको छ । दुहवीदेखि इटहरी र विराटनगरबजार क्षेत्रको सडक निर्माणका लागि यस वर्ष दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो । यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो । विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागिसकेको सडकमध्ये २०६९र०७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो । अघिल्लो वर्षसम्म ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र चारवटाको २० प्रतिशत काम सकिएको प्रमुख भट्टराईको भनाइ छ । रासस

अझै सुरु भएन ललितपुरको गोल्डेन टेम्पलको पुनःनिर्माण

ललितपुर, १९ कात्तिक । गत वर्षको भूकम्पमा चर्किएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) को डेढ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु हुन सकेको छैन । मुख्य मन्दिरमा केही नभए पनि परिसरका भवन चर्किएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकाशरत्न धाख्वाले बताए । उनले भने, “छानाहरु पूरै नखसे पनि खस्केका छन् ।” झिँगटी र इँटाहरु खस्केको र भित्ता पनि चर्किएको उनले बताए । भूकम्पका समयमा सानो चर्किएको ठाउँमा पनि पराकम्पनले गर्दा ठूलो भएको छ । परिसर ९मुख्य मन्दिर दायाँ–बायाँको भवन०मा पहिलो र दोस्रो तलामा मर्मत गरेर मजबुत बनाउनुपर्नेछ । तेस्रो तलामा भत्काएर नै गर्नुपर्ने उनले बताए । उनले भने, “पहिलेको स्वरुपमा कुनै परिवर्तन नआउने गरेर पुनःनिर्माण गर्नुपर्ने छ ।” भारतीय दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारी प्रक्रिया लामो हुँदा सहयोग लिन कठिनाइ भएको उनले बताए । पुरातत्व विभागले स्वीकृति दिएपनि पुनःनिर्माण प्राधिकरणले स्वीकृत नगर्दा ढिलाइ भइरहेको उनले बताए । उनले भने, “सबै निकायबाट स्वीकृति लिएर चाँडो पुनःनिर्माण गरेर हामी पहिलेको स्वरुपमा फर्काउन लागेका छौँ ।” यो महाविहार सबैभन्दा ठूलो सर्वसङ्घ ९सदस्यहरु० भएको महाविहार भएको स्थानीयवासीको दाबी छ । रासस