विकासन्युज

मुखर्जीकोलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने, मुखर्जीको भ्रमण गुडवील

काठमाडौं १३, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी छिन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो । राजधानी दैनिकबाट । मुखर्जीको भ्रमण गुडवील हुने भारतको भनाइ भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ । मुखर्जीको भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने सुधाकर दलेलाले भ्रमणले दुईपक्षीय सम्बन्धलाई झन् सुदृढ बनाउने बताए । यो खबर आजको कान्तिपुरमा छापिएको छ।

रगत अभावमा बिरामीको बिचल्ली, राजधानीमै एक सातादेखि समस्या चर्कियो

काठमाडौं १३, कात्तिक । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिदैं बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार केन्द्रमा पुगे । केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार उनी रगत राख्ने भाँडो बोकेर छट्पटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । इन्द्रको आडैमा छट्पटाइरहेका रामेछापका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् । मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए उनी । गिरी एक्ला थिएनन् । अरू पनि आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए । त्यहाँ रगत लिन चाहनेहरुको भीडले त्यही संकेत गरिरहेको थियो, कि राजधानीमा रगतको अभाव छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

दौरासुरुवाल लगाउने बढे, सिलाउने बढेनन्, दौरा सुरुवाल सिलाउन ४ महिनासम्म पर्खनुपर्ने बाध्यता

काठमाडौं १३, कात्तिक । सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको छ । धनकुटा नगरपालिका ५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा सुरुवालप्रति औधी मोह छ । भोज होस् या सभासमारोह धार्मिक कार्य र पारिवारिक भेटघाट सबैमा सकेसम्म दौरा सुरुवाल र ढाका टोपीमा सजिन्छन् उनी । उनले पोहर साल दौरा सुरुवाल कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । करिब चार महिनापछि मात्रै उनले दौरा सुरुवाल पाए । लगाउनेको संख्यामा बढोत्तरी भएपनि सिलाउने व्यक्तिको अभाव वा कमी हुदा सिलाउन दिएको लामो समय कुर्न पर्ने वाध्यता रहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

अब २० वर्ष पुगेका सवारीसाधन ‘आउट’, २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापित

काठमाडौं १३, कात्तिक । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो । त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापितगर्ने अभियान सुरु हुने भएको छ । ‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हामीले हटाउन लागेका हौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो । त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’ नेपाल समाचारपत्र दैनिकबाट।

भारतीय कर्मचारीको ‘सहुलियत भ्रमण’ मा नेपाल, ५ लाखभन्दा बढी भारतीय कर्मचारीलाई यस्तो सुविधा

काठमाडौं १३, कात्तिक । भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ । अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा पठाउने र त्यसका लागि सुविधा उपलब्ध गराउने गरेको छ । प्रतिवर्ष ५ लाखभन्दा बढी भारतीय कर्मचारीले त्यस्तो सुविधा लिने गरेका छन् । भ्रमण सूचीमा नेपाल थिएन । नेपालका तर्फबाट आग्रह भएपछि भारतले सूचीमा राख्ने आश्वासन दिएको छ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकारले त्यस्तो सूचीमा पार्न आग्रह गरेको थियो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले यसले नेपालको पर्यटनमा फाइदा पुग्ने बताए । भारतले अन्य मुलुकबाट पनि नेपाल प्रवेश गर्न सक्ने सुविधासमेत उपलब्ध गराउन लागेको छ । चीनले आफ्ना कर्मचारीलाई नेपाल भ्रमणका लागि सहुलियत दिँदै आएको छ । नेपालको आग्रहबिनै चीनले दुई वर्षअघि सूचीमा नेपाललाई राखेको थियो । चिनियाँ कर्मचारीको नेपाल भ्रमणमा रुचि बढ्ने र युरोप अमेरिकाभन्दा सस्तो पनि हुने भएपछि उनीहरूको नेपाल मोह बढेको थियो । अघिल्लो वर्ष मंसिर र पुस महिनामा चीनका करिब पाँच सय सरकारी अधिकारीले नेपालको भ्रमण गरेको जानकारी परराष्ट्र मन्त्रालयसँग छ । अनौपचारिक रूपमा पर्यटक भएर आउनेहरूको सूची भने सरकारसँग हुँदैन । परिणाम चाँडै देखिनेछ ःमहत दिल्लीमा बिहीबार सम्पन्न नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर फर्केका परराष्ट्रमन्त्री महतले बैठक सफल र उपलब्धिमूलक रहेको बताए । ‘विगतमा भएका सम्झौता, आयोजना एवं सहयोगको कार्यान्वयनमा भारतीय पक्षबाट पनि सकारात्मक जवाफ पाएका छौं, यसको परिणाम चाँडै देखिन्छ,’ उनले भने । विगतमा सहमति भएर पनि कार्यान्वयनमा आउन नसकेका कैयौं आयोजना र सम्झौता कार्यान्वयनका लागि दुवै पक्षबाट जुटेको सहमतिको माइन्युटमा हस्ताक्षर गरिएको पनि उनले बताए । अघिल्लो बैठकमा जस्तै यसपटक संयुक्त वक्तव्य जारी नभएका बारे उनले भने, ‘हस्ताक्षर गरेर माइनुट साटासाट गरिसकेपछि किन आवश्यक रह्यो र संयुक्त वक्तव्य उल्लेख छ । कन्तिपुर दैनिकबाट ।

भारतीय दलालले भन्दा बामपन्थीले के राम्राे गरे ?

रामेश्वर खनाल जिन्दगी भर बामपन्थीहरूले भारतीय विस्तारवाद मुर्दावाद भनेर सिकाए । २०२६ सालमा सात कक्षा पढ्दा जवर्जस्ती जुलुसमा लैजान खोजे । त्यो शान्त तानसेन शहरमा जहाँ त्यो बेला गाइजात्राको रातमा देखाइने बास्सा (वाल्यकालमा त्यो शव्द बुझिएन होला, तर परिवारमा कसैको मृत्यू भएको छ भने उनको सम्मानमा गरिने सांस्कृतिक कार्यक्रम; यस्तै कार्यक्रम कालान्तरमा मैले इटालीका गाउँहरूमा देखें) बाहेक अरू केहि नदेखेकाले जान्न भन्यौं । धन्न कुटाई खाइएन । साना थियौं, माफी पायौं । तर ठूलाहरूले पाएको दुखको वर्णन करिव एक वर्ष सुन्यौं । गाउँ थियो, टिभी रेडियो थिएन, त्यहि भएर श्रुतिकथ्य रमाइलो लग्थ्ग्यो । वामपन्थ त्यसपछि झांगियो । कहिले सुस्ता, कहिले कालापानी, कहिले लिपुलेक । सर्वत्र भारत विरोध । जो भारतसंग राम्रो सम्बन्ध राख्न पर्छ भन्थे ती दलाल कहलिए । अझै कहलिन्छन । अहिले सब दलाल ठहरै भए । भारतीय विस्तारवाद मुर्दावाद भन्नेहरूले सारा नेपाल र नेपालका विदेशस्थित कार्यालयहरूमा विदा दिए । अनि हामी बिदा बस्ने भयौं । म बिदा पहिला पनि बसिन । अहिले पनि बस्दिन । मेरोलागि शरीरले दिएसम्म विदा हुँदैन । बहुत दुखले एउटा सामान्य प्रश्न मात्र राखेको छु । भारतीय दलाल मुर्दावाद भनेर नारा लगाउन सिकाएको तपाइँहरूले हो । अहिले तपाइँहरूले ती दलालले गरेको भन्दा राम्रो काम गर्नुभो ? की नराम्रो ? प्रत्येक वामपन्थीले आफ्ना नेतालाइ यो प्रश्न सोद्धा राम्रै हुन्थ्यो । (खनालकाे फेसबुकबाट)

पुनःनिर्माणमा प्रभावकारी तवरले वित्तीय परिचालन गरिने

काठमाडौं, १२ कात्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिले समितिको कार्यविधि तथा संरचना तयार गरेर वित्तीय स्रोत परिचालन गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको पहिलो बैठकले समितिको प्रत्येक दुई महिनाको कम्तीमा एकपटक बैठक गरेर पुनःनिर्माण कार्यलाई थप गति दिने गरी आगामी बैठकमा निर्णय गरिने प्राधिकरणले जनाएको छ । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा समितिका संयोजक सुशील ज्ञवालीले पुनःनिर्माणमा भएका प्रगति र त्यसमा देखा परेका चुनौतीबारे प्रस्तुति गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । बैठकमा सहभागीले समितिको गठन भई यसप्रकारको संरचनाको व्यवस्थाले आगामी समयमा वैदेशिक सहायता परिचालन, समन्वय तथा सहजीकरणका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए । प्रवक्ता थपलियाका अनुसार बैठकमा भारतीय सरकारका प्रतिनिधि, चिनियाँ दूतावासका अधिकारी, विश्व वैंक र एसियाली विकास बैंकका नेपालस्थित प्रमुख, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरसरकारी संस्था सङ्घका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । उनीहरुले समितिको गठनले भूकम्पपश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनामा भइरहेको वैदेशिक लगानीलाई प्रभावकारी र पारदर्शी बनाउनुका साथै थप वित्तीय स्रोत परिचालनमा सहयोग पुर्याउने विश्वास लिएको थियो । पुनःनिर्माण तथा पुनःस्थापना कार्यका निम्ति भूकम्पलगत्तै भएको अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त भएकामध्ये हालसम्म करिब दुइ खर्ब ७८ अर्ब रुपैयाँ सहयोगका निम्ति विभिन्न सरकार एवम् दातृ निकायसँग सम्झौता सम्पन्न भइसकेको छ । रासस

प्रभु बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा सञ्चालन

काठमाडौं, १२ कात्तिक । प्रभु बैंकले शुक्रबारदेखि आफ्नो नयाँ शाखा तनहु जिल्लाको दुलेगौडामा सञ्चालन गरेको छ । उक्त स्थानमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा(साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।