‘सडक विस्तारमा किन ढिलाइ ?, त्रिपुरेश्वरबाट १२ किमिपार गर्ने कठिन
काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका प्रतिनिधिमाझ अधिकारीले यसो भनेका थिए । कलंकीको फाइल तस्बिर अधिकारीको नेतृत्वमा एक वर्षयता पटक–पटक बसेको समितिको बैठकले सरकारी निकायलाई छिटो सडक निर्माण गर्न निर्देशन दिँदै आइरहेको छ । तर विस्तारको गति भने निकै सुस्त छ । सवारी साधनहरू उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामध्ये सबभन्दा व्यस्त नाका हो– नागढुंगा । ‘यो सडक खण्डसँगै काठमाडौं उपत्यकाका अन्य बेहाल सडकबारे दैनिक गुनासो आउने गर्छन्,’ हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले भने, ‘हामीले गुनासालाई सम्बन्धित निकायमा पठाउँदै आएका छौं ।’ स्थानीय र आम जनता मात्र होइन, यातायात व्यवसायीले समेत दसैंअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै गएर उक्त सडक खण्ड सुधार गर्नुपर्ने माग राखेका थिए । ‘यो सडकमा गाडी गुड्न सक्ने स्थिति नै छैन । त्यसैले हामीले अरू केही गर्न नसके पनि ठूला खाल्डोमा ग्राबेलसम्म हाल्न आग्रह गरेका थियौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । कान्तिपुर दैनिकबाट ।
जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र, पीडित कामदारले ३ महिनादेखि काम र तलब दुबै पाएनन
काठमाडौं ११, कात्तिक । साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ । कान्तिपुर दैनिकबाट ।
अंगभंग भए चालकको लाइसेन्स खारेज, सवारी तथा यातायात व्यवस्था ऐन कडा आउँदै
काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ । कान्तिपुर दैनिकबाट ।
विदेशी कोर्सलाई धरौटी अनिवार्य, कक्ष ८ सम्म ८ लाख र १२ सम्म १५ लाख रुपैयाँ चाहिने
काठामाडौं ११, कात्तिक । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नपर्ने व्यवस्था गर्न लागिएको छ । फाइल तस्बिर शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। यो नियम यसअघि अर्थमन्त्रालयको अनुमति लिइसकेका विद्यालयलाई भने लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ। विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने शैक्षिक संस्थामा पढ्न चाहने हरेक विद्यार्थीले राजस्वलगायत दुई हजार तिर्नुपर्ने नयाँ व्यवस्था नियमावलीले गरेको छ । प्रस्ताव अनुसार विदेशी शिक्षण संस्थासँग सम्बन्ध लिएर नेपालमा कक्ष ८ सम्म पठाउने संस्थाले ८ लाख रुपैयाँ र कक्षा १२ सम्म पठाउने विद्यालयले १५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ । अन्नपूर्ण पोस्टबाट ।
घरबाट भाग्दा ७० लाख चोरी मुद्दा, कुवेतमा काम गर्न गएकी एक महिला मुद्दा खेप्दै
काठमाडौं ११, कात्तिक । कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् । घरेलु कामका लागि कुवेत पुगेकी ती महिलाले नेपाली समुदायका तर्फबाट कानुनी प्रतिरक्षा गर्न वकिल पाएपछि पुनरावेदनमा अपिल गरेकी हुन् । पीडितलाई प्रवासी नेपाली श्रमिक संघ (जिफन्ट सपोर्ट समूह) ले कुवेत ट्रेड युनियनको समन्वयमा कुवेती वकिल जुटाएको अध्यक्ष अर्जुनबहादुर बस्नेतले बताए । ‘६ वर्षसम्म एउटै मालिकको घरमा काम गर्दै आएकी थिएँ । मालिकले दुई—दुई वर्षमा घर पठाउने सर्त गरेका थिए । करार अवधि सके पनि घर नपठाएपछि आफ्नो राहदानी मात्रै लिएर घरबाट भागेर बाहिर निस्किएको थिएँ,’ महिलाको भनाइ उद्धृत गर्दै संघका महासचिव गणेश राउतले भने, ‘बाहिर आएपछि कसरी घर फिर्ने भनेर भौंतारिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।’ कान्तिपुर दैनिकबाट छ ।
माइक्रोम्याक्सको क्यान्भास स्प्राक टु प्रो नेपाली बजारमा, मूल्य ८ हजार रुपैयाँ मात्र
काठमाडौं, १० कात्तिक । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ मोबाइल क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) मा विशेष किसिमको प्रोसेसर रहेको छ । यो १.२ जिगा हर्ज क्वाड–कोर प्रोसेसरद्धारा सञ्चालित छ । १.२ जिगा हर्ज क्वाड–कोर प्रोसेसरद्धारा ले गर्दा यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५.०’’ एफडब्लुभिजिए आइपिएस डिस्प्ले र फोनमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । ८ जिबी रोम रहेको यो फोनमा ५ एमपि हाइ रिजोलुसन अटोफोकस रियर क्यामेराको साथ(साथै सेल्फीका लागि टु एमपि फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ । यसमा ५ एमपि प्राइमरी र २ एमपि फ्रन्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको मार्समल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा उक्त मोबाइलको मूल्य ८ हजार ४१५ रुपैयाँ मात्र रहेको कम्पनीले जनाएको छ ।
प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव हट्ने
पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकर्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिए । नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उनको भनाइ छ । “पोखरालाई आधार बनाएर ६२ वटा प्याराग्लाइडिङ उडान गर्ने कम्पनी सञ्चालनमा आएका छन्,” उनले भने, “प्रत्येक कम्पनीले ६ जना पाइलट राख्न पाउने व्यवस्था भए पनि पोखरामा हालसम्म जम्मा १८० जना नेपाली, सात/आठजना मात्र विदेशी पाइलट छन् ।” प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायशः सबै महिनाजसो प्याराग्लाइडिङ सञ्चालन भइरहेको सञ्चालक पहारीले बताए। नेपालमा प्याराग्लाइडिङ सुरु भएको लामो समयपछि पाइलट उत्पादनका लागि बाबु एडभेन्चर स्कुल र ब्लुस्काई फ्लाइङ स्कुलले अनुमति पाएसँगै ती स्कुल यतिखेर दक्ष पाइलट तयार गर्ने लक्ष्यका साथै क्रियाशील छन् । बाबु एड्भेन्चर स्कुलले स्याङ्जाको स्वरेकमा स्कुल सञ्चालनमा ल्याएको छ भने ब्लुस्काई फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका उच्च हिमालबाट प्याराग्लाइडिङ गरी विश्व जगतमा कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेसँगै उक्त स्कुलमा स्वदेशी तथा विदेशी नागरिकले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छाका साथ तालिम लिन थालेका छन् । स्वरेकमा अत्यावश्यक पूर्वाधारसहितको प्याराग्लाइडिङ पाइलट तयार गर्नका लागि कक्षा सञ्चालन यसै वर्षदेखि सुरु गरिसकेको सञ्चालक सुनुवारले जानकारी दिए । दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । बाबु एड्भेन्चर स्कुलका प्रशिक्षक बालकृष्ण बस्याल ९बालु०का अनुसार स्कुलमा दक्ष प्याराग्लाइडिङ पाइलट बन्ने उद्देश्यका साथ १४ वर्षका युवादेखिदेखि ५८ वर्षका वयस्क पनि आएका छन् । हाल सो स्कुलमा अष्ट्रियालगायतका विदेशी राष्ट्रका नागरिकका साथै स्वदेशी युवाले प्याराग्लाइडिङ पाइलटको तालिम लिइरहेको र अब चाँडै नै प्याराग्लाइडिङ पाइलटको अभाव समाधान हुँदै जाने उनले बताए । स्कुल सञ्चालनसँगै स्वरेक गाउँको पर्यटकीय आकर्षण समेत बढेको छ । अत्यन्त मनमोहक चौर तथा पहाडि भू–भाग रहेको स्वरेकको उच्च भू–भागमा प्याराग्लाइडिङ उडान हेर्नकै लागि पनि पर्यटक आउने गरेको एक्सवाइजेड होमस्टे, स्वरेकका सञ्जु थापाले जानकारी दिए । रासस
पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत
काठमाडौं, १० कात्तिक । अर्थमन्त्रालयले भूकम्पपछिको पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत गरेको छ । बुधबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले सो मात्रामा बजेटको अख्तियारी दिइएको जानकारी गराएका हुन् । अर्थसचिव सुवेदीले पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा अनुदान रकम वितरणका लागि समय तोकेर सञ्चालन गरिएको ४५ दिने अभियान सफल भएको बताएका थिए । उनले भूकम्प प्रभावित थप १७ जिल्लाको सर्भेक्षण, प्राथमिक विद्यालय भवन निर्माण, पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन पनि दिए । प्राधिकरणका उपाध्यक्ष उपाध्यक्ष भीम रावलले पुनर्निर्माणको कामलाई सामान्य अवस्थामा जसरी नलिन र पुनर्निर्माण तथा पुनस्र्थापना ऐनको भावना र मर्म अनुरुप थप स्रोत साधन परिचालन गरी युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दिनमा पनि समयसीमा तोकी कार्यतालिका अनुसार पुनर्निर्माणका कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले पुननिर्माणको काममा खटिने कर्मचारीहरुलाई प्रोत्साहन र सुबिधा थपिनु पर्नेमा जोड दिए । १७ जील्लामा प्रारम्भिक सर्वेक्षणको काम अघि बढेको जानकारी ज्ञवालीले गराएका थिए । बैठकमा मुख्य सचिव डा. सोमलाल सुवेदीले पुनर्निर्माणको कार्यमा खटिने कर्मचारीहरुलाई कार्यसम्पदान करार गरी उपलब्ध स्रोत साधन अनुरुप अतिरिक्त सुविधा दिने व्यवस्था गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका थिए । प्राधिकरण निर्देशक समितिको बैठकले बिहिबार ३ बजे पुनः बस्ने गरि स्थगित भएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।