६० प्रतिशत कर्जा घरजग्गा धितोमा, दुई महिनामै १० खर्ब नाघ्यो
काठमाडौं, ११ कात्तिक । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव ६२ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ३६ करोड कर्जा प्रभाव गरेका छन् । सो कर्जामध्ये १० खर्ब ५२ अर्ब घरजग्गा धितोमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ एकै महिनामा यस्तो धितोमा ३१ अर्बको कर्जा प्रवाह भएको हो । अघिल्लो महिना साउनसम्म यस्तो धितोमा कर्जा १० खर्ब २१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको भदौसम्म यस्तो कर्जा ८ खर्ब १४ अर्बमात्र थियो । गएको वर्षको भदौसम्म वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रभावित कुल कर्जामध्ये ४९ दशमलव ४ प्रतिशत घरजग्गाको घितो कर्जा रहेको छ । २०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा दु्ई खर्ब ६० अर्ब एक करोड कर्जा भएको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो । उपत्यकालगायत देशका अन्य स्थानमा समेत पछिल्लो समय घर घरजग्गाको कारोबार बढ्दै गएकाले घरजग्गाको कर्जा प्रवाह पनि बढेको हो । गएको वर्ष अर्थात असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ५० अर्ब ८७ कर्जा प्रभाव भएको थियो । राजधानीलगायत देशका सहर केन्द्रित विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माणका कार्य तिव्र गतिमा बढी रहेको छ । सुविधासम्पन्न क्षेत्रमा बसाइको आकर्षणले बढेकाले जग्गा तथा घर खरीदविक्री पनि ह्वात्तै बढेको छ । जसका कारण यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा विस्तार हुँदै गएको हो । कुल कर्जाको १५ प्रतिशत कर्जा एकै क्षेत्रमा मात्र खर्च हुनु भनेको यसको विकास तथा विस्तारित रुपनै हो । साथै, जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि वित्तीय संस्थाबाट कर्जा निकालेर भएपनि भूकम्पयता मानिसहरु उपत्यका लगायतका सुविधा सम्पन्न स्थानमा जग्गा किन्न तथा घर बनाउन हौसिएका छन् । जग्गाको कारोबार बढिरहेको भूमिसूधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन । काठमाडौंसँग जोडिएको ललिपुर तथा भक्तपुरमा पनि जग्गा तथा घर खरीद÷विक्रीकर्ताहरू आउने क्रम बढिरहेको छ । अहिले बैंहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि कारोबार बढेको घरजग्गा एजेण्ट संघका नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल बताँउछन् । हाल बैंकहरुले साढे सातदेखि ११÷१२ प्रतिशतसम्म घरजग्गाका क्षेत्रमा ऋण प्रभाव गर्दे आएका छन् । ‘नेपालमा आफूले जम्मा गरेको पैसा सुरक्षित रूपमा राख्ने अन्य विकल्प नहुँदा पनि यसको कारोबार बढेको हो,’ उनले भने, ‘जग्गामा गरेको लगानीले उचित प्रतिफल दिन्छ भन्ने विश्वास बढेको छ ।’
सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस दिने, ३५ प्रतिशत हकप्रद पनि
काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ गतेसम्म बन्द हुने भएको छ । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३१ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
निगमको एउटा जहाज कवाडीमा बेचिदै, सिंगापुरमा थन्किएको बोइङ काठमाडौं ल्याइदै
काठमाडौं ११, कात्तिक । नेपाल वायुसेवा निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेचिने भएको छ । निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम भइरहेको बताएको छ । निगमको सिंगापुरमा थन्किएको यो जहाज मूल्यांकनको लागि आजै काठमाडौं आउने भएको छ । निगमका एक इन्जिनियरले दिएको जानकारी अनुसार २ दिनका लागि भनेर गएका इन्जिनियर अच्चुतराज पहाडीसहितको १ं०/१२ जनाको टीम काठमाडौं तीन दिनसम्मै उतै बसेका छन् । निगम स्रोतका अनुसार सो टोली जहाज लिएरै आजै काठमाडौं आइपुग्ने छन् । केही गरी आज कुनै प्राविधिक कारणले नभ्याए भोली शुक्रबारसम्म त जसरी भएपनि आइपुग्ने जानकारी निगम स्रोतले दियो । निगम स्रोतका अनुसार सिंगापुरमा थन्किएको यो जहाजका लागि ४/५ जना कर्मचारी भने आउने र जाने गरिरहेका छन् । थन्किएको जहाज भएपनि भत्ता लिँदै आउने जाने गरेको आरोप निगमकै एक कर्मचारीको छ । अहिले पनि २/३ जना कर्मचारी गए पुग्ने ठाउँमा दर्जन कर्मचारी पुग्नु भनेको काम भन्दापनि घुमघाम र भत्ताको लोभ भएको पनि उल्लेख छ । वायुसेवा निगमले विक्रीमा राखेको यो बोइङलाई काठमाडौंमा नै ल्याउने र यही राखेर मूल्यांकन गर्ने जानकारी निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले पटक पटक सार्वजनिक रुपमा दिइसकेका छन् । कंसाकारका अनुसार सिगंपुरमा थन्किएकोे जहाज बारम्बार समस्या आएपछि निगमले बिक्रीमा राख्ने निर्णय गरेको हो । यो जहाजलाई निगमले अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता झिकाएर विक्री मूल्य तय गर्ने काम अगाडि बढाएको जानकारी दिएको छ । निगमका अनुसार जहाजको मूल्य १८ देखि २० प्रतिशत मात्रै आउने उल्लेख छ । स्न २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द भैसकेको छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन हुने भएको छ । यस्तो मूल्यांकन अनुसार जहाजको मूल्य ८० करोड देखि एक अर्ब रुपैयाँसम्म आउन अनुमान निगमले गरेको छ । मूल्यांकनकर्ताले अन्तर्राष्ट्रि अभ्यास र जहाजको प्रयोग अनुसार मूल्यांकन गर्ने भएकोले निगमले अनुमान गरेभन्दा निकै कम वा सोही हाराहारीमा पनि हुनसक्ने निमकै एक उच्च कर्मचारीको बुझाई छ । सिंगापुरमा रहेको यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेकोले काठमाडौंसम्म मात्रै उडाएर ल्याउन सकिन्छ । यो जहाजको दुईवटै इन्जिनको आयु करीब सकिएको र ओभरहल गर्नुपर्ने बेला भएको छ । इन्जिन मर्मत गनुपर्ने अवस्थामा रहको छ भने हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेकका मर्मत (सीचेक) पनि गर्नुपर्ने अवस्थामा पुगिसकेको छ । सबै मर्मत गर्दा लागत धेरै लाग्ने र मर्मत गर्न लागेको अधिक खर्चबाट जहाजले लाभ लिन नसक्ने निष्कर्षसहित निमगले यो जहाजलाई विक्री गर्ने निर्णयमा निगम पुगको उल्लेख छ । निगमका अनुसार यो जहाजलाई टेण्डर गरेर विक्री गरिने भएकोले जसले धेरै पैसा दिन्छ उसैलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने भएको पनि उल्लेख छ । निगमले विसं २०४४ सालमा करीब २३ लाख अमेरिकी डलरमा खरिद गरेको थियो । वोइङ जहाज विगत २९ वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको छ । निगमले साढे दुई दशकदेखि नियमति संचालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने संचालनमै रहको छ । निगमका अनुसार एउटा बोइङ र दुईवटा एयरवस संचालन गर्दै गर्ने अर्को दुई वटा एयरबसको वाइडवडि किन्ने भएको छ । वाइडवडिको जहाज किन्न टेण्डर गरिसेकोले तिहारपछि टेण्डर खोलिने पनि निगमले जानकारी दिएको छ ।
स्याङजाको चापाकोटमा कृषि विकास बैंकको आधुनिक बैकिङ कार्यालय
काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सो शाखाबाट कृषि विकास बैंकका सबै सेवा सुबिधा लिन सकिने प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले जानकारी दिए । बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा अघि बढेको बताएक थिए । उदघाटन कार्यक्रममा कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख हिम लाल पौडेल, क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख रुद्र कुमार श्रेष्ठ, स्थानिय राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
सिद्धार्थ बैंकको ४ बराबर एक कित्ता हकप्रद सेयर आजबाट निष्काशन
काठमाडौं, ११ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको ४ कित्ता बराबर एक कित्ता अनुपातको हकप्रद सेयर कात्तिक ११ अर्थात आजबाट निष्काशन भएको छ । बैंकले लक्ष्मी क्यापिटल मार्फत हकप्रद सेयर निष्काशन गरेको हो । सिद्धार्थ बैंकका देशैभरका शाखा कार्यालय तथा सिद्धार्थ क्यापिटल र लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हुलाक मार्फत ड्राफ्ट गरेर पठाइएको आवेदन भने ७ दिनपछिसम्म बाँडफाँटमा समावेश गरिनेछ । तीन अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
६ ब्रोकर कम्पनीको सेयर कारोबार बन्द, नागरिक लगानी कोष सहित ४ मर्चेन्ट बैंकरलाई नयाँ कारोबार गर्न एक साता रोक
काठमाडौं, ११ कात्तिक । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गर्ने निर्णाय विहीबार गरिएको धितोपत्र बोर्डले जनाएको छ । बोर्डका सहायक प्रबक्ता निरञ्जय घिमिरेका अनुसार सेयर ब्रोकर कम्पनीहरु प्रिमियर सेक्युरिटज, मार्केट सेक्युरिटज, अरुण सेक्युरिटज, जेफ सेक्युरिटज, सुमेरु सेक्युरिटज र सुन्धारा सेक्युरिटिज्लाई कारवाही गर्ने निर्णय भएको छ । उनीहरुलाई सात दिनसम्म सेयर कारोबार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै धितोपत्र बोर्डले नागरिक लगानी कोष, भिवोर क्यापिट, सिद्धार्थ क्यापिटल र विड इम्भेष्टमेन्टलाई पनि ७ दिनसम्म नयाँ काम लिन नपाउने, सम्झौता गर्न नपाउने गरि कारवाही गर्ने निर्णय गरेको छ । मर्चेन्ट बैकरले अरु काम गर्न पाउने तर नयाँ सम्झौता गर्न वा अरु नयाँ काम गर्न नपाउने गरि कारवाहीको निर्णय भएको उनले बताए ।
जनता बैंकको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, १९.९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव
काठमाडौं, ११ कात्तिक । जनता बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको लागि आवेदन गर्न आह्वान गरेको छ । बैंकले विद्यमान २ कित्ता बराबर १ कित्ता (५० प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयरको लागि मंसिर १ देखि पुस ५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । जनता बैंकका सबैं कार्यालयबाट र एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडबाट उक्त सेयरको लागि आवेदन गर्न तथा सेयरको लागि रकम बुझाउन सकिने बैंकले जनाएको छ । कात्तिक १० गतेसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि अावेदन गर्न पाउनेछन् । हाल दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षको नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । ‘बैंक सञ्चालक समितिले १९.९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा प्रस्ताव गरेको छ’ बैंक स्रोतले भन्यो -‘यसमा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त हुन बाँकी रहेकाे छ ।’ बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गर्छ भन्ने विश्वासका आधारमा विहीबार जारी सूचनामा अपरिष्कृत वित्तीय विवरण उल्लेख गर्दै २०७३ असार मसान्तको चुक्ता पुँजी २ अर्ब ४७ करोड २० लाख रुपैयाँ जनाएको छ । बोनस सेयर स्वीकृत भएमा हकप्रद सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।
अख्तियार प्रमुखले पूर्व सभाभुख सुवास नेम्वाङको टेप रेकर्ड गरेछन्, संविधान निर्माणपनि अवरोधको मनसाय
काठमाडौं ११, कातिक । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामासमेत अवरोध गरेको खुलासा गरेका छन् । प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले दशै, दीपावली, छठ, नेपाल सम्बत, ल्होसारलगायतका चाडपर्वको अवसरमा बुधबार लगनखेलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो खुलासा गरेका हुन् । आफू शक्तिशाली हुने गरी संविधान निर्माण हुनुपर्ने भन्दै कार्कीले दबाब दिएको नेम्वाङले स्मरण गरे । दबाब नमानेपछि कार्कीले पदीय जिम्मेवारीको समेत चरम दुरुपयोग गरेको उनले आरोप लगाए । ‘लोकमानले आफू शक्तिशाली हुने गरी संविधानको मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिने दबाब दिएका थिए,’ नेम्वाङले भने, ‘उनको चाहना अनुसार नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारले चिठी काटेर बयान लिने काम पनि गरेको थियो ।’ कार्कीले संविधान निर्माणका क्रममा विभिन्न तरिकाले आफू बलियो बन्ने उद्देश्यका साथ अनुचित रुपमा पदको दुरुपयोग गर्दै अघि बढेको उनले बताए । दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिँदै गलत नियतले दुःख दिएको नेम्वाङले बताए । संविधान सभाका सदस्यलाई प्रभावमा पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई अख्तियारको प्रयोग गरी वयान लिदै धम्क्याउन शुरु गरेका थिए । अख्तियारमा बयान दिन जाने कर्मचारीले अख्तियार प्रमुखले भनेबमोजिम काम नगरेकाले अख्तियारले चिठी काटेको भन्दै धम्क्याउने गरेको नेम्वाङले बताए । कार्कीको यस्तो पदीय दुरुपयोगका बारेमा सर्वदलीय बैठक बोलाएर संविधान निर्माणमा अवरोध गरेको भनेर सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्धा मामिलाबाट मुक्त गर्न अख्तियार बाध्य भएको उनले बताए । राजधानी दैनिकबाट।