तीन महिनामा भित्रियो अर्बको भाई मसला, ‘ड्राइ फ्रुट्स मात्रै ८१ लाख किलोभन्दा बढी
काठमाडौं ९, कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्स) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो । भन्सार विभागको तीन महिने तथ्याङ अनुसार साउनदेखि असोजसम्ममा ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुन्छ । भाइटिकामा दिदी–बहिनीले दाजुभाईलाई टिका लगाएर सगुनको रुपमा दिने भएकाले यसलाई कतिपयले ‘भाई मसला’ समेत भन्ने गर्छन् । तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदामलगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्छ । नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगयातका मुलुबाट यस्ता उत्पादन आयात हुने गरेका छन् । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८१ लाख किलोभन्दा बढी ‘ड्राइ फ्रुट्स’ आयात भएको हो । यस अवधीमा स्याउ, केरालगायतका हरिया तथा अन्य सुख्खा गरि करिब ३ अर्ब ४ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२र७३ मा ‘ड्राई फ्रुट्स’ को आयात मात्र करिब तीन अर्ब ३९ करोड भएको थियो । गत वर्ष विभिन्न मुलुकबाट करिब तीन करोड ६७ लाख किलो ‘ड्राई फ्रुट्स’ नेपाल भित्रिएको थियो । गत वर्ष सुख्खा र हरियो गरि करिब १० अर्ब ८२ करोड रुपैयाँ बराबरको फलफूल नेपालमा आयात भएको भन्सारको तथ्याङमा उल्लेख छ । कान्तिपुर दैनिकबाट।
सबै प्रक्रिया पुरा गरेर एनसेललाई लाभांश सटही भुक्तानी–राष्ट्र बैंक
काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले सबै प्रक्रिया पुरा गरेर एनसेललाई लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही गरेको दावी गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसंचार प्राधिकरण, उद्योग विभाग र ठूला करदाता कार्यालयको समेत सहमतिमा लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ । एनसेलको ११औ वार्षिक साधारणसभाले एनसेलले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट लाभांश बापत ११ अर्ब रुपैयाँ वितरण गर्ने निर्णय गरेको जनाउँदै त्यसको ८० प्रतिशत लाभांश विदेशी लगानीकर्तालाई भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा माग गरेको थियो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलमा २० प्रतिशत (२ करोड रुपैयाँ) नेपाली र ८० प्रतिशत (८ करोड रुपैयाँ) विदेशी लगानी रहेको छ । तर एनसेल दावी भनेझै ८ करोड रुपैयाँ बराबरको विदेशी लगानी बैंकिङ प्रणाली मार्फत आएको नदेखिएको जनाउँदै नेपाल राष्ट्र बैंकले २०७० माग १३ गते लाभांश बाफतको विदेशी मुद्रा सटही दिन अस्वीकार गरेको थियो । करिब तीन वर्ष पुरानो निर्णयमा परिवर्तन गर्दै नेपाल राष्ट्र बैंकले गत भदौ २७ गते ८ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा एनसेलको लगानीकर्ता रेन्योल्डस् होल्डिङ लिमिटेड, वेष्ट इन्डिजलाई भुक्तानी दिएको छ । राष्ट्र बैंकले प्रक्रिया पुरा नगरी रेन्योल्डस् होल्डिङलाई विदेशी मुद्रा सटही गरि भुक्तानी दिएको समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले सोमबार पत्रकार सम्मेलन गरी ‘सबै प्रक्रिया पुरा गरि सटही भुक्तानी दिएको’ प्रष्टीकरण दिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार सबै प्रक्रिया पुरा गरेर लाभांश भुक्तानीको लागि विदेशी मुद्रा भुक्तानी गरिएको राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । ‘एनसेलमा विदेशी लगानीकर्ताको हिस्सा ८ करोड रुपैयाँ मध्ये यस बैंकले तोकेबमोजिम बैकिङ प्रणालीबाट ५ करोड ८१ लाख रुपैयाँ बराबर मात्र विदेशी मुद्रा लगानी भित्रिएको देखिएको थियो । २ करोड २१ लाख रुपैयाँ बराबर विदेशी मुद्रा बैकिङ प्रणालीबाट भित्रिएको नदेखिएको अवस्थामा राष्ट्र बैंकले तीन वर्षअघि लाभांश भुक्तानीका लागि विदेशी मुद्रा सटही दिएको थिएन’ प्रबक्ता पौडेलले भने–‘कम्पनीले बाँकी २ करोड २१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लगानीको रुपमा भित्रिएको प्रमाण पेश गरेकोले विदेशी लगानी वापतको लाभ वा लाभांशको रुपमा प्राप्त विदेशी मुद्रामा नेपाल बाहिर लैजान स्वीकृति दिएको छौं ।’ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९को दफा १० अनुसार लाभांश भुक्तानी गरिएको उनले बताए । कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्र, अद्यावधिक गरिएको विवरण, प्रबन्त्रपत्र, नियमावली, लेखापरीकबाट प्रमाणित वित्तीय विवरण, नियमनकारी निकायबाट लिएको स्वीकृति पत्र, विदेशी लगानी स्वीकृत पत्र, विदेशी लगानी भित्र्याएको बैंक स्टेटमेन्ट, साधारणसभाले गरेको निर्णय लगायत सबै कागजपत्र लिएर भुक्तानी संबन्धित निर्णाय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
अग्नि ग्रुपका कार्यकारी निर्देशकद्धारा इलाईट अटोमोविल्सको उद्घाटन
काठमाडौं, ८ कात्तिक । महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कस्ले आफ्नो आधिकारीक सर्भिस सेन्टर इलाईट अटोमोविल्स् प्रा.लि.को उद्घाटन गरेको छ । इलाईट अटोमोविल्स्को उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेका थिए । यो सर्भिस सेन्टर गौंशला पिंगलास्थानमा अवस्थित छ । बालाजु अटोवर्कस्ले आºना ग्राहकहरुलाई सहज होस् भन्ने उद्धेश्यले यस सर्भिस सेन्टरको स्थापना गरिएको हो । अन्य सर्भिस सेन्टरको तुलनामा यस आधुनिक प्रविधिबाट सर्भिस गराईनुको साथै आवश्यक पाटपुर्जा पनि सर्भिस सेन्टरमा नै उपलब्ध छन् । कम्पनीका अनुसार कुनै पनि स्थानमा गाडी विग्रिएमा उक्त स्थानमा गई गाडी मर्मत गरीनुको साथै गाडी सर्भिसको लागि लिन जाने तथा पु¥याउने सुविधाको व्यवस्था समेत रहेको छ । यहि कात्र्तिक १०,११ र १२ गते निशुल्क सर्भिस क्याम्प रहेको कम्पनीले जानकारी गराएको छ ।
टिसिएलको कर्भ टिभी नेपाली बजारमा, मूल्य ८६ हजार रुपैयाँ मात्र
काठमाडौं, ८ कात्तिक । अन्तराष्ट्रिय मान्यता प्राप्त टि.भी. ब्राण्ड टिसिएलले नयाँ कर्भ टिभी नेपाली बजारमा ल्याएको छ । टिसिएल टि.भीका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.ली. ले उपभोत्ता माझ उक्त कर्भ टि.भी. बजारमा ल्याएको हो । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्ने क्रममा उक्त टिभी बजारमा ल्याएको कम्पनीले जनाएको छ । स्टाइलिस डिजाईन भएको उक्त कर्भ टि.भी.मा एनरोइड ४.४, २ वटा युएसबि पोर्ट, २ वटा एचडिएमआइ र एउटा एचडिएमआइ एमएचएल जस्ता विशेषता रहेको छ । जुनसुकै एंगलबाट पनि हेर्न मिल्ने उक्त टि.भी ४८ इन्चको मोडलमा रहेको छ । नेपाली बजारमा यसको अधिकतम मूल्य ८६ हजार २ सय ९० रुपैयाँमा विक्री भइरहेको कम्पनीले जनाएको छ ।
बेष्ट रेमिट र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता
काठमाडौं, ८ कात्तिक । बेष्ट रेमिट नेपाल र रामारोशन माईक्रोफाईनान्स बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बेष्ट रेमिटको तर्फबाट बजार ब्यवस्थापक तथा संचालन प्रबन्धक प्रदिप श्रेष्ठ र रामारोशन माईक्रोफाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बतालाले हस्ताक्षर गरेका छन् । यो सम्झौता सँगै अब विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स अछाम, डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, सुर्खेत र दैलेख स्थित रहेका शाखा कार्यालयबाट भुक्तानी लिन सकिनेछ । यस्तै बेष्ट रेमिटका श्रेष्ठले सो सम्झौता सँगै अब विदेशबाट पठाएको पैसालाई ग्रामिण भेगका सेवाग्राहीहरुलाई भुक्तानी लिन थप सेवा पुग्ने बताएका छन् । गैर आवासीय नेपालीहरु द्धारा प्रर्वद्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ । रामारोशन माईक्रोफाईनान्स सँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका ३५ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।
तिहारका लागि साठी लाख मूल्य बराबरको माला आयात हुने
काठमाडौँ, ८ कात्तिक । नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट ६० लाख रुपैयाँ बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । गत बर्ष तिहारमा एक लाख ५० हजार रुपैयाँको माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भने — गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला एक सयदेखि एक २० रुपैयाँ सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा ८० रुपैयाँ सम्ममा तिर्नुपर्ने हुन्छ । पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ । हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको माँगमा आएको बृद्धिसंगै यतिखेर काठमाडौँ, ललतिपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म/नर्सरी विस्तार भइसकेको छ । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रासस
भूकम्पपछिको पदमार्ग पुनःनिर्माणका लागि १५ लाख पाउन्ड सहयोग
काठमाडौं, ८ कात्तिक । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई सघाउन डब्लुएफपीले उक्त अनुदानको उपयोग गर्ने डब्लुएफपीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भूकम्पबाट अति प्रभावित क्षेत्रका ६ वटा गोरेटो (एक सय २९ किमी) लाई पुनः सञ्चालनमा ल्याउन र थप ६ वटा (एक सय ५८ किमी)को प्राविधिक मूल्याङ्कन सम्पन्न गर्न सो सहायता प्रयोग गरिनेछ । साथै, नयाँ गोरेटोलाई मौसमी पहिरो थेग्ने र भूकम्प प्रतिरोधी हुने गरी निर्माण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । सो परियोजनाबाट धादिङ, गोर्खा र रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने ५५ हजार एक सय ७५ जना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वाससमेत लिइएको छ । नेपालको पदमार्ग पुनःनिर्माण कार्यमा डब्लुएफपी धेरै लामो समयदेखि संलग्न रहँदै आएको छ । गत वर्षको भूकम्पपछि करिव आठ सय ८० किमी पदमार्ग पुनः सञ्चालन गरी एक लाख ३० हजार जनसङ्ख्याका लागि पहुँच उपलब्ध गराउने कार्य सम्पन्न भइसकेको छ । “झन्डै १८ महिनाअघिको विध्वंसात्मक भूकम्पमा ग्रामीण नेपालको धेरै ठाउँका गोरेटो र सडकहरु भत्किएका थिए र त्यसको प्रभाव आजसम्म पनि अनुभव गरिएको छ,” डब्लुएफपी नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले विज्ञप्तिमा भनेका छन् । गोरेटो बाटोको पहुँचले समुदायलाई बजारसम्म पुग्न र सामाजिक सेवा उपभोग गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । रासस
एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, ८ कात्तिक । एक्सेल डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै बैंकले कर प्रयोजनको लागि राखेको १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ । बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।