सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी
काठमाडौं । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा भारतबाट कोही पनि नेपाल भित्रन नपाउन् भन्दै कैलालीका सीमानाकामा थप अस्थायी बेस क्याम्प निर्माण गरी सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेको उनीहरुको गुनासो छ । टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मी थुप्रै समस्यासँग जुधिरहेका छन् । मोहना नदीको छेउमा गत चैत २६ गते स्थापना भएको अस्थायी बेस क्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ सुरक्षाकर्मी कार्यरत छन् । बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या छ । उनीहरु तीन किलोमिटर टाढा टीकापुर–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर सुरक्षार्थ तैनाथ छन् . टीकापुर–९ चौगुर्दीस्थित अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ । उनीहरुले समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन् । त्यस्तै भजनी नगरपालिकामा पनि छवटा अस्थायी क्याम्प स्थापना गरिएका छन् । त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ । एक क्याम्पबाट अर्को क्याम्प देखिने गरी अस्थायी क्याम्प स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । समस्यासंँग जुध्दै आए पनि उनीहरुले कसैको नाम कोड नगर्ने सर्तमा आफ्नो वास्तविक समस्या बताए । भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । “आवश्यक सहयोगका लागि समन्वय भएको छ”, उनले भने, “खानेपानी, विद्युत्, शौचालय आदिको समस्या छ, ती समस्या समाधानका लागि सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य भइरहेको छ ।” नगर प्रमुख चौधरीले सीमामा खटिएका सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण भएको भन्दै निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिए । विद्युत् सम्भव भएको ठाउँमा विद्युत् लाइन जडान गर्ने र सम्भव नभएको ठाउँमा सोलारको समेत व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताए । सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले अस्थायी क्याम्पमा समस्या रहेको बताउँदै पहिलेको तुलनामा समस्या समाधान हुँदै गएको बताए । उनले अन्य क्षेत्रमा जस्तो पूर्व तयारी गरी सुरक्षाकर्मी परिचालन नहुने बताउँदै अस्थायी क्याम्पमा देखिएका समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारसंँग समन्वय भइरहेको जानकारी दिए । “स्थानीय सरकारले सहयोग गर्दै आएको छ । प्रदेश सरकारले पनि स्वास्थ्य सामग्रीको सहयोगका लागि समन्वय गरेको छ”, सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले भन्नुभयो, “केही क्याम्पमा समस्या छ तर विस्तारै सबै समस्याको समाधानका लागि हामी लागिरहेका छौँ ।” सीमा क्षेत्रमा सुरक्षा मजबुत गर्न र आइपरेको समस्याको समाधानका लागि स्थानीय सरकारसंँग समन्वय गर्न भजनी र टीकापुर क्षेत्र हेर्ने गरी सशस्त्र प्रहरी नायब उपरीक्षक खटाइएका छन् । यसअघि भजनी र टीकापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेत्तृत्व रहँदै आएको थियो । “धेरै ठाउँमा समस्या छ । हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले भने, “हामी आवश्यक परेका बेला तत्काल खट्नुपरेकाले समस्या भएको हो । यो विस्तारै समाधान हुन्छ । अहिले प्रहरी नायब उपरीक्षकले स्थानीय तहसंँग समन्वय गरी समस्याको समाधान गर्ने काम भजनी र टीकापुर क्षेत्रमा भइरहेको छ ।” कैलालीको सीमा क्षेत्र ५२ वटा अस्थायी क्याम्प र १२१ वटा सेन्ट्री पोष्ट रहेको बताउँदै तिमिल्सिनाले १०० किलोमिटरको दूरी कायम हुने गरी क्याम्प स्थापना गरिएको बताए । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा बस्तीबाट निकै टाढा नदी किनारको जङ्गलमा बस्न बाध्य छन् । बस्ती नजिकै बसेका सुरक्षाकर्मीको तुलनामा बस्तीभन्दा टाढा रहेकाहरु निकै समस्यामा छन् । बस्तीभन्दा टाढा रहेका सुरक्षाकर्मी टेण्ट गाडेर बसेका छन् । उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन । स्थानीयवासीले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन् । खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् । भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ । त्यस्तै, टीकापुरमा सत्कार मेडिकल सञ्चालन गर्दै आएका डा हेमन्त स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गरे । उनले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलङ्कास्थित बेस क्याम्पमा १ सय जार पिउने पानी उपलब्ध गराए । उनले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजरसमेत प्रदान गरेका हुन् । रासस
मौसम अपडेट : देशका विभिन्न भागमा चट्याङसहित वर्षा हुने
काठमाडौं । शनिबार देशको पूर्वी तथा मध्य भु भागमा मेघ गर्जन, चट्याङ सहित आंशिक बर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ। यसैगरी, हाल देशको मध्य र पूर्वी भू भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ। देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । राति, देशको पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
२० दिन पछि देखा परे किम जोंग
काठमाडौं । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार त्यहाँका शासक किम जोंग–उन लगभग २० दिनपछि बल्ल देखा परेका छन् । उक्त मिडियाका अनुसार किम आफ्नी बहिनी किम यो जोंग लगायत धेरै जना वरिष्ठ अधिकारीहरुका साथमा एउटा खाद बनाउने उद्योगको उद्घाटन गर्न पुगेका थिए । किमको उपस्थिती थियो भन्ने खालका तस्वीरहरु नबाहिरिएकोले गर्दा उक्त मिडियाको रिपोर्टलाई स्वतन्त्र रुपले पुष्टि भने गर्न सकिँदैन । गत अप्रिल १२ मा सार्वजनिक रुपमा देखापरेका किम त्यसपछि भने महत्वपुर्ण कार्यक्रमहरुमा पनि उपस्थित भएका थिएनन् । लामो समयसम्म नदेखिएका हुनाले उनको स्वास्थ्यको विषयलाई लिएर संसारभर विभिन्न अड्कलवाजीहरु शुरु भएका थिए ।
ताप्लेजुङमा आगलागी हुँदा सात घर जलेर नष्ट
काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार राति १०ः४५ देखि लागेको आगोबाट ठूलो मूल्य बराबरको क्षति भएको अनुमान छ । क्षतिको विवरण निकाल्ने तयारी भइरहेको ताप्लेजुङ सहायक प्रमुख जिल्ला (सूचना) अधिकारी केशव खतिवडाले बताए । ‘हामी रात भरी आगो नियन्त्रणमा थियौं, पहाडको ठाँउ भएकाले दमकको व्यवस्थापन गर्न ढिलो हुँदा, प्रहरी स्थानियको सहयोगमा आगो नियन्त्रण त गरियो तर कति परिवार विस्तापित भन्ने आकंडा निकाल्ने काम भइरहेको छ’ उनले भने । उक्त आगलागी शनिबार विहान साढे पाँच बजे नियन्त्रणमा लिँदा दुई पक्की घर पुन रुपमा क्षति, एक पक्की घर आंशिक क्षति, चार माटो घर र पाँच वटा घुम्ति पसल जलेर नष्ट भएको सूचना अधिकारी खतिवडाले जानकारी दिए ।
चीनमाथि प्रतिबन्ध लगाउने विचारमा ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउने विचार गरेका छन् । एउटा भेटमा पत्रकारहरुसँग उनले भनेका छन् कि “कोरोना भाइरस संक्रमण रोक्नमा चीनको असक्षमतालाई मध्यनजर गर्दै अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउने सम्भावनालाई नकार्न सकिँदैन ।” अमेरिकी राष्ट्रपतिहरुका लागि बनेको फार्महाउस क्याम्प डेविव जानका लागि हेलिकप्टर चढ्न लागेका वेला उनले सो कुरा पत्रकारहरुलाई भनेका हुन् । ट्रम्प आफ्नी छोरी इवांका लगायत केही सहयोगीहरुका साथ सप्ताहन्त विताउन त्यसतर्फ जान लागेका हुन् । भनिँदैछ की उनी सप्ताहन्तमा फार्महाउस बाटै काम गर्नेछन् । ट्रम्प २८ मार्च देखि व्हाइट हाउसबाट बाहिर निस्किएका थिएनन् ।
कोरोना संक्रमण निको हुनेको संख्या १० लाख ८० हजार नाघ्याे, यस्तो छ ताजा तथ्यांक
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३९ हजार ४ सय ४३ जनाको मृत्यु भइसकेको छ भने १० लाख ८० हजार १ सय १ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६५ हजार ७ सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ३१ हजार १५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३७ हजार २ सय ५७ पुगेको छ भने अहिलेसम्म १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५९ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
कोरोनाको प्रभावका विषयमा लेखाजोखा भइरहेको छ: अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन्। उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान०ले गरेको भिडियो कन्फरेन्समा उनले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा संभव नहुने बताए। ुअहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छु, उनले भने। मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गरे। आवागनम रोकेर पर्यटन विकास नहुने भएकाले अहिले सबैभन्दा धेरै प्रभाव यही क्षेत्रमा परेको बताए। निजी क्षेत्रलाई परेको समस्या बहन गर्ने विषयमा बहस गर्दा सरकारको क्षमता पनि हेर्नुपर्ने बताए। निजी क्षेत्रले धेरै राजस्व तिर्ने अवस्था आउँदा मात्रै सरकारले धेरै राहत दिन सक्ने हो, उनले भने। मन्त्री खतिवडाले बैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताए। निक्षेपकर्तालाई मारेर तरलता व्यवस्थापन कसरी हुन सक्छ र उनले भने, केन्द्रीय बैंकले यो छुट र त्यो छुट दिनुपर्यो भन्ने कुरा गर्दा हामीले खोजेका सबल वित्तीय व्यवस्था कसरी होला । खतिवडाले ऋण तिर्ने क्षमता भएका व्यवसायीले समयमै आफ्ना काम गर्नुपर्ने बताए। जसको क्षमता छैन त्यसका विषयमा सरकारले सोच्छु, उनले भने, क्षमता भएकाले पनि कोरोनाको प्रभाव भनेर हात बाँधेर बस्नु हुँदैन। उनले सम्पत्ती र दायित्व मूल्यांकनको विषयमा केन्द्रीय बैंकले केही व्यवस्थापन गर्नुपर्ने हुन सक्ने बताए। खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन, उनले भने। छलफलमा नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताएका छन्। उनले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गरे। चैतबाट रेमिट्यान्स घट्न थालिसकेको र त्यसबाट सिर्जना हुने विदेशी मुद्रा र तरलतामा नै प्रभाव पर्ने बताए। अहिलेसम्म दुई राउन्डको जेजति प्याकेज आएको छ, यो सबै कुरा होइन, उनले भने, ुहामीले अर्थतन्त्र पुनरुत्थानका लागि धेरै कुरा सोच्नुपर्नेछ। अहिलेको प्याकेज अन्तरिम भएको र यसले तत्कालको समस्या कम मात्रै गर्न खोजेको उनले बताए। अर्थसचिव शिशिरकुमार ढुंगानाले कोरोना भाइरसबाट ठूलो प्रभाव परेका क्षेत्रलाई सहयोग गर्न र अर्थतन्त्रलाई पुनर्स्थापित गर्ने गरी सरकारले प्याकेज बनाएको उल्लेख गरे। सचिव ढुंगानाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका प्रयासका कारण सकारात्मक नतिजा आएको बताए। उनले संक्रमण नियन्त्रणको प्रयासले आर्थिक गतिविधि संकुचित भएको उल्लेख गरे। अहिले निर्माण क्षेत्र, कृषि र श्रमिकको क्षेत्रमा केही समस्या आएको छु, उनले भने, सरकारले यसका लागि राहत र सुविधा ल्याइरहेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले कोरोनाका कारण वित्तीय क्षेत्रमा प्रभाव देखिइसकेको उल्लेख गरे। अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रेमिट्यान्स् घटेको र यसको प्रभाव भुक्तानी सन्तुलनमा पनि देखिने बताए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमिकहरुलाई लकडाउनको बेलामा ५० प्रतिशतको तलब दिने गरी सुझाव दिइएको र सरकारले त्यसैअनुसार निर्णय लिएको उल्लेख गरे। यसबारेमा महासंघको आधिकारिक धारणा आइतबार आउने उनले जानकारी गराए। अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगरप्रतिष्ठान सञ्चालनमा रहेको र त्यस्ता उद्योगले मजदूरसँगको समझदारीमा तलब प्रदान गरिरहेको बताए। आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसले सार्वजनिक वित्त व्यवस्थापनमा चुनौति थपेको बताएका छन्। उनले बजेट निर्माण गर्दा नै खर्च कटौतीको क्षेत्र पहिचान गर्नुपर्ने र खर्च गर्ने निकाय पनि सचेत हुनुपर्ने बताए। आचार्यले बाह्य सहयोग पनि अपेक्षाअनुसार नआउन सक्ने भएकाले चुनौति बढाएको उल्लेख गरे। कोरोना भाइरसको प्रभाव बढेका कारण रेमिट्यान्स घट्ने र त्यसको असर भुक्तानी सन्तुलनमा पर्ने बताए। कोरोनाको प्रभावले साना तथा मझौला व्यवसायमा ठूलो प्रभाव पर्ने देखिएको छ, उनले भने, यसले ती व्यवसायको अस्तित्व नै खतरामा पार्ने देखाएको छ। सरकार र निजी क्षेत्र दुवैले गर्ने नयाँ लगानी पनि यसकै कारण प्रभावित हुन सक्ने उनको भनाइ छ। अर्थतन्त्रलाई गति दिने महत्वपूर्ण भूमिका सरकारको हुने उनले बताए। बाह्य रोजगारीमा कोरोना भाइरसले ठूलो प्रभाव पार्ने देखिएको छु, उनले भने निर्माण, कृषि र विकासमा राम्रो ज्ञान लिएर फर्कने मजदूरलाई कृषि क्षेत्रको उत्पादकत्व बढाउन र विकासका गतिविधि बढाउन प्रयोग गर्न सक्ने संभावना छ। यसका लागि सरकराले कार्यक्रम ल्याउनुपर्छ। आचार्यले संकटको अवस्थामा वित्तीय क्षेत्रमा जोखिम बढ्ने भएकाले राजस्व चुहावट हुन सक्ने भएकाले चनाखो हुनुपर्ने उल्लेख गरे। साना तथा मझौला उद्योगलाई बचाउन उपयुक्त सुझावको जरुरी पर्ने भएकाले लेखापरीक्षकहरुले उचित परामर्श दिन सक्ने पनि बताए।
ज्योति लाईफकाे प्रमुख कार्यकारी अधिकृतमा प्रकाश खत्रीकाे नाम स्वीकृत
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग स्वीकृत मागेकाे थियाे । कम्पनीकाे प्रस्तावअनुसार समितिले खत्रीकाे नाममा सहमति दिएकाे बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले जानकारी दिए । समितिले स्वीकृत गरेकाे जानकारी भएपनि नियुक्ति सम्बन्धि अन्तिम निर्णय कम्पनीकाे सञ्चालक समितिबाट हुन बाँकी रहेकाे खत्रीले बताए । आगामी साता बस्ने कम्पनीकाे सञ्चालक समितिले निर्णय लिने उनले बताए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको स्थापना कालदेखि नै नायव प्रमुख कार्यकारी अधिकृत थिए । साथै, उनले विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समेत समालेका थिए । कम्प्युटर साईन्समा स्नातकोत्तर गरेका खत्रीसँग संसारकै ठूलो मानिने बाराक्लेज बैंकमा ५ बर्ष काम गरेकाे अनुभव छ । बेलायतको केन्द्रिय कार्यालयमा काम गरेका उनी नेपाल फर्किएर लक्ष्मी बैंकको मेनेजरका रुपमा ४ वर्ष थप जिम्मेवारीमा रहे । नेपाल लाइफ र एनआईसी एसिया बैंकको सञ्चालककाे समेत अनुभव हासिल गरेकाे छन् ।