विकासन्युज

भारतमा कोभिड–१९’ संक्रमितको संख्या ३५ हजार नाघ्यो र १ हजार १४७ को मृत्यु

नयाँ दिल्ली। भारतमा कोभिड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन. । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७३ जना रहेको छ । भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १० हजार ४९८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रमा कोरोना भाइरस संक्रमणको कारण ४५९ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ३९५ संक्रमित रहेका छन् । यस राज्यमा ६१३ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २१४ जनाको ज्यान गएको छ । गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको र यहाँ ३ हजार ५१५ संक्रमित रहेका छन् । यस राज्यमा १ हजार ९४ जना उपचारपछि घर फर्किएका छन् । दिल्लीमा यस भाइरसको सक्रमणको कारण ५९ जनाको ज्यान गएको छ ।

नोबेल अस्पतालविरुद्ध बिरामी निकालेको भन्दै उजुरी, घटनाको छानबिन हुने

काठमाडौं । उदयपुर घर भएकै कारण बिरामी निकालेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज विरुद्ध उजुरी परेको छ । बिरामीका आफन्तले बिरामी निकालेको भन्दै नोबेल विरुद्ध कारवाहीको माग राख्दै शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताएका छन् । कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए त्यस्तो अस्पतालमाथि कारबाही हुने उनले बताए ।

कोरोना भाइरस सङ्क्रमित भेटिएपछि नेपालगञ्जका चार स्थान बन्द

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ । बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् । लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा संक्रमित व्यक्ति रमजानको शुरुआतीसँगै उक्त मस्जिदमा बस्ने गरेको बुझिएको छ । सोही मस्जिदका इमामको परीक्षण गर्दा उनको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमित उनी लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । उनको स्वास्थ्यावस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । उनका श्रीमती र छोरा तथा नजीकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ । नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि सङ्क्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो । ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन् । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलशनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाब संकलन गरी जाँच गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीको स्कर्टिङ्गमा एम्बुलेन्समा राखेर उनलाई खजुरास्थित आइसोलेशन वार्डमा लगिएको हो । सङ्क्रमित एम्बुलेन्ससम्म सामान्यरुपमा हिँडेरै आएका थिए । सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएको बुझिएको छ । रमजान शुरु हुनु केही दिन अघि मात्र उनी मस्जिदमा गएर बसेको बुझिएको छ । लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । मस्जिदका इमामको परीक्षण गर्दाे रिपोर्ट नेगेटिभ आएको छ । रासस

प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता: अब आँसु खसाउनु पर्दैन

प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । *** सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता मेची-काली, पहाड-तराई निर्भय वातावरण सुरक्षित नारी अब आधुनिकतामा बढ्यो नेपाल गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन *** फाटोका खेती कुहिन्छन् स्वार्थी हिंसा तुहिन्छन् अब चेलीका चुरा फुट्दैनन् कोही टुहुरा पर्दैनन् गणतन्त्र हो यो गणतन्त्र शक्तिका स्रोत जनताको जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन

टेलिकमले ल्यायाे विद्यार्थी र शिक्षककाे लागि निकै सस्तो दरमा डाटा सेवा

काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दरमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो । विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । रु. २६० मा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । यसैगरी रु. ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ । बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने छ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ । सिफारिश प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रोल्पामा रहेको बम निष्क्रिय

रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा फेला परेको बेवारिसे बम आज निष्क्रिय पारिएको छ । दहवनबाट गएको सेनाको टोलीले बम डिस्पोज गरेको हो । बिहीबार दिउँसो जंगलमा बाख्रा चराउन गएका चार स्थानीय बालबालिको आफूले फेला पारेको बेवारिसे बम खेलाउने क्रममा विस्फोट हुँदा ज्यान गएको थियो । सोही ठाउँमा अर्को विस्फोटन नभएको बमसमेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो । बम विस्फोटमा परी ज्यान गुमाएका बालबालिकाको शव स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारको उपस्थितिमा मुचुल्का उठाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा पर मृत्यु हुनेमा त्रिवेणी–७ का लालबहादुर केसीका ११ वर्षीया छोरी विमला र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव छन् । मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए । उनले घटना भएको स्थानमा थप अनुसन्धान गर्नसमेत आग्रह गरे । घटनास्थलमा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकसमेत पुगी जानकारी लिए । बालबालिकाले जंगलमा बम भेटाएर फर्की दुम्ला खोलामा खेलाउँदा विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । सशस्त्र द्वन्द्वका बेला दुम्ला डाँडामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भिडन्त भएको थियो । रासस

चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने

काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । चीनमा आजदेखि आगामी मङ्गलबारसम्म (मे १–५ तारिख) सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले थप केही दिन लाग्ने देखिएको हो । यसअघि आगामी मङ्गलबार सामान लिनका लागि नेपाल वायु सेवा निगमका वाइड बडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो । नेपाल ल्याउने सामान तयारी अवस्थामा चीनको ग्वान्जाओमा आइपुगेको छ । “चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भने । नयाँ तालिकाअनुसार आगामी बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइनेछ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो । नेपाली सेनाका प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ । चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । हवाई मार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ । ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गो लगाएको थियो । सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको छ । सेनाले बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल गरिरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । त्यस्तै भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ । रासस

भारतमा दुई हप्ता बढ्याे लकडाउन

काठमाडौं । भारतमा लागु भइरहेको लकडाउनको अवधि फेरी दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्व्याउने निर्णय भएको शुक्रबार घोषणा गरेको हो । भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो । प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको बिकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोनाभाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ । सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ । देशलाई कोरोनाभाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाई छ । भारतमा केन्द्रीय सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ । निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी भएको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको सङ्ख्या ७७ रहेको छ ।