नेपाल वनस्पति घ्यू तेल संघले कोरोना कोषमा दियो २१ लाख रुपैयाँ
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल संघले कोरोना कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । संघले सरकारको स्वामित्वमा रहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राहत स्वरुप उक्त रकम सहयोग गरेको हो । कोषमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टमार्फत संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विकास दुगड, सदस्यहरु कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द वगरीया समेतको प्रतिनिधी मण्डलले उक्त रकम प्रदान गरेको हो । सो अवसरमा उद्योग सचिव चन्द्रकुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा. वैकुण्ठ अर्याल समेतको उपस्थिति थियो । हालैका दिनहरुमा विश्वमा नै महामारीको रुपमा देखीएको कोराना भाईरसको कारण सारा विश्व नै स्तव्ध एंव लगभग बन्द हुन गएको र महामारीको संक्रमणबाट जोगाउन गरिएको लकडाउनबाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा बन्द हुन गएको छ ।
काे हुन् आज भेटिएका बाँके र रुपन्देहीका काेराेना संक्रमित ?
काठमाडौं । आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीको संक्रमित र भेरी अस्पतालमा बाँकेको संक्रमितको कोरोना पुष्टि भएको हो । बाँकेका ६० वर्षिय पुरुषलाई बाँकेको शुशिल कोईराला क्यानसर प्रखर अस्पतालमा ल्याउँदै गरेको देवकोटाले बताए । रुपन्देहीका २५ वर्षिय युवा बैशाख ५ गते भारतबाट आएका थिए । उनलाई बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ जसमा १६ जना निकाे भएर घर गईसकेका छन् । संक्रमितमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् । हालसम्म पिसिआर विद्यिबाट १२ हजार ५ सय ७७ वटा र आरडिटी विद्यिबाट ४७ हजार ७ सय ९७ वटा परीक्षण भएकाे छ । यस्तै नेपालभर २४ हजार ९ सय ७ जना क्वारेनि्टनमा र ९५ जना अाईसाेलेसन छन् ।
भरतपुर मेडिकल कलेजले प्रहरी कार्यालयलाई दियाे कोरोना सुरक्षा सामाग्री
चितवन । कलेज अफ मेडिकल साइन्स भरतपुर (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले शुक्रबार प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराउने उनले बताए । यस्तै महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो ।
आर्थिक संकटकाे सामना गर्न थप साझेदारीका साथ अघि बढौं- उद्योग परिसंघ
काठमाडाैं । नेपाल उद्योग परिसंघले विषम परिस्थितिकाे बेलामा आएको आर्थिक संकटकाे सामना गर्दै साझेदारीका साथ अघि बढ्न श्रमिक वर्गलाई आग्रह गरेको छ । मे १ तारिखका दिन मनाइने अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समग्र श्रमिक वर्गमा शुभकामना दिँदै परिसंघले उक्त आग्रह गरेको हाे । परिसंघले समृद्ध आर्थिक प्रणालीको विकासमा श्रमिक वर्गसंग हातेमालो गर्दै आइरहेकाे छ । यसैबाट दिगो आर्थिक प्रणालीको विकास हुन्छ भन्नेमा गहिरो विश्वास रहदै आएको परिसंघले जनाएकाे छ । यसैले श्रमिक दिवसको अवसरमा थप सौहार्दपूर्ण श्रम सम्बन्ध विकासमा साझेदारीका लागि आह्यवान गरेकाे छ । ‘कतिपय अवस्थाहरु हाम्रो वशभन्दा बाहिर रहन पुग्ने यथार्थ आज हाम्रा सामुन्नेमा छ । कोरोना भाइरसको महामारीले विश्व उत्पादन तथा वितरण प्रणाली ठप्प हुदा विश्व अर्थव्यवस्था नै नराम्ररी प्रभावित भएको छ । यो महामारी, आर्थिक संकट र वेरोजगारीको महामारीरुपमा समेत फैलिरहेको छ । यसबाट नेपाल समेत अछुतो छैन् । अझ, श्रम प्रधान तथा विप्रेषणमा आधारित नेपालको अर्थतन्त्र झनै संकटोन्मुख अवस्थामा पुगेको छ । त्यसैले विग्रदो परिस्थितीलाइ सम्हाल्दै अघि बढ्नु नै हाम्रा अगाडी सबैभन्दा ठूलो कार्यभार रहन पुगेको आजको दिनमा स्मरण गर्न चाहान्छु ।’- परिसंघले बताएकाे छ ।
ग्राहकले अडर गरेको सामान २४ घण्टाभित्रै पुर्याउँदै मेगा बैंक, १० प्रतिशत छुट पनि
काठमाडौं । मेगा बैंक नेपालले लकडाउनको समयमा ग्राहकहरुले अडर गरेको सामान २४ घण्टाभित्रै पुर्याईदिने भएको छ । बैंकले होम सप्लाइजसँग आफ्ना ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता गरेको हो । यससँगै, ग्राहकहरुले अडर गरेको जुनसुकै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री खरिदमा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयासम्म छुट पाउने सहमति भएको छ । सामान खरिदका लागि होम सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिनेछ । लकडाउनका समयमा ग्राहकहरुलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधी र खाद्यान्नका लागि बिभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ । मेगा बैंकका ग्राहकहरुले फुडमाण्डू र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्य सेवा घरमै बसेर प्राप्त गर्न सक्नेछन् । अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरुलाई सहज तथा सुरक्षित रुपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान खरिदको व्यवस्था मिलाइने मेगा बैंकले जनाएको छ ।
नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालन
काठमाडौं । राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल आजदेखि सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदिइ प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो । लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसङ्क्रमण गर्न सकिने उनले बताए । स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिनजस्तै झोल राख्नका लागि सोही कम्पनीले नै दुई हजार लिटर क्षमताका दुई र एक हजार लिटर क्षमताका दुई गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखिएको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ । क्लोरिनका लागि मात्रै दैनिक रु एक हजार २०० खर्च हुनेछ । “हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन”, अध्यक्ष थापाले भने । सो यातायातले रु चार लाखको लगानीमा उक्त टनेल निर्माण गरेको हो । टनेल निर्माणका लागि १७ मजदुर खटिएको जानकारी दिँदै उनले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर काम गरेको बताए । एक लिटर क्लोरिन झोलसहितको पानीले ठूला सवारी साधन र सानाका लागि भने असाध्यै कम परिमाणमा समेत निःसङ्क्रमण गराउन सकिने उनको भनाइ छ । अध्यक्ष थापाका अनुसार कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेल निर्माण गरिएको हो । तीन इन्चका पाइपले चारैतिरबाट क्लोरिन झोल फाल्ने भएकाले राजधानी भित्रने सबै सवारी साधन निःसङ्क्रमण हुने छ । सवारी साधनलाई निःसङ्क्रमण गराएर मात्रै राजधानी प्रवेश हुन दिँदा त्यसले राजधानीवासीलाई थप सुरक्षित बनाउनेछ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने लक्ष्यका साथ नगरपालिकाको संयोजनमा डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार नाकामा सुरक्षाका लागि बस्ने नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । आवश्यक पानी उपत्यका खानेपानी व्यवसायी सङ्घले दैनिक एक ट्याङ्कर उपलब्ध गराउनेछ । टनेल सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाको २ नं वडाले विद्युत् सेवा उपलब्ध गराएको छ । सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि काठमाडौँ छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर आउने वातावरण मिलाइएको छ । नेपाल चिकित्सक सङ्घ र नेपाल रेडक्रस काठमाडौ जिल्ला शाखाले स्वास्थ्य परीक्षणको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिरहेका जनाइएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र सुरक्षाकर्मीको उपस्थिति थियो । रासस
७० फर्मलाई एक कराेड भन्दा बढि जरिवाना
काठमाडौं । डेढ महिनाका अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिवाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल छन् । मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्रीवितरण गर्ने, मूल्यसूची नराख्नेलगायत उपभोक्ताको गुनासोका आधारमा विभागले अनुगमन र कारवाही गर्दै आएको छ । उनका अनुसार कारवाहीस्वरुप जरिवाना गरिएका फर्ममध्ये नौ सर्जिकल हाउसबाट रु १७ लाख ४० हजार, २३ खाद्य पसल रु १४ लाख २५ हजार, पाँच औषधि पसलबाट रु पाँच लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट रु चार लाख ५५ हजार, पाँच ग्यास पसलबाट रु ५५ हजार, ६ मासु पसलबाट रु सात लाख, पाँच शृङ्गार पसलबाट रु चार लाख १५ हजार, दुई मार्टबाट रु सात लाख र अन्य पसलबाट रु ७० लाख ६५ हजार राजश्व संकलन गरिएको छ । विभागले डेढ महिना अवधिमा २४५ फर्मको अनुगमन गर्दा १०९ फर्म सामान्य अवस्थामा रहेको, ६० फर्मलाई सामान्य कैफियतमा तत्काल नै सुधार गराइएको तथा सुधार गर्न निर्देशन दिइएको, ७० फर्मलाई जरिवाना गरिएको, दुई फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र चार फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न बोलाएको उनले जानकारी दि्ए । विभागले लकडाउनका कारण खाद्य तथा सर्जिकल सामग्रीलाई बढी मूल्यमा बिक्री गर्ने गरेको जनाउँदै बजार अनुगमनलाई तीव्र बनाएको छ । दैनिक दुईदेखि तीन समूहले उपभोक्ताको गुनासोलाई आधार बनाएर बजार अनुगमन गर्ने गरेका छन् । रासस
मजदुरको भविष्य सुरक्षित हुनुपर्छ: मुख्यमन्त्री पौडेल
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्नुभएका मजदुरहरुको भविष्य सुरक्षित हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जीवनभर उत्पादन र निर्माणमा पसिना बगाएका मजदुरको जीवनको उत्तराद्र्धको समय सुरक्षित गर्ने दायित्व राज्यको भएको बताए । “प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यही कुरा महसुस गरेर नै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो”, उनले सन्देशमा भनेका छन्, “वाग्मती प्रदेश सरकार पनि मजदुरको हकहित र पेशागत सुराक्षाका लागि प्रतिबद्ध छ ।” मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणविरुद्ध मुलुकमा लकडाउन गरिएको छ, यस्तो अवस्थामा मुलतः मजदुर र त्यसमा पनि दैनिक ज्यालादारीका मजदुरलाई समस्या परेको यथार्थबाट सरकार अनविज्ञ छैन भन्दै त्यस्ता समस्यामा परेका मजदुरलाई राहत उपलब्ध गराउन स्थानीय तहमार्फत काम भइरहेको बताए । उनले सन्देशमा भनेका छन्, “कोही भोकै नपर्ने र कोही भोकै नमर्ने अवस्थाको निर्माणमा सरकार दृढ़ छ ।” मुख्यमन्त्री पौडेलले सामाजिक एवं भौतिक दूरी कायम गरी उद्योग तथा कलकारखाना सञ्चालन गर्ने तयारी पनि थालिसकिएको हुँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरुले समेत कामविहीन भएर बस्नुपर्ने अवस्था चाँडै अन्त्य हुँदैछ भने । मुख्यमन्त्री पौडेलले उत्पादन र निर्माणका मूलस्रोत मजदुरलाई संसारले सम्झने दिन मे दिवस अर्थात् श्रमिक दिवसले मजदुरलगायत सबै श्रमजीवी वर्गको अधिकार प्राप्ति तथा उत्थानका लागि सबैलाई प्रेरणा दिन सकोस् भनी कामना गरेका छन् । रासस