विकासन्युज

दमौलीमा रेडियोबाट एसइई तयारी कक्षा

दमौली। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तनहुँको एक रेडियोले तयारी कक्षा शुरु गरेको छ । एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित शुक्लागण्डकी एफएमले तयारी कक्षा शुरु गरेको हो । बन्दाबन्दीका क्रममा पनि पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए । जिल्लाका शहरी भेगमा इन्टरनेटको सहज पहुँच पुगेकाले अनलाइन प्रविधिबाट तयारी कक्षा शुरु गरिए पनि ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकाले रेडियोबाट तयारी कक्षा शुरु गरिएको उपाध्यायले बताए । “ग्रामीण भेगमा एफएम रेडियोको महत्व उत्तिकै छ, रेडियोबाट पनि तयारी कक्षा प्रभावकारी हुने अपेक्षा गरेका छौँ”, उपाध्यायले भने । उाका अनुसार विद्यालय बन्द भएपछि अनलाइन शिक्षणलाई मात्रै प्राथमिकता दिइए पनि गाउँ शहर जताततै सबैको पहुँचमा रेडियो रहेकाले तयारी कक्षाले एसइई दिने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । रेडियोबाट हाल पाँच वटा विषयको कक्षा सञ्चालन गरिएको छ । दिउँसो १ देखि २ बजेसम्म नेपाली र अङ्ग्रेजी, साँझ ४ देखि ५ बजेसम्म विज्ञान र साँझ ७ः३५ देखि ८ बजेसम्म सामाजिक अध्ययनको पढाइ सञ्चालन गरिएको छ । विज्ञान विषयमा खैरेनी माध्यमिक विद्यालयका केशवराज घिमिरे र दीपक भण्डारी, नेपाली विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका एकनारायण भण्डारी, अङ्ग्रेजी विषयमा पञ्चमुनीदेव माध्यमिक विद्यालयका शान्तकुमार श्रेष्ठ र सामाजिक अध्ययन विषयमा ज्ञान बगैँचा बोर्डिङ स्कूलका विनोद पौडेलले कक्षा लिएका छन् । रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षाले घरमा रहेका विद्यार्थीलाई अध्ययन गर्ने बानीमा थप प्रोत्साहन हुने खैरेनी माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका विज्ञान शिक्षक केशवराज घिमिरेले बताए । बन्दाबन्दी जारी रहेसम्म रेडियोबाट तयारी कक्षा सञ्चालन गरिने स्टेशन म्यानेजर उपाध्यायले जानकारी दिए । रेडियोबाट सञ्चालन गरिएको तयारी कक्षा एफएमको फेसबुक पेजबाट पनि लाइभ गर्ने गरिएको छ । विसं २०७३ असोज १५ गतेदेखि प्रसारणमा आएको ५०० वाट क्षमताको रेडियोको पहुँच तनहुँसँगै स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पर्वत, पाल्पा, नवलपुर जिल्लामा रहेको छ । रासस

रहिनन् प्रथम गायिका रानुदेवी

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिए । शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित छन् । उनले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भरेकी थिईन् । तीलगायत ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ । ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासनविरुद्धको आन्दोलनमा उनी कला र सांगीतिक मोर्चाबाट होमिएकी थिईन् । निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र दुई छोरी रहेका छन् । रासस

पुँजी बजारको लागि सरकारले ल्याएको राहत प्याकेजः बजार नखुली काम नलाग्ने, खुल्ने वित्तिकै खारेज हुने

काठमाडौं । धितोपत्र बजार सम्बन्धमा सरकारले औचित्यहिन ‘राहत प्याकेज’ ल्याएको छ । देशभर लागू गरिएको लकडाउनका कारण बन्द भएको धितोपत्र बजारलाई राहत दिन भन्दै मन्त्रिपरिषदबाट निर्णय भएका व्यवस्था कार्यान्वयन हुँदै नहुने खालका छन् । वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले ‘धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाव राफसाफ गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने’ निर्णय गरेको थियो । सरकारको यो निर्णय कार्यान्वयन हुनको लागि असार मसान्तसम्म धितोपत्र बजार बन्द हुनुपर्नेछ । सरकारले गरेको यो निर्णयप्रति धितोपत्र बोर्डका अधिकारीहरुले पनि अनभिज्ञता जनाएका छन् । सरकारको यो निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नमा उनीहरुले यस्तो निर्णय नै कसरी आयो भन्नेमा आफूहरुलाई अचम्म लागेको बताए । ‘धितोपत्र बजारमा धितोपत्र र नगद गरी २ कुराको राफसाफ हुन्छ, कारोबार राफसाफ भनेर दुबै कुरालाई भन्न खोजिएको हो कि नगद वा धितोपत्रको मात्रै राफसाफको कुरा गरिएको हो, बजारमा सेयरको कारोबार कसरी हुन्छ भन्ने कुनै जानकारी नै नभएकाहरुले गरेको निर्णय जस्तो देखिएको छ, बजार बन्द हुन्जेलको लागि भने यो निर्णय काम लाग्छ,’ बोर्डका एक अधिकारीले भने । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ कम्पनीका अधिकारीहरुले पनि सरकारको यो निर्णय ‘राहत प्याकेजमा धेरै बुदा थप्न मात्रै काम लागेको’ प्रतिक्रिया दिएका छन् । ‘राफसाफको समयावधि असार मसान्तसम्म पुर्याउने निर्णय गर्नुका पछाडि असार मसान्तसम्म बजार खुल्दैन भन्ने मनसाय हो भने पनि यो निर्णय आवश्यक थिएन, त्योभन्दा अगाडि नै बजार खुल्छ भन्ने मान्यता राख्ने हो भने त यो निर्णयले राहत प्याकेजका बुदा बढाउनु बाहेक कुनै काम गर्दैन,’ नेप्सेका एक अधिकारीले भने । किन गर्दैन काम ? सरकारले लकडाउन सुरु गरेको अघिल्लो दिन अर्थात १० चैतदेखि नै धितोपत्र बजार बन्द छ । बजार बन्द हुनुभन्दा अघिल्लो दिन अर्थात ९ चैतमा कारोबार भएको थियो भने त्योभन्दा अघि ६ चैत (विहीबार) पनि कारोबार भएको थियो । सेयर किनबेचको अर्डर भएकै दिन सेयर प्राप्त गर्ने र रकम बुझाइने नभएकोले विक्री गर्ने व्यक्तिले रकम पाउनको लागि विक्रीको आदेश दिएको ब्रोकरको खातामा नगद र सेयर किन्न अर्डर गरेको ब्रोकरको डिम्याट खातामा सेयर आइसकेको अवस्था नै राफसाफ हो । यस्तो राफसाफ कार्यमा नेप्से र सीडीएससी संलग्न हुन्छन् । तर, नेप्से र सीडीएससीले अघिल्लो दिनको कारोबार राफसाफ नसकी अर्काे पछिल्लो दिनको कारोबार राफसाफ गर्न सक्दैनन् । यसो गर्न सिस्टमले नै नमिल्ने सीडीएससीका अधिकार बताउँछन् । लकडाउनअघिको अन्तिम तीन दिन अर्थात चैत ५,६ र ९ गतेको कारोबारको राफसाफ गर्न बाँकी रहेको सीडीएससीको भनाई छ । चैत ५ गते १ अर्ब ८० करोड, चैत ६ गते १ अर्ब ९० करोड र चैत ९ गते १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सेयर कारोबार खुलेपछि यी तीन दिनको कारोबार राफसाफ गरेपछि मात्रै पछिल्ला दिनको कारोबारको राफसाफ गर्न मिल्ने अधिकारीहरुको भनाइ छ । अर्थात चैत ५ गतेको कारोबारको राफसाफ नसकी ६ गतेको कारोबारको राफसाफ गर्न मिल्दैन भने ६ गतेको कारोबारको राफसाफ गरिसकेपछि मात्रै चैत ९ गतेको कारोबारको राफसाफ गर्न मिल्छ । र, चैत ९ गतेको कारोबारको राफसाफ गरिसकेपछि मात्रै अब खुल्ने दिनको राफसाफ हुन सक्छ । ‘वैशाख २८ गतेदेखि बजार खोल्ने भन्ने तयारी भएको छ, चैत ९ गतेसम्मको कारोबार राफसाफ भइसकेपछि मात्रै वैशाख २८ गतेको कारोबार राफसाफ गर्न मिल्छ, अब असार मसान्तसम्म कुनै पनि दिनको कारोबार राफसाफ नगर्ने हो भने यो निर्णय कार्यान्वयन गर्न मिल्छ, होइन भने यो निर्णयको कुनै औचित्य नै छैन,’ सीडीएसका एक अधिकारीले भने ।

बाँके र रुपन्देहीमा भेटिए दुई नयाँ कोरोना संक्रमित

काठमाडौं । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। दुबै संक्रमित पुरूष रहेकाे बताईएकाे छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ जसमा १६ जना निकाे भएर घर गईसकेका छन् ।

डाबर नेपालले ल्यायो बजारमा इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर

काठमाडौं । डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको छ । आफ्नो कम्पनीको हरेक घरको स्वास्थ्य र भलाईलाई मध्यनजर गर्दै डाबरले अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएकाे हाे । ८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको डाबर दाबी गर्दछ । प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानीको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिने डाबरले बताएकाे छ । हाल १५० एम एल स्यानिटाईजरको बजार मूल्य १७५ रुपैया रहेको छ ।  

नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो। मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आफुहरुलाई पनि राहत प्याकेज ल्याउन हस्तकला व्यवसायीको माग, यस्ता छन् सरकारलाई १५ सुझाव

काठमाडाैं । हस्तकला व्यवसायी महासंघले हस्तकला उद्योग व्यवसायको उचित निकासका लागि राहत प्याकेज ल्याउन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह गरेकाे छ । संघले अहिलेकाे यस्ताे  विषम परिस्थितिबाट हस्तकला उद्योग व्यवसायलाई संरक्षण र सम्बद्धन गर्नको लागि सरकारबाट राहत प्याकेज ल्याउन अनुराेध गरेकाे हाे । साथै, संघले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट निम्न आवश्यक नीतिगत व्यवस्था गरिदिन समेत सरकारलाई अपील गरेकाे छ । १. नेपाल राष्ट्र बैंकबाट समय समयमा ल्याउने मौद्रिक नीति तथा विभिन्न राहत र कर्जाका व्यवस्थाहरु ठुला तथा मझौला व्यवसायलाई मात्र केन्द्रीत भई आउने गरेकोले हस्तकला लगायत घरेलु, लघु तथा साना उद्योगलाई सम्बोधन हुने छुट्टै कार्यक्रमहरु ल्याउनु पर्ने । यसै सन्दर्भमा आजको बिषम परिस्थितिलाई सम्बोधन गर्न यस क्षेत्रमा बैंकहरुको ब्याजदर आर्थिक वर्ष ०७७।७८ सम्मका लागि न्यूनिकरण तथा पुनरावलोकन गरी कम्तिमा पनि आगामी ५ वर्षका लागि सफ्ट लोनको (दिर्घकालिन व्यवसाय प्रर्बद्धन कर्जा) अपरिहार्य रुपमा पर्याप्त व्यवस्था गर्नु पर्ने । २. बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न हस्तकलाको निर्यात, उत्पादन मुलक हस्तकला र कृषि क्षेत्रको कम्पनी तथा फर्महरुको एक वर्षको ब्याज २ दुई प्रतिशत छुटमा पुर्नःकर्जाको व्यवस्था गरिदिनुका साथै सरकारबाट कृषि तथा महिला उद्यमीहरुलाई मात्र प्रदान गर्दै आएको सहुलियत कर्जा सुविधा सम्पूर्ण हस्तकला उद्यमीहरुलाई पनि प्रदान गर्नुु पर्ने । उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने । ३. बैंकहरुले हस्तकला क्षेत्रका साना उद्यमी, व्यवसायी तथा कलाकार, कालिगढहरुका लागि कम्तिमा पनि २० लाख रूपैयासम्म बिना धित्तो नेपाल हस्तकला महासंघको सिफारिशमा बढीमा ६ प्रतिशत सम्म ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने ।  हस्तकलाका उद्यमी व्यवसायी व्यापारीहरुले बैंक तथा बित्तीय संघ संस्थाहरुबाट लिएको ऋणको लकडाउन अवधि भित्रको व्याज पूर्ण मिनाहा हुनु पर्ने साथै विद्यमान बैंकबाट लिईएको ऋण, ब्याजको भुक्तानी इत्यादी आ.ब.०७७।७८ भित्र चुक्त्ता गर्न समयाबधि थप्नु पर्ने । ४. हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व मानचित्रमा अबको एक वर्ष सम्म नेपालमा बिदेशी पर्यटकहरु आउने सम्भावना पनि नरहेको कारणले नेपाली हस्तकला ब्यवसायको पर्यटकिय आन्तरिक तथा अन्तर्राष्टिय बजार शुन्य बिन्दुमा खस्किने निश्चित प्रायः छ । यस्तो अवश्थामा नेपाली हस्तकलाका सामग्री्हरुको आन्तरिक बजार बिस्तार गर्न तथा सरकारी निकायहरुमा आवश्यक हुने वा प्रयोगमा ल्याइने र उपहारको लागि चाहिने सामग्रीहरुमा स्वदेशमा उत्पादित सामग्रीहरुको प्रयोगलाई बढी प्राथमिकता दिने गरी मौजुदा सरकारी खरिद ऐनमा २० लाख भन्दा माथिको कारोवारमा भ्याटमा दर्ता हुनु पर्ने प्रावधान भएको तर हस्तकला बस्तुहरु भ्याट छुट वस्तु भएकोले हस्तकलाको कारोबारमा स्थाई लेखा नंम्बर (प्यान)बिलको मान्यतालाई पनि अबिलम्ब कार्यान्वयनमा ल्याईनु पर्ने । ५. विभिन्न अन्तर्राष्ट्रिय ब्यापार मेलामा भाग लिन नसक्ने साना तथा घरेलु उद्यमी हस्तकलाका ब्यवसायीहरुलाई बिदेशी क्रेताहरु संगको भेट गराउन नेपालमै मेलाको आयोजना गरि नेपाली हस्तकलाका सामग्रीहरुको निर्यात व्यापार बृद्धि गरि बिदेशी मुद्रा आर्जन गर्ने नितिगत रुपमा नै सहयोग निति र छुटै कोषकोे स्थापना गर्नु पर्ने देखिन्छ । यस कार्यमा नेपाल सरकारलाई नीजि क्षेत्रले पनि सहयोग गर्न सक्ने वातावरणको निर्माण गर्नु पनि जरुरी हुन्छ । सोहि क्रममा बिगत केहि दशक देखि आन्तरिक रुपमा नेपाली हस्तकलाका सामग्रीहरुको आन्तरिक बजार बिस्तार र निर्यात व्यापार प्रवद्र्धनको लागि नेपाल हस्तकला महासंघले प्रत्येक बर्ष नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र(टीईपीसी)कोे समेत सहयोगमा आयोजना गर्दै आएको हस्तकला व्यापार मेलालाई यस परिस्थितिमा अझ बढी आकर्षित एवम भव्य रुपमा आयोजना गरि नेपाली हस्तकलाका सामग्रीहरुको स्वदेश तथा बिदेशमा प्रभावकारी रुपमा बजार बिस्तार एवम हस्तकला क्षेत्रको सम्वद्र्धन प्रवद्र्धन गर्नको लागि बिशेष प्राथमिकताका साथ आगामी आर्थिक बर्षमा विशेष बजेट र ५ वर्षीय योजना सहित सरकारबाट बिशेष आर्थिक प्याकेज सहितको अनुदान दिने ब्यवस्था गरिनु पर्ने । ६. समय समयमा अन्र्तराष्ट्रिय रुपमा बिदेशमा आयोजना गरिने व्यापार मेला तथा व्यवसायिक मेलाहरुमा बिभिन्न मुलुकहरुसँग एआईडी फर ट्रेडको लागि पहल गरी नेपाली हस्तकला बस्तुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनको लागि त्यस्ता मेलामा भाग लिन जाने सहभागीहरुलाई सरकारबाट विशेष अनुदान दिने ब्यवस्था हुनु पर्ने । त्यस्तै बिभिन्न अन्तर्राष्ट्रिय ब्यापार मेलामा भाग लिन असक्षम उद्यमी ब्यवसायीहरुलाई बिदेशी क्रेताहरु संगको भेट गराउन नेपालमै त्यस्ता मेलाहरुको आयोजना गर्न नितिगत रुपमा नै सहयोग निति र छुटै कोषकोे स्थापना गर्नु पर्ने र यस कार्यमा नेपाल सरकारलाई नीजि क्षेत्रले पनि सहयोग गर्न सकिने गरि ब्यवस्था गरिनु पर्ने । ७. यस बिकराल आर्थिक मन्दीको सन्दर्भका बाबजुत पनि झिनो आशाको किरणका रुपमा नेपालबाट बिद्युतिय कारोबार मार्फत निर्यात ब्यवसायको एक मात्र बैकल्पिक संम्भावनालाई मध्यनजर गर्दै विद्यमान अपर्याप्त कानुनले गर्दा समस्यामा रहेको बिद्युतिय कारोबारका लागि चाहिने आवश्यक अन्तर्राष्ट्रिय स्तरको निर्देशिका र कार्यबिधि एवम मौद्रीक नितिको यथासिघ्र ब्यवस्था गरिनु पर्ने । यसका लागि विद्यमान बिभिन्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनलाईन भुक्तानीको पद्धतिलाई नेपालमा पनि तत्काल मान्यता प्रदान गर्नु पर्ने । ८. हस्तकलाको हालको प्रमुख बजार रहेका संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, जापान र चीन कोरोना भाईरसको कारण आर्थिक मन्दिमा जान सक्ने भएकोले नयाँ–नयाँ बजारको खोजि गर्नुपर्ने देखिन्छ । यसको लागि व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र(टीईपीसी)को सहकार्यमा ब्राजिल, पोर्चुगल, चेकोस्लोभाकिया र दक्षिण अफ्रिका नयाँ बजार हुन सक्ने भएकोले ती बजारहरुको संभाब्यता अध्ययन गरिनु पर्ने । ९. कोभिड १९ को कारणले विश्वभरी हुने रोजगार संकुचनले बिदेशमा कार्यरत हजारौं युवा बेरोजगार भई नेपालमा फर्कने निश्चित रहेको अवस्थामा, देश भित्रै रोजगारी श्रृजना गर्न स्थानीय श्रोत साधन र कच्चा पदार्थमा आधारित हस्तकला बस्तुको सीपमुलक र उत्पादनमुखी तालिमको आवश्यकता हुन्छ । यस्तो छोटो अवधिको रोजगारमुखी, क्षमता अभिवृद्धि तथा बिशिष्ट तालिम संचालन गर्ने कार्य गर्न यस महासंघ अन्तरगत छुटैृ हस्तकला डिजाइन सेन्टर स्थापना गरि हालसम्म बिभिन्न सीपमुलक रोजगारी तालिमहरु संचालन गर्दै आइरहेकोले यस्तो छोटो अवधिको रोजगार मुलक हस्तकलाका बस्तुहरु उत्पादन सम्वन्धि जनशक्ति उत्पादन गर्ने तालिमको जिम्मा नेपाल हस्तकला महासंघलाई प्रदान गरी आगामी आर्थिक बर्षमा विशेष बजेट र ५ वर्षीय योजना सहित रकम बिनियोजित गरियोस् । यस किसिमका कार्यक्रम प्रादेशिक रुपमा कार्यान्वयन गर्न बजेट बिनियोजनको लागि प्रदेश सरकारहरुलाई पनि केन्द्रीय सरकारबाट आवश्यक निर्देशन दिनु पर्ने । १०. हालको यस जटिल अवस्थामा आवश्यक कच्चा पदार्थको आपुर्ति ब्यवस्था र स्वरोजगारको लागि नेपाल सरकारको तर्फबाट बिगतका वर्षहरुमा र्झै सहुलियत मुल्यमा नेपाल राष्ट बैंक मार्फत बिशेषत आन्तरिक बजारमा पनि उल्लेख्य खपत हुने र उल्लेख्य रोजगार दिंदै आएको चाँदिजन्य उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चाँदीको साबिककै परिमाण बमोजिम पुनः प्रदान गर्नु पर्ने र सुनको हकमा साना तथा घरेलु उद्योगी र कालिगढहरुलाई समेत केन्द्रित हुने गरी कम्तीमा पनि १०० र २०० ग्राम सम्मको सानो परिमाणमा पनि सुनको सहज आपुर्ति र बिक्रिको व्यवस्था गरिनु पर्ने । ११. देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान पुया्ईरहेको र स्वरोजगार प्रदान गर्दै आईरहेको हस्तकला क्षेत्रको विकास र निकासीमा हस्तकला मैत्री नीति नियमको अभावले समस्या आईरहको तथा हालको अवस्थामा हस्तकला मैत्री नीतिनियमहरुले ठुलो भुमिका खेल्ने हुँदा हस्तकला मैत्री नीति नियमहरुको लागि नेपाल हस्तकला महासंघबाट तयार गरेको हस्तकला नीति यथासिघ्र लागु गर्नु पर्ने । १२. नेपाल सरकारको निकासी विनियम बमोजिम बिना अग्रिम भुक्तानी निकासीको सिमा ३०० अमेरिकी डलर रहेकोमा अहिलेको कठिन अवश्थालाई मध्यनजर गरी कम्तिमा पनि १००० अमेरिकी डलर सम्म पुर्याउनु पर्ने । १३. नगद प्रोत्साहन प्राप्त गर्न मूल्य अभिबृद्धिको सिफारिस उद्योग बिभागबाट गराउनु पर्ने जटिल कार्यबिधि निरुत्साहित गरी निकासी सहजिकरणका कागजात र नेपाल हस्तकला महासंघको पत्रका आधारमा नै हस्तकला ब्यवसायीहरुलाई नगद प्रोत्साहन दर बृद्धि गरि कम्तीमा १० प्रतिशत प्रदान गर्नु पर्ने । १४. हाल आन्तिरिक रुपमा विकसित बजार र स्वरोजगारको अत्यधिक सम्भावना रहेको प्राकृतिक रेशाको लागि धागो निकाल्ने प्रबिधि नेपालमा नभएकोले आजको यस चुनौतिपूर्ण समयमा यहाँ भएका प्राकृतिक रेशाहरुबाट बस्तु बिकासको लागि कठीनाई भएकोले प्राकृतिक रेशाको लागि यथासिघ्र धागो निकाल्ने प्रबिधि भित्रएर रोजगारको वातावरण श्रृजना गनु पर्ने । १५. हस्तकलाको खुद्रा तथा थोक व्यापार गर्दै आएका ब्यवसायहरु लकडाउनको कारण पसल संचालन गर्न नसकि रहेको अवस्था छ । जसको कारण पसलको मासिक बहाल घर धनीलाई बुझाउन निकै समस्या परेको साथै घरधनीहरुको पनि आफ्नो मुख्य आय श्रोत घर भाडानै भएकोले उनीहरुले पनि घर भाडा रकम पुरै मिनाह दिन सक्ने अवस्था नरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारबाट नै यो असहज अवस्थामा उचित सम्बोधन गर्ने व्यवस्था हुनुपर्ने ।

मलाई काम देऊः तिम्राे घर बनाउन, मेराे डेरा भाडा तिर्न

एक बिहानै झिसमिसे उज्यालोमा गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर समयलाई प्रतिबिम्वित गर्दै तिम्रो चर्को मोलमलाईको बीचमा जब म ठिङ्ङ उभिन्छु मलाई लाग्छ म बेचिन आएको हो यो शहरमा हरेक बिहान हरेक दिन म वस्तु हो विना सोकेश भित्र नसजिएको कुनै वस्तु मात्र आजको लागि बेचिन तम्तयार वस्तु…….. जलप विनाको, विज्ञापन विनाको आफैंले आफैंलाई तिम्रो चौरस्तामा फिजाउँदा जब तिम्रा आँखाहरु मेरा पाखुरी ….शरीरलाई नियाल्छन् म आजको रोजि रोटि खोसिने डरले चुप चाप शालिन ढुंगा बनिदिन्छु र, आफैंलाई बिक्री गरिदिन्छु मानौं तिमी मानिस र म वस्तु मात्र वस्तु तिमीले मलाई आजको ज्यामी मान्नु नमान्नु मलाई लानु नलानु रोज्नु नरोज्नु…. पूर्णतया तिम्रो अधिकार हुनेछ म प्रश्न प्रतिप्रश्न गर्नेछैन म मौनताको अधिनमा रही तिमीले अह्राएका हरेक काम अघोषित मजदूर नियममा रही म मात्र वस्तु बनिदिने छु आजको दिन तिम्रो लागि हेर घामहरु छिप्पि सकेका छन् सात बजिसक्यो…आठ बजिसक्यो ….नौ…. बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ   बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ उफ्….यो घाम कति चाँडो छिप्पिएको आज म कसैलाई बरु सुनाउँदिन आज मजदूर दिवस भएर के भो त ? म मा कुनै गुनासो छैन…. आखिर म तिम्रो सुन्दर घर बनाउन मेरा घनले ढुंगा फोडिरहँदा प्रत्येक घनका प्रहारमा मलाई इश्वर खोजेझैं लाग्छ अनि हरेक साँझ ज्याला थाप्दै गर्दा मलाई स्वतन्त्र भएझैं लाग्छ गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर म ठिङ्ङ उभिँदा लाग्छ देशको वर्तमानमा उभिरहेको छु आखिर मेरो देश पनि त हरेक दिन हरेक साँझ आफूलाई कुनै न कुनै किसिमले बेचिरहेको छ म जस्तै….. बिराटनगर–५ हाल एनसीसी बैंक, तेह्रथुम