विकासन्युज

सरकारले श्रमजीवीलाई विशेष राहत प्याकेज ल्याउनु पर्ने : प्रचण्ड

काठमाडौं । कोरोनाको महामारीसँगै लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेको बेला श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेकोमा दुख व्यक्त गरेका छन् । उनले दैनिक ज्याला गरेर उपत्यका लगायत विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी नागरिकको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज ल्याउन आफुले सरकारलाई विशेष ध्यानाकर्षण गराउने जानकारी दिए । कोरोनाको कहरसँगै देशका विभिन्न ठाँउबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूरलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् ।

दश प्रकारका धानको बीउ मौज्दात

काठमाडौं । झापाको मेची कृषक बहुमुखी सहकारीले ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरुको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिए । मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफैले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै आएको छ । नेपाल सरकारको राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय काठमाडौंले ती धानका बीउहरु तराइका लागि सिफारिस गरेको काफ्लेले बताए । उनले बन्दाबन्दी भएता पनि धानको बीउ ओसारपसारमा कहीँकतैबाट अवरोध उत्पन्न नगराउन अपिल गरे । किसानहरुले हार्वेस्ट सेवा केन्द्रमा आफैँ आएर खुद्रा मूल्यमा धानको बीउ खरिद गर्न सक्ने व्यवस्था मिलाइएकोे छ । झापाका स्थानीय सहकारी संस्था र एग्रोभेट पसलहरुले थोक मूल्यमा बीउ किनेर किसानलाई खुद्रामा उपलब्ध गराउँदै आएका छन् । रासस

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताए । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेका छन्  । “आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो ।” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।” कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उनले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरे । उनले भने, “श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ ।” कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको जनाए । विगत दुई वर्षयता श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले वृद्धि भएको, आर्थिक वृद्धि दोहोरो अङ्कको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको, श्रम क्षेत्रमा बजेट दोब्बर गरिएको, दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालित हुँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रम दिन बराबरको रोजगारी सिर्जना आदि उपलब्धिको चर्चा सन्देशमा गरे । कोरोना महामारीविरुद्धकोे अग्रमोर्चामा रहेका सबैका लागि रु २५ लाख रकम बराबरको बीमा गरिएको, व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको र लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ट रु एक हजार ५ सय थप भत्ताको व्यवस्था गरिएको पनि उनले पुन दाेहाेर्याए । सन्देशमा दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीतिअन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको उल्लेख छ । उनले भने, “तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।” अब हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने जनाउँदै भूकम्पपछिको यस दशकलाई हामीले पुनःनिर्माणको दशक भनेझैँ, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुने स्पष्ट पारे । स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमासहितको जनस्वास्थ्य र सीपयुक्त नागरिक निर्माणका लागि शिक्षामा लगानी वृद्धि गर्दै ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुने जनाए । नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ भन्दै उनले अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीउ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक संवाद गर्ने, अनि विविधताबीच एकता कायम गरी अघि बढ्ने कुराहरु आन्दोलनको सिकाइ भएको उल्लेख गरे । सन्देशमा भनिएको छ, “कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक होइन, अनुशासित हुनुपर्छ ।” रासस

सारिएको मितिमा टोकियो ओलम्पिक नभए रद्द

काठमाडौं । टोकियो ओलम्पिक आयोजना प्रमुख योसिरो मोरीले २०२१ का लागि ओलम्पिक गेम्स सारिएको समयमा पनि नभए यो संस्मरण रद्द हुने बताएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै सन् २०२० मा टोकियोमा हुने ओलम्पिकको मिति २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म सारिएको हो । कोरोना भाइरसको भ्याक्सिन तथा औषधि पत्ता लागेन भने सारिएको मितिमा पनि ओलम्पिक सम्भव नभएको आयोजकले जनाएका छन् । टोकियो ओलम्पिकका अध्यक्ष मोरीले नाटकीय रुपमा हालको स्थितिमा परिवर्तन भयो भने ओलम्पिक समारोहलगायत मुख्य कुरामा परिमार्जन गर्न सक्ने बताएका छन् । उनले यो अवस्थामा खर्च कटौती गर्दा विश्वमै पर्ने संकटमा राम्रो सन्देश प्रवाह गर्न सक्ने तर सहज नभएकाे जानकारी दिए ।

जब गरीब आमाले ढुंगा उमालेको नाटक गरेर बच्चालाई चुप लगाइन्…

काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ । आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर हुनुका साथै विधवा महिला हुन् । उनी अरुको कपडा धोएर आफ्नो तथा आफ्ना बच्चाहरुको पेट पाल्ने गर्थिन् तर कोरोना संक्रमण फैलिएपछि भने उनको काम ठप्प हुन पुग्यो । पेनिनाका लागि गरीबी र समस्या यति धेरै बढ्यो कि उनीसँग आफ्ना बच्चाहरुलाई खुवाउनका लागि खाना पनि थिएन । यसैबिच उनले आफ्ना बच्चाहरुलाई खुसी बनाउनका लागि ढुंगा उमाल्न थालिन् । आफ्नी आमाले केही पकाउँदै गरेको देखेर बच्चाहरु खान पाइने आशाका साथ खुसी हुँदै निदाउँथे । उनकी छिमेकी बच्चा रोएको सुनेर त्यहाँ पुगिन् र भावविह्वल हुँदै त्यो पूरै घटनाको भिडियो बनाएर स्थानीय मिडियालाई त्यसको वारेमा बताइदिइन् । पेनिनाको कथा सुनेका धेरै मानिसहरुले केन्याभरबाट उनलाई फोन गर्न थाले । पेनिनिका एकजना छिमेकीले उनको बैंक खाता खोलाइदिए जसको मार्फत् उनले आर्थिक सहयोग पाउन थालिन् । पेनिना भन्छिन् कि उनले कल्पना पनि गरेकी थिइनन् कि केन्याका मानिसहरु त्यति धेरै उदार स्वभावका छन् । उनी यो सबैलाई एउटा चमत्कार मान्छिन् । उनले भनिन्, “मेरा बच्चाहरुलाई यो थाहा भइसकेको थियो कि म ढुंगा उमालेर नाटक गरिरहेको छु, तर के गर्नु मसँग यो बाहेक अरु केही उपाय पनि त थिएन ।” केन्यामा हालसम्म कोरोना भाइरसबाट ३९५ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । (बीबीसी हिन्दी बाट भावानुवाद गरिएको)

निजी क्षेत्र, कृषिसहित लघु, घरेलु,साना तथा मझौला उद्योगमा बजेट केन्द्रित गर्न परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थमन्त्री युवराज खतिवडालाई आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटले समेट्नु पर्ने सुझावहरु प्रस्तुत गरेको छ । परिसंघले अर्थमन्त्री खतिवडालाई रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषि सहित लघु, साना तथा मझौला उद्योगको विकासमा बजेटका उद्धेश्य सहितको प्रतिवेदन बुझाएको हो । अर्थमन्त्रालयमा परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी सहितको प्रतिनिधिमण्डले बजेटका नीतिगत तथा विषयगत सुझावहरु प्रस्तुत गरेको हो । सुझावमा विस्तारकारी वित्तीय नीति सहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाई समयमा खर्च गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । बजेट मार्फत रोजगारी सृजनाका लागि व्यवसायिक कृषिमा लगानी आकर्षित गर्न १० वर्षका लागि आयकर छुट दिन तथा लघु, साना तथा मझौला उद्योगको विकासमा लागि लगानी जुटाउन ग्यारेण्टि कोष खडा गर्न आग्रह गरिएको छ । उद्योगहरुका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी ३ वर्षका लागि कम्तिमा ५ प्रतिशतले कम गर्न अर्थमन्त्रीसँग आग्रह गरिएको छ । अर्थव्यवस्थामा तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्ता लगायत सरकारले भुक्तान गर्नु पर्ने सम्पूर्ण रकम तत्काल भुक्तान गर्ने व्यवस्था मिलाई बजारमा तरलता कम हुन नदिन आवश्यक मौद्रिक उपायहरु तर्फ बजेट केन्द्रित हुनु पर्ने माग परिसंघको छ । बजेटले समग्र क्षेत्रका सुझावमा वर्तमान विषम परिस्थितिमा सरकारी राजस्व कम हुने जोखिम भए पनि बजारको समग्र मागलाई बढाउन व्यक्तिगत आयकरको सीमालाई बढाउन गर्न आग्रह गरिएको छ । यसले समग्र मागमा बृद्धि भई सरकारको राजस्व पुन बृद्धि हुने छ । चालु आर्थिक वर्षमा घाटामा रहेका उद्योगहरुलाई बढीमा ५ प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्न आग्रह गरिएको छ । यसका लागि छुट्टै एक खरबको पुनर्कर्जा कोष निमार्ण गर्न समेत परिसंघले आग्रह गरेको छ । औद्योगिक प्रवद्र्धनका नीतिहरु कम्तिमा पाँचका लागि स्थायी हुनु पर्ने सुझाव परिसंघको छ । बजेट मार्फत हरेक निर्यातमा मुल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी नेपाली वस्तु निर्यात गर्न सहज हुने गरी निकासी गृह को व्यवस्था गर्ने समेत आग्रह गरिएको छ । परिसंघले बजेटले रोजगारी श्रृजना, स्वदेशी उत्पादन तथा निर्यात प्रवद्र्धन, व्यवसायिक कृषि र लघु साना तथा मझौला उद्योगको प्रवद्र्धन, लगानी योग्य रकममा पहुँच बढाउने उपयुक्त नीति ल्याउने बजेट आउनु पर्ने सुझाव दिइएको छ । बजार माग बढाउने, राजस्व नीतिमा करको दर नबढाई दायरा विस्तारमा ध्यान दिन समेत परिसंघले आग्रह गरेको छ । आर्थिक गतिविधिका हिसावले देश अत्यन्त नाजुक अवस्थामा रहेको समयमा परिसंघले उठाएका कुराहरु सान्दर्भिक रहेको जनाउदै आगामी बजेट लगानी बृद्धि गर्दौ स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने किसीमको आउने आश्वासन अर्थमन्त्री दिनु भएको छ । नेपालको उत्पादन निर्यात गर्न के कस्ता कुराहरु समेटीनु पर्ने हो त्यो सरकारले हेरिरहेको छ । नेपालका उद्योगीहरु निश्चिन्त भएर लगानी बृद्धि गर्नुस सरकार यहाँहरुसंगै छ, उनले भने । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा निजी क्षेत्रसंगको छलफलमा परिसंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष त्रय अनुज अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

रुसका प्रधानमन्त्रीलाई कोरोना भाइरस पोजिटिभ

काठमाडौं । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । मिखाइल गत जनवरी महिनामा रुसका प्रधानमन्त्री बनेका थिए र हाल कोरोना महामारी विरुद्ध एकदम सक्रियतापूर्वक लागिपरेका थिए । रुसी टिभि च्यानलहरुमा उनले भिडियो कलमार्फत् यसका वारे राष्ट्रपति भ्लादीमिर पुटिनलाई जानकारी गराएको देखिएको छ । टिभी च्यानलहरुमा उनले पुटिनलाई भन्दै गरेको सुनिन्छ, “सम्मानित मिस्टर पुटिन, मलाई भर्खरै मात्र थाहा भयो कि मेरो कोरोना भाइरसको टेस्ट पोजिटिभ देखिएको छ । मैले आफैंलाई अलग राख्नु पर्नेछ तथा डक्टरहरुको निर्देशनको पालना गर्नुपर्नेछ ।” भ्लादीमिर पुटिनले उनलाई चाँडै ठिक हुने कामना गरे । उनले भने, “जे तपाईंलाई भयो त्यो जोसुकैलाई पनि हुन सक्छ, मैले सधैं यो कुरा भन्ने गरेको छु । तपाईं हमेशा सक्रिय रहने व्यक्ति हुनुहुन्छ । तपाईंले अहिलेसम्म जे काम गर्नुभयो, त्यसका लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु ।” रुसी प्रधानमन्त्रीमा कोभिड–१९ टेस्ट त्यही दिन पोजिटिभ देखिएको हो जुन दिन रुसमा संक्रमणको ७ हजार ८ नयाँ मामलाहरु देखा परेका थिए । यसका साथै रुसमा कोरोना भाइरस संक्रमितहरुको संख्या १ लाख नाघेको छ ।    (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)

बहराइन थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बहराइनमा रहेका नेपालीमा कोरोना बढ्दो क्रममा देखिन थालेको छ । हालसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । बहराइनमा हालसम्म ३ हजार ३७ जना मानिस कोरोना संक्रमित छन् भने ८ जनाका भईसकेको छ । त्यस्तै १ हजार ४ सय ९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।