अब घरभाडा छुट दिनैपर्ने, नदिए कारबाही गरिने
काठमाडौं । लकडाउन अबधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सरकारले सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको बैशाख १४ गते बसेकाे बैठककाे निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले याे बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् । त्यस्तै सरकारले यसअघि गरेको एक महिनाको घरभाडाको छुट दिने निर्णय लागु नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । सरकारले यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
पर्यटन मन्त्रलायले प्रस्तुत गर्ने बजेटको बारे सुझाव लिँदै मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग सुझाव लिएका छन् । मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेर आज पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग र दोस्रो चरणमा प्रदेश नं १ का सांसदहरुसँग सुझाव लिएका थिए । भोली शुक्रबार चरण चरणमा प्रदेश नं २, वागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नेकपाका सांसदहरुसँग सुझाव लिने मन्त्री भट्टराईको नीजि सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिपक्ष दलका सांसदहरुकासँग पनि क्रमवद्धरुपमा सुझाव माग्ने बताइएको छ । आजको छलफल कार्यक्रममा सांसदहरुले बजेट विनियोजन गर्दा पहुँचका आधारमा मात्र वितरण गर्ने विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा गर्नुपर्नेमा विशेष जोड दिएका थिए । विगतमा सय गन्तव्य छनौट गर्दा हचुवाको भरमा गरिएको र अहिले धेरैजसो ती गन्तव्यका कार्यक्रम कुन अवस्थामा रहेको भन्ने आफूहरुलाई कुनै जानकारी नभएको अधिकांश सांसदको भनाई थियो । सय गन्तव्यका कार्यक्रमको जिम्मा प्रदेश वा स्थानीय तहलाई नदिई संघीय सरकार आफैले लिएर त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको धारणा थियो । सांसदहरुले प्रादेशिक सदरमुकामका विमानस्थलहरुलाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । कर्णाली प्रदेशका सांसदहरुको जोड सुर्खेतमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा थियो भने सुदुरपश्चिमका सांसदहरुले धनगढी विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलकारुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, प्रदेश नं १ का सांसदहरुले विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलकारुपमा विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा मन्त्री भट्टराइले सांसदहरुको उक्त मागमा आफू सकरात्मक भएको भन्दै सकेसम्म प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारीको नीति अनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको सोच रहेको बताए । चुनावका बेला प्रमुख राजनीतिक दलहरुले घोषणापत्रमा व्यक्त गरेका प्रतिवद्धतालाई नै आधार मानेर योजना छनौट गरिने पनि मन्त्री भट्टराईले बताए । नयाँ विमानस्थलहरु औचित्य, आवश्यकता र व्यवसायिकता आधारमा निर्माण गरिने उल्लेख गर्दै मन्त्री भट्टराइले भने, ‘अति दुर्गम ठाऊँमा सेवा दिने राज्यको कर्तव्य हो, दिनुपर्छ । त्यसबाहेक व्यवसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ । लगानी गरिसकेपछि, लगानी डुब्नु हुदैन भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ ।’ आजको छलफलमा कर्णाली र सुदुरपश्चिका २२ सांसदले सुझाव दिएका थिए भने प्रदेश नं १ का १४ जना सांसदले सुझाव प्रस्तुत गरेका थिए । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य राज्य मन्त्री नवराज रावतको पनि उपस्थिती रहेको थियो ।
टेकु र कोटेश्वरकाे दुई पसललाई कारवाही
काठमाडाैं । गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई आज कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको जनाइएको छ । गत सोमबार विभागले टंगालमा रहेको भाटभटेनी सुपरमार्केटलाई मिठाइमा बढी मूल्य लिएको भन्दै कारवाही गरेको थियो । आफ्नो गल्तीका कारण भाटभटेनीलाई कारवाही गरेको भन्दै उक्त स्टोर्सले क्षमायाचनासमेत गरेको थियो । सार्वजनिक रुपमा नै गल्ती स्वीकार गरेको र गुणस्तरहीन खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गरेवापत जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार आज नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ । रासस
एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस, विद्यालय तहकाे नतिजा बैशाख २५ भित्रै
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा जेठ अन्तिममा गर्न सिफारिस गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । परीक्षाा असार १५ सम्म सक्न सिफारिस गरिएकाे छ । साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरेको छ । यस्तै, परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ । कार्यदलकाअनुसार कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुन्छ । त्यस्तै, कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित हुने भएको छ । शिक्षा मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयहरुका साथै निजी विद्यालयहरुको छाता संगठनहरुलाई पनि सकेसम्म चाँडो नतिजा प्रकाशित गर्न आग्रह गरेको छ । त्यही अुनसार साे परीक्षाकाे नतिजा निकाल्ने तयारी भइरहेकाे छ ।
अब किसानका उत्पादन सरकारी संस्थानले खरिद गर्ने
काठमाडाैं । तपाईले आधारभूत खाद्य वस्तु उत्पादन गर्नुभएको छ, तर त्यो उत्पादन बिक्री गर्न पाउनुभएको छैन ? या कौडीको मूल्यमा बिक्री गर्नुपरेको छ ? अब नआत्तिनुहोस् । त्यस्ता सामान भने सरकारले संस्थानमार्फत लिएर बिक्री वितरण गर्ने भएको छ । उक्त कामका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडलाई जिम्मा दिने निर्णय गरेको छ । ति संस्थानले गहुँ, धान, मकै, कोदो, फापर, सिमी, दाललगायत आधारभूत खाद्य वस्तु कृषक र उत्पादकबाट खरिद गरी बिक्री वितरणका लागि जिम्मा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। “खास गरी निजी क्षेत्रमा कृषि बजार सञ्चालन हुन नसकेकाले उत्पादित वस्तुलाई बजारमा ल्याउन समस्या भएकाले सरकारी संस्थाबाट नै खरिद गर्ने व्यवस्था मिलाउन भनिएको हो”, मन्त्री खतिवडाले भने । यसअघि अति आवश्यक वस्तुको ढुवानी तथा सेवा प्रवाहमा विभिन्न निर्णय गर्दै सरकारले सेवा सञ्चालनलाई चुस्त पारेको थियो । त्यसकारण लकडाउनमा शुरुवाती दिनमा केही समस्या भए पनि पछिल्ला दिनमा सर्वसाधारणले अभाव महसुस गरेका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमार्फत बिक्री हुने अत्यावश्यक सामग्रीमा विगतमा गरिएको १० प्रतिशत छुटको व्यवस्थालाई अहिले पनि सरकारले निरन्तरता दिएको छ । यसमा चामल, पिठो, दाल, नुन, चिनी, तेल जस्ता खाद्य सामग्री छन् । यस्तै इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिएको र निजी क्षेत्रलाई सोही निर्णयलाई निरन्तरता दिन आग्रह गरिएको छ । महसुल नबुझाएमा पनि इन्टरनेट नकाट्न भनिएको छ । सरकारले यसअघि मासिक १५० युनिट विद्युत् खपत गर्ने ग्राहकको विद्युत् महसुलमा २५ प्रतिशत छुट दिएकामा यही वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले त्यसलाई पुरक निर्णय गर्दै अबदेखि २५० युनिट विद्युत् खपत गर्नेले पनि सो छुट पाउने व्यवस्था गरेको छ । रासस
लगानीकर्ता र सूचीकृत कम्पनीलाई राहात, यस्ताे छ मन्त्री परिषद्को निर्णय
काठमाडौं । लकडाउन अघि सेयर किनेका लगानीकर्ता र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुलाई ठूलो राहात मिलेको छ । लकडाउन अघि सेयर किनबेच गरी राफसाफ गर्न बाँकी रहेका लगानीकर्ताले अब असार मसान्तसम्म हिसाव राफसाफ गर्न पाउने भएका छन् । गत आइतबार(बैशाख १४) गते बसेको मन्त्री परिषद्को बैठकले धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाव राफसाफ गर्ने समयावधि आगामी असारसम्म कायम गर्ने निर्णय गरेको हो । यससँगै लकाडाउन अघि सेयर किनेकालाई बजार खुल्ने बित्तिकै पैसा तिर्नुपर्ने बाध्यता हटेको छ । नेप्सेका अनुसार लकडाउनकाे २ दिनअघि काराेबार भएकाे सेयर राफसाफ हुन बाँकी रहेकाे छ । त्यस्तै, बैठकले धितोपत्र ऐन बमोजिम सूचीकृत कम्पनीले बुझाउनु पर्ने विवरणहरु बुझाउने म्याद असार मसान्तसम्म कायम गर्ने निर्णय गरेको छ । यसले सूचीकृत कम्पनीहरुलाई पनि केही हदसम्म राहत मिलेको छ । हाल नेप्सेमा २०० बढी कम्पनीहरु सूचीकृत छन् ।
पुनरकर्जा काेषमा १ खर्ब रूपैयाँ, विद्युतिय गाडी पनि प्राथमिकतामा
काठमाडाैं । राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जा क्षमता विस्तार गरेकाे छ । साे कर्जाकाे क्षमता बढाएर १ खर्ब रूपैयाँ पुर्याइएकाे हाे । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकलाई पुनर्कर्जाको क्षमता विस्तार गर्न आग्रह गर्ने निर्णय गरेको हो। साथै, पुनर्कर्जा कोषबाट जाने रकमको व्याज समेत घटाउन राष्ट्र बैंकलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ। यसअघि राष्ट्र बैंकले पुनरकर्जा कोषको आकार बढाएर ६० अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो। राष्ट्र बैंकले तोकेका प्राथमिका युक्त क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा प्रवाह होस् भन्ने उद्देश्यले यस्तो कोष खडा गरिएको हुन्छ। कोषमार्फत् कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा लगानी गर्नेले सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्न सक्नेछन्। साथै, नवीकरणीय उर्जाबाट चल्ने सार्वजनिक सवारी साधनका लागि दिइने कर्जालाई समेत प्राथमिक प्राप्त कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्ता सवारी साधनका लागि पनि सहुलियत व्याजदरमा ऋण प्राप्त हुनेछ। विजुलीबाट चल्ने बसहरूले यस्ताे सुविधा पाउने राष्ट्र बैंकले जनाएकाे छ ।
जीउधन र व्यवसायको सुरक्षा गर्दै अगाडि बढ्न सभापति ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोरोना भाइरसका कारण विश्वव्यापी उत्पन्न भएको वर्तमान कठिन अवस्थामा पनि श्रमिक बर्गसँग अझ बढी समझदारीका साथ सहयात्रा गर्ने बताएका छन् । उक्त परिषदको सभापतिका हैसियतले मे १ अर्थात मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिदै ढकालले सम्पूर्ण विश्व कोभिड १९ को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा विश्वको अर्थतन्त्र एक किसीमले भन्नुपर्दा दीर्घकालसम्म नै थला पर्ने देखिएको बताए । सन्देशमा उनले भनेका छन्, इतिहासको यो कठिन समयमा अझवढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजुभाई एवं दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु । विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थलापर्ने अवस्था देखिएको भन्दै ढकालले शुभकामना सन्देशमा भनेका छन्,– यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आफ्नो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ । सभापति ढकालले अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाने तथा करोडौंले आफ्नो रोजगारी गुमाउँदै जाने तथा त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्ने अवस्था देखिएको बताए । ढकालले नेपाल एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा रहेको, विकास निर्माणका कामहरू सबै ठप्प रहेका, उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेका तथा देशमा रेमिट्यान्सको आप्रवाह घट्दो क्रममा रहेकोले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुने धेरै सम्भावना देखिएको बताएका छन् । अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको उनले बताए । अस्तिमात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको र यो निकै प्रारम्भिक प्रक्षेपण मात्र भएको भन्दै कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित देखिएको पनि उनले जनाएका छन् । यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका र जसका कारण आज सारा संसार नै ठप्प प्रायः भएको उनले सो सन्देशमा बताएका छन् ।