१२ हजारको पिसिआर परीक्षण
काठमाडौं । सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आजसम्म उक्त सङ्ख्यामा पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । सरकारले ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८६० नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ६८२ परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा आठ, धनगढीमा एक र भरतपुरमा एक गरी ४१ जना कोरोना सङ्क्रमित व्यक्ति उपचाररत छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् । रेड जोनमा हालसम्म ३१२ जना रहेका छन् । त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्मामिटर, माक्स, पिपिइलगायतका स्वास्थ्य सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिए । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरिएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा झलक गौतमले देशका विभिन्न जिल्लामा दादुराको प्रकोप बढिरहेको बताए । उनले गत पुसदेखि हालसम्म १८५ दादुरा रोगका बिरामी देखिएका जानकारी दिए । उनका अनुसार झापा, सर्लाही, धादिङ, काठमाडौँ, ललितपुर, चितवन र गोरखामा दादुराका बिरामी देखिएका छन् । जसमा चार महिनादेखि ४० वर्ष उमेर समूहका व्यक्तिमा दादुरा देखिएको छ । स्वास्थ्य प्रशासक गौतमका अनुसार दादुरा रोग देखिएकामध्ये धादिङमा दुई जना बालबालिकाको मृत्युसमेत भएको छ । उनले यही वैशाख १७ देखि २३ गतेसम्म प्रकोप देखिएका क्षेत्रमा खोप सञ्चालन गरिसकेको जानकारी दिए । उनले तत्कालको लागि खोपजन्य सामग्रीको अभाव नभएको स्पष्ट पारे । खोपजन्य सामग्री कम्तीमा तीन महिनासम्मलाई पुग्ने हँुदा विभिन्न जिल्लामा स्थानीय तहसँग समन्वय गरेर नियमित रुपमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रशासक गौतमले बताए । रासस
इन्टरनेट र बिजुलीको महसुलमा २५ प्रतिशत छुट निरन्तर
काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएकाे छ । मन्त्रिपरिषद्काे १४ वैशाखको बैठकले यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो । यद्यपी इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् भने नेपाल विद्यूत प्राधिकरणले मासिक २५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा पनि १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई समेत सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले तीन महिनामा १६ अर्ब ६ करोड गुमाउने, निक्षेपको व्याजदर घटाउने गृहकार्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले देशको अर्थतन्त्र ठप्प छ । बन्द तथा सुस्त भएका ती उद्योगधन्दालाई पहिलेकै स्वरुपमा ल्याउन वा चलायमान बनाउन सरकारसँग गुहार पनि गरिरहेका छन् । मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । कोरोना भाइरसले पार्ने असर र त्यसको समाधानका लागि राष्ट्र बैंकले जारी गरेको त्यो निर्देशनमा कतिपय बैंकर्स अन्योलमा परेका छन् । उनीहरु अरुलाई बचाउने नाउँमा बैंक नै नोक्सानीमा जाने त होइन भन्ने दोधारमा पनि देखिन्छन् । बैंकले तोकेको २ प्रतिशत बिन्दुमा उनीहरु अहिले अंकगणितको हिसाब गरिरहेका छन् । त्यतिमात्र हाेइन, राष्ट्र बैंकले जारी गरेको निर्देशन मान्नै पर्ने भएकोले पनि उनीहरु अहिले त्यसको विकल्प खोजिरहेका छन् । स्रोतका अनुसार अहिले बैंकर्सहरु अनौपचारिकमा बसेर निक्षेपको व्याजदर घटाउने कि भन्ने योजनामा पनि छन् । राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले १४ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा १२ प्रतिशत, १३ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा ११ प्रतिशत, १२ प्रतिशत व्याजमा प्रवाह भएका कर्जामा १० प्रतिशत, वा १० प्रतिशत व्याजदरमा प्रवाह भएका कर्जामा ८ प्रतिशत मात्र व्याज लिन पाउनेछन् । फागुन मसान्तसम्मको वित्तीय अवस्था अनुसार नेपाली बैंक तथा वित्तीय संस्थासँग स्वदेशी मुद्रामा प्रवाह गरेको कुल ऋण ३२ खर्ब १३ अर्ब १९ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत व्याज दियो भने तीन महिना अर्थात बैशाखदेखि असारसम्म १६ अर्ब ६ करोड रुपैयाँ आम्दानी गुमाउने छन् । वाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने कुल २७ खर्ब ४८ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । यसका आधारमा बैंकहरुले दुई प्रतिशत व्याज छुट दिने हो भने वैशाखदेखि असार मसान्तसम्म १३ अर्ब ७४ करोड रुपैयाँ व्याज आम्दानी गुमाउनेछन् । समग्रमा भन्ने हो भने एक वाणिज्य बैंकले तीन महिनामा करिब ५१ करोड रुपैयाँ आम्दानी गुमाउनु पर्ने छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्ताेष कुमार काेइरालाले यसको वर्कआउट गर्न एकदमै गाह्रो भएको बताए । ‘कसैलाई छुट दिनु पर्नेछ, कसैलाई छुट दिनु पर्ने छैन, क्षेत्रगत रुपमा पनि विभाजन गरेकोले यो गाह्रो विषय छ, यसको बारेमा तथ्याकं निकाल्न एक हप्ता लाग्छ,’ उनले भने । बैंकको नाफा घटेपछि बैंकले लगानीकर्तालाई दिने लाभाशं पनि स्वतः घट्ने बैंकर्सको धारणा छ । यस्तै, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर क्षेत्रीले पनि बैंकको नाफा घटेपछि लाभाशंमा पनि कमी आउने बताए । ‘वाणिज्य बैंकमा मात्रै १३ अर्ब रूपैयाँ जति असर पर्छ, यो भनेको धेरै हो, यसले स्वभाविक रुपमा लाभाशंमा पनि असर पर्छ,’ उनले भने । निक्षेपकर्ताको व्याज पनि घट्न सक्ने उनको भनाइ छ । यस्तै, अब २ प्रतिशत व्याज घटाउनु पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा पनि बढ्न सक्ने अनुमान बैंकर्सले गरेका छन् । कोरोना भाइरसले सम्पूर्ण क्षेत्रमा ल्याएको आर्थिक संकटले गर्दा बैंकहरुमा पनि त्यति धेरै आर्थिक कारोबार नहुने र ऋण लिएकाहरुले पनि समयमै नतिर्दा खराब कर्जा बढ्ने उनीहरुको भनाइ छ । राष्ट्र बैंकले खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेको जलविद्युत आयोजनाको हकमा भने २ प्रतिशत व्याज घट्दैन ।
भंगहामा थप दुईको रहस्यमय मृत्यु
मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताए । मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृत्यु भएकामा आज थप दुई जना गरी मृतकको सङ्ख्या छ पुगेको प्रमुख साहले पुष्टि गरे । यसैबीच आजै थप दुई जना अति सिकिस्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सो गाउँबाट उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगी उनीहरुको उपचार भइरहेको बताए। रहस्यमय तरिकाले छ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् । प्रहरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा रक्सी र रक्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृत्यु रक्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन । सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । रासस
मजदुरलाई सरकारले काम दिने, औपचारिक क्षेत्रकालाई एक महिनाको आधा तलब
काठमाडौं । सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ । यसअघि सरकारले पेशा अपनाउन नसकेर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले काममा लगाउने निर्णय गरेको हो । यही वैशाख १४ गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले असङ्गठित क्षेत्रमा कार्यरत रही हाल बेरोजगार श्रमिकलाई तीनै तहका सरकारी कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा लगाउने निर्णय भएको जानकारी दिए । यसरी काममा लगाउँदा उनीहरुलाई दैनिक ज्यालास्वरुप नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराइने छ । उनका अनुसार असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रदान गर्ने राहत मापदण्डको सीमाभित्र रही स्थानीय तहले दैनिक ज्याला दर निर्धारण गर्नेछ । काममा नआउने र नचाहने व्यक्ति राहत माग्न आएमा काममा खटिएका व्यक्तिले पाउने पारिश्रमिकको २५ प्रतिशत हुन आउने रकमको खाद्यान्न मात्र उपलब्ध गराइनेछ । यससम्बन्धी विधि र प्रक्रिया तयार गरी कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ । यसरी रोजगार उपलब्ध गराउने विषयमा वैशाख दोस्रो सातादेखिनै तयारी थालिएको थियो । लकडाउनका कारण व्यावसायिक गतिविधि रोकिँदा असङ्गठित क्षेत्रका श्रमिक, मजदुरलाई तत्कालै समस्या भएपछि चैत १६ गतेको सरकारी निर्णयानुसार राहत दिन शुरु गरिएको थियो । राहत वितरणमा नचाहिने व्यक्तिले पनि लिने प्रवृत्ति देखिएको थियो । त्यसलाई रोक्न सरकारले नयाँ योजना ल्याएको हो । राहत नचाहिने व्यक्तिले राहत माग्न आएका तर पाउनुपर्ने व्यक्तिले राहत नपाउने अवस्था हुने भएकाले यसरी श्रमका लागि दाबी गर्न आउने व्यक्तिले आफ्नो परिवारको कोही पनि रोजगारीमा नरहेको, औपचारिक रोजगारी नभएको, आयआर्जनको वैकल्पिक उपाए नभएको भनेर स्वघोषण गर्नुपर्ने छ । अन्यथा भएमा कानूनअनुसार कारवाही हुनेछ । त्यसरी घोषणा गरेकामा घोषणा गर्ने र राहत बाँड्नेसमेत जिम्मेवार हुनेछन् । श्रमिकको दैनिकीमा धेरै असर नपर्ने, उद्योगधन्दा पनि ध्वस्त नहुने र सरकारले पनि असीमित दायित्व बोक्नु नपर्ने गरी सरकराले उक्त कार्यक्रम अघि बढाएको हो । यसअघि सरकारले मुलकभर छ लाखभन्दा बढी श्रमिक मजदुरलाई राहत वितरण गरिसकेको जनाएको थियो । यो क्रम अझै जारी छ । प्रवक्ता डा खतिवडाले कोभिड–१९ का कारण लकडाउनबाट अति प्रभावित भएका श्रमिक तथा न्यूनवर्गीय व्यक्तिको दैनिक जीवन यापनलाई सहज बनाउने तथा उद्योग व्यवसायको संरक्षणका लागि यसअघि कार्यान्वयन गरिएको राहत छुट र सुविधाका कार्यक्रम लकडाउनको अवधि बढ्दै गएकाले पुनरावलोकन गरी थप कार्यक्रम घोषणा गरिएको जानकारी दिए । उनका अनुसार राहत सहयोग गर्ने संस्थाले स्थानीय तहसँग समन्वय गरेर मात्रै तोकेको क्षेत्रमा मात्रै राहत वितरण गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ । औपचारिक क्षेत्रका मजदुरलाई एक महिनाको आधा तलब औपचारिक क्षेत्र, उद्योग, पर्यटनलगायतमा काम गर्ने मजदुर कर्मचारी श्रमिकलाई सम्बन्धित रोजगार दाताले वैशाख महिनाको हुन आउने पारिश्रमिकको ५० प्रतिशत तत्कालै उपलव्ध गराउनुपर्ने व्यवस्था पनि सरकराले गरेको छ । डा खतिवडाका अनुसार बाँकी रकम व्यवसाय सञ्चालन भएपछि भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्ता व्यवसायलाई तरलता वा नगदको समस्या भए नेपाल राष्ट्र बैंकले सरलकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने छ । लकडाउनका कारण तरलताको अभाव भएर ज्याला भुक्तानी गर्न असमर्थ भएका ठूला उद्योगलाई पनि सोही प्रयोजनका लागि उपयुक्त धितो लिई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउने छ । यसरी कर्जाको सुविधा माग गर्ने उद्योग वा प्रतिष्ठानले २०७६ पुस महिनामा सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पेश गरेको पारिश्रमिक भुक्तानीको स्रोतमा कर कट्टी गरेको विवरण पेश गर्नुपर्नेछ । “यसको कारण के हो भने कृत्रिम रुपमा कामदार खडा गरेर मजदुर सङ्ख्या यति हुन् भन्ने नहोस् र मर्कामा परेका व्यवसायीले वास्तविक श्रमिकलाई ज्याला तिर्नुपर्ने स्थिति बन्न सकेको छैन, त्यसका लागि सरकारले राष्ट्र बैंकमार्फत सहयोग गर्ने सरकारको अभिप्राय हो”, डा खतिवडाले पत्रकार माझ भने । सरकारले सामाजिक सुरक्षा कोषको योगदानका विषयमा भने कोषमा आवद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक र रोजगारदाताको तर्फबाट २०७७ वैशाख र जेठ महिनामा गर्नुपर्ने योगदानको रकम असार मसान्तसम्ममा जम्मा गर्न पाउने व्यवस्था मिलाएको छ । अघिल्लो चैत महिनाको योगदान रकम भने सरकारले नै हालेको थियो । रासस
सुर्खेतमा कोरोना परीक्षण पुनःसञ्चालन
सुर्खेत। ठूलो क्षमताको रियल टाइम–पोलिमर चेन रिएक्सन (आरटी पिसीआर) मेसिन जडान भएपछि एक सातादेखि अवरुद्ध कोरोना परीक्षण पुनः सञ्चालन भएको छ । कर्णालीमा प्रदेशमा कोभिड–१९ को परीक्षण दायरा तीव्र पार्न ठूला क्षमताको पिसीआर मेसिन जडान गरेपछि परीक्षण सञ्चालन गरिएको हो । प्रयोगशालामा कार्यरत प्राविधिकहरु मेसिन जडानमा व्यस्त भएपछि यही वैशाख १० देखि पिसीआर विधिबाट कोरोना परीक्षण रोकिएको थियो । मेसिन जडान गर्न ५ दिन लागेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले ठूलो क्षमताको पिसीआर मेसिन सञ्चालनमा आएपछि स्वाबको पुनः परीक्षणका लागि धनगढी तथा काठमाडौँ पठाउनुपर्ने बाध्यता हटेको बताए । यसअघि सुर्खेतमा रहेको पिसीआर मेसिनबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन (क्रस भेरिफिकेशन) भन्दै सङ्क्रमण आशङ्का गरिएका व्यक्तिको स्वाब काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । “अब क्रस भेरिफिकेशनको काम यहीँबाट हुन्छ, ढुक्क हुनलाई प्रदेशबाहिर नै पठाउनुपर्दैन”, प्रयोगशाला संयोजक आचार्यले भने । पछिल्लोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयमा रहेको ठूलो क्षमताको आरटी पिसीआर मेसिन कर्णाली प्रदेशलाई उपलब्ध गराएको थियो । मन्त्रालयले परीक्षणमा सहयोग गर्नका लागि त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका प्रमुखसहित चार कर्मचारीलाई खटाएको थियो । उक्त मेसिन इत्रामस्थित पशु रोग अन्वेषण प्रयोगशालामा जडान गरिएको छ । प्रयोगशालाका अनुसार यो मेसिनले एकैपटक ९६ जनाको परीक्षण गर्न सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलोपटक पठाएको सानो क्षमताको पिसीआर मेसिनबाट भने दैनिक १० देखि १५ वटा स्वाबको परीक्षण हुँदै आएको थियो । कर्णाली प्रदेशमा हालसम्म २३२ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यस्तै पाँच हजार १७९ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) विधिबाट परीक्षण गरिएको छ । कर्णालीमा हाल एउटा सानो तथा दुई ठूला गरी तीनवटा पिसीआर मेसिन छन्
२५ जेठसम्म बढाइयो कर तिर्ने अवधि
काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने करको समयावधि २५ जेठसम्मका लागि बढाएको छ । मन्त्रिपरिषद्काे १४ वैशाखको बैठकले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् १६ चैतमा बसेको बैठकले यसअघि कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो ।तर लकडाउन खुकुलो नहुने देखेपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।
यी हुन् मन्त्रिपरिषद्ले गरेका १५ निर्णय (सूचिसहित)
काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता युवराज खतिवडाले गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। यस्ता छन् निर्णय : १. सार्वजनिक खरिद (दशौं संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने। २. हरित जलवायु कोष तथा विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा वन तथा वातावरण मन्त्रालयवाट कार्यान्वयन गर्ने गरी ‘विल्डिङ अ रिसाइलियन्ट चुरिया रिजन अफ नेपाल’ आयोजनाका लागि ३९.३ मिलियन अमेरिकी डलर (करिब रु. ४ अर्ब ७९ करोड) अनुदान सहायता स्वीकार गर्ने र समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिव वा सहसचिवलाई अख्तियारी प्रदान गर्ने। ३. कोभिड-१९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने। ४. कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्नसक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने। ५. महाकाली लोकमार्ग (दार्चुला-टिंकर सडक) को कूल १३४ कि.मि.मध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ कि.मि. (घाँटीबगर-टिंकर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति दिने। ६. कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूमा परेको र पर्नसक्ने असरहरूको बारेमा सुधार तथा सम्बोधन गर्न र सामाजिक संघ संस्था परिचालन बारेको कार्ययोजना, २०७७ स्वीकृत गर्ने। ७. इपिएस प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका हाल बिदामा नेपालमा रहेका व्यक्तिहरू स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराई निजहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने। ८. रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने । ९. संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगित गर्ने १०.कोरोना भाइरस (कोभिड-१९) को उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७ स्वीकृत गर्ने। ११. कोभिड-१९ युनिफाइड अस्पताल सञ्चालन आदेश, २०७७ स्वीकृत गर्ने। १२. कोरोना भाइरस (कोभिड-१९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत गर्ने। १३. विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकोले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/१/२ गतेको निर्णयअनुसार सो रोग रोकथाम र निर्मूल गर्न संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशलाई मिति २०७७ वैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने। १४. सो रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रहरू लगायत अन्य मित्रराष्ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश बिन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन मिति २०७७ वैशाख ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने। तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्ने। यो आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने। १५.विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशको पालना गरी साथ दिनु भएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, मिति २०७७ वैशाख २५ गते बिहीबार मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र मिति २०७७ वैशाख ३१ गते बुधबार मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुर्याउन हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ।