काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले देशको अर्थतन्त्र ठप्प छ । बन्द तथा सुस्त भएका ती उद्योगधन्दालाई पहिलेकै स्वरुपमा ल्याउन वा चलायमान बनाउन सरकारसँग गुहार पनि गरिरहेका छन् ।
मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । कोरोना भाइरसले पार्ने असर र त्यसको समाधानका लागि राष्ट्र बैंकले जारी गरेको त्यो निर्देशनमा कतिपय बैंकर्स अन्योलमा परेका छन् ।
उनीहरु अरुलाई बचाउने नाउँमा बैंक नै नोक्सानीमा जाने त होइन भन्ने दोधारमा पनि देखिन्छन् । बैंकले तोकेको २ प्रतिशत बिन्दुमा उनीहरु अहिले अंकगणितको हिसाब गरिरहेका छन् । त्यतिमात्र हाेइन, राष्ट्र बैंकले जारी गरेको निर्देशन मान्नै पर्ने भएकोले पनि उनीहरु अहिले त्यसको विकल्प खोजिरहेका छन् । स्रोतका अनुसार अहिले बैंकर्सहरु अनौपचारिकमा बसेर निक्षेपको व्याजदर घटाउने कि भन्ने योजनामा पनि छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले १४ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा १२ प्रतिशत, १३ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा ११ प्रतिशत, १२ प्रतिशत व्याजमा प्रवाह भएका कर्जामा १० प्रतिशत, वा १० प्रतिशत व्याजदरमा प्रवाह भएका कर्जामा ८ प्रतिशत मात्र व्याज लिन पाउनेछन् ।
फागुन मसान्तसम्मको वित्तीय अवस्था अनुसार नेपाली बैंक तथा वित्तीय संस्थासँग स्वदेशी मुद्रामा प्रवाह गरेको कुल ऋण ३२ खर्ब १३ अर्ब १९ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत व्याज दियो भने तीन महिना अर्थात बैशाखदेखि असारसम्म १६ अर्ब ६ करोड रुपैयाँ आम्दानी गुमाउने छन् ।
वाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने कुल २७ खर्ब ४८ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । यसका आधारमा बैंकहरुले दुई प्रतिशत व्याज छुट दिने हो भने वैशाखदेखि असार मसान्तसम्म १३ अर्ब ७४ करोड रुपैयाँ व्याज आम्दानी गुमाउनेछन् ।
समग्रमा भन्ने हो भने एक वाणिज्य बैंकले तीन महिनामा करिब ५१ करोड रुपैयाँ आम्दानी गुमाउनु पर्ने छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्ताेष कुमार काेइरालाले यसको वर्कआउट गर्न एकदमै गाह्रो भएको बताए ।
‘कसैलाई छुट दिनु पर्नेछ, कसैलाई छुट दिनु पर्ने छैन, क्षेत्रगत रुपमा पनि विभाजन गरेकोले यो गाह्रो विषय छ, यसको बारेमा तथ्याकं निकाल्न एक हप्ता लाग्छ,’ उनले भने ।
बैंकको नाफा घटेपछि बैंकले लगानीकर्तालाई दिने लाभाशं पनि स्वतः घट्ने बैंकर्सको धारणा छ । यस्तै, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर क्षेत्रीले पनि बैंकको नाफा घटेपछि लाभाशंमा पनि कमी आउने बताए ।
‘वाणिज्य बैंकमा मात्रै १३ अर्ब रूपैयाँ जति असर पर्छ, यो भनेको धेरै हो, यसले स्वभाविक रुपमा लाभाशंमा पनि असर पर्छ,’ उनले भने ।
निक्षेपकर्ताको व्याज पनि घट्न सक्ने उनको भनाइ छ । यस्तै, अब २ प्रतिशत व्याज घटाउनु पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा पनि बढ्न सक्ने अनुमान बैंकर्सले गरेका छन् ।
कोरोना भाइरसले सम्पूर्ण क्षेत्रमा ल्याएको आर्थिक संकटले गर्दा बैंकहरुमा पनि त्यति धेरै आर्थिक कारोबार नहुने र ऋण लिएकाहरुले पनि समयमै नतिर्दा खराब कर्जा बढ्ने उनीहरुको भनाइ छ । राष्ट्र बैंकले खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेको जलविद्युत आयोजनाको हकमा भने २ प्रतिशत व्याज घट्दैन ।