विकासन्युज

आपूर्ति सहज नहुँदा सर्लाहीमा औषधि अभाव

सर्लाही। लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् । विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधि बजारमा अभाव देखिन थालेको डा घनश्याम सिंहले जानकारी दिए । कोरोनाको सङ्क्रमण फैलिन नदिन सीमानाका सिल गरिएका कारण नेपाली बजारमा नपाएका औषधि भारतबाट समेत ल्याउन नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । सरकारले कोरोना सङ्क्रमण रोक्न लगाएको लकडाउन स्वागतयोग्य रहेको बताउँदै गम्भीर रोगबाट ग्रसित बिरामीको औषधि आपूर्तिका लागि पनि सरकारले कुनै ठोस निर्णय लिनुपर्ने स्थानीयवासीले बताएका छन् । नेपालका औषधि उत्पादक कम्पनीले प्रायः आपूर्ति सहज हुने ठूला शहरमा मात्र बढी जोड दिएका कारण साना शहरबजारमा औषधि अभाव देखिने अवस्था आएको व्यवसायीको गुनासो छ । औषधि व्यवसायीले लकडाउनका कारण आपूर्तिमा आएको असहजता, औषधि कम्पनीबाट नगद कारोवारको अनिवार्य प्रावधान लागू र आवश्यक औषधि बिरामी आफैँ गएर ल्याउनुपर्नेजस्ता कारणले बजारमा औषधिको अभाव देखिन थालेको स्थानीय औषधि व्यवसायीले बताएका छन् । बजारमा औषधि अभाव भएका कारण सामान्य स्वास्थ्य परेका बिरामीको जाँचमा समेत समस्या शुरु भएको चिकित्सक बताउँछन् । रासस

व्याज छुटको निर्णयप्रति बैंकर्सको गुनासो, गभर्नरलाई भेटेर भनेः सेयरधनीले २ वर्ष लाभांश नपाउने भए

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको कारण थला परेको अर्थतन्त्र उकास्न भन्दै राष्ट्र बैंकले गरेको नीतिगत निर्णयप्रति बैंकर्सले असहमति जनाएका छन् । राष्ट्र बैंकले केही दिन अघि मात्रै सबै प्रकारका ऋणीलाई ३ महिनासम्मको व्याजमा २ प्रतिशतले छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको सो निर्देशन कार्यान्वय गर्दा बैंकहरुको नाफामा धेरै असर पर्ने र बैंकिङ क्षेत्रको स्थायित्वमै समस्या आउन सक्ने गुनासो गरेका हुन् । राष्ट्र बैंकको निर्देशन आएपछि आज (१८ वैशाख) बैंकर्स संघको अनौपचारिक छलफल चलेको थियो । सो छलफलपछि संघको नेतृत्वमा एक प्रतिनिधिमण्डलले गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेको छ । सो भेटमा राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा समस्या आउने भएकोले पुनरविचार गरिदिन आग्रह गरिएको एक बैंकरले जानकारी दिए । ‘राष्ट्र बैंकले ल्याएको निर्देशन थला परेको अर्थतन्त्र उकास्नका लागि राम्रो छ, तर त्यसको कार्यान्वयनबाट बैंकिङ क्षेत्रमा पर्ने असर बारे त्यति ध्यान दिइए जस्तो लागेन, त्यसैले बैंककोतर्फबाट हेर्दा के कस्ता समस्या आउँछन् भनेर गभर्नरज्यूसँग छलफल गरेका हौं,’ भगर्नर अधिकारीलाई भेटेर भर्खरै फर्किएका एक बैंकरले विकासन्युजसँग भने । बैंकरले विशेष गरेर २ प्रतिशत व्याज घटाउने राष्ट्र बैंकको निर्णयप्रति असहमति जनाएका हुन् । सरकारले लकडाउन गरेको समयमा सबै प्रकारका ऋणीलाई व्याज छुट दिने निर्णयले असर नपरेका र नियमित किस्ता तिर्न सक्ने ऋणीलाई पनि छुट दिनुपर्ने अव्यवहारिक अवस्था सिर्जना भएको बैंकर्सको भनाइ छ । राष्ट्र बैंकले वैशाखदेखि असार मसान्तसम्मको व्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिइसकेको छ । राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्ममा ३२ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जामा ३ महिनाको लागि २ प्रतिशत व्याज छुट दिदा मात्रै पनि बैंक तथा वित्तीय संस्थाको १६ अर्ब ६ करोड रुपैयाँभन्दा बढी गुम्नेछ । राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा आफूहरुको आम्दानी गुम्ने र २ वर्षसम्म सेयरधनीलाई लाभांश नै दिन नसकिने अवस्था आउने भएकोले सो विषयमा गभर्नर अधिकारीलाई जानकारी गराइएको बैंकरको भनाइ छ । ऋणको व्याज घटाएपछि त्यसको असर निक्षेपमा पनि पर्ने र निक्षेपको व्याज घट्ने भएकोले त्यसको अर्काे असर पर्ने सक्ने बारेमा पनि बैंकरले गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए । यस्तै, उद्योग व्यवसाय थला परेको भन्दै बैंकहरुले व्याज छुट दिनुपर्ने नीतिगत निर्णय आफैमा विरोधाभाषपूर्ण रहेको बैंकरको भनाइ छ । ‘लकडाउनको कारणले अर्थतन्त्र नै थला परेको छ भने त्यसको असर बैंक वित्तीय संस्थामा पनि परेको छ, बैंक पनि अर्थतन्त्रकै एउटा स्टेकहोल्डर हो, त्यसैले एउटा व्यवसायीलाई असर पर्यो भनेर अर्काे व्यवसायी (बैंक वित्तीय संस्था) लाई राहत देउ भन्नु आफैमा कति व्यवहारिक कुरा हो ?’ अर्काे एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । बैंकरको गुनासो सुनिसकेपछि गभर्नर अधिकारीले निर्णयमा पुनरविचार हुन नसक्ने जानकारी गराएका स्रोतको दाबी छ । राष्ट्र बैंकले अहिले गरेको निर्णय विषयम परिस्थितिमा गरिएको विशेष निर्णय भएकोले यसमा बैंकहरुले सहयोग गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । ‘तपाईहरुले भने झै निक्षेपको व्याज पनि घट्न सक्छ, त्यसमा हामीले धेरै केही गर्न सकिने अवस्था हुदैन, अहिले ऋणीलाई २ प्रतिशत छुट दिनु भन्ने निर्णय सरकारको निर्णय हो, यो निर्णय कार्यान्वयन हुन्छ, तपाईंहरुले यसमा सहयोग गर्नुहुनेछ भन्ने मेरो विश्वास छ,’ सो भेटमा गभर्नर अधिकारीले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो । सम्बन्धित सामग्री ठूला ऋणीलाई २ प्रतिशत छुट, रू १५ लाख भन्दा कमका ऋणीलाई बम्पर छुट पेनाल्टी लिन्नौं, व्याज घटाउँछौं, सेयर किन्दा ५ लाख डलरसम्ममा सरकारले स्रोत नखोजोस् बैंकले आफ्नो नाफाबाट ऋणीलाई ६ अर्ब ३६ करोड छुट दिँदै ऋणीको लागि बैंक संचालकको छुट्टै प्याकेज आउँदै, व्याजदर घटाउने वा रकममा छुट दिने भन्नेमा छलफल

निःशुल्क खाना खुवाउँदै थिमि नगरवासी

काठमाडौँ । ‘लकडाउनका कारण तपाईलाई खान समस्या छ, कि भोकै हुनुहुन्छ ? तपाईं भोकै हुनुहुन्छ भने आउनुस्, हामी तपाईलाई निःशुल्क खाना खुवाउँछौँ”, यो आह्वान मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको हो । मध्यपुरथिमि नगरपालिकाले पहिलो चरणको राहत वितरण सकेको १० दिनपछि नगरपालिकासहित सिङ्गो नगरवासीको सहयोगमा विभिन्न चार ठाउँमा सञ्चालन गरेको सामूहिक मेसमा निःशुल्क खाना खुवाउँदै आएको छ । बुधबार मात्रै पाँच हजार ९५८ जनालाई खाना खुवाएको र लकडाउनभरि नै खाना खुवाउने कार्य जारी रहने नगरप्रमुख श्रेष्ठ बताउँछन् । नगरपालिकाले पहिलो चरणमा सात हजार ५२८ परिवारलाई रु ७४ लाख ४८ हजार ४४९ बराबरको राहत वितरण गरेपछि पछिल्लो चरणमा नगर र आसपासका क्षेत्रका कोही पनि व्यक्ति भोकै बस्न नपरोस् भनेर सामूहिक मेस सञ्चालन र अतिविपन्नलाई घरमै राहत वितरण कार्य शुरु गरेको हो । नगरप्रमुख श्रेष्ठ भन्छन्, “उपत्यका नगरपालिका फोरमले यो विषम परिस्थितिमा आफ्ना नगरपालिकामा कोही भोकै बस्न नपरोस् भन्ने नीति लिएको छ ।” “मध्यपुरथिमि नगरकार्यपालिकाको निर्णयानुसार नै सबै वडामा राहत वितरण सम्पन्न गरेका छौँ, आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै नपरुन् भनेर नगरपालिकाका सबै जनप्रतिनिधिको चाहनाअनुसार विगत १० दिनदेखि चार ठाउँमा सामूहिक मेस सञ्चालन गरेर निःशुल्क खाना खुवाइरहेका छौँ”, उनी भन्छन् । नगरपालिकाले बिहान र बेलुका गरी दुईछाक खाना खुवाउने गरेको छ । यसका लागि कमेरोटारमा एभरेष्ट पार्टी प्यालेस, बोडेको सिन्टीटार, नगदेशको शुभश्री बैंक्वेट र गठ्ठाघरमा दैनिक पाँच हजारभन्दा बढीलाई खाना खुवाइरहेको छ । पैदल यात्री, दैनिक ज्यालादारी गर्ने मजदूर, गरिब, अतिविपन्न, असहाय नागरिकका लागि सञ्चालन गरेको सामूहिक मेसमा स्थानीय बासिन्दाभन्दा धेरै कोठाभाडामा बस्ने विपन्नले लाभ लिइरहेका छन् । सामूहिक मेसमा मध्यपुरथिमिभित्रका बासिन्दा मात्रै नभई चाँगुनारायण नगरपालिकाभित्र सञ्चालित केही इँटाभट्टामा रहेका करिब ४०० मजदूरले पनि खानाखाने गरेका छन् । नगरवासी मात्रै होइन, भोकै बसेका वा बस्नु पर्ने अवस्था आएका जोसुकै व्यक्तिले पनि खाना खान पाउने व्यवस्था गरेको छ । नगरपालिकाका वडाहरु, यहाँका बासिन्दा र विभिन्न सङ्घसंस्थाले पनि सामूहिक मेस सञ्चालनमा सघाइरहेका छन् । मानवीय आस्था नेपाल, शिक्षा विकास सञ्जाल मध्यपुरथिमिलगायतले खाद्यान्न सहयोग गरेका छन् भने कतिपयले नगद सहयोग गरेका छन् । स्थानीय दाताहरुले पनि खाद्यान्नदेखि तरकारी सहयोग गरेको बताउँदै नगरप्रमुख श्रेष्ठ खाना बनाउनदेखि खुवाउन थिमिका टोलटोलबाट महिला पुरुष स्वयंसेवकका रुपमा सहयोग गरिरहेको बताउँछन् । खाना खान आउने कतिपयले घरमा रहेका वृद्धवृद्धा र बालबालिकाका लागि लाने पनि गरेका छन् । सामूहिक मेस सञ्चालनमा सहयोग पु¥याउन बुधबार मात्रै शिक्षा विकास सञ्जाल मध्यपुरथिमिले रु ५५ हजार ५५५ बराबरको ७५० किलो चामल र ७५ किलो दाल, तेल नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेको सञ्जालका अध्यक्ष वीरेन्द्र जयनाले जानकारी दिनुभयो । नगरपालिकाले लकडाउनका बेलामा कोही पनि व्यक्ति भोकै बस्न नपरोस् भनेर सामूहिक मेस सञ्चालन गरेकाले सहयोग गरेको उनले बताए । त्यस्तै किरण बाडले २५० किलो चामल, धनराम प्रजापतिले ५०० किलो चामल, ५० किलो दाल र ५० लिटर तेल, बालकुमारी सहकारीबाट ५० बोरा चामललगायत विभिन्न दाता एवं व्यक्तिबाट सहयोग जुट्नेक्रम जारी रहेको छ । अपाङ्ग, असहाय, अति गरिब परिवार रहेको खबर आउनासाथ सम्बन्धित वडा कार्यालयले घर कोठामै लगेर खाद्यान्न वितरण गर्ने कार्य जारी राखेको छ । वडा नं ३ का वडासदस्य एवं कार्यपालिका सदस्य बिनु केसीले नगरपालिकाले खान नपाउनेका लागि वडामार्फत घर घरमा लगेर रासन वितरणको कामसमेत गरिरहेको जानकारी दिए । रासस

कोरोना कहर: आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो

काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सरकारले चालू आर्थिक वर्षमा सामान्य अवस्था रहेको भए कूल आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । चालू आर्थिक वर्षको बजेटलाई नेपालको अर्थतन्त्रले उडान भर्ने गरी कार्यक्रम तय गरिएको थियो । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा विषम खालका समस्या देखापरेका छन् । उद्योग प्रतिष्ठान, विकास निर्माणका काम प्रायः ठप्प छ । आर्थिक गतिविधि नहुँदा सरकारले अपेक्षा गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन नसक्ने अवस्था देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कका आधारमा हेर्ने हो भने चालू आर्थिक वर्षमा मात्रै २.२७ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा गोरखा भूकम्पका कारण सबैभन्दा कम आर्थिक वृद्धि भएको थियो । भूकम्पले सम्पूर्ण गतिवधि रोकिँदा सो आवमा मात्रै ०.५९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले लिएका नीति तथा कार्यक्रमका कारण पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहँदै आएको थियो । विभागका अनुसार आव २०७३÷७४ मा ८.२२, आव २०७४÷७५ मा ६.७० र आव २०७५÷७६ मा कूल ६.९९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण आर्थिक वृद्धिमा ठूलो गिरावट आउने विभागको अध्ययनले देखाएको छ । सरकारले चालू आर्थिक वर्षलाई अर्थतन्त्रमा छलाङ हान्ने वर्षका रूपमा हुँदै ठूला भौतिक निर्माणको कामलाई समेत अगाडि बढाएको थियो । गत चैतको पहिलो सातादेखि कोरोना कहरले समग्र क्षेत्रमा जटिलता पैदा भएको छ । कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै समग्र अर्थतन्त्रमा ठूलो समस्या देखिए पनि केही क्षेत्रमा सुधार देखिने विभागको तथ्याङ्कमा समेटिएको छ । कोरोनाको प्रभावले समग्र क्षेत्रमा असर परेको भए पनि नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको विभागले सार्वजनिक गरेको विवरणमा समेटिएको छ । विभागका अनुसार नेपालीको एक वार्षिक औषत आम्दानी रु एक लाख २६ हजार १८ पुगेको छ । प्रतिव्यक्ति आम्दानी एक हजार ८५ अमेरिकी डलर पुगेको छ । विभागकै अनुसार अघिल्लो वर्ष प्रतिव्यक्ति आम्दानी रु एक लाख १७ हजार २६८ थियो अर्थात् अमेरिकी डलरमा एक हजार ३९ थियो । गत आबभन्दा चालू आवमा प्रतिव्यक्ति आम्दानी ३४ अमेरिकी डलरले वृद्धि हुने देखिएको छ । अर्थतन्त्रको आकार बढ्यो विभागका अनुसार चालू आवको फागुन मसान्तसम्म आर्थिक गतिविधिमा देखिएको सकारात्मक प्रभावका कारण देशको समग्र अर्थतन्त्रको आकार बढेको पाइएको छ । आव २०७५÷७६ मा कूल रु ३४ खर्ब ५८ अर्बको अर्थतन्त्र रहेकोमा चालू आजमा त्यो बढेर रु ३७ खर्ब ६८ अर्ब पुगेको छ । पछिल्ला तीन वर्षमा नियमितरूपमा ऊर्जाको उपलब्धता भएको र चालू आवमा पनि जलविद्युत्लगायत क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण पनि सकारात्मक परिवर्तन देखिने विभागको भनाइ छ । विद्युत्, ग्यास र पानी क्षेत्रको कूल योगदानमा २८.७५ प्रतिशत रहने तथ्याङ्कमा समावेश छ । कूल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत्, ग्यास (ऊर्जा) र पानीको योगदान १.४१ प्रतिशत हुने अनुमान गरिएको छ । यस्तै कृषि तथा वन क्षेत्रमा २.४८ प्रतिशत मत्स्यपालन ७.१७, उत्पादन २.२७, रहँदा खानी क्षेत्रमा ०.६९ निर्माण ०.३१, होटल तथा सेवा क्षेत्र १६.३० र यातायात २.४५ प्रतिशतले नकारात्मक हुने देखाएको छ । आव २०७६÷७७ को ‘राष्ट्रिय लेखा तथ्याङ्क’ मा कूल ग्राहस्थ उत्पादनको गणनामा समावेश भएका कूल १५ क्षेत्रमध्ये पाँच वटा क्षेत्रमा आर्थिक गतिविधि गत वर्षको तुलनामा नकारात्मक अर्थात् ऋणात्मक हुने देखाएको छ । निर्माण, यातायात र सञ्चार, उद्योग, होटल तथा रेस्टुरेन्ट र खानी तथा उत्खनन क्षेत्र नकारात्मक रहनेछन् । सो क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा चालू आवमा कूल दुई दशमलब ७० प्रतिशत हिस्सा रहने छ । कोरोनाका कारण होटल व्यवसायमा नराम्रो असर परेको छ । पर्यटक आवागमन बढाउने भनेर सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का सबै कार्यक्रम बन्द भएका छन् । पर्यटक आवागमनमा झण्डै १४ प्रतिशतले गिरावट आएको छ । आन्तरिक पर्यटकसमेत कोरोनाका कारणले घुम्न पाएका छैनन् । सोही कारण होटल तथा सेवा क्षेत्रमा समेत नकारात्मक असर परेको छ । हवाईसेवा प्रदायकका जहाज ग्राउण्डेड भएका छन् । यस्तै विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ५० खर्ब ९२ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु १७ खर्ब ४३ अर्ब रहेको छ । चालू मूल्यअनुसार कूल ग्राहस्थ उत्पादनमा उपभोक्ताको मूल्यमा रु ३२ खर्ब नौ अर्ब रहेको छ । रासस

क्वारेन्टिनमा बसेका महिलाले स्तनपान गराउन मिल्छ कि मिल्दैन ?

काठमाडौं । २ वर्षसम्मका शिशुलाई पुर्णरुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन् । हाल कोरोनाभाईरास कारण क्वारेन्टिनमा बसेका महिलाहरुले स्तनपान गराउन मिल्छ कि मिल्दैन भन्ने एउटा ठुलो प्रश्न रहेको छ । तर हालसम्म स्तनपान गराउँदा कोरोनाभाईरस सर्ने कुनै पनि अध्यनले नदेखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् । उनी भन्छन्, हालसम्म स्तनपान गराउँदा कोरोना सर्छ भन्ने कुनै प्रमाण भेटिएको छैन । तर कोरोनाभाईरसका कुनै पनि लक्ष्ण देखाएका महिलाहरुले स्तनपान गराउँदा ध्यान धने दिनपर्छ । ’ कोरोनाभाईरसका लक्ष्ण देखाएका महिलाहरुले स्तनपान गराउनुभन्दा अगाडि साबुनपानीले मिचि मिचि २० मिनेटसम्म हात धुने, स्तनपान गर्दा मास्क लगाउने जस्ता उपायहरु अपनाउन सक्ने देवकोटा बताउँछन् । यस्तै गम्भिर अवस्था भएका महिलाहरुको हकमा भने उनको दुध निकालेर बच्चालाई चम्चाले खुवाउन सक्ने देवकोटाले बताए ।

सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । हालको लकडाउनको अवस्थामा आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने उद्देश्यले बैंकले उक्त व्यवस्था गरेको हो । यससँगै, बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोगगरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ् सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

२५ लाख धरौटी बुझाएर छुटेलगत्तै पुन पक्राउ परे सुलभ अग्रवाल

काठमाडौँ । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटे लगत्तै फेरी पक्राउ परेका छन् । सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाल छुटे लगत्तै फेरी पक्राउ परेका हुन ।  काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले उद्योगी सुलभ अग्रवाल पुन पक्राउ परेको जानकारी दिए । पक्राउ गरेर पुल्चोक पठाएको बोगटीले बताए । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । अग्रवाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ परेका हुन । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालसँग २५ लाख धरौटी माग

काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी मागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको अग्रवाललाई आरोप थियो । न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो । उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्धा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो । कालोबजारी सम्बन्धी मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद माग दावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो । अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो । प्रहरीले पक्राउ गरेलसगँै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो ।