काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको कारण थला परेको अर्थतन्त्र उकास्न भन्दै राष्ट्र बैंकले गरेको नीतिगत निर्णयप्रति बैंकर्सले असहमति जनाएका छन् ।
राष्ट्र बैंकले केही दिन अघि मात्रै सबै प्रकारका ऋणीलाई ३ महिनासम्मको व्याजमा २ प्रतिशतले छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको सो निर्देशन कार्यान्वय गर्दा बैंकहरुको नाफामा धेरै असर पर्ने र बैंकिङ क्षेत्रको स्थायित्वमै समस्या आउन सक्ने गुनासो गरेका हुन् ।
राष्ट्र बैंकको निर्देशन आएपछि आज (१८ वैशाख) बैंकर्स संघको अनौपचारिक छलफल चलेको थियो । सो छलफलपछि संघको नेतृत्वमा एक प्रतिनिधिमण्डलले गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेको छ । सो भेटमा राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा समस्या आउने भएकोले पुनरविचार गरिदिन आग्रह गरिएको एक बैंकरले जानकारी दिए ।
‘राष्ट्र बैंकले ल्याएको निर्देशन थला परेको अर्थतन्त्र उकास्नका लागि राम्रो छ, तर त्यसको कार्यान्वयनबाट बैंकिङ क्षेत्रमा पर्ने असर बारे त्यति ध्यान दिइए जस्तो लागेन, त्यसैले बैंककोतर्फबाट हेर्दा के कस्ता समस्या आउँछन् भनेर गभर्नरज्यूसँग छलफल गरेका हौं,’ भगर्नर अधिकारीलाई भेटेर भर्खरै फर्किएका एक बैंकरले विकासन्युजसँग भने ।
बैंकरले विशेष गरेर २ प्रतिशत व्याज घटाउने राष्ट्र बैंकको निर्णयप्रति असहमति जनाएका हुन् । सरकारले लकडाउन गरेको समयमा सबै प्रकारका ऋणीलाई व्याज छुट दिने निर्णयले असर नपरेका र नियमित किस्ता तिर्न सक्ने ऋणीलाई पनि छुट दिनुपर्ने अव्यवहारिक अवस्था सिर्जना भएको बैंकर्सको भनाइ छ ।
राष्ट्र बैंकले वैशाखदेखि असार मसान्तसम्मको व्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिइसकेको छ । राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्ममा ३२ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जामा ३ महिनाको लागि २ प्रतिशत व्याज छुट दिदा मात्रै पनि बैंक तथा वित्तीय संस्थाको १६ अर्ब ६ करोड रुपैयाँभन्दा बढी गुम्नेछ ।
राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दा आफूहरुको आम्दानी गुम्ने र २ वर्षसम्म सेयरधनीलाई लाभांश नै दिन नसकिने अवस्था आउने भएकोले सो विषयमा गभर्नर अधिकारीलाई जानकारी गराइएको बैंकरको भनाइ छ । ऋणको व्याज घटाएपछि त्यसको असर निक्षेपमा पनि पर्ने र निक्षेपको व्याज घट्ने भएकोले त्यसको अर्काे असर पर्ने सक्ने बारेमा पनि बैंकरले गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए ।
यस्तै, उद्योग व्यवसाय थला परेको भन्दै बैंकहरुले व्याज छुट दिनुपर्ने नीतिगत निर्णय आफैमा विरोधाभाषपूर्ण रहेको बैंकरको भनाइ छ ।
‘लकडाउनको कारणले अर्थतन्त्र नै थला परेको छ भने त्यसको असर बैंक वित्तीय संस्थामा पनि परेको छ, बैंक पनि अर्थतन्त्रकै एउटा स्टेकहोल्डर हो, त्यसैले एउटा व्यवसायीलाई असर पर्यो भनेर अर्काे व्यवसायी (बैंक वित्तीय संस्था) लाई राहत देउ भन्नु आफैमा कति व्यवहारिक कुरा हो ?’ अर्काे एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
बैंकरको गुनासो सुनिसकेपछि गभर्नर अधिकारीले निर्णयमा पुनरविचार हुन नसक्ने जानकारी गराएका स्रोतको दाबी छ । राष्ट्र बैंकले अहिले गरेको निर्णय विषयम परिस्थितिमा गरिएको विशेष निर्णय भएकोले यसमा बैंकहरुले सहयोग गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ ।
‘तपाईहरुले भने झै निक्षेपको व्याज पनि घट्न सक्छ, त्यसमा हामीले धेरै केही गर्न सकिने अवस्था हुदैन, अहिले ऋणीलाई २ प्रतिशत छुट दिनु भन्ने निर्णय सरकारको निर्णय हो, यो निर्णय कार्यान्वयन हुन्छ, तपाईंहरुले यसमा सहयोग गर्नुहुनेछ भन्ने मेरो विश्वास छ,’ सो भेटमा गभर्नर अधिकारीले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो ।
सम्बन्धित सामग्री