काठमाडौं । कोरोनाको महामारीसँगै लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेको बेला श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेकोमा दुख व्यक्त गरेका छन् ।
उनले दैनिक ज्याला गरेर उपत्यका लगायत विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी नागरिकको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज ल्याउन आफुले सरकारलाई विशेष ध्यानाकर्षण गराउने जानकारी दिए ।
कोरोनाको कहरसँगै देशका विभिन्न ठाँउबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूरलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् ।