विकासन्युज

सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै, मङ्गलबार ग्वान्जाओ जाँदै दुई बाइडबडी जहाज

काठमाडाैं । नेपाली सेनाले कोभिड-१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार-सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउने जानकारी दिए । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई मार्ग र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिएको जनाइएको छ । चीनमा मजदुर दिवसलगायतका सार्वजनिक बिदा भएकाले मङ्गलबार मात्रै निगमको जहाज पठाउने तयारी भएको हो । ‘हामीले बिदा भए पनि आवश्यक प्रक्रिया मिलाएर सामान ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छौँ’, उनले भने । हवाईमार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल–चीन सिमाना तातोपानी ल्याइनेछ । ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भइ रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टङ्गो लगाएको थियो । सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत आवश्यक रकम चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो । दुई देशबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिएको छ । यस्तै भन्सार जाँच प्रक्रियाका लागि पनि सहज गरिदिन सेनाले चिनियाँ पक्षलाई आग्रह गरेको छ । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल भइरहेको छ । अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । प्रवक्ता पाण्डेले महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा रहे पनि चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने बचनबद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो । व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ । भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरिएको छ । रासस

विकास आयोजनाको निर्माणका लागि ढुवानी पास दिने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाभित्र निर्माणाधीन र निर्माणको चरणमा रहेका महत्वपूर्ण आयोजनाको निर्माण कार्यका लागि ढुवानी गर्न टिपरलाई पास दिने भएको छ । तीन वटै तहका सरकारबाट सञ्चालित महत्वपूर्ण आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन ढुवानी गर्ने टिपरलगायत अन्य सवारी साधनलाई पासको व्यवस्था गर्ने निर्णय भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनका अनुसार सो कार्यका लागि जिल्लाभित्र निर्माण सामग्री ढुवानी गर्ने टिपरलगायत अन्य सवारी साधनलाई सम्बन्धित स्थानीय तहले सवारी पास जारी गर्ने र जिल्ला बाहिर ढुवानी गर्ने ढुवानी साधनलाई सम्बन्धित आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराउने व्यवस्था मिलाएको छ । ‘त्यसरी पास दिँदा बन्दाबन्दीको उल्लङ्घन नहुने गरी सामाजिक दूरी कायम गरेर गर्न व्यवस्था मिलाउने विषयमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ’, प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने, ‘पास दिँदा व्यापारका लागि प्रयोग नहुने गरी गर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।’

योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाको अध्ययन थाल्यो

काठमाडाैं । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरु गरेको छ । आयोगले निर्माणका क्रममा रहेका २१ वटै राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवम् समस्याबारे अध्ययन थालेको हो । पछिल्लो पटक सरकारले ४०० केभी क्षमताको नाङ्लेभारे-बुटवल प्रसारण लाइन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि ती आयोजनाको भने काम शुरु भइसकेको छैन । आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलका अनुसार बिहिबार सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनामा लकडाउनका कारण परेको प्रभावका बारेमा जानकारी लिइएको हो । सरकारले कोरोनाको कारण मुलुकको विकास निर्माणको क्षेत्रमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने जिम्मा समेत आयोगलाई दिएको छ । तत्कालीन प्रभावका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको भएपनि दीर्घकालीन प्रभावका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आयोगलाई जिम्मा दिइएअनुसार नै आफूहरुले श्रव्य दृश्य माध्यमबाट राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारेमा जानकारी लिन थालेको उपाध्यक्ष प्रा डा कडेलको भनाइ छ । उनले सबै आयोजनाको अवस्थाका बारेमा जानकारी लिने र समस्या समाधानमा सहजीकरण गर्ने जानकारी दिए । सरकारले गत चैत २० गते निर्माणका क्रममा रहेका आयोजनालाई आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर काम गर्ने व्यवस्था गरेको छ । लकडाउनका कारण अधिकांश आयोजनामा निर्माण सामग्री र श्रमिकको अभाव रहेको पाइएको छ । उपाध्यक्ष प्रा डा कडेलले बिहिबार सिक्टा र बबई सिँचाइ आयोजनाका आयोजना प्रमुखले निर्माण सामग्री र मजदुरको समस्या रहेको जानकारी गराएको बताए । नियमित रुपमा नै सबै आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने र सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा पहल गर्ने गरी प्रक्रिया थालिएको उनले जानकारी दिए । कूल २१ वटा गौरवका आयोजना मध्ये माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको छ । उपाध्यक्ष प्रा डा कडेलले निर्माणाधिन आयोजनाको रिर्पोट लिएर समस्या देखिएकाको हकमा केही सहजीकरण गर्ने तर्फ सोच बनाइएअनुसार नै जानकारी लिन थालिएको र त्यसले समस्या समाधानका लागि पहल गर्न सहज हुन्छ भन्ने सोच राखिएको बताए । लकडाउनका आयोजना रोकिएको अवस्था नभएपनि केही धिमा गतिमा काम भइरहेको छ । स्थानीय श्रमिकका कारण काम हुन नसक्ने, बाहिरबाट कामदार लैजानुपर्ने, स्थानीय पालिकाले पनि स्वास्थ्य समस्या देखाएर आउन नदिनेजस्ता अवस्था देखिएको छ । श्रमिकको आपूर्तिमा समस्या देखिएको छ । साधन स्रोत तथा निर्माण सामग्री आपूर्ति हुन नसकेको छ । जिल्लाभर सहज रुपमा निर्माण सामग्री उपलब्ध भएपनि एउटा जिल्लाबाट अर्को जिल्लामा लैजान सबैभन्दा बढी समस्या देखिएको छ । निर्माणाधिन आयोजनामा एउटा तहमा काम भइरहेको छ तर अपेक्षित काम भने हुन सकेको छैन । केही आयोजनामा सम्बन्धित मन्त्रालयले नै पहल गरेर पनि काम अगाडि बढाएको छ भने केहीमा सूचना सञ्चारमा रहेको दुविधा तथा ‘ग्याप’ का कारण पनि जटिलता देखिएकाले फुकाउने प्रयास भइरहेको उनले जानकारी दिए । कोभिड-१९ उच्चस्तरीय समन्वय समितिले पनि पटक-पटक आयोजना सहजीकरणका लागि मार्ग प्रशस्त गरेको छ । निर्माणाधिन आयोजनामा काम नरोकियोस् भनेर समितिले निर्माण सामग्री आपूर्तिमा समेत सहजीकरण गरेको छ । आयोजना स्थलमा स्वास्थ्य सामग्रीको व्यवस्था तथा एक एम्बुलेन्स तम्तयारी हालतमा राख्नसमेत समितिले निर्देशन दिइएको थियो । निर्माण सामग्री आयातमा जाने सवारी साधनलाई पनि थप सहजता प्रदान गरिएको छ । चालक तथा सहचालक बाहेक अन्यलाई सवारी साधनमा चढ्न नदिने समेत व्यवस्था गरिएको छ निर्माणको क्रममा रहेको माथिल्लो तामाकोशीको हाल ९९ दशमलव ४ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको समेत चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । यस्तै, भैरहवामा निर्माणाधिन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समेत जारी छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामसमेत जारी छ । त्यस्तै मध्यपहाडी राजमार्ग तथा रेलमार्ग निर्माणको समेत काम लकडाउनको समयमा काम भइरहेको छ । लकडाउनमा समेत आयोजनाको काम निरन्तर अगाडि बढाउने सोचका साथ सरकार लागिपरेको र त्यसलाई आयोगले नियमित रुपमा सहजीकरण गरिरहेको उपाध्यक्ष प्रा डा कडेलले जानकारी दिए । आयोगले राष्ट्रिय गौरवलगायत पहिलो प्राथमिकतामा रहेका आयोजनाको अनुगमन तथा मूल्यांकनसमेत गरिरहेको छ । देखिएका समस्या समाधान गर्ने र आयोजना प्रमुखहरुलाई थप जिम्मेवार बनाउने काममा समेत आयोग क्रियाशिल छ । यस्तै आयोगले कोरोनाका कारण परेको समग्र प्रभावका बारेमा मिहिन अध्ययन गरेर आवश्यक प्रतिवेदन समेत तयार पारी सरकारलाई सुझाव समेत दिने तयारी गरेको छ । रासस

खुट्टाले थिच्दा पानी र साबुन खस्ने धारा, इन्जिनीयर भन्छन्- अब सङ्क्रमण हुने सम्भावना न्युन

काठमाडाैं । कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्दर्भमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका इन्जिनीयरले खुट्टाले चलाउन मिल्ने धाराको विकास गरेका छन् । बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने धारो (फुड अप्रेड ह्याण्ड वास औजार) निर्माण गरिएको छ । प्रोग्रेसिभ इन्जिनीयर एशोसिएसन नेपाल जिल्ला समितिको नेतृत्व र धौलागिरि क्षेत्रका इन्जिनीयरको विशेष सहयोगमा दुईवटा खुट्टाले चलाउने धारा निर्माण गरिएको निर्माणमा सहभागी इन्जिनीयर गौरव शर्माले जानकारी दिए। निर्माण गरिएका खुट्टाले चलाउने धारा धौलागिरि अञ्चल अस्पताल तथा जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धाराबाट कोरोना भाइरसको सङ्ंक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिए । शुरुमा सेनिटाइजर टनेल निर्माण गर्न थाले पनि स्वास्थ्य मन्त्रालयले फूल बडी सेनिटाइजर टनेल स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भनेपछि खुट्टाले सञ्चालन गर्न मिल्ने धारा निर्माण गरिएको इन्जिनीयर थरेन्द्र पौडेलले जानकारी दिए । बढी मानिसको आवतजावत हुने अस्पताल, सरकारी कार्यालयलगायतका स्थानमा खुट्टाले चलाउने धारा उपयोगी हुने उनको भनाइ छ । धारामा दायाँ खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने बायाँ खुट्टाले थिच्दा पानी खस्नेछ । हेर्दा निकै सामान्य लाग्ने उक्त प्रविधियुक्त धारा कोराना भाइरस रोकथामका लागि निकै उपयोगी हुने इन्जिनीयरको दाबी छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि बहु-उपयोगी हुने इन्जिनीयर मनोज शर्माले जानकारी दिए। धौलागिरि अञ्चलका इन्जिनीयरको पहलमा उक्त धारा निर्माण गरिएको हो । उक्त हात धुने औजार बागलुङ बजार श्रीनगरटोलमा रहेको श्री धौलागिरि सिभिल इलेक्ट्रिकल एण्ड मेकानिकल प्रालिमा निर्माण गरिएको हो । एउटा धारा निर्माणका लागि २५ हजार रूपैयाँ मात्र खर्च भएको छ ।

डेढ महिनादेखि हप्ताको ५ लाख खर्च गरेर उद्योगमा मजदुर पालेका छौं, अब नसक्ने भयौं

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न सरकारले देशभर लकडाउन जारी गरेकाे पनि १ महिना ९ दिन भइसक्यो । लकडाउनको प्रभाव दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरुमा बढी परेका छ । ईटा उद्याेगमा काम गर्नेहरू पनि यस्तै अवस्थाका मजदुर हुन् । लकडाउनको कारणले ५० प्रतिशत ईटा उत्पादनमा कमी आउने भएको छ । लकडाउनभन्दा पहिले १२ रुपैंया पर्ने ईटाकाे मूल्य अब १५ रुपयाँ पर्ने भएको छ । लकडाउनको कारणले उत्पादनमा कमी आएकाले मूल्य वृद्धि हुने भएको छ । अघिल्लो वर्षकाे तुलनामा यो वर्ष ईटाकाे मूल्य २५ प्रतिशत वृद्धि हुन्छ । लकडाउनको कारणले कच्चा पदार्थ ल्याउन समस्या परेको छ । मजदुरले काम गर्न पाएका छैनन् । उद्याेग बन्द छन् । सामान्य अवस्थाकाे तुलनामा ५० प्रतिशत उत्पादन कम हुँदा पनि निर्माण कार्यका लागि भने अभाव हुदैन । लकडाउनको कारणले गर्दा अघिल्लो वर्ष जस्तो धेरै भौतिक संरचनाहरु निर्माण हुदैन् । घर बनाउने सोचमा भएकाहरु पनि लकडाउनको कारणले घर निर्माण गर्ने योजनालाई केही वर्ष पछाडी सार्ने छन् । ईटाकाे वार्षिक बजार करिब ४० अर्ब रूपैयाँको छ । प्रतिवर्ष ३ अर्ब वटा ईटा उत्पादन गरेर बजारमा बिक्री हुने गरेको छ । लकडाउनका कारण उद्योगमा दैनिक ज्यालादारी गरि बिहान बेलुकाको छाक टार्नेहरु काम ठप्प हुदाँ न घर जान पाएका छन्, न काम नै गर्न पाएका छन् । देशभर संचालित ईटा उद्योगहरुमा प्रत्यक्ष रुपमा मात्रै झण्डै ३ लाख मजदुरले रोजगारी पाएका थिए । कडाउन सुरु भएपछि उद्योगमा रहेका मजदुरलाई दैनिक खाद्यान्नको व्यवस्था कसरी गर्ने भन्ने सबैभन्दा ठूलाे समस्या परेको छ । सरकारले लकडाउन गरे पनि मजदुर घर जान पाएनन् । उद्योगमा नै रहेक मजदुरहरुलाई १ हप्ताका लागि खाद्यान्नको व्यवास्था गर्न थोरैमा पनि ५ लाख रूपैयाँ लाग्छ । लकडाउनको घोषणाले सवारी साधनसँगै उद्योग बन्द छन् । अहिलेसम्म मजदुरको खाद्यान्नको व्यवस्था उद्योगका संचालकहरुले गरिदिएका छन् ।तर, यसकाे व्यवस्था गर्न पनि उद्याेगीलाई समस्या भएकाे छ । उद्योगमा काम गर्न अन्यत्रै बाट आएकाहरु घर फर्किन पाएका छैनन् । उद्योग बन्द हुदाँ समस्यामा परेका छन् । विशेषगरी महिला, बालबालिकाहरुलाई मध्यनजर गर्दै संचालकहरुले नै सबै व्यवस्था मिलाइदिएका छन् । मजदुरको खानपिनकाे व्यवस्थाकाे लागि सरकारसँग सहयाेग मागिरहेका छाैं । लकडाउनका कारण उद्योगहरु बन्द छन् । उद्योग बन्द भएको कारणले मजदुर काम विहीन भएका छन । उद्योगले उत्पाद गरेको इट्टा बिक्री भएको छैन । आर्थिक कारोबार नभए पछि उद्यागीहरुले मजदुरलाई खान र बस्नको व्यवस्था गर्न समस्या परिरहेकाे त्यसैले सरकारले सहयाेग गर्नुपर्छ भन्ने कुरा हाे । लकडाउनको कारणले विभिन्न उद्योग, कल–कारखाना लगायत विकास निर्माणका क्षेत्रमा मजदुरी गर्न आएकाहरुमध्ये काेही आफै पनि सकसपूर्ण तरिकाले फर्किए । नजिकका जिल्लाका  केहीमजदुरहरुलाई उद्योग आफैले नै सवारीपासको व्यवस्था मिलाएर घर पठाइदिएका छन् । सवारी साधनको खर्च, खाजासहितको व्यवस्था मिलाई पठाइएका थिए । लकडाउनको कारणले विश्वभरको नै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिसकेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन जारी भएको आज १ महिना ९ दिन भइसकेको छ । लकडाउनको प्रभाव ईटा उद्योगलाई पनि उतिकै परिरहेको छ । केही महिना पहिले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले ईटा उद्याेग हटाउन पत्राचार गरेका थिए । वातावरणमा नकारात्मक असर परेकाेले बन्द गर्नु पर्ने स्थानीय सरकारकाे भनाइ थियाे । स्थानीय तहकाे त्याे निर्णयका कारण उद्याेग त्यसैपनि सकसमा थिए । लकडाउनले फेरि समस्या थपिदियाे । स्थानीय तहको पत्रले विभिन्न जिल्लाका केही उद्योगहरु बन्द नै भएका थिए भने केही उद्योगहरुले समस्याको समाधान गरेर सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयपछि लकडाउनको कारणले उद्योगहरु बन्द भएका छन् । ईटा उद्योगहरूले आगामी वर्षको लागि श्रमिकलाई पेशकी र कच्चा पदार्थका लागि पैसा तिरिसकेकोले उद्योग सञ्चालन नहुँदा ठूलो समस्या परेका छन् । एउटा उद्योगमा कम्तिमा पनि २ करोड रूपैयाँ लगानी चाहिन्छ । र, प्रत्येक उद्योगहरुले बैंकबाट कम्तिमा १ करोड रूपैयाँ कर्जा लिएकाे हुन्छन् । उद्योग बन्द हुँदा बैंकको लगानी पनि डुब्ने भएको छ । सरकारले उद्योहरुलाई सहुलिएत कर्जा र पहिलेको बैंकको व्याजमा सहुलिएत दिए सहज हुने थियो । देशभर १२ सय उद्योग छन् । यी उद्याेगमा २५ अर्ब रूपैयाँ लगानी रहेको छ । ती उद्योगहरुमा ३ लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । काठमाडौं उपत्यकामा मात्रै करिब १ सय १० वटा इट्टा उद्योगहरु सञ्चालमा छन् । राजधानीका उद्योगले करिब ४० हजारलाई रोजगारी दिएका छन् । (नेपाल ईटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकारसगँ विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीमा अधारित)

कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा, पाँच लाख ६० हजार जरिवाना

काठमाडाैं । कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई पाँच लाख ६० हजार रूपैयाँ जरिवाना गरिएको बताए । धनगढीको ग्लोबल सर्जिकल हाउसलाई पिपिई र मास्कमा कालोबजारीको गरेको भन्दै दुई लाख रूपैयाँ, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेवापत २०/२० हजार रूपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । अनुगमनका क्रममा पीपीईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत मूल्य वृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिका-६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला ग्यासमा ग्राहकबाट बढी शुल्क लिएर ग्यास सिलिन्डर बिक्री गरेको भन्दै तीन लाख रूपैयाँ जरिवाना गरिएको छ । सो सप्लायर्सले ग्राहकबाट एक हजार ३४० रूपैयाँ पर्ने ग्यास सिलिन्डरको एक हजार ३७५ रूपैयाँ लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख पुनले बताए । रासस

डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई पढाउने, बैशाख २० गतेदेखि क्लास शुरू

काठमाडौं । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गर्ने भएकाे छ । डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा यहि वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ । डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ । यसका साथै विगत ६ महिनाभन्दा बढि समयदेखि विभिन्न कारण बस डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागू हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ । यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ । डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

लकडाउन खुकुलो पार्ने योजना ल्याऊ: समिति

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरसको परीक्षण दायरा विस्तार गर्न पनि निर्देशन दिएको हो । समितिले लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।