विकासन्युज

काेभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिने ५ उत्कृष्ट महिलामा नेपालकी डा. रुना झा

काठमाडौं । कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । उक्त कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिला नेपालकी डा‍. रुना झा पनि पर्न सफल भएकी छिन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा हाल नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् ।

नेकपाको स्थायी समिति बैठक वैशाख २५ गते

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ। राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो  बनाएर सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद चुलिएको थियो। तर पछि गएर  दबाबमा अध्यादेश फिर्ता भए पनि  विवाद भने साम्य भएको थिएन। याेसँगै बरिष्ठ नेता माधवकुमार नेपाल समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए। गत बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली कोरोनाभाइरसको महामारी सकिएर अवस्था सामान्य बनेपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।  

महोत्तरीमा अज्ञात रोगले मर्ने मृतक ११ पुगे

महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले बताए । मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो/होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।” थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो । रासस

नेपाललाई काेराेना जाँच्न जर्मनीले २० हजार थान पिसीआर मेसिन दिँदै

काठमाडौं । जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा तीन हजार थान पिसीआर नेपाल ल्याइएको बताएको छ । यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पिसीआर र अन्य उपकरण स्थलमार्ग हुँदै चीनबाट ल्याइने बताएको छ । आजै तीन हजार थान पिसीआर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले महामारीको वर्तमान अवस्थामा गुणस्तरीय स्वास्थ्य उपकरणबाट सङ्क्रमण भएनभएको परीक्षण गर्नु अपरिहार्य भएकाले सहयोगस्वरुप ती उपकरण उपलब्ध गराइएको बताएका छन् । यसैबीच जर्मनीले कोभिड–१९ प्रतिकार्यमा सघाउन जर्मन विकास सहयोगमार्फत नेपाली– जर्मनी स्वास्थ्य परियोजनाका लागि जर्मनीको आर्थिक सहयोग मन्त्रालयबाट अतिरिक्त लगानी गर्ने जनाएको छ । रासस

कोभिड– १९ रोकथाम: सार्क राष्ट्रमा नेपालको अवस्था राम्रो

काठमाडौं ।नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भूटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम रहेको छ । सार्कका आठ देशमध्ये छ देशमा सङ्क्रमणका कारणले मानिसको निधन भएको छ । माल्दिभ्समा एक जनाको निधन भए पनि कोभिड– १९ को परीक्षणको दायरामा भने नेपाल र भूटान जस्तै बढी नै रहेको छ । नेपालले समयमा नै आफ्नो सिमाना बन्दाबन्दी गर्नु र कोभिड– १९ को परीक्षणको दायरा बढाएकाले रोकथाम र नियन्त्रणमा राम्रो भूमिका निभाएको हो । नेपालले गत चैत ११ गतेदेखि अन्तरराष्ट्रिय सीमा बन्द गर्दै लकडाउन गर्दै आइरहेको छ । अहिलेसम्म भारतमा ८९ प्रतिशत भू–भागमा कोभिड– १९ को सङ्क्रमण देखिएको छ । भारतमा अहिले एक हजार २२३ व्यक्तिले ज्यान गुमाइसकेका छन् । यसैगरी पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोभिड– १९ ले निधन भइसकेको छ । नेपालसहित भूटान र माल्दिभ्समा परीक्षणको दायरा बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना रोकथाममा भूटान र माल्दिभ्सपछि नेपालको स्थिति रहेको उनले बताए । कोरोनाका कारणले एक जनाको निधन भएपछि माल्दिभ्समा परीक्षणको दायरा बढी नै रहेको छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ । यस्तै भूटानमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा गरिएको छ । भूटान र माल्दिभ्स कम जनसङ्ख्या भएकाले १० लाखमा परीक्षणको दायरा बढी देखिएको हो । “जनसङ्ख्याको हिसाबले सबभन्दा बढी परीक्षण नेपालमा रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने, “तर भूटान र माल्दिभ्समा कम जनसङ्ख्या भएकाले १० लाखका हिसाबले परीक्षण गराउनेको सङ्ख्या बढी देखिएको हो, समग्रमा हामीले नै बढी परीक्षण गराएका छौँ ।” नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण गरिएको छ । नेपालपछि श्रीलङ्कामा एक हजार ४७, पाकिस्तानमा ८२५, बङ्गलादेशमा ४२६, अफगानिस्तानमा २७२ जनामा परीक्षण गरिएको छ । दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालमा गत माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालले कोभिड– १९ को परीक्षणको दायरालाई बढाएकाले सार्कका अन्य पाँच देशलाई उछिनेको हो । अहिले नेपालमा १६ स्थानमा पिसिआर र ७७ जिल्लामा आरडिटीबाट परीक्षण गरिएको छ । नेपालमा पिसिआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको छ । विश्वमा अहिले ३२ लाख ३३ हजार १९९ व्यक्ति सङ्क्रमित भएका छन् भने दुई लाख २७ हजार ४८९ जनाको निधन भएको छ । सहप्रवक्ता डा अधिकारीले परीक्षणको दायरा बढाउन पिसिआर मेसिन अझै दुई/तीन ठाउँमा जोडिन थालिएको बताए । नेपालमा काठमाडौँ, धादिङ, उदयपुर, झापा, बारा, पर्सा, सर्लाही, रौतहट, रुपन्देही, चितवन, बागलुङ, कैलाली, कञ्चनपुर, बाँके र भोजपुर गरी १५ जिल्लामा ५९ जनामा कोभिड– १९ को सङ्क्रमण देखिएको छ । तीमध्ये अहिले विराटनगरमा ३१, वीरगञ्जमा आठ, चितवनमा एक, धनगढी एक, नेपालगञ्जमा एक र रुपन्देहीमा एक जनाको उपचार भइरहेको छ । अहिले प्रदेश नं ३, गण्डकी र कर्णाली प्रदेशमा कोभिड– १९ का सक्रिय बिरामी रहेका छैनन् । यहाँ ८१ वर्षीया र ६५ वर्षीया महिला कोभिड– १९ को सङ्क्रमणबाट पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका छन् । मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा खेम कार्कीले सरकारको सक्रियताका कारणले कोभिड– १९ रोकथाम गर्न सकिएको बताए । उनले नेपालमा जटिल बिरामी नदेखिनु, कम्युनिटी ट्रान्समिसन हुन नदिनु र समयमा नै उपचारको व्यवस्था गर्नाका कारणले सार्कका अन्य देशको तुलनामा कोभिड– १९ नियन्त्रण गर्न राम्रो भूमिका निभाएको बताए। रासस

‘कोरोनाले नर्सिङ शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने सिकायो’

काठमाडौं । महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ विश्वकै लागि नयाँ खालको रोग हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको महत्वपूर्ण विधि भएको चिकित्सकको भनाइ छ । विश्वका २१५ भन्दाबढी देशमा फैलिइसकेको उक्त रोग फैलिन नदिन सबैभन्दा महत्वपूर्ण भनेको सामाजिक दूरी काम गर्नु नै हो । सङ्क्रमण फैलिन शुरु गरेपछि भने उपचारविधिलाई प्रभावकारी बनाउनुपर्छ । रोगको उपचारमा अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मी नै हो । स्वास्थ्यकर्मीमा पनि नर्सको भूमिका महत्वपूर्ण हुन्छ । चिकित्सकले स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई रेखदेख गर्ने, स्याहार गर्नेदेखि औषधि पानीको व्यवस्थापन र नियमित अन्य परीक्षणको काम नर्सले नै गर्नुपर्छ । नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्राध्यापक मनकुमारी राई अहिलेको कोरोनाको कहरले नर्सिङ शिक्षालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्छ भन्ने पाठ सिकाएको बताउँछिन् । शुरुआती चरणमा नेपाली नर्समा धेरै समस्या नभएको होइन । उनीहरु अन्यौलमा थिए । तर विस्तारै अभ्यस्त हुँदै नर्सललागयत स्वास्थ्यकर्मीले ठूलो साहसका साथ काम गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको उपचारमा सक्रिय भएर लागेकामा आम स्वास्थ्यकर्मीको प्रशंसासमेत गरेका थिए । कोभिड–१९ कै कारण यस वर्षलाई विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘नर्स तथा स्वास्थ्य स्वयंसेवीका वर्ष’ घोषणा गरेका सन्दर्भमा नर्स र स्वयंसेविकाको भूमिका अझै बढेर गएको छ । “यो बेलाको कोरोना कहरले नर्सिङ शिक्षालाई प्रयोगात्मकरुपमा लैजानुपर्छ, यो अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ”, राईले आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा भनिन्, “अबको स्वास्थ्य शिक्षा कस्तो बनाउने भन्नेमा पनि एउटा मार्गनिर्देश गरेको छ ।” वर्तमान विषम परिस्थितिमा स्वास्थ्यकर्मीले जोखिमका साथ अस्पतालमा काम गरिरहेका छन् । नर्सिङ शिक्षालाई कसरी व्यावहारिक बनाउने भन्नेमा यो पटक केही समस्या देखियो । अध्यक्ष राईले अब जथाभावी संस्था खोलेर उत्पादन मात्रै गर्नुभन्दा गुणस्तर मापनमा ध्यान दिनुपर्ने बताईन् । Caption here (Kalpana Khanal, GPJ Nepal) कोभिड– १९ को शुरुआती चरणमा आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको समेत समस्या देखिएको थियो । कस्तो सामग्री आवश्यक हुने, कस्तो प्रयोग हुने भन्नेमा पनि समस्या आयो । कोरोनाको सङ्क्रमणले स्वास्थ्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने र त्यसको व्यवस्था पहिले नै गर्नुपर्ने कुरासमेत सिकाएको छ । यस विषयमा राईले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकषर्णसमेत गराएकी छिन् । “फ्रन्टलाइमा नर्स, डाक्टर वा जो काम गरिरहनुभएको छ, गाह्रो समयमा खटिरहेकै हो, स्वास्थ्यकर्मीको हिम्मत जुटेकामा सराहना गर्नैपर्छ, उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ”, राईले थपिन् । उनले घर, गृहस्थी हेर्ने र कोरोना सङ्क्रमण भएका बिरामीको स्याहार गर्नुपर्ने दोहोरो काम भएकाले पनि नर्सका लागि विशेष ख्याल गर्नुपर्ने, उनीहरुको स्वास्थ्य जाँच गराउनुपर्ने आवश्यकता औँल्याइन् । अहिले दाताले दिएको पिपिई कस्तो छ । सङ्क्रमण रोक्न सक्छ कि छैन भने र गुणस्तर नाप्ने संयन्त्र आवश्यक भएको उनले बताईन् । समन्वय समूह बनाएर व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता अहिलेको अवस्थाले देखाएको भन्दै उनले सरकारलाई सुझाव दिईन् । नर्स, डाक्टर, सुरक्षाकर्मी, सरसफाइकर्मी सबैलाई उपयुक्त सेवा दिनसके अझै उच्च मनोबलका साथ काम गर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराईन् । उनले कोभिड–१९ रोकथामका लागि सबै क्षेत्रमा काम गर्ने नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसासमेत गरिन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को रोकथाममा नर्स तथा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउँछिन् । रासस

काठमाडौंका हुण्डी कारोवारी पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले नगद रु २४ लाख २१ हजारसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउपर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौँ नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट रु छ लाख २१ हजार र श्रेष्ठको साथबाट रु १८ लाख बरामद भएको हो । उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

पोर्चुगलको फारोमा नेपालीको निधन

काठमाडौं । पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्चुगली एक कम्पनीमा काम गर्दै आएका थिए । लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुगेका थिए । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् । रासस