शुक्रबार एनएमबि बैंकको ५० वटा शाखा खुल्ने, कुन कुन ?
काठमाडौं । आज(शुक्रबार) एनएमबि बैंकको देशभरका ५० वटा शाखा खुल्ने भएका छन् । लकडाउनको ५२औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ । बैंकका अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने छ । लकडाउनको समयमा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिँदै बैंकले आफ्नो बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ । नेपाल सरकार र राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तर्गत बैंकिङ सेवा दिँदै आएको हो । साथै, स्थानीय प्रशासनको निर्देशन अनुसार शाखाहरु खुल्ने दिन र समय फरक हुन सक्ने बैंकले जानकारी गराएको छ । कुन कुन शाखा खुल्छन् ?
मोटरसाइकल चढ्न मानेका थिएनन् सङ्क्रमितले
काठमाडाैं । मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको केन्द्रीय बस ट्रमिनल झरेर पैदलै उनी विमानस्थल अगाडिको बाटो हुँदै कोरोना अस्पतालतर्फ आएका थिए । एकान्त बाटोमा रातको ११ बजेपछिको समयमा उनी एक्लै हिँडिरहेका थिए । सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाइकल रोकेर रातिको समयकहाँ पुग्ने हो लगिदिन्छु भनी आग्रह गरेको उनले अस्पतालका चिकित्सकसँग भनेका छन् । भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आफू भारतबाट आएको र कोरोना परीक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाइकल नचढ्ने भनी जवाफ दिएका थिए । मोटरसाइकल रोक्ने व्यक्ति केही टाढा भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ । पूर्वी नवलपरासीको देवचुली गाउँपालिका-१२ का ४९ वर्षीय ती व्यक्ति वैशाख ३० गते राति ११ः३० बजे भरतपुर कोरोना विशेष अस्पताल आइपुगेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कोलकताबाट हिँडेका थिए । एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईँले जानकारी दिए । त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन् । उनका अनुसार ट्रकमा चालक मात्र छन् । ट्रक काठमाडौँतर्फ गएको अनुमान छ । चापागाईँको भनाइमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन् । ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईँले बताए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालमा यसअघि रहेका दुई कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि हाल अस्पतालमा सङ्क्रमित छैनन् । भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ । उनी कोलकताबाट रक्सौलसम्म तरकारी बोकेको ट्रकमा आएका हुन् । ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जनाएका छन् । डा पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी बोकेकै थियो । सो ट्रक २६२० नंको रहेको पौडेलले बताए । उनले भने, ‘सञ्चारमाध्यममार्फत ट्रक चालक र मोटरसाइकल चालकलाई परीक्षणका लागि आउन सन्देश पुर्याउनुपर्यो ।’ रासस
आज राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, यस्ता छन् प्राथमिकता
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । शुक्रबार अपरान्ह चार बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । कोरोना जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालित भइरहेको बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको सचिवालयको भनाइ छ । राष्ट्रपतिको आवागमनका लागि कुनै विशेष प्रबन्ध गरिएको छैन । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनको कोरोना परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको छ । सरकारले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले पारेको बहुपक्षीय असरलाई केन्द्रित गर्ने बुझिएको छ । नीति कार्यक्रम मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेको छैन । कोरोना जोखिमबाट परेको बहुपक्षीय असरमा नै कार्यक्रम केन्द्रित हुने जनाइएको छ । नीति तथा कार्यक्रम अनुसार सरकारले वार्षिक बजेट पेस गर्नेछ । सरकारले कोरोना जोखिमसँगै स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनाका कार्यक्रमलाई मुख्य रूपमा नीति कार्यक्रममा अघि सार्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गर्ने तयारी पनि सरकारको छ । रोजगारी सिर्जना गर्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने र आधुनिकीकरण गर्ने नीति लिने सरकारको तयारी छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि, सिँचाइ जस्ता क्षेत्रसँग पनि जोडेर रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ । हाल विभिन्न श्रम गन्तव्यमा रहेका नागरिकसमेत फर्कने अवस्थामा रहेकाले सरकारले रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ५८ पुग्यो
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको छ । जो मकवानपुर निवासी ३७ वर्षिय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारले जानकारी दिए । हाल सबै संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ८६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३ हजार ६५ जनाको मृत्यु भइसकेको छ भने १७ लाख १ हजार ९ सय ८५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८६ हजार ८ सय ९५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ५६ हजार २ सय ७२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ भने अहिलेसम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ४९ जना संक्रमित भएका छन् भने ३५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
लुम्बिनी विकास बैंकद्वारा ४ लाखको राहत
चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु चार लाख बराबरको राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु एक लाख ५० हजार र वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे । बैंकका सञ्चालक सिग्देलले पोखरा महानगर (कास्की) बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए । देशका सातै प्रदेशका ६८ शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए । रासस
काठमाडौं दहचोक निवासी ७ वर्षीय बालकमा देखियाे काेराेना
काठमाडौं । काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोक निवासी ७ वर्षीय बालक काेराेना पुष्टि भएको जनाएकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनी संक्रमित भएकाे पुष्टि भएको हाे । याेसँगै काठमाडौंमा हाल काेराेना संक्रमितकाे संख्या ७ रहेकाे छ । बिहीबार दिउँसो मात्र काठमाडौंका २ जनामा काेराेना पुष्टि भएको थियाे ।
सात वर्षीय बालकमा पनि काेराेना, अन्य को हुन ?
काठमाडाैं । नेपालमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयकाे अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु एक काठमाडौं दकचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाको १७ वर्षिय युवति र धादिकी ३० वर्षीय महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।