सरकारले दुईवर्षमा उत्साहमुलक प्रगति गर्याे
काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले सरकारले दुईवर्षमा उत्साहमुलक प्रगति गरेकाे बताएकी छन् । संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले राजनीतिक स्थायित्वमा जोड दिएकी हुन् । उनले सरकार परिपूर्ण लोकतन्त्रतर्फ अघि बढेको पनि बताइन् । “राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि अत्यत्न महत्त्वपूर्ण हुन्छ । राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुन्छ । यसले राजनीतिक दलहरूलाई जनादेशअनुसारको भूमिका खेल्न उत्प्रेरित गर्छ,” उनले सम्बोधनका क्रममा भनिन् । राष्ट्रपतिले सम्बोधनका क्रममा सरकारले दुईवर्षको छोटो अवधिमै उत्साहवर्धक उपलब्धि हालिस गर्न सफल भएको भनिन् । आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । Gepostet von Bikashnews.com am Freitag, 15. Mai 2020
उदयपुरका २५ वर्षिय काेराेना संक्रमित पुरुष निकाे भए
काठमाडौं । काेशी अस्पतालमा उपचाररत उदयपुरका एक काेराेना संक्रमित पुरुष निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकाेटाले उदयपुरका २५ वर्षिय पुरुष निकाे भएकाे जानकारी दिए । उनी संक्रमण भएकाे २७ औं दिनमा निकाे भएकाे उनले बताए । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ३६ पुगेकाे छ ।
केपी ओलीले नरेन्द्र मोदीलाई पछारेको भिडियो निर्माता पक्राउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ठ व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरि भिडियो बनाउने तोरण राज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तोरणराज पौडेलको फेसबुकमा नाम मधु पौडेल रहेको बताइएको छ । सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी बस्ने २२ वर्षका पौडेललाई प्रकाउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरेको र अदालतको उनीमाथि अनुसन्धान गर्नको लागि ५ दिन समय दिएको प्रहरी बरिष्ठ उपरीक्षक एव प्रवक्ता नविन्द्र अर्यालले बताए । उनी माथि विद्युतीय कारोबार ऐन ३०६३ विरुद्ध मुद्दा चलाइन प्रहरी प्रधान कार्यलयको साइवर व्यूरोले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल बनेकाे एक भिडियाेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार मिल्ने गरी दुई जनाबीच रेस्लिङ फाइट भएकाे छ । उक्त भिडियोमा ओलीले मोदीलाई पछारेको र माेदी उठ्न नसकेकाे देखाइएकाे छ । त्यस्तै, भारतमा नै बनेकाे अर्काे भिडियाेमा माेदीकाे बुख्याचा बनाएर ठूलाे भिडमा एक महिलाले जुत्ताले माेदीकाे अनुहारमा प्रहार गरेकाे देखाइएकाे छ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि भारतविरुद्धको आवाज चर्केदै गएको बेलामा ओलीले मोदीलाई पछारेर उठ्न नसक्ने गरी थिचेको सन्देश दिने फोटो मल्टिलेशन बनाएका थिए ।
लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने
लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० शैयाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने केही दिनअघि प्रदेश नं २ सरकारले निर्णय गरेको थियो । सप्तरी र सिरहालगायत प्रदेश नं २ का जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको प्रदेश नं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । प्रदेशका सबै जिल्लामा थप तीन-तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको कानूनमन्त्री यादवले बताउनुभयो । प्रदेश सरकारको निर्णयअनुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीका विषयमा आफूहरुसँग छलफलसमेत गरेको लहान अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताए । टोलीले कोरोना अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधारसहित जनशक्ति छिट्टै पठाउने र तयारी थाल्न निर्देशन दिएको मेसु डा कुशवाहाले बताए । यस्तै सिरहाको लहानस्थित जेएस मुरारका क्याम्पसमा ३०० श्ययाको क्वारेन्टाइन बनाउने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी देश भारतबाट नेपाली फर्किने क्रम बढेकाले क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । कोरोना प्रभावित भारतबाट थुप्रै सङ्ख्यामा नेपाली नेपाल प्रवेश गर्ने तयारीमा रहेकाले अहिले भएका क्वारेन्टाइन अपर्याप्त भएकाले उहाँहरुलाई तत्काल राख्न क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए । रासस
बागलुङमा बैंक आलोपालो खुल्ने, किनमेल साँझ–बिहान
बागलुङ। कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् । २८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बागलुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा उक्त निर्णय भएको हो । बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी प्रबन्ध मिलाइएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए । नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक आइतबार, मङ्गलबार र बिहीबार खुल्नेछ । ग्लोबल आइएमई, एभरेष्ट, सिटजन, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेण्ट, हिमालयन र ज्योति विकास बैंकले आइतबार र बुधबार सेवा प्रवाह गर्नेछ । यस्तै कुमारी, लक्ष्मी, माछापुच्छ्रे, नबिल, नेपाल बांगलादेश, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक सोमबार बिहीबार खुल्नेछ । एनआइसी, एनएमबी, प्राइम कर्मसियल, कृषि विकास, साङ्ग्रिला विकास, नेपाल एसबीआइ र सिद्धार्थ बैंकले मङ्गलबार र शुक्रबार सेवा दिनेछ । सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कारोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर बैंक खोल्ने निर्णय भएको बैंकर्स एशोसिएसनले जनाएको छ । खाद्यान्न पसल बिहान र साँझ मात्र खुल्ने सरोकार भएका पक्षको बैठकले खाद्यान्न, तरकारी र फलफूल पसल पनि निश्चित समयमा मात्र खोल्ने निर्णय गरेको छ । त्यस्ता पसल बिहान ६ देखि १० र साँझ ४ देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय भएको बागलुङ नगरपालिकाले जनाएको छ । दिनभर पसल खोल्दा अनावश्यकरूपमा मानिसको आवतजावात बढेपछि कडाइ गरिएको हो । व्यवसायी तथा उपभोक्तालाई पनि केही समय जिल्लामै उत्पादित तरकारी बेच्न र उपभोग गर्न भनिएको छ । बाहिरबाट हुने खाद्य पदार्थको ढुवानीलाई समेत केही समय रोक्न आग्रह गरिएको छ । सदरमुकामबाट गाउँमा अत्यावश्यक खाद्य पदार्थ ओसार्ने सवारी साधान पनि बिहान, बेलुकाको समयमा मात्र सञ्चालन हुने भएका छन् । स्थानीय प्रशासनले बिहीबारदेखि बन्दाबन्दीलाई थप कडा तुल्याएको छ । जिल्ला बाहिर जाने सबै सवारी अनुमतिपत्र रद्द गरिएको छ । शनिबारदेखि जिल्लाभित्र जारी गरिएको सवारी अनुमतिपत्र पनि खारेज हुने भएको छ । बागलुङ कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । गत चैतमा भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भएपछि थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र निगरानी बढाइएको छ । रासस
कोरोना कोषमा इपानको एक करोड ११ लाख सहयाेग
काठमाडाैं । निजी जलविद्युत आयोजना प्रवद्र्धकको संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको राहत कोषमा एक करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन्। चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेलासमेत दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इपानलाई धन्यवाद दिए। इपानले आफू सम्बद्ध ६६ जना व्यवयासीबाट व्यक्तिगत रुपमा रकम संकलन गरेको जनाएको छ। कार्यक्रममा मन्त्री पुनले हालसम्म कोभिड–१९ विरुद्धको भ्याक्सिन पत्ता नलागेको र वैज्ञानिले समेत अनिश्चितकालसम्म महामारी रहिरहन सक्ने बताएकाले महामारीकै बीच बाँच्न र काम गर्नका लागि अभ्यस्त हुनुपर्ने अवस्था आएको बताए। उनले अनिश्चतकालसम्म बन्द गर्दा अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने देखेर लकडाउनकै बीच सरकारले ठूला विकास निर्माणका आयोजना र उद्योगभन्दा सञ्चालन सहज बनाउने निर्णय गरेको उल्लेख गरे।
सङ्क्रमित साथीसँगै बसेकी नर्सको नतिजा नेगेटिभ
काठमाडाैं । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकामा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको कोठामा गत २९ गते आएर बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना सङ्क्रमण भेटिएपछि नर्सको भक्तपुर अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आए पनि नर्सलाई आगामी एकसाता आइसोलेसनमै राखेर पुनः स्वाब परीक्षणका लागि पठाउने सुपरिटेन्डेन्ट डा गौतमले जानकारी दिए । त्यसपछि पनि रिपोर्ट नेगेटिभ आएपछि मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्नुपर्नेछ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका सात जनालाई क्वारेन्टाइन र तीन जनालाई आइसोलेसनमा राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले गत ३० गते कोभिड-१९ सङ्क्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने सशस्त्र प्रहरी २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने दुई, छिमेकी र हजाम दुई गरी सात जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको जानकारी दिए । सुनसरीबाट आएर मध्यपुरथिमिमा नर्सको कोठासँगैको एक, एम्बुलेन्समा लिन आएका दुई जनालाई आइसोलेसनमा र सुनसरी रामधुनी घरमा १९ र सुनसरीबाट युवतीमा ल्याउने मोटरसाइकल चालकलाई क्वारेन्टाइनमा राखेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । मध्यपुरथिमि नगरपालिकाले शुक्रबार भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आज भक्तपुरका २६ पत्रकारको स्वाब सङ्कलन गरिएको हो । अस्पतालले कोरोना परीक्षणका लागि स्थापना गरेको ‘पोलिमराइज चेन रिएक्सन’ पिसीआर मेसिनसहितको ल्याबमा स्वाब परीक्षण गर्ने मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आवश्यक सम्पूर्ण पूर्वाधार पूरा गरे पनि यो ल्याबमा कोरोना परीक्षणका लागि आधिकारिक स्वीकृति नदिएकामा आपत्ति जनाउँदै उनले अहिलेको जटिल परिस्थितिमा पनि विभिन्न बाहना बनाएर ल्याब सञ्चालनमा आधिकारिक स्वीकृति नदिनु गलत भएको बताए । यद्यपि नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधि र पत्रकारको स्वाब भने सङ्कलन गरेर परीक्षण गरेको छ । गत बुधबार स्वाब सङ्कलन गरेको ७० जना जनप्रतिनिधिको रिपोर्ट नेगेटिभ आएको र आज बाँकी जनप्रतिनिधि स्वाब सङ्कलन गरिने बताए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले जिल्लामा कार्यरत २८ क्रियाशील पत्रकारको स्वाब सङ्कलन गरेको जानकारी दिए । उनले भक्तपुरका पत्रकारका लागि सुरक्षाका सामग्री आवश्यक भएकाले त्यस्ता सामग्री उपलब्ध गराउन सरकारसँग माग गरे । रासस
रावा बैंक र नेपाल बैंकका सेयरधनीलाई सबैभन्दा बढी घाटा, चार्टर्डले बढायो वितरणयोग्य नाफा
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण विस्तार रोक्न जारी गरिएको लकडाउनको कारण सरकारले ऋणीलाई राहत र सहुलियत दिन गरेको नीतिगत निर्णयले प्रायः सबै बाणिज्य बैंकको नाफामा असर देखिएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाहेक सबै बैंकको वितरणयोग्य नाफा घटेको छ । सरकारले चैत ११ गतेदेखि देशव्यापीमा रुपमा गरेका लकडाउनको कारण देखाउँदै ऋणको किस्ता तिर्ने समय असार मसान्तसम्म सार्ने नीतिगत निर्णय गरेको थियो । यस्तै, चैत मसान्तसम्ममा तिर्नुपर्ने किस्ता तिर्ने बुझाउने ऋणीलाई व्याज रकमको १० प्रतिशत छुट दिनुपर्ने (आधारदरभन्दा कम नहुने गरी) निर्देशन नेपाल राष्ट्र बैंकले गरेको थियो । राष्ट्र बैंकको सोही निर्देशनको कारण बैंकहरुको व्याज असुल नभएकोले वितरणयोग्य नाफा घटेको देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकहरुको वितरणयोग्य नाफा घटेको तथ्यांकले देखाएको छ । वितरणयोग्य नाफा बढाउने स्ट्याण्डर्ड चार्टर्ड बैंक मात्रै चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको मात्रै वितरणयोग्य नाफा बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १० करोड ६६ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चाल आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३१ करोड ३५ लाख ३३ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चार्टर्डले २० करोड ६८ लाख ८६ हजार रुपैयाँ वितरणयोग्य नाफा बढाएको छ । ७ बैंकले गुमाए अर्बभन्दा बढी संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ७ वटा बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वितरणयोग्य नाफा १ अर्बभन्दा बढीले गुमाएका छन् । यसरी अर्बभन्दा बढी वितरणयोग्य नाफा गुमाउने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, नेपाल बैंक, सिद्धार्थ, सनराइज, राष्ट्रिय वाणिज्य (रावा) र लक्ष्मी बैंक छन् । अर्बभन्दा बढी वितरणयोग्य नाफा गुमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २५ करोड २७ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । रावा बैंकले गत आवको चैत मसान्तमा ३ अर्ब ४१ करोड ९ लाख २ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा रावा बैंकको वितरणयोग्य नाफा १ अर्ब १५ करोड ८१ लाख ६ हजार रुपैयाँ मात्रै छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १९ करोड ४ लाख ९३ हजार रुपैयाँ विगतरणयोग्य नाफा गुमाएको छ । इन्भेष्टमेन्ट बैंकले गत आवको चैत मसान्तसम्मा १ अर्ब ४३ करोड ७६ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । तर, सो बैंकले चालु आवको चैत मसान्तसम्ममा २४ करोड ७१ लाख ५४ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले १ अर्ब रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा गुमाउनेमा नेपाल एसबीआई बैंक पनि परेको छ । एसबीआईले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १ अर्ब ७ करोड ३९ लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । एसबीआईले गत आवसको चैत मसान्तसम्ममा १ अर्ब १७ करोड ८३ लाख ७६ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा चालु आवको सोही अवधिमा १० करोड ४३ लाख ९२ हजार रुपैयाँ मात्रै गरेको छ । नेपाल बैंकले १ अर्ब ६८ करोड ३६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । नेपाल बैंकले गत आवको चैत मसान्तसम्ममा १ अर्ब ६२ करोड १६ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ६ करोड १९ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा छ । सिद्धार्थ बैंकले पनि १ अर्ब ४ करोड ८६ लाख ८ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको छ । सो बैंकले गत आवको चैत मसान्तसम्ममा ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेकोमा चालु आवको सोही अवधिमा १५ करोड ३२ लाख ११ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । सनराइज बैंकको वितरणयोग्य नाफा पनि गत आवको चैत मसान्तको तुलनामा १ अर्ब ८ करोड ८९ लाख ४६ हजार रुपैयाँ घटेको छ । गत आवको चैत मसान्तसम्ममा ९१ करोड ३४ लाख २५ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको सनराइजले चालु आवको सोही अवधिमा १७ करोड ५५ लाख २१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यस्तै, अर्बभन्दा बढी वितरणयोग्य नाफा गुमाउनेमा लक्ष्मी बैंक पनि छ । लक्ष्यी बैंकले गत आवको सोही अवधिको तुलनामा चालु आवको चैत मसान्तसम्ममा १ अर्ब ११ करोड ५६ लाख ४२ हजार रुपैयाँ वितरणयोग्य नाफा गुमाएको हो । लक्ष्मीले गत आवको चैत मसान्तसम्ममा ७० करोड ५५ लाख ३५ हजार रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो भने चालु आवको सोही अवधिमा ४१ करोड १ लाख ७ हजार रुपैयाँ वितरणयोग्य नाफामा नोक्सानी व्यहोरेको छ ।