सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । उनले उनीहरु बन्दाबन्दी (लकडाउन) को समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म पिसिआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ मा गरिएको छ । यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्नेभएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा कार्कीले जानकारी दिए । अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् । देशभरिका विभिन्न स्थानमा ५३ हजार ८३५ क्वारेन्टाइन वेड रहेका छन् । रासस
पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडाैं । सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बिहीबार (आज) उक्त भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआर दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ ।’ अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो । साथै, आदेशमा महामारी नियन्त्रणमा सरकारले गरेका कामहरुका बारेमा १५ दिनभित्र लिखित जवाफ दिनसमेत भनिएको छ । रासस
महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने छः प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन् । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने संकल्पमा युवाको रचनात्मक सहभागिता हुने आशा व्यक्त गरेका छन् । तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका संस्थापक अध्यक्ष ओलीले युवाले देशभक्ति, समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवनसहितको आत्मनिर्भरताबाट राष्ट्र निर्माणमा योगदान हुने अपेक्षा पनि गरेका छन् । कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा सरकार रहेको बताउँदै सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ,“अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौँ ।” विसं २०२२ जेठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र २०४७ साल जेठ १ गते तत्कालीन प्ररायुसङ्घ स्थापना भएको थियो ।
धनगढी उप–महानगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
काठमाडौं । कैलालीकाे धनगढी उप–महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उप–महानगरपालिकामा आज दिउँसो छापा हानेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो। धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो। ठेक्कामा मिलोमतो भएको आशंका गरिएको छ। सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए। बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको छ ।
बीमा दिवसः चेतना अभिबृद्धि नै मूल समस्या
काठमाडौं । विभिन्न किसिमका जोखिमको आर्थिक रक्षावरण गर्न बीमाले मद्धत गर्छ । पछिल्ला केही वर्षयता बीमाको दायरा र पहुँचमा बृद्धि भएपनि बीमा सम्बन्धि चेतनाको कमी नै मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन् । बीमा सम्बन्धी पर्याप्त जानकारी नहुँदा अभिकर्ताले प्रभावकारी काम गर्न नसकेको, बिमितले पनि कस्तो जोखिमको रक्षावरण अतिआवश्यक हो भन्ने जानकारी नहुँदा अनावश्यक जोखिमको रक्षावरण गराउने तर आवश्यक पर्ने जोखिमको रक्षावरण नगराउँदा समस्या उत्पन्न भएको छ । बिमितले बीमा शुल्क कम गर्न गराउन मात्रै ध्यान दिने र अभिकर्ताले पनि बीमा गराउने वित्तिकै आफ्नो दायित्व पूरा हुने सोच पाल्ने गरेका कारण दाबी भुक्तानीमा समस्या आउने र त्यसले बीमाप्रति नै नकारात्मक धारणा बढ्दै जाने जोखिम छ । बीमा विज्ञ भोजराज शर्मा बीमा बारे ज्ञान कम भएको स्वीकार गर्छन् । पछिल्ला केही वर्षयता बीमा बारे जानकारी बढेको भएपनि त्यस्तो जानकारी वा ज्ञान अझै पर्याप्त नभएको शर्माको भनाइ छ । ‘पछिल्लो समय बीमाको प्रचार–प्रसार पनि राम्रोसँग भएको छ, सर्वसाधारणमा पनि बीमाबारे जानकारी प्राप्त भएको छ, तर यो अझै पर्याप्त छैन, बीमा ज्ञान र जानकारीका विषयमा थप मेहेनत गर्दै जानुपर्ने आवश्यकता छ,’ बीमा विज्ञ शर्माले भने । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमाको मुख्य कुरा भनेको दाबी भुक्तानी हो भन्छन् । बीमा गरेपछि त्यसको क्षतिमा जति सक्दो चाडो दाबी भुक्तानी दिए मात्रै बीमाप्रति सर्वसाधारणको विश्वास बढ्ने उनको भनाइ छ । ‘बीमा सम्बन्धी जानकारी प्राप्त गर्न अहिले खासै कठिन छैन, विभिन्न माध्यमबाट यससम्बन्धी ज्ञान लिन सकिन्छ, तर दाबी भुक्तानी चाडै दिन सक्दा सर्वसाधारणमा यसको महत्व अनुभूत हुन्छ,’ पौडेलले भने । जीवन बिमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे पनि बीमा सम्बन्धी जानकारी अझै प्रवाह गर्नुपर्ने बताउँछन् । बीमा सम्बन्धी सामान्य जानकारी पाउन समस्या नभएपनि यसका विभिन्न आयामबारे सन्देश र जानकारी प्रवाह गरिरहनुको विकल्प नभएको अध्यक्ष पाण्डेको भनाइ छ । ‘बीमा क्षेत्रमा धेरै कम्पनी आएकाले प्रतिस्पर्धा बढेको छ, प्रतिस्पर्धाले यससम्बन्धी जानकारी र सन्देश प्रवाहमा पनि बृद्धि गरेको छ, तर यसका अन्य प्राविधिक र व्यवहारिक जानकारी प्रवाहलाई अझै जोड दिनुको विकल्प छैन,’ अध्यक्ष पाण्डेले भने । नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा ज्ञानको कमी रहेको स्वीकार गर्छन् । बीमा सम्बन्धी जानकारी र सन्देशहरु निरन्तर प्रवाह गरिरहेको अवस्थामा आवश्यक पर्नेहरुले बीमा गराउने अवस्था आउने अध्यक्ष पाण्डेले बताए । ‘केही हदसम्म सबै जनालाई बीमा बुझाउँन नसकेको कुरा सही पनि हो, अहिलेसम्म धेरै धन वा पैसा हुनेले मात्रै गर्ने विषय हो भने बीमाप्रति बेग्लै प्रकारको धारणा रहेको पाइन्छ, तर बीमा सबैको लागि हो भन्ने सन्देश प्रवाहलाई निरन्तरता दिनुपर्छ, जस्तो कि कृषि तथा पशुबाली बीमामा निरन्तरको प्रयासपछि धेरै किसान यो कार्यक्रममा समेटिएका छन्,’ अध्यक्ष पाण्डेले भने । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी पनि अभिकर्ताले अभिकर्ताको जोडबलमै बीमा भएको तथ्य पेश गर्छन् । बीमा आवश्यक हो, त्यसैले गर्नै पर्छ भन्ने मान्यताले भन्दा पनि अभिकर्ताको जोडबलका कारण बीमा हुने गरेको उनको भनाइ छ । ‘बीमाको आवश्यकता महशुस गरेर भन्दापनि जवर्जस्ती बीमा गराउँने काम पनि भइरहेका छन्, बीमा बुझेर आवश्यकता महसुस गरी बीमा गराउने भन्दा पनि अभिकर्ताको जोडबलले बीमा गराउनेको संख्या बढी जस्तो देखिन्छ,’ अध्यक्ष तिवारीले भने । भोजराज शर्मा, बीमा विज्ञ बीमा शिक्षामा वृद्धी आएको छ । अभिकर्ताहरुले प्रोडक्टको विषयमा सबैलाई जानकारी दिने क्रममा बीमाबारे आफूले जानेको कुरा भन्नैपर्ने हुन्छ । कुनै प्रोडक्ट लिएर बिमित कहाँ जादा अभिकर्ताले सकेसम्म त बीमाका बारेमा सकारात्मक सन्देश नै दिने गर्छन् । त्यस्तै, कहिकतै नचाहिँदा कुरा समेत अभिकर्ताहरुले भनेका हुन सक्छन् । जनतामा अहिले बीमा चेतनाको लहर आएको छ । कुनै विशेष प्रोडक्टको बारेमा थाहा नहुन सक्छ । तर, अहिले लकडाउनको अवस्थामा कोरोना बीमा पोलिसी २ हजार बिक्री भइसकेको छ । यसले पनि बीमा ज्ञान बृद्धि हुदै गएको पुष्टी हुन्छ । पूर्ण रुपमा बीमा चेतना छाइसकेको छैन । तर अहिले अनलाईन मार्फत बीमा गर्न सकिने भइसकेकोले यसको दायरा फराकिलो बनाउन पनि मद्दत मिलेको छ । हरेक क्षेत्रलाई समेट्ने भएकोले बीमालाई सबैले सुरक्षणका लागि आवश्यकता महसुश गरिसकेका छन् । यस्तै, जीवन बीमाको तुलनामा निर्जीवन बीमा अभिकर्ताहरुले बिमितको घर घरमा पुग्नु आवश्यक छ । निर्जीवन बीमा व्यवसाय धेरै जसो उद्योग कलकारखानामा सिमिति रहेको जस्तो पनि देखिन्छ । विगतको एक, दुई वर्षको चेतनाको स्तर हेर्दा क्रमिक मात्र होइन अब दु्रत गतीमा बीमा चेतनाको विकास हुने देखिन्छ । राजुरमण पौडेल, कार्यकारी निर्देशक बीमा समिति बीमाको मुख्य कुरा भनेको बीमा गरेपछि त्यसको क्षतिमा जति सक्दो चाडो दाबी भुक्तानी दिन सक्नुपर्छ । यसरी दाबी भुक्तानी चाडै दिन सक्दा छिट्टै मानिसहरुलाई बीमाको महत्व थाहा पाउँन मद्दत गर्छ । जीवन बीमामा बचत तथा रक्षावरण दुवै हुने गर्छ । थोरै पैसा तिर्दा उच्च जोखिमको रक्षावरण हुन्छ । कतिपय अवस्थामा व्यक्तिहरुले बीमा नबुझेको हुन सक्छन् । अर्को भनेको बीमा क्षेत्रका सरोकारवालाहरुले पनि कहीकतै बुझाउँन आवश्यक छ । भुकम्पपछि दाबी भुक्तानी पाउँदा सबैलाई बीमा आवश्यक हो भन्ने लागेको थियो । त्यस्तै, राज्यले पनि राष्ट्रिय सम्पत्तीहरुलाई बीमाको दायरामा ल्याउँनु आवश्यक देखिन्छ । शिवनाथ पाण्डे, जीवन बीमक संघका अध्यक्ष तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीमा क्षेत्रमा धेरै कम्पनी आएकाले प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धा बढेसँगै बीमा जानकारी तथा ज्ञान बढेको छ । बीमा भनेको प्राविधिक विषय पनि हो । प्राविधिक विषय भएकोले अण्डर राईटीङ जस्ता विषयमा अभिकर्ताहरुले राम्रो जानकारी पाउँन नसकेको अवस्था पनि हुन सक्छ । बीमा ज्ञानको कमी भएकै कारण बीमा क्षेत्रलाई अघि बढ्उन केही समस्या भएको हुन सक्छ । तर सबैतिर नराम्रो भएको छैन । कहिलेकाही कहिकतै बीमा बजारमा कहिले काही जबरजस्ती बीमा बेच्ने गरेको पाइएमा अभिकर्तालाई राम्रो तालिम दिन आवश्यक छ । अर्को भनेको जीवन बिमक संघबाट छलफल गरेर हामीले यस्ता समस्याका तत्काल समाधान निकाल्न सक्छौँ । तरपनि कहिकतै आएका घटनामा सबैलाई मुछ्नु भन्दा त्यसबाट पाठ सिकेर अगाडी बढ्नु पर्छ । दीपप्रकाश पाण्डे, नेपाल बिमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत केही हदसम्म सबै जनालाई बीमा बुझाउँन नसकेको कुरा सही पनि हो । अहिले हाम्रोमा आर्थिक रुपमा सबल भएकाहरुले नै बीमा गर्दा आएको पाइन्छ । हो, बीमा गर्नको लागि बीमाशुल्क तिर्न सक्ने क्षमता चाहिन्छ पनि । तर बीमा सबैको लागि आवश्यक छ भन्ने कुरा बुझाउन आवश्यक छ । पहिले कृषि बीमामा त्यति आर्कषण थिएन । सरकारले कृषि बीमामा अनुदान दिन थालेपछि आकर्षण बढेको छ । भुकम्पको बेलामा त बाहिरबाट पैसा आयो । त्यति बेला बीमा गर्नेहरुलाई पनि सहज नै भयो । तर, अहिलेको अवस्था भनेको सबै देशलाई एक किसिमको संकट छ । सोही कारण हाम्रो सरकारले पनि बीमा गराउँने वातावरण सिर्जना गर्ने कुरा सोच्न जरुरी छ । तीन लाख रुपैयाँ बराबरको घर बीमा गर्न वार्षिक ४ सय रुपैयाँ जति गर्छ । यो कुरा ३ लाखको घर हुनेलाई थाहा नहुन सक्छ । सरकारले यस्ता कुरामा सघाएमा राम्रो हुन्छ । आजको दिनमा बीमा बुझ्नेले पनि गरेका छैनन् । त्यसमा आर्थिक पाटो एक ठाउँमा छ । अर्को भनेको पहिले दाबी भुक्तानीमा केही ढिलाई हुने भएकाले बीमा बजारलाई त्यसरी नै हेर्ने पनि छन् । तर, अहिले बीमा कम्पनीहरु सचेत भइसकेका छन् । फोन, भिडीयोले गर्दा अहिले कम्पनीको वित्तीय विवरण हेरेर बीमा गर्न मिल्ने समय आइसकेको छ । न्यून आय भएकालाई केही राहत दिएर बीमा क्षेत्रमा समावेश गराउँन सकिन्छ । मुख्य कुरा भनेको बीमा गराउँने बानी बसाउँनुु पनि हो । सरकारले अनुदान दिएमा बीमा क्षेत्रमा राम्रो हुने देखिन्छ । जुम्ला जस्तो ठाउँमा हामीले वार्षिक ३ करोडको बीमा गछौँ । यसमा बीमा सम्बन्धि जानकारी तथा सरकारले अनुदान दिएर सम्भव भएको हो । अबको बीमा बजार भनेको सबैले आफूूले हाँसिल गरेको जानकारी अरुलाई समेत दिएर अघि बढ्नु पर्ने बेला आएको छ । नन्दप्रसाद तिवारी, पेशागत अभिकर्ता संघका अध्यक्ष बीमाको आवश्यकता महशुस गरेर भन्दापनि जबर्जस्ती बीमा गराउँने काम पनि भइरहेका छन् । धेरैे जसो अवस्थामा बीमा गर्नेले बीमालाई राम्रैसँग बुझेका पनि पाइन्छ । तर, जबर्जस्ती बीमा भिडाउने परिपाटीलाई पूर्णरुपमा निस्तेज पार्न आवश्यक छ । यस्ता क्रियाकलापले बीमाको महत्व ओझेलमा पर्छ । बीमा अभिकर्तालाई दिइने तालिम बीमा कम्पनीले होइन, बीमा समितिले दिन आवश्यक छ । कम्पनीहरुले अभिकर्तालाई तालिम दिदा आफ्ना प्रोडक्टमा मात्रै फोकस भएको पाइन्छ । डबल बोनस पाउँनु हुन्छ भन्ने लोभ बिमितलाई देखाएर बीमा गर्ने होइन । अभिकर्ताहरुले कुनै बीमा कम्पनीले दिएको निर्देशन अनुसार काम गर्ने हो । तरपनि कहीकतै कुनै अभिकर्ताहरुले गर्ने गल्तीलाई लिएर सबैलाई उस्तै मान्ने गरिन्छ । त्यसरी सबैलाई मुछ्नु राम्रो कुरा होइन । बिमितको आवश्यकता अनुसारको बीमा अभिकर्ताहरुले गराई दिएमा बीमाको पहुँच वृद्धीमा सघाउ पुग्ने थियो ।
उत्तरपूर्वी नाकाबाट काठमाडाैं छिर्न प्रतिवन्ध
काठमाडाैं । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा हुने गरेको छ । यो मार्गबाट सवारी लिएर जान पूर्वाधार नभए पनि पैदल हिँड्ने मानिस हुन्छन् । नगर प्रमुख उद्धवप्रसाद खरेल सो नाकाबाट आउन निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले नै कडाइ गरेको जानकारी दिए । सो नाकाबाट भन्दा रातारात तराईबाट आउनेका कारण नगरवासीमा त्रास फैलिएको उनले बताए । “हिजो रातिमात्र लहानबाट बिरामी आएपछि स्थानीयवासीमा त्रास फैलियो, क्वारेन्टाइनमा व्यवस्थितरुपमा राख्ने व्यवस्थासमेत नभएकाले घरमै बस्न भनिएको छ, तीन दिनबीचमा तराईबाट रातारात आउनेको सङ्ख्या नगरपालिकामा १०० पुगिसकेको छ”, उनले भने । गोकर्णेश्वरबाट पनि निकुञ्जकै बाटो हुँदै सिन्धुपाल्चोक र नुवाकोट जाने बाटो छ । गोकर्णेश्वरबाट भने दुवै जिल्ला जाने सडकसमेत रहेकाले नेपाली सेनाले नै आवतजावतमा कडा गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । नगरपालिकाको वडा नं १ स्थित निकुञ्जभित्रको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्तीका मानिसलाई पास दिएरमात्र आवतजावतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । बाहिर जिल्लाबाट आउनेलाई भने स्थानीय युवाले नै प्रवेश निषेध गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको निकुञ्ज क्षेत्रबाट पनि दुवै जिल्लाका मानिस हिँडेर आउन सक्ने बाटो छ । यो बाटोमा पनि सेनाले नै कडाइ गर्न लागेको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक छिर्ने दुई नाका भएको शङ्खरापुर नगरपालिकाले दुवैतिर कडाइ गरेको छ । नगरपालिकाको वडा नं ३ जहरसिंह पौवामा आज बिहानैदेखि युवा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले संयुक्तरुपमा हिँडेर आउने मानिसलाई रोक लगाएका छन् । वडाध्यक्ष सन्तबहादुर वाइवा स्वतःस्फूर्तरुपमा स्थानीय युवा सक्रिय भएर जनप्रतिनिधिको दबाबमा समेत मानिस छिर्न नदिने भनी निगरानी गरिरहेको बताउँछन् । स्थानीय युवाले जहरसिंहबाट साँखु झर्न वडा नं १, २ र ३ का मानिसलाई समेत प्रतिबन्ध लगाएका छन् । यसैगरी नगरपालिकाको वडा नं ५ को कात्तिक नाकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक छिर्न प्रतिबन्ध लगाइएको अध्यक्ष शेरगम्भीर थापाले बताए । दिउँसो स्थानीयवासी युवाको सक्रियतामा रोकिए पनि राति हिँड्नेका कारण समस्या आएको उनले सुनाए । उपत्यका बाहिरबाट भित्रिएका तीनजनामा मङ्गलबार कोरोना भेटिएपछि आजदेखि सबै नाकामा कडाइ गरिएको छ । रासस
‘कात्तिकसम्म निर्माण आयोजना सञ्चालन गर्न नसकिने’
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण अघि बढाउन नसकिने जनाएको छ । महासङ्घ स्थायी समितिको बिहीबारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालले कोरोना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण आयोजना सञ्चालन गर्न नसकिने बताएका हुन् । महासङ्घले २०७६ चैत्रदेखि २०७७ कात्तिकसम्म निर्माण हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ । व्यवसायीले बन्दाबन्दीको असहज परिस्थितिबीच पनि केही निर्माणस्थलमा सीमित जनशक्ति, निर्माण सामग्री र उपकरण पुर्याएको महासङ्घले जनाएको छ । थप जनशक्ति र उपकरण पुर्याउने तयारीमा रहेको अवस्थामा असहज आवागमनका कारण आयोजनाका निर्माणले निरन्तरता पाउन नसक्ने महासङ्घले बताएकाे छ । जटिल परिस्थितिबीच त्यस्ता आयोजनालाई निरन्तरता दिएमा पनि आयोजनाको लागत अत्यधिक थप हुन गई साविकको लागतमा कार्य सम्पन्न गर्न नसकिने देखिएको हुँदा थप लागत समावेश गर्न र ती आयोजनाको काम हुन नसकेको अवधिको ओभरहेड स्वतः समावेश गरिदिने व्यवस्थाका लागि पनि महासङ्घले अनुरोध गरेको छ । विकास निर्माणका कामको निरन्तरताका लागि राज्यका संयन्त्रबीच स्पष्ट र प्रभावकारी समन्वय सहित स्पष्ट नीति निर्देशन जरुरी रहेको महासङ्घको ठहर छ । एकातिर केही सार्वजनिक निकायले बन्दाबन्दी कायमै रहेको समयमा निर्माण व्यवसायीलाई कामको निरन्तरताका लागि पत्राचार गर्ने गरेको तर गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सवारी पास रद्द गरिसकेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको महामारी फैलिएसँगै श्रमिक, प्राविधिक र अन्य जनशक्ति आ-आफ्नो घरतर्फ गई खेतीपातीको काममा व्यस्त भैसकेका र दशैं तिहार, छठ चाडपर्व अगाडिसम्म श्रमिक काममा फर्कन नसक्ने महासङ्घ महासचिव दाहालले बताए । निर्माण सामग्री सप्लायर्स बन्द हुने, नेपालमा प्रयोग हुने अधिकांश निर्माण समाग्री (ढुङ्गागिट्टी, बालुवा, सिमेन्ट बाहेक) का कच्चा पदार्थ भारत, चीन लगायतका अन्य देशबाट आयात हुने गरेको हुँदा आयात गर्ने उपयुक्त वातावरण नबनेसम्म विकास निर्माणका काम गर्न नसकिने पनि महासङ्घको भनाइ छ । अहिलेको विषम परिस्थितिमा अति आवश्यक सेवा तथा कोभिड-१९ को नियन्त्रण तथा रोकथामसँग सम्बन्धित पुर्वाधार निर्माणका काम बाहेक विकास निर्माणसँग सम्बन्धित सम्पूर्ण कामको निरन्तरता दिन नसकिने हुँदा सोही बमोजिम नेपाल सरकारबाट आवश्यक स्पष्ट नीतिगत निर्णयका लागि महासङ्घले अनुरोध गरेको छ । रासस
धादिङ सील: नाकामा सुरक्षाकर्मी परिचालन
धादिङ। कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको निगरानी बढाइएको छ । खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिँदा स्थानीयवासीमा सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सवारी साधन रोक्न निषेध गरिएको उनले बताए । जिल्लालाई सबै नाकाबाट भित्रिनेहरुलाई आउन बन्द गरी कोरोनाको जोखिम हुन नदिन जिल्लालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए । जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा यही जेठ ५ गतेसम्मलाई सिल गरिएको छ । त्यसपछि अवस्था हेरेर अघि बढ्ने योजना छ । राजमार्गमा कडाइ गर्न थालेपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएको छ । यसअघि दिइएको सवारी पास खारेज गरिएको छ । यसका कारण सवारी आवागमन घटेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताए । वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यातायातका साधनले राजमार्ग नै भरिएको थियो । सरकारले अहिले एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्नसमेत रोक लगाएका कारण सवारी साधन जिल्लाभित्र मात्र गुड्ने भएपछि केही अत्यावश्यक सवारी मात्र सञ्चालनमा रहेको छ । अन्य जिल्लाबाट धादिङ प्रवेश गर्न पुरानो सवारी पास लिएर आउनेलाई नाकाबाट फर्काइएको छ । काठमाडौँ जानका लागि अतिआवश्यक सामान लिएर धादिङको बाटो प्रयोग गर्नेलाई सवारी साधन रोक्न निषेध गरिएको छ । नियमित प्रहरीको गस्ती गरिरहेको छ । सीतापाइला जीवनपुर सडकको छत्रेदेउराली, गल्छी, आरुघाट, बुङकोटघाट, बेनीघाटलगायतका नाकामा समेत निगरानी गरिएको छ । हिँडेर आउनेलाई समेत जाँच गरिएको छ भने कुनै शङ्कास्पद कोरोनाको लक्षण देखिएमा आरडिटीबाट जाँच गरिने योजना गरेको छ । अन्य जिल्लाबाट आउनुपर्नेलाई क्वारेनटाइनमा राखेर मात्र पछि घर पठाइने प्रहरीले स्थानीय सरकारलाई सहयोग गर्ने नीति बनाइएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाइ छ । जिल्ला बाहिरबाट तरकारी र फलफूल ढुवानी प्रतिबन्ध गरिएको छ । सबै सामग्री जिल्लाकै भएकाले बाहिरबाट ल्याउन नपाइने भएको हो । कोरोनाको जोखिम बढ्ने भएकाले बाहिरबाट सामान नल्याउने, पाँच महिनाका लागि चामलसमेत मौज्दात भएकाले धादिङ जिल्ला सुरक्षित गर्न सकिने अवस्थामा रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । रासस