विकासन्युज

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

काठमाडौं । अन्त्यत जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि गृह मन्त्रालयले खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एउटै जिल्लाभित्रका लागि जारि गरेको सवारी पास पनि खारेज गर्ने निर्णय गरेको हो । बिहीबार गृहमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जिल्ला भित्रका पास खारेज गरेको जानकारी दिए । उनले भने शनिबारबाट लागू हुने गरि पास खारेज गर्ने निर्णय भएको हो । यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय हो । एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सक/नर्स/फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन/ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ। तर यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।

जाे काेहीलाई काठमाडौंमा ‘नो इन्ट्री’, आउनै परे आरडीटी टेष्ट गर्नुपर्ने

काठमाडौं । सरकारले अब काठमाडौं आउनेहरुमाथि कडाई गर्ने भएको छ । अब र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणविना कसैलाई पनि राजधानी प्रवेश गर्न नदिने भएको हो । गृहमन्त्रालयमा बिहीवार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सबै नाकाबाट काठमाडौं प्रवेश गर्नेहरूको अनिवार्य आरडीटी परीक्षण गर्ने निर्णय गरेको बताइएको छ । बाहिरी जिल्लीबाट राजधानी भित्रिएकाहरूमा कोरोना पोजेटिभ पाइन थालेपछि सरकारले त्यसमा कडाइ गर्नुका साथै अत्यावश्यक कामले राजधानी प्रवेश गर्नेहरूको परीक्षण गर्ने निर्णय गरेको हो । यसका साथै राहत वितरणलाई पनि व्यवस्थित बनाउने निर्णय बैठकले गरेको छ । पछिल्लो समय राजधानीमा लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि सरकारले यस्तो निर्णय गरेको हो । यस्तै, गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

बीमा गर्ने घरधनीलाई बेनिफिट दिऊँ, सबैलाई फाइदा हुन्छ-दीपप्रकाश पाण्डे

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा क्षेत्रकै केन्द्रविन्दुमा छन् । उनले नेतृत्व गरेको कम्पनी शिखर इन्स्योरेन्स निर्जीवनतर्फ धेरै सूचकाङ्कमा सबैभन्दा अगाडि छ । जहिले पनि बजारमा आक्रामक रुपमा प्रस्तुत हुनु, सिर्जनात्मक कार्यमा लगानी गर्नु, नियामकसँग नजिक बसेर काम गर्नु उनको व्यक्तिगत खुबी र विशेषता हो । कोरोना भाइरस बीमा गराउने क्रममा पनि उनको कम्पनी अगाडि देखिएको छ । प्रस्तुत छः कोरोना महामारी र बीमा क्षेत्रमा परेको असरबारे केन्द्रीत भएर बीमक संघका अध्यक्ष पाण्डेसँग गरिएको विकास वहस । कोरोना महामारीको असर निर्जीवन बीमा क्षेत्रमा कस्तो पर्दैछ ? यो वर्ष साढे ८ महिना अवस्था सामान्य थियो । सबैको विजनेशन नर्मल थियो । २ महिनाअघिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ । अनिश्चितता बढेको छ । लकडाउन कहिलेसम्म जान्छ, महामारीले कुन रुप लिन्छ, अनुमान गर्न पनि नसकिने परिस्थिति छ । आज ठिक लागेको कुरा भोलि ठिक नलाग्न सक्ने अवस्था छ । बीमा क्षेत्रको कुरा गर्ने हो भने अहिले धेरै सेवाहरु इन्टरनेटको माध्यमबाट भईरहेको छ । बीमा समितिले पनि इमेलबाट गरिएको सञ्चारलाई मान्यता दिने भनेको छ । अवस्था सामान्य भएपछि प्रिन्टेट डकुमेन्ट बन्छन् । बीमा पोलिसी नविकरण गर्ने, नो क्लेम दावी गर्ने लगायतको सेवा अवधि थपिदिएको छ । व्यक्तिगत रुपमा मलाई के लाग्छ भने यतिबेला सबैलाई राहात चाहिएको छ । ठूलालाई ठूलै राहात चाहिएको होला, सानालाई सानै राहात चाहिएको होला । बीमा कम्पनीहरुले पनि यतिबेला बीमितलाई सहयोग गर्नुपर्छ । सहयोग भनेको पैसामा मात्र हुने होइन, अन्य सेवा दिएर पनि सहयोग गर्न सकिन्छ । यतिबेला मोटरहरु गुडेका छैनन् । यसमा जोखिम कम छ । दावी काम आउला । उनीहरुलाई केही राहात दिन सकिन्छ । जसरी घरमा श्रीमान्  ले भान्छामा गएर आलु तास्ने काम गर्दा श्रीमतीले सहयोग पाएको महसुस गर्छिन, त्यसरी हामीले ग्राहकलाई सिम्बोलिक रुपमा भए पनि सहयोग गर्नुपर्छ । आलु तास्ने वा केराउ छोडाउने काम के ठूलो हो र ? तर त्यसले परिवारमा खुशी ल्याउँछ । कोरोना महामारीसँगै बीमा प्रति सर्वसाधारणको मानसिकतामा कस्तो प्रभाव देखिन्छ ? नेपालमा बीमा भनेको जहिले पनि फोर्स मार्केट नै हो । नेपाल इन्स्योरेन्सको स्थापना भएको नेपाल बैंकको मोर्गेज लोन इन्स्योर गर्न हो । सशस्त्र द्वन्द्वको बेलामा उद्योग, कारखाना, घरको बीमा अलि बढ्यो, हुलदंगा बीमा हुन थाल्यो । सवारी दुर्घटना बढेपछि तेस्रो पक्षको बीमा शुरु भयो । कृषि बीमामा अनुदान दिनु पनि फोर्सफूली मार्केटिङ नै हो । बीमा जहिले पनि आर्थिक अवस्थासँग जोडिएर आउँछ । आफ्नो आयले खान, बस्न, लाउन, छोराछोरीको पढाईमा पुगेर बचत भयो भने बल्न मान्छेले बीमाको बारेमा सोच्न सक्छ । बचत नै नभएको अवस्थामा मान्छेलाई बीमा गराउन गाह्रो छ । अहिलेको अवस्थामा जो बीमित छन्, उनीहरुलाई सुरक्षित राख्नन सकिन्छ उनीहरुलाई केही राहात दिने कार्य गर्नु नै अहिलेको सबैभन्दा ठूलो काम हो । अहिले कोभिड–१९ बीमा शुरु भएको छ । कोभिड लागेकाको उपचार खर्च त सरकारले गरिदेला । तर उनीहरुको आफन्तहरुलाई धेरै सकस परेको हुन्छ । उपचारको लागि घर छोडेर हिड्नुपर्ने होला । उनीहरुलाई बस्न खान खर्च चाहिन्छ । विरामीलाई ठिक भएपछि पनि पौष्टिक खाना खानुपर्यो । कोभिड बीमाले बीलभर्पाई मागिन्न । कोभिड–१९ बीमालाई सर्वसाधारणले कसरी लिएका छन् ? धेरैले खुशीका साथ कोभिड–१९ बीमा गरेका छन् । सहरमा पनि, गाउँमा पनि यसप्रति मानिसहरुको रुचि छ । मिडियाले पनि सकारात्मक रुपमा प्रचार प्रसार गरेर सहयोग गरेका छन् । बीमा समितिको भूमिका पनि राम्रो छ । कोभिड–१९ बाट आएको बीमा शुल्क अपरेशनमा अलिअलि खर्च होला । यसबाट बचेको सबै रकम महाविपत्ती कोषमा जम्मा गर्ने सोच रहेको छ । कोभिड–१९ बीमा पोलिसी जारी गरेपछि संकलित रकम महाविपत्ती कोषमा जम्मा गर्ने विषयमा सबै बीमा कम्पनीहरुबीच तथा बीमा समितिबीच सहमति भएको हो ? यो मेरो व्यक्तिगत धारणा हो । मलाई लाग्छ, बीमा समितिले पनि यहि चाहेको छ । अरु बीमा कम्पनीहरु पनि यसमा सहमति हुनुहुन्छ होला । किनभने हामीलाई विपद् पर्दा एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अहिले विदेशी आएर हामीलाई ठूलो मात्रामा सहयोग गर्ने सम्भावना छैन । कोरोना महामारीबाट विश्वका सबै देश पीडित छन् । सम्पन्न देशहरु पनि अरुको सहयोग मागिरहेका छन् । यस्तो अवस्थामा हाम्रो देश आफै सक्षम हुनुपर्छ । बैकिङ क्षेत्र, बीमा क्षेत्र, कर्पोरेट क्षेत्र, कृषि क्षेत्र सबै सक्षम हुनुपर्यो । महामारी र बीमाको सम्बन्ध कस्तो हुन्छ ? महामारीको बेलामा कस्तो कस्तो जोखिम बीमाले धारण गरेका हुन्छ ? सिद्धान्ततः महामारीमा बीमाले जोखिम कभर गर्दैन । युद्ध वा महामारीको बेलामा कति क्षति हुन्छ भनेर हिसावकिताव गर्न पनि सकिदैन । हुन त भूकम्प पनि महामारी हो । तर भूकम्पको जोखिम लिदा कम्पनीहरुले ५ देखि २० प्रतिशतसम्म जोखिम आफूले लिएका हुन्छन् । कोरोना महामारी भनेको जन स्वस्थ्यसँग सम्बन्धित महामारी हो । यस्तो महामारीको बीमा हुँदैन । भारतमा स्वास्थ्य बीमामा महामारीको बीमा छैन भने पनि कभर गर्नु भनेर त्यहाँको सरकारले निर्देशन दिएको छ । शिखर इन्स्योरेन्सको कुरा गर्नुहुन्छ भने हामीले बिक्री गरेको स्वास्थ्य बीमा पोलिसीले कोभिड–१९ लाई कभर गर्छ । हामी बीमितको उपचारमा बीमा दावी भुक्तानी गर्छौ । जुन कम्पनीको स्वास्थ्य पोलिसीले कोरोना कभर गर्न सक्दैन, उनीहरुको लागि हामीले अहिले कोभिड–१९ बीमा पोलिसी ल्याएका छौं । अहिलेसम्म ६५ हजार भन्दा बढीले कोभिड–१९ बीमा पोलिसी लिइसक्नु भएको छ । २ करोड ८७ लाख भन्दा बढी बीमा शुल्क उठेको छ । हामी ३०० जनामा कोभिड देखियो भने पनि बीमा भुक्तानी दिन सक्छौं । महामारी धेरै फैलियो, १० हजार बीमितले कोरोना बीमा दावी गरेभने करिब ७५ करोड रुपैयाँ दावी आउँछ । एउटा कम्पनीको भागमा करिव साढे ३ करोड पर्ला । सबै बीमा कम्पनीको महाविपत्ती कोषमा केही न केही रकम छ । शिखर इन्स्योरेन्सकै कुरा गर्ने हो भने महाविपत्ती कोषमा १६ करोड रुपैयाँ छ । त्यसैले हामीले व्यवस्थापन गर्न सक्छौं । कोरोना बीमा पोलिसीको माग धेरै भयो, दावी पनि धेरै आउन थाल्यो भने हामीले बीमा शुल्क बढाउन सक्छौं । बीमा लेख धेरै गयो, दावी कम आयो भने बीमा शुल्क घटाउँला । केही नगर्नु भन्दा अहिले हामीले जे गरेको छौं, त्यो धेरै राम्रो काम भएको छ । यो सफल भयो भने हामीले भोलिका दिनमा अरु नयाँ काम पनि गर्नसक्छौं । २० हजारसम्म कोरोना दावी भयो भने पनि हामीले व्यवस्थापन गर्न सक्छौं । त्यो भन्दा पनि ठूलो महामारी आयो भने त्यसले नयाँ चुनौति सिर्जना गर्छ । त्यसैले हामीले अहिले पनि यस्तो प्रडक्टको पुर्नबीमाका लागि खोज गरिरहेका छौं । कोरोना बीमा स्वस्थ्य जोखिम न्यूनिकरण गर्नको लागि आयो । व्यवसायिक जोखिम न्यूनिकरण गर्ने बीमा पोलिसी किन आएनन् ? बीमा समिति, बीमक संघबीच कसरी राहात दिने भनेर छलफल भइरहेको छ । तर अहिले नै यहि भन्ने अवस्था छैन । सहयोग भनेको पैसा फिर्ता गर्नुपर्छ भन्ने होइन । बीमा अवधि बढाउन सकिन्छ । १२ महिनाको पोलिसीलाई १३ वा १४ महिना बनाउन सकिएला । दावी भुक्तानी प्रक्रियालाई अझ सरल बनाईदिन सकिन्छ । नविकरण गर्दा बीमा शुल्कमा छुट दिन सकिन्छ । तर व्यवसायिक घाटा वा महामारीको कारण आयमा कमी हुने जोखिमको बीमा नेपालमा नगन्य मात्रामा छ । पछिल्लो समय जलविद्युत कम्पनीहरुले कन्सेक्विन्सल लसको पोलिसी लिन थालेका छन् । किनकी त्यहाँ धेरै जोखिम देखियो । वहुराष्ट्रिय कम्पनीहरुले, विदेशमा पढेर आएको विजनेशन म्यानहरुले पनि यस्तो बीमा पोलिसी लिन चाहान्छन् । मलाई लाग्छ, अब यस्तो जोखिमको बीमा पोलिसीको माग बजारमा बढ्न सक्छ । बिडम्मना भूकम्प पछि केही समय घर बीमा गर्न धेरैले इच्छाए । अहिले त्यो हट्दै गएको छ । हवाई सेवा, होटल लगायत पर्यटन क्षेत्रले बीमा शुल्कमा छुट दिनुपर्छ भन्ने माग आएको छ । यी माग कति जायज र व्यवहारिक छ ? सरकारले पैसा हालिदिन्छ भने त त्यो राम्रो हो । तर बीमा कम्पनीले नै हवाई बीमामा शुल्क छुट दिन सक्दैन । हवाई बीमा शुल्क विश्वमा नै बढ्दै गएकोले पनि शुल्क छुट दिन सम्भव छैन । होटल क्षेत्रको बीमा शुल्कमा पुर्नविचार गर्न सकिन्छ, जसको जोखिम धेरै हदसम्म नेपाली बीमा कम्पनीहरुले धारण गरेका हुन्छन् । खासगरी पुर्नबीमा वापत विदेशमा जाने प्रिमियम कसरी कम गर्ने र कसरी नेपाली कम्पनीहरुको हिस्सा बढाउने भनेर गृहकार्य गरिरहेका छौं । यतिबेला बीमा कम्पनीहरुले सरकारसँग के अपेक्षा गरेको छ ? म फेरी परिवारको कुरा गर्छु । बुबाआमाको आम्दानीको स्रोत र क्षमताको आधारमा छोराछोरीले माग राख्नुपर्छ । बुबाआमाले धान्न नसक्ने माग छोराछोरीले पनि राख्नुहुन्न । अहिलेको महामारी कसैले परिकल्पना गरेको थिएन । सरकारका पनि आफ्नै लिमिटेशन छन् । सरकारले अध्ययन गरिरहेको होला । पक्कै सरकारले केही न केही राहातका कार्यक्रम ल्याउला । सरकारले नयाँ बजेट ल्याउँदैछ । यसमा बीमक संघको सुझाव के छ ? आयकर घटाउनु पर्छ भनेर म भन्दिन तर निर्जीवनमा भ्याट छुट गराउनुपर्छ । भ्यानले बीमा महँगो भयो । दोस्रो, नीतिगत रुपमा बीमालाई प्रोत्साहित गर्नुपर्छ । कृषि सहुलियत दिदाँ किसानहरुलाई धेरै राहात भएको छ । पशु तथा बालीमा रोग आयो, नोक्सान भयो भनेर किसानहरु सरकारसँग राहात माग्न जान छोडेका छन् । अब सरकारले लघु बीमालाई प्रोत्साहित गर्नुपर्छ । स्थानीय सरकारले बीमा गर्ने घरधनीलाई थोरै बेनिफिट दिने हो भने पनि मानिसहरुमा बीमाको बानी बस्छ । सबै घरको बीमा गर्न सकियो, बीमा गर्ने बानी सबैमा विकास गर्न सकियो भने सरकारलाई पनि, बीमितलाई पनि र बीमा कम्पनीहरुलाई पनि लाभ हुनेछ । बीमा कम्पनीहरुले यस वर्ष साधारणसभा पनि गरेका छैनन् । गत वर्षको नाफाबाट पनि सेयरधनीलाई लाभांश दिएको छैन । बीमा क्षेत्रले आगामी वर्ष लगानीकर्तालाई कति लाभांश देला ? पहिला २५ करोड पुँजी भएका कम्पनीहरुले अहिले १०० करोड पुँजी बनाएका छन् । मैले पहिला पनि भनेको थिए, २÷३ वर्ष लगानीकर्तालाई लाभांश दिन गाह्रो छ । शिखरको कुरा गर्ने हो भने गत वर्षको पनि लाभांश दिन बाँकी छ । तर कम्पनी बलियो भएको छ । कम्पनीको नेटवर्थ ३०० करोड हुन लागेको छ । कम्पनी बलियो भएपनि लगानीकर्तालाई पे गर्न सक्छ । लकडाउनको कारण उद्योग चलेका छैनन, सवारी गुडेका छैनन्, हवाई सेवा पनि बन्द छ । बीमा गरिएको सम्पत्ति सुरक्षित बसेको छ । जोखिम कम छ । बीमा दावी कम आउला । त्यसले कम्पनीहरुको नाफा वृद्धि गर्न सहयोग गर्ला नि ? पक्कै पनि । म त जहिले पनि पोजेटिभ । म त राम्रो देख्छु । लकडाउनमा पहिला जस्तो विजनेश हुँदैन । खर्च पुरानै हुन्छ । मुद्दति व्याज कम हुन सक्छ । तर लगानीको नयाँ क्षेत्र खोज्नुपर्छ । बीमा समितिले पनि हामीलाई सहयोग गर्ला । अर्को, हस्पिटल क्षेत्रबाट हुने फ्रड रोक्न सक्यो भने कम्पनीको नाफामा वृद्धि गर्छ ।

काठमाडौंमा भोलिदेखि लकडाउन थप कडा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले शुक्रबारदेखि लकडाउन कडा बनाउने भएको छ । गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलपछि लकडाउन कडा बनाउने भएको हो । अब उपत्यका भित्रने र बाहिरिने नाकामा थप कडाइ गरिने छ । नगरपालिकाका मेयरहरूले भने भित्री सडकमा पनि जाँचमा कडाइ गर्न सुझाप दिएका छन् । जिल्लामा पास दिनुपर्दा प्रशासनले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्ने निर्देशन गृहले दिएको हो । प्रधानमन्त्रीले काठमाडौंमा लकडाउन नै नरहेको भन्दै कडा गर्न आदेश दिए पछि गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुख र नागरपालिकाका मेयरहरुलाई बोलाएर कडा पार्न लागेको हो ।

मुक्तिनाथ क्यापिटलको सीईओमा कविन्द्रध्वज जोशी नियुक्ति

काठमाडौं । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतक(सीईओ)मा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । नवनियुक्त सीईओ जोशीले जेठ १ गते मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका हुन् । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी काम गरेको अनुभव बटुलेका छन् । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटलले डिम्याट, पीएमएस, सेयर रजिष्टार, इस्यु म्यानेजमेन्ट, अन्डरराईटिङ, एडभाईजरी, लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।

नेपालमा कोरोनाः २४६ संक्रमित, २७२ जना आइसाेलेसनमा, २२ जिल्लामा फैलियो

काठमाडाैं । नेपालमा आज (बिहिबार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ४६ पुगेको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड – १९’ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा नवलपरासी देवचुली नगरपालिका – १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचार गरेर निको भई घर जानेको संख्या ३५ रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरुष तथा कपिलवस्तुकी ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा २२ हजार ६ सय ६४ वटा पीसीआर विधीबाट जाँच गरिएको छ भने आरडिटी विधीबाट ६२ हजार ३ सय २७ वटा जाँच गरिएको छ । उनका अनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परिक्षण गरिएको थियो । गत २४ घण्टामा मात्रै पीसीआर विधीबाट १ हजार ३ सय ६३ जनामा परिक्षण गरिएको छ भने आरडिटी विधीबाट गत २४ घण्टामा २ हजार ८ परिक्षण गरिएको छ । यो परिक्षण गत चैत १९ देखि सुरु भएको थियो । मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश १ मा ८ हजार ६ सय ७३ वटा परिक्षण गरीएको जनाएको छ । नेपालभरि कुल २७२ जनालाई ‘आइशोलेसन’ अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै, नेपालमा क्वारेन्टाईनमा बस्नेको संख्या १५ हजार ६  सय पुगेको छ । नेपालमा क्वारेन्टाइनका लागि बनाइएको बेड संख्या ५३ हजार ८ सय ३५ हो । सरकारले कोरोनाबाट प्रभावित २८ जिल्लामा परीक्षणको दायरा बढाउने योजना बनाएको छ। प्रदेश १, २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेशमा परीक्षण बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको बताएका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २८ जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको हो।

बाेर्डले जारी गरेकाे सबै सवारी पास रद्द

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले यस अघि जारी गरेकाे सबै सवारी पास रद्द भएकाे छ । बाेर्डले यसअघि नेपाल स्टक एक्सचेन्ज(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको बाेर्डका प्रवक्ता निरज गिरीले बताएका छन् । नेपाल सरकारले लकडाउनलाई थप कडाईका गरेकाले बोर्डको जेठ १ गतेकाे निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको छ । त्यसैले, सरकारकाे बैशाख २४ गतेकाे निर्णयानुसार बाेर्डले बैशाख ३१ गतेसम्मकाे लागि सवारी पासहरू रद्द गरेकाे हाे । साथै, अति आवश्यक सेवा संचालन हुने संस्थाको लागि सरकारको निर्णयानुसार बोर्डबाट जेठ १ गतेदेखि जारी गरिएको सवारी पास मात्र मान्य हुने बाेर्डका प्रवक्ता गिरीले बताइन् ।

उद्योग क्षेत्रमा भाडा छुटः के भन्छन् जिम्मेवार निकाय ?

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले धेरै उद्योगधन्दाहरु बन्द छन् । सरकारले अति आवश्यक वस्तुको उत्पादन बाहेकका उद्योगहरु ४५ दिनसम्म बन्द गर्यो । त्यो समावधिमा बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा, नेपालगञ्ज र सुर्खेत गरेर १० वटा औद्योगिक क्षेत्रमा बन्द रहे । यो समयावधिमा धेरै उद्यँेगधन्दाहरुले अर्बौैं रुपैयाँ पनि क्षति व्यहोर्नु पर्यो । सरकारले भाडामा बस्दै आएका र भाडामा बसेर व्यवापार व्यवसाय गर्नेहरुको सहजका लागि घरवेटीहरुलाई एक महिनाको घरभाडा मिनाहा गरिदिन पनि आग्रह गर्यो । तर, त्यसको खासै प्रभावकारी कार्यान्वयन भने भएन । अहिले धेरै उद्योगी व्यवसायीहरुले भाडा छुटको पनि माग गरिरहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन केन्द्रिय कार्यलयका निर्देशक दिलिप श्रेष्ठले पनि औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठनले भाडा छुट दिनुपर्यो भनेर माग गरिरहेको बताएका छन् । ‘भाडा छुटका लागि हामीले कुनै निर्णय गर्ने होइन, सरकारले निर्णय गर्ने वा बजेटमा समेटने हो,’ उनले भने । ‘सरकार उद्योगीको समस्या सुन्ने पक्ष रहेको उनले बताए । सरकारले निजी घरका मालिकहरुसगँ समेत भाडा छुट दिन आग्रह गरिरहेको छ, जिनी क्षत्रलाई मात्रै भन्ने सरकारले पनि आफु केही नगर्ने त हुँदैन होला,’ उनले भने । कोरोना भाइरस फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको विचमा नै सरकारले उद्योगहरु खोल्न दिने निर्णय गरेको थियो । लकडाउनको कारणले बन्द रहेका उद्योगहरु ४५ दिनसम्म बन्द रहेका थिए । ४५ दिनसम्म बन्द रहेका उद्योगहरुले औद्योगिक क्षत्रसग भाडा छुट मागिरहेका छन् । देशभरका भएका १० वटा औद्योगिक क्षेत्रमा भएको अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगसँगै अन्य उद्योगहरु खुल्ले क्रममा छन् । १० वटा औद्योगिक क्षत्रमा भएका उद्योगहरु मध्ये २५ प्रतिशत उद्योगहरु सञ्चालनमा आएका छन । भने, बाँकी ७५ प्रतिशत उद्योगहरु पनि खुल्ने क्रममा रहेको श्रेष्ठले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आइडिएम) का अध्यक्ष नन्दकिशोर बस्नेतले बालाजु भित्र रहेको उद्योगहरुलाई विजुलीको शुल्क लकडाउन खुलिसकेपछि मात्रै तिरे पनि हुने व्यवस्था मिलाएको बताए । ‘हामीले नै विजुलीको मंहसुल तिरिसकेका छौ, तर औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुलाई लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छौं’ उनले भने । बालाजु औद्योगिक क्षत्रमा ६ सय ५० रोपनी क्षत्रमा १ सय २५ वटा उद्योग क्षेत्र रहेका छन् । जसमा अतिआवश्यक उद्योग ग्यास, अक्सिजन, विस्कुट, दुध र मासु लगायतका उद्योगहरु सञ्चालन भइरहेको बस्नेतले जानकारी दिए । १० वटा औद्योगिक क्षेत्रहरु बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा, नेपालगञ्ज र सुर्खेत क्षेत्रभित्र रहेका अत्यावश्यक खाद्यान्न, पानी, अक्सिजन, ग्यास, डेरी, पशु आहार लगायतका उद्योग मात्र सञ्चालनमा रहेको छन । सञ्चालन भइरहेका उद्योगमा कार्यरत मजदुरका लागि कोरोनाबाट बच्न र उत्पादनमा कुनै प्रभाव नपार्न आवश्यक सुरक्षा अपनाइएको छ । मजदुरका लागि मास्क, ग्लोभ्स, स्यानिटाइजर र ज्वरो मापनको समेत व्यवस्था गरिएको छ ।