विकासन्युज

आइएमएस ग्रुपले सबै कर्मचारीको गरायो कारोना बीमा

काठमाडौं । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीको विश्वव्यापी कोभिड १९ विरुद्धको बीमा गराएको छ । कम्पनीले जेठ १ गते प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको हो । यससँगै कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कर्मचारीलाई आर्थिक सहयोग पुर्याउने छ । ‘आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्याउन कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।’ आइएमएस ग्रुपका प्रेसिडेण्ट् एण्ड सीईओ दिकेश मल्होत्राले बताए ।

इसेवा मनिट्रान्सफरले जापानबाट सुरु गर्यो आफ्नो पहिलो सेवा

काठमाडौं । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए । यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए । जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने-‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’ इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु कम्पनीको उद्देश्य रहेको छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट «बैंकबाट लाइसेन्स प्राप्त गरेको थियो ।

कोरोना देखिएकी बालिकाको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई १४ दिन अर्थात दुई हप्ता क्वारेन्टाइनमा राखिने भएकाे छ । बालिकाको प्राइमरी सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने र १४ दिन क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा राख्ने अस्पतालले जनाएकाे छ । अस्पतालका प्रा.डा. प्रेम कुमार खड्गाका अनुसार संक्रमित बालिकालाई गणेशमान भवनको आइसोलेसन क्याविनमा सारी उपचार भइरहेको छ । अस्पतालको अन्य काम नियमित  गर्न र प्राइमरी सम्पर्कमा आएका व्यक्तिमा कोरोना पोजेटिभ आएमा फेरि सेकेन्डरी सम्पर्कमा कन्ट्याक्ट  ट्रेसिङ पीसीआर परीक्षण गरिने पनि अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ। अस्पतालले हाललाई इलेक्टिभ सर्जरी नगर्ने समेत जनाएको छ । साथै, आकस्मिक शल्यक्रिया गर्दा  आवश्यक पीपीई लगाएर गर्न समेत अस्पतालले अनुरोध गरेको छ। सम्बन्धित समाचारः शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा  घरभित्रै बसेकी बालिकालाई कसरी लाग्यो कोरोना ?

जेठ महिनाको ब्याजमा समेत १० प्रतिशत छुट दिँदै एनआइसी एशिया बैंक

काठमाडाैं । एनआइसी एशिया बैंकले आफ्ना ऋणीहरुलाई जेठ महिनाकाे ब्याज रकममा थप १० प्रतिशत छुट दिने भएकाे छ । बैंकले जेठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने ऋणीहरुले सम्पूर्ण किस्ता/ब्याज रकम जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना सार्वजनिक गरेको हाे । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण ऋणीहरुमा परेको असर न्यूनिकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन निर्देशन दिएको थियो । यस अलावा एनआइसी एशिया बैंकले यसअघि ऋणिहरुले बैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । बैशाखको यही योजना जेठमा समेत लागू हुने बैंकले जनाएको छ । अब यो व्यवस्थासँगै नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गरिनेछ । बैंकले २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गर्ने ऋणिहरुको हकमा नियमित ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ ।साथै बैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/ब्याज रकम बैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गर्ने ग्राहकको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको खातामा जम्मा हुने बैंकको प्रष्टोक्ति छ। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बताइएको छ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने बताइएको छ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत्र महिनाको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बताइएको छ ।  

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

पुब्ला । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ । मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ । गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । रासस–एएफपी

मानव अधिकारमैत्री बजेट ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट निर्माण गर्दा मानव अधिकारका आधारभूत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । कोभिड–१९ को प्रभावबाट यस वर्ष मानव अधिकारका आधारभूत विषयमा सङ्कुचन आउने अवस्था आयोगको अनुगमनबाट देखिएको हुनाले आयोगले मानव अधिकारमैत्री बजेट बनाउन सात बुँदे सुझाव दिएको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख भएको सातबुँदे सुझावमा नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकलाई सुनिश्चित गर्न स्वास्थ्यको अधिकार, रोजगारीको अधिकार ग्यारेन्टी हुनुपर्नेलगायत छन् । आयोगले किसानको अधिकार, भरपर्दो विपद् व्यवस्थापन तथा नेपाल पक्ष भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ का साथै दिगो विकास लक्ष्य हासिल गर्ने राज्यको दायित्व पूरा गर्न सुझाव दिएको छ । कृषि कार्यका लागि मल, बीउ, कृषि उपकरण, कृषि उत्पादन, भण्डारण र बजारीकरण तथा सिँचाइको उचित प्रबन्ध मिलाउनुपर्ने, बेरोजगारी समस्या समाधानका साथै वैदेशिक रोजगारबाट विमुख भई फर्किने नेपाली श्रमिकको रोजगारीको सुनिश्चितताका लागि निश्चित कार्यक्रम तय गर्न सुझाव दिइएको छ । सबै सरकारी निकायबाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसङ्ख्यक, सीमान्तकृत, वञ्चितीकरणमा परेका र पछाडि पारिएका समुदायको जीवनस्तरमा सुधार आउने गरी मानव अधिकारमुखी पद्धतिबाट लागू गर्नुपर्ने सुझाव छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच भरपर्दो समन्वय कायम गरी प्रदेशमा कम्तीमा एक हजार श्यया र प्रत्येक स्थानीय तहमा कम्तीमा १०० श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गर्न तथा स्वास्थ्य उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र चिकित्सक रहने व्यवस्था मिलाउनपर्ने सुझाव छ । सबै तहका राष्ट्रसेवकलाई मानव अधिकारसम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने, मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा तथा मानव अधिकारसम्बन्धी सन्धिजनित समितिबाट सरकारलाई गरिएका सिफारिसको समयबद्धरुपमा कार्यान्वयन गर्ने आवश्यक व्यवस्था मिलाउन सुझाव दिइएको छ । रासस

कृषि विकास बैंकको खुद नाफा २ अर्ब बढी, निष्कृय कर्जा घट्यो

काठमाडौं । कृषि विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १७ करोड २१ लाख रुपैयाँ कम हो । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले गत आवको चैत मसान्तसम्ममा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्मा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले चालु आवको चैतसम्ममा ४ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन मुनाफा घटेर २ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी २६.५५ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा घटेर ३.६५ प्रतिशतमा झरेको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाको आवेदन, को कसले दिए ?

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाले आवेदन दिएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि गत मंगलबारसम्मका लागि अन्तिम समय तोकेको थियो । उक्त समय भित्रमा अध्यक्ष पदका लागि अभिनेता भुवन केसी, राजेश थापा, अर्जुनकुमार डंगोल, दयाराम दाहाल, ध्यानबहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती, भगवती कुमारी मैनाली र दिपक श्रेष्ठले आवेदन दर्ता गराएका छन् । व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने मन्त्रालयले उक्त सूचनामा प्रकाशित गरे । तर विगतमा भने राजनीतिक चलखेलमा नियुक्ति हुने गरेका छन् । आवेदन दिने निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा छन् । त्यस्तै दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । अहिले नै अध्यक्ष को बन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन । गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि उक्त पदले खाली रहेको छ ।