विकासन्युज

अमेरिकाले लगायाे चीनले सहयोग गरेकाे ह्याकरले अनुसन्धान ‘चोर्न खोजेको’ आरोप

काठमाडाैं । अमेरिकाले कोरोनाभाइरस नियन्त्रणका लागि आफ्नो देशमा भइरहेका खोप र उपचारबारेका अनुसन्धान चीनले चोर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआई तथा साइबर सुरक्षा निकायले कोभिड -१९ बारे अध्ययन गरिरहेका अमेरिकी संस्था र औषधि उत्पादक कम्पनीहरूमा चीनले सघाएका ह्याकरहरूले आक्रमण गरेको विषयमा अनुसन्धान गरिरहेको बताएका छन् । कोरोनाभाइरसको उत्पत्ति र महामारी फैलिएको विषयमा चीन पारदर्शी नभएको भन्दै ट्रम्प प्रशासनले पटकपटक चीनको आलोचना गर्दै आएको छ । दुवै देशले एकअर्कालाई उक्त प्रकोप नियन्त्रण गर्ने कार्यमा असफल भएको भन्दै आरोप लगाइरहेका छन्। कोभिड-१९ बाट विश्वभरि ४३ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा सङ्क्रमितमध्ये ८४ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। चीनमा ४ हजार ६सय जनाले ज्यान गुमाएको बताइएको छ । एफबीआई र साइबर सुरक्षासम्बन्धी निकायले बुधवार संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन् । लोक कल्याणकारी विज्ञापन भनिएको उक्त चेतावनीमा स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोभिड-१९ का विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख गरिएको छ । यसै हप्ताको आरम्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले कोभिड-१९को उपचार र खोप बारे अनुसन्धानका विषयमा आफूहरूले नेतृत्व गरिरहेको बताउँदै बिनाप्रमाण चीनलाई आरोप लगाउनु अनैतिक रहेको बताएका थिए । गत सोमवार नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनको कथित साइबर गतिविधितर्फ सङ्केत गरेका थिए । (बिबिसी)

कपिलवस्तुमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी संक्रमित

कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन् । संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेण्टाइनमा बसेका हुन् । यस्तै ६ जना दैनिक काममा धेरैसंँग संम्पर्क रहेका व्यक्ति हुन् भने एक ६ वर्षकी बालिका हुन् । पछिल्लो पटक बाणगङ्गा नगरपालिका– ४ की ६ वर्षीयामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । बाणगङ्गामा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको हो । बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा संक्रमण भएको अनुमान गरिएको छ । यता बुधबार साँझ नयाँ आठ जनामा संक्रमण पुष्टि भएकामध्ये चार सुरक्षाकर्मी छन् । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो । तीमध्ये एक प्रहरीका चालक छन् । चालक संक्रमित पुष्टिपछि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमा पनि आशंका बढेको छ । भेटिएका आठ संक्रमितमध्ये तीन जना नगरपालिकाको वडा नम्बर २ मा निर्मित महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए । तीमध्ये दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार बिश्वकर्माले जानकारी दिनुभयो । एक जना नगरपाालिकाका सरसफाइकर्मी हुन् । उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्को एक जना पालिकाकै कृषि शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो । उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेकाले संक्रमण धेरैका बीच फैलिन सक्ने शाहले आशङ्का गर्नुभयो । यस्तै दुईमध्ये एक जना केही दिनअघि झापाबाट आएका र एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेको उहाँले जानकारी दिनुभयो । कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन् । उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन् । उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखिएको छ । त्यस्तै कपिलवस्तुका छ पत्रकार आफ्नै कार्यालयलाई क्वारेण्टाइन बनाएर घरपरिवारबाट अलग भएका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तु कोरोना संक्रमणको उच्च जोखिममा धकेलिएकाले आरडिटी र पिसिआर परीक्षण तीव्र पार्न सरकारसंँग माग गरेका थिए । कोरोना सङ्क्रमितको उपचार शुरु परासी– कोरोना सङ्क्रमण पुष्टि भएका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का ३६ वर्षीय युवकको पृथ्वीचन्द्र अस्पताल परासीको आइसोलेशनमा राखी उपचार सेवा शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ती युवकलाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि राति नै अस्पताल ल्याइएको हो । ती युवकको पृथ्वीचन्द्र अस्पतालमै उपचार गरिने अस्पतालका निमित्त प्रमुख डा.मोहम्मद नुरुल होदाले जानकारी दिए । “जिल्लामा कोरोना सङ्क्रमित बिरामी पहिलो पटक भेटिएकाले हामीले अस्पतालको बहिरङ्ग सेवा (ओडिडी) आजदेखि नै बन्द गरी कोभिडका बिरामीको उपचार शुरु गरेका छौं, बिरामीको हामी यहीं उपचार गर्छौं, हामीसँग उपचारका लागि आवश्यक किट पनि उपलब्ध छन्”,उहाँले भन्नुभयो । कोभिडको उपचार सेवा शुरु भएपछि अस्पतालले आजदेखि आकस्मिक र प्रसूतिबाहेक सेवा बन्द गरेको छ । गत वैशाख २९ गते नै स्वास्थ्य कार्यालयले ती युवकसहित ३० जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । अन्य २९ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए । युवकको यात्रा विवरण र उनीसँग सम्पर्कमा आएकाहरुको विवरणको अनुसन्धान शुरु गरिने प्रमुख ढकालले बताए । “तीन दिनभित्र हामीे ती युवकको कन्ट्रयाक टे«सिङ्ग गर्छौँ”, उनले भने । रासस

यी सवारीलाई लकडाउनमा पास नचाहिने

काठमाडौं । कोरोना संक्रमित थपिएसँगै सरकारले लकडाउनमा थप कडाई गरिरहेको छ । लकडाउनको सवारी पास अनिवार्य गरिएको छ र कसैलाई पनि पास बिना यात्रा गर्ने दिईएको छैन । यद्यपी गृह मन्त्रालयले भने हालको लागि ९ वटा सवारीहरुलाई पास नचाहिने सुचना जारी गरेको छ । मन्त्रालयले एम्बुलेन्स, दमकल, संन्चारकर्मीको सवारीहरुलाई पास नचाहिने बताएको छ । तर उक्त सवारी साधन प्रयोगकर्तासँग अनिवार्य रुपमा सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ । मन्त्रालयले जारी गरेको सुचना अनुसार यी हुन पास नभए पनि हिड्न पाउने सवारी र व्यक्ति- १) एम्बुलेन्स , शवबाहन , दमकल २) झण्डावाल सवारी ३) कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग , व्यक्ति तथा संघ र संस्थाहरू ४) सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरू ५) स्वास्थ्य सेवामा खटिएका चिकित्सक , नर्स , फार्मा्सिस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक , अस्पतालमा कार्यरत अन्य कर्मचारीहरू, औषधी उत्पादन ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिहरू ६) खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न जनशक्ति ७) फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ८) ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति ९) अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधनहरू  

३० केजीको चामलको बोरामा तौल २५ केजी मात्रै

काठामाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् । वर्षेनी खाद्यान्न अभाव हुने बारेकोटमा वर्षमा २ हजार ५ सय क्विन्टल चामलको कोटा कम्पनीले निर्धारण गरेको छ । घोडा, खच्चडमा ढुवानी गरेर लिएको खाद्यान्नमा तोकिएअनुसारको तौल नभेटिएपछि सेवाग्रहीले विरोध गरेका छन् । सदरमुकामस्थित गोदामबाट ३० केजी तौल भएको अरुवा मध्यम खालको चामल घाट डिपोमा लिएर सर्वसाधारणलाई बिक्री गर्दा २५ केजी तौल भएको पत्ता लागेको हो । वर्षेनी यहाँ लिने खाद्यान्नमा तौल नपुग्नेदेखि बाटोमै चामल बिक्री हुनेसम्मका घटना हुँदै आएका छन् । घाटस्थित व्यापार कम्पनीका प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० केजीबाट झरेर २५ केजी भएपछि एक हप्ताअघि गाउँपालिकालाई जानकारी गराएको बताए । “मैले चामलको तौलमा गडबडी देखिएपछि गाउँपालिकालाई खबर गरेको थिए । त्यसपछि गाउँपालिकाबाट अध्यक्षसहितका टोली अनुगमनमा आउनुभएको थियो । तौल कम भएको चामललाई छुट्टै राखेर बिक्री गर्नुहोस् । यसको छानबिन गरौँला भनेर जानुभएको छ”, चौधरीले भने । अन्य चामलको तौल पुगेको भए पनि अरुवा मध्यमखालको जापानिज चामलको तौलमा निकै गडबडी भएको छ । वर्षेनी चामलमा नाफा लिनका लागि बीच बाटोमा गडबड गर्ने जो भए पनि कारवाही गर्नुपर्ने बारेकोट गाउँपालिका–४ का विष्णु रावतले माग गरे । उनले भने, “बारेकोट गाउँपालिकाका उपभोक्तामाथि राजनीति गर्ने र नाफाखोरलाई कारवाही गर्न माग गर्दछु । चामलको मूल्यमा पनि कहिले गडबडी सुनिन्छ । अहिले त चामल पनि बोरामै कम छ । एक बोराबाट एक केजी चामल निकाले पनि धेरै फाइदा हुन्छ । यसमा त झन् पाँच केजीको फरक छ । यसमा सबैको मिलोमतो देखिन्छ ।” नापतौलका सामग्री प्रयोगविहीन यहाँ दैनिक चामल किन्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ । चामलको बोरामा लेखिएको ३० केजी देखाउँदै कार्यालयले दैनिक चामल बिक्री गरिरहेको छ । तौल लिएर मात्र चामल बिक्री गरिनुपर्ने भए पनि बोरामा लेखिएको तौल देखाएर चामल बिक्री भइरहेको पाइएको छ । स्थानीय राजेन्द्रविक्रम शाहीले भने, “नापतौलका सामग्री प्रयोग नगर्दा उपभोक्ता निकै मारमा परेका छन् । प्रायः मानिसलाई चामलको तौल लिएर मात्र खाद्यान्न खरिद गर्नुपर्छ भन्ने थाहा पनि छैन । ” उता ढक, तराजु, स्प्रिङ काँटा कहिलेकाहीँ मात्र प्रयोग गरिन्छ । कार्यालय प्रमुख चौधरीले नापतौलका अन्य सामग्री प्रयोग नभए पनि डिजिटल काँटा प्रयोग गरिरहेको बताए । उनले भने, “चामलको तौलमा गडबडी देखिएपछि झन् हामीले उपभोक्तालाई चामल तौलेरै दिने गरेका छौं ।” चामलको तौलमा गडबडी आएको विषयमा खलङ्गा डिपोबाट नायकवाडा डिपोसम्म दुवानीको जिम्मा लिएका ठेकेदार मानबहादुर खड्काले भने, “कसले गडबड गरेको हो, बारेकोट जाँदैछु । अहिले अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ ।” तोकिएको समयभन्दा निकै ढिलो खाद्यान्न ढुवानी गरेका खड्काले भारी दबाबपछि मात्र अहिले ४ सय क्विन्टल चामल ढुवानी गरेका छन् । कार्यालयका अनुसार उहाँले बारेकोटको सबै चामल ढुवानी गर्ने जिम्मा लिए पनि बीचमा ढुवानी गर्न छाड्दा कार्यालयले आफैं ढुवानी गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले खाद्यान्नमा समस्या आएका खबर प्राप्त भएको बताए । उनले भने, “हामीले समस्या भएको चामल छुट्टै राख्न भनेका छौं ।” प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जसले जहाँ गडबड गरे पनि कारवाहीको दायरामा ल्याएर तोकिएको सजाय दिने बताए । रासस

स्वास्थ्य मन्त्रालयकाे नै गलत सुचना, संक्रमितको संख्या २ सय ४५ मात्रै

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गलत सच्चाएको छ । योभन्दा अगाडि २ सय ५० जना कोरोना संक्रमित भएको भन्दै विज्ञप्ती जारी गरेको थियो । तर, पुनः त्यो नभएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप पाँच जनामा कोरोना पुष्टि भएको भन्ने विवरण प्राविधिक कारणले दोहोरिएकोले सच्याएको छ । यस अघि सर्लाही, धनुषा र महोत्तरीका गरी थप पाँच जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गरेको थियो । अहिलेसम्म सङ्क्रमित सङ्ख्या २४५ मात्र कायम रहेको छ ।

घरभित्रै बसेकी बालिकालाई कसरी लाग्यो कोरोना ?

काठमाडाैं । कपिलवस्तुकी एक घरभित्रै रहेकी बालिकामा काेराेना संक्रमण देखिएकाे छ। कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका ४ ठाकुरापुर की रहेको खुलेको हाे। घरमै बसिरहेकी ती बालिकामा कसरी काेराेना संक्रमण देखियो स्थानीय आश्चर्यमा परेका छन् । ‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै बसेकी बालिकालाई कसरी कोरोना देखियो हामी सबै अचम्ममा परेका छौं ।’ स्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर ती बालिकालाई मंगलबार काठमाडौंमा उपचार गराउन पठाइएको वडा अध्यक्ष क्षेत्रीले बताए । अस्पतालले उनको स्वाब परीक्षण गराउँदा संक्रमण देखिएको उनले बताए । बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ ।

व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना

दार्चुला । सरकारले दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले बुधबार सो बिओपीको उद्घाटन गरेका हुन् । दार्चुलाको सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना गरिएको हो । बिओपीमा अहिले २५ जनाको जनशक्ति रहने छ । कठिन परिस्थितिमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीअनुसार सामरिक महत्वको ब्यासमा बिओपी स्थापना गरेको एआइजी थापाले बताए । बिओपीका लागि चाहिने हातहतियार, बन्दोबस्तीका सामान र फौज लिएर नेपाली सेनाको हेलिकोप्टर बीओपी गएको थियो । भारतले एकतर्फीरूपमा कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि सीमा सुरक्षार्थ बिओपी स्थापना गरिएको हो । यो क्षेत्र चीन र भारतसँग सीमा जोडिएको क्षेत्र हो । सीमामा सशस्त्र खटिएपछि जिल्लावासी खुशी राज्यको कमजोर उपस्थिति रहेको व्यास गाउँपालिकाको वडा नं १ मा सरकारले पहिलोपटक दार्चुलाको कालापानी नजिकै रहेको बीओपी बस्तीको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरेपछि जिल्लावासी खुशी भएका छन् । छ महिना मानवविहीन हुने यो क्षेत्रमा बाह्रैमास सशस्त्र प्रहरी बस्ने भएपछि सीमा अतिक्रमणसमेत रोकिने जिल्लावासीको विश्वास छ । समुद्री सतहबाट तीनदेखि पाँच हजार मिटर उचाइसम्म रहेको व्यास गाउँपालिकामा अब सशस्त्र प्रहरीको नियमित गस्ती हुने छ । सरकारले पहिलो चरणमा व्यासको छाङ्गरुस्थित गागामा बिओपी स्थापना गर्ने गत मङ्सिरमा निर्णय गरेको थियो । तर भवनलगायत पूर्वाधार अभाव र बाटोघाटोसमेत नहुँदा सशस्त्र प्रहरीलाई व्यास पुर्याउन सकिएको थिएन । गत शुक्रबार भारतले एकाएक नेपाली भूमि, कालापानी लिपुलेक हुँदै चीनको सीमा जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेपछि सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी पठाएको हो । सशस्त्र प्रहरीलाई नेपाली सेनाको एनए–०५७ नंको हेलिकोप्टरमार्फत व्यासको गागा झारिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म दार्चुलाबाट प्रहरी निरीक्षक लिली चन्दको नेतत्वमा २५ जनाको सशस्त्र प्रहरी छाङ्गरुमा खटाइएको एआइजी नारायणबाबु थापाले जानकारी दिनुभयो । उनले भने, ‘व्यासमा सशस्त्रको भवन निर्माणका लागि छिट्टै प्रक्रिया अघि बढ्छ ।’ सरकारले बिओपी स्थापनाका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । उनले भने, ‘छिट्टै बोलपत्र आह्वान भएर स्थायी संरचना निर्माण गर्छौं । अहिलेको परिस्थितिमा सशस्त्रको जिम्मेवारीअनुसार सीमारक्षाका लागि खटिएको छ । यो हाम्रो कार्ययोजना र सरकारको कार्यादेशानुसार सशस्त्र खटिएको हो ।’ सीमा सुरक्षा र सीमामा सरकारको उपस्थिति देखाउनकै लागि सशस्त्र प्रहरी व्यासको छाङ्गरु गएको बताए । सशस्त्र प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामग्री छ महिना पुग्ने गरी लगिएको छ । वर्षौदेखि हुन नसकेको काम अहिलेको सरकारको तादरुकताकै कारण व्यासमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न सम्भव भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । “सीमा क्षेत्रमा राज्यको उपस्थिति र जनताको सुरक्षा अनुभूति हुने गरी सरकारले गरेको ऐतिहासिक र दूरगामी निर्णय हो”, उनले भने, “यो दिन सरकार, जनता र प्रशासकलाई समेत खुसीको अनुभूति भएको दिनका रूपमा सम्झेको छु ।” “देश बन्दाबन्दीको अवस्थामा रहेको बेला सीमा क्षेत्रमा हेलिकोप्टरमार्फत राज्यको उपस्थिति गराउनु चुनौतीपूर्ण काम थियो”, उनले भने, “तैपनि हामीले सुरक्षा व्यवस्थापन गरेका छौं ।” सीमामा बस्ने सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरणका साथ पठाइएको छ । विगतमा ६ महिना मात्र नेपाल सरकारको प्रतिनिधिका रुपमा नेपाल प्रहरीको मात्रै उपस्थिति हुने गरेको थियो । व्यास गाउँपालिका–१ छाङ्गरुको गागा र तिङ्करको छायालेकमा नेपाल प्रहरी छ महिना बस्दै आएको थियो । स्थानीयवासीको कुञ्चा सदरमुकाम खलङ्गा सरेसँगै उनीहरु पनि व्यास गाउँपालिका–२ दुम्लिङ झर्ने गरेको छ । अहिले सशस्त्र प्रहरी व्यासको कालापानी भन्दा १२ किलोमिटर यतै बसेको छ भने छाङ्गरुबाट लिपुलेक १७ किलोमिटर दूरीमा पर्छ । “सशस्त्र प्रहरी पहिलोपटक गाउँमा पुगेपछि निकै खुशी छौं”, व्यासका स्थानीय जीतबहादुर बोहराले भने, “अहिलेसम्म सरकार छैन भन्ने अनुभूति भएको थियो । बल्ल सरकारले हेलिकोप्टरमार्फत भए पनि व्यासमा सुरक्षाकर्मी पुर्याएर राज्य भएकोजस्तो भएको छ ।” व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करीले सरकारले व्यास क्षेत्रमा सशस्त्र प्रहरी राख्नु राम्रो भए पनि अहिले नागरिकलाई खलङ्गामै छोडेर जानु राम्रो नभएको प्रतिक्रिया दिए । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहरा सशस्त्र प्रहरीको पोष्ट छाङ्गरुभन्दा पनि कौवा भन्ने ठाउँमा उपयुक्त हुने बताए । “गागामा नेपाल प्रहरीको उपस्थिति भएको भन्दै “कालापानीबाट नजिकको क्षेत्र कौवा हो, भारतले काठ तस्करी पनि गर्ने हुँदा यो क्षेत्र विकल्पको रुपमा हुन सक्छ ।” सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्गरुका स्थानीय बासिन्दा गेल्बुसिंह बोहरा सरकारले ढिलै भए पनि राज्यको उपस्थिति गराउन सकिएको बताए । हामीले सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्नुपर्ने प्रस्ताव गरेका छौं। स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ भने सरकारले व्यासमा बिओपी स्थापना र निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कुञ्चा सर्न नपाएकोमा स्थानीयवासीको दुखेसो वैशाख पहिलो सातामै कुञ्चा सर्नुपर्ने व्यासीहरु अहिलेसम्म पनि सर्न नपाएकोमा दुखेसो व्यक्त गरे । व्यास गाउँपालिका–१ का यसोदा तिङ्करीले भने, “अहिले पनि आफ्नो जन्मभूमि जान भारतीय बाटो कुर्नुपर्ने अवस्था छ ।” सोही ठाउँका दानसिंह तिङ्करीले पञ्चायतकालमा निर्माण गरिएको बाटो निर्माणमा सरकारले गम्भीरता देखाउन नसकेको बताउँदै पञ्चायतकालमा निर्माण गरिएको गोरेटोबाटो सञ्चालनमा ल्याउन सके यस क्षेत्रको विकास र व्यासीहरुलाई सजिलो हुने जानकारी दिए । अहिले नेपालतिरको मौराभेल र कौवा क्षेत्रमा झण्डै ४ सय मिटर क्षेत्रमा बाटो अवरुद्ध छ । व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरुमा १ सय १० तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । रासस

नवलपरासीका संक्रमित लुपिछिपी नेपाल प्रवेश

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गरेका खुलेको हो । नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए । स्थानीयवासीका अनुसार दिल्ली बस्दै आएका उनी नेपाल प्रवेश गर्नुअघि दिदीको घर भारतको कुशीनगर जिल्लाको खड्डा क्षेत्रको सिसई भन्ने स्थानमा तीन दिन बिताएर नेपाल प्रवेश गरेको जनाएका छन् । संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयवासीमा त्रास बढेको छ । अझै पनि नेपाल भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नरोकिएपछि जिल्लामा डर बढेको हो । रासस