विकासन्युज

देउवालाई एमसीसीको चिन्ता, संसदमा भनेः पास गर्न सरकार उदासीन देखियो

काठमाडाै‌ं । नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई यो सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखिएको आरोप लगाएका छन् । नेपाल सरकार प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धि सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको आरोप लगाएका हुन् । उनले कोरोना भाइरसको महामारीमा सरकारले सबैलाई आफु अभिभावक भएको अनुभूति गराउनु पर्ने समय बताउँदै सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको बताए । उनले यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै नभएको र सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय नभएको आरोप लगाए । उनले भने, ‘सरकारसँग यो अप्ठेरो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पुर्णतः असफल भएको छ ।’ नेपाली भूमि अतिक्रमण खास गरि लिम्पीयाधुरा, लिपुलेक र कालापानी बारे नीति कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक भए पनि यो अपूर्ण भएको देउवाका जिकिर छ । यो सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न पूर्णरुपले चुकेको पनि आरोप लगाए ।

उद्योग सञ्चालन गर्न नयाँ पास विभागबाट लिनु पर्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आज (आइतबार) बाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने बताएका छन् । उनले  पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको वाणिज्य विभागबाट र उद्योग तर्फको उद्योग विभागबाट नयाँ पासको वितरण गर्न सुरु गरिएकाे बताएका हुन् । मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार नै उद्योगहरु सञ्चालन हुने र बैंक तथा वित्तीय क्षेत्रका लागि भने राष्ट्र बैंकले नै आजबाट नयाँ पास दिने दुगडले जानकारी  दिए । उनले आजबाट सबै पासहरु वितरण गर्न सुरु गरिएकाे बताए । ‘उद्योग सञ्चालकले मजदुरलाई उद्योगमा नै राखेर उद्योग सञ्चालन गर्ने हो, त्यसका लागि एक पटक मजदुर ल्याउन सम्बन्धित निकायले नै पासको व्यवस्था गर्ने छ, उद्योगीको उद्योगमा मजदुर राख्ने ठाउँ नभए नजिकको विद्यालय लगायतको स्थानको व्यवस्था गरेर उद्योग सञ्चालन गर्ने हो,’ उनले भने । ती उद्योगले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पनि परा गर्नुपर्ने दुगडले उनकाे भनाइ छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्दा सवारीको चाप धेरै भएपछि गृहले सबै पास रद्ध गरेको थियो । नयाँ पासको लागि बैंक तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैक, वाणिज्य क्षेत्रका लागि वाणिज्य विभाग र उद्योग क्षेत्रका लागि उद्योग विभागले नै सवारी पासको व्यवस्था आजबाट गरेको छ । सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । ‘४४ प्रकारका उद्योग सञ्चालनका लागि आजबाट उद्योग विभागले नै पास दिन थालेको उनले बताए ।  उद्योग विभागको हकमा भने निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अर्फ कर्मको सहकार्यमा आजबाट पास दिन थालिएको हो । यसअघि गृह र जिल्ला प्रशासनले जारी गर्दै आएको पास आजबाट उद्योग विभागले नै दिन थालेको उद्योग विभागको महानिर्देशक जीवन प्रकाश सिटौलाले जानकारी दिए । ‘निजी क्षेत्रको सहकार्यमा उद्याेग सञ्चालन गर्न सकिने अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनका लागि आवश्यक पास मात्रै उद्योग विभागले दिन थालेको हो, प्रतिष्ठानका कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु पर्नेछ,’ सिटौलाले भने । सेवा उत्पादन र बिक्री वितरण गर्ने उत्पादक वा सेवा प्रदायकले कामदार तथा कर्मचारी कहाँबाट कहाँसम्म लानु ल्याउनु पर्ने हो भनेर पास माग गर्नु पर्नेछ । त्यस्ता उत्पादक वा विक्री वितरकको नियामक निकाय को हो, यस्ता विषयको विश्लेषण गरेर परिचयपत्रकै आधारमा कामदार आउन जान दिइनेछ । सम्बन्धित नियामक निकायसँग समन्वय गरेर त्यस्ता नियामकबाट नै पास उपलब्ध गराउने सुरु भएको हो । उद्योग सञ्चालनको लागि केही समस्या आयो भने उद्योग मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछ । उपत्यकामा कसरी पाइन्छ पास ? काठमाडौं जिल्लाको हकमा भने सम्बन्धित नियामक निकाय उद्योग विभाग, वाणिज्य विभाग वा राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयको समन्वयमा पास दिने छ । अत्यावश्यक वस्तु तथा सेवा उत्पादन र बिक्री वितरण गर्ने उत्पादक र बिक्री वितरकलाई परिचयपत्रकै आधारमा नै समान ओसार पसार गर्न दिने व्यवस्था यसअघिदेखि नै गरिएको थियो । पछिल्लो समय खुलाइएको उद्योग प्रतिष्ठान तथा सेवा व्यवसायका कामदार तथा कर्मचारीहरुको लागि पासको व्यवस्था सम्बन्धित नियामक निकायले गर्न थालेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिन सक्ने छन् । बीमा कम्पनीको कर्मचारीको पास बीमा समितिबाट लिन सक्ने छन् । सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । बिहिबार गृह मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमितको संख्या एक्कासी वृद्धि भएपछि सरकारले दिएको सबै पास रद्ध गरेको थियाे । यी हुन् नयाँ पास पाउँने ४४ प्रकारका उद्योग प्रतिष्ठान १) खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु २) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग ३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु ४) खाने पानी उत्पादन गर्ने उद्योगहरु ५) इँटा उद्योग ६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग ७) खाने तेल तथा घ्यू उद्योग ८) चिनी उद्योग ९) चिया प्रशोधन उद्योग १०) एलपीजी ग्याँस उद्योग ११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग १२) कफि उद्योग १३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग १४) नूडल्स तथा तयारी चाउचाउ उद्योग १५) मसला उद्योग १६) अलैंची र अदुवा प्रशोधन उद्योग १७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग १८) धान चामल र चिउरा उद्योग १९) दाल उद्योग २०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग २१) खानी तथा खनिजजन्य उद्योग २२) बालुवा प्रशोधन तथा क्रसर उद्योग २३) सिमेण्ट उद्योग २४) आइरन तथा स्टिलउद्योग २५) पेन्टिङ्गस (रंगरोगन) उद्योग २६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग २७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग २८) जुुस तथा हल्का पेयपदार्थ उद्योग २९) प्लाइउड र भेनिर उद्योग ३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु ३१) जस्ता पाता उद्योग ३२) हेभी मेशीनरी औजार मर्मत संभार ३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत) ३४) समिल र काष्ठ उद्योग ३५) आल्मुनियम उद्योग ३६) ग्रील उद्योग ३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग ३८) ढुवानी तथा कार्गो सेवा उद्योग ३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग ४०) मोटर ग्यारेज वर्कसप उद्योग ४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग ४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग ४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग ४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले यी हुन पूर्णरुपमा बन्द रहने उद्योगहरु सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु, होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न पाइदैन । १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ । नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यवस्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ ।

६ वर्षभित्र जगदुल्ला जलविद्युत् आयोजना, के भन्छन् सरोकारवाला ?

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन नपुगेका र ग्रामीण विद्युतीकरण नभएका स्थानमा विद्युतीकरण गर्ने उद्देश्यअनुसार जगदुल्ला जलविद्युत् आयोजनाको छ वर्षभित्र निर्माण गर्ने उद्देश्य लिइएको छ । आयोजना निर्माणका लागि फागुन २८ गतेबाट मुआब्जा वितरणकार्य शुरु भएसँगै आयोजना निर्माणको गती शुरु भएको हो । अब दोस्रो चरणको मुआब्जा वितरणको कामसमेत छिट्टै शुरु गरने आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए। विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पामा मुआब्जा वितरण सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाएका छन् भने दोस्रो चरणमा अर्थात् चैत १४ गते काइगाउँमा वितरण गर्ने भनिएकामा ‘लकडाउन’का कारण रोकिएको छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरणकार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको विस्तृत परियोजनाको प्रतिवेदन (डिपिआर) काम पूरा भए पनि लकडाउनका कारण सार्वजानिक गर्न नपाएको आउने प्रमुख सापकोटाले बताए । २० महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको थियो । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रुपमा निर्माणकार्य थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३ सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जीनियरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैं र स्थानीयवासीलाई सेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३ सय मिटरभित्र सुरुङ निर्माणका लागि चैत २ गते बोलपत्र आह्वान भएर छिट्टै काम शुरु हुने आयोजनाले जानकारी दिएको छ । जाजरकोट, रुकुमपश्चिम र डोल्पाको सिमाना त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि आयोजनाले पहल शुरु गरेको छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा कामसमेत आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । काइगाउँमा परीक्षणका लागि चार वटा प्वाल प्रतिप्वाल ३५ मिटरको हिसाबले निर्माण गरी जाँचको काम भएको छ । त्यस्तै १ सय ६० मिटर जमिनमुनिका दुई प्वाल इलमा निर्माण गरिएको छ । आयोजना निर्माणका लागि आवास र कार्यालय भवन निर्माण बोलपत्र आवह्वानको काम शुरु गर्न लागिएको बताएको छ । अर्धजलाशययुक्त रहेको यो आयोजनाको कूल लागत २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोला दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्य नभएको प्रमुख सापकोटाले जानकारी दिए । आयोजनाबारे के भन्छन् सरोकारवाला ? डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहलकदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिए । विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताए । भौगोलिकरूपमा निकै जटिल भूबनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ । आयोजना निर्माणको बाधक बनेको सडक त्रिवेणीदेखि इल हुँदै सर्मी भालु हुँदै काइगाउँसम्म सडक निर्माण गर्नका लागि ३७ करोड रुपैयाँको बोलपत्र आह्वानका लागि प्रक्रिया शुरु भएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । त्यस्तै तीन करोड रुपैयाँको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भएको उनले जानकारी दिए । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम पाँच करोड रुपैयाँमा शुरु गरिएको उनले जानकारी दिए । जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआरको काम शुरु भइ निकट भविष्यमा पुल निर्माणको काम शुरु गरिने शाहीले जानकारी दिए । त्रिवेणी, मनमङ र निलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने उनको भनाइ छ । रासस

हामी मर्दैनौं, बलियो भएरै छोड्छौं

गायिका केली क्लार्कसन ‘ह्वाट डज नट किल यु मेक्स यु स्ट्रङ्गर ।’ अर्थात्, जसले तपाइँलाई मार्दैन, त्यसले तपाइँलाई बलियो बनाउँछ । अमेरिकी गायिका केली क्लार्कसनको चर्चित गीतले भनेजस्तै हो, हाम्रो अवस्था । हाम्रा प्रत्येक पाइलाले मृत्यु र सिकाइलाई सँगसँगै लिएर हिँडिरहेको हुन्छ । जबसम्म मर्दैनौं, तबसम्म हामी सिकिरहन्छौं । त्यही सिकाइले नै हामीलाई बलियो बनाउँदै जान्छ । हामी अहिले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा छौं । हाम्रो सिकाइको शिलशिलामा अहिले एउटा कठिन मोड आएको छ । त्यस्तो मोड, जहाँ हाम्रा गति सुस्त छन्, गतिविधि शुन्य छन् । मृत्युसँग त हामी सँधैं खेलिरहेकै हुन्छौं, तर त्यसलाई अक्सर सम्झिँदैनौं । अहिलेको अवस्थामा हामीले मृत्युलाई सम्झिरहेका छौं र त्योदेखि भाग्न खोजिरहेका छौं, फरक यतिमात्रै हो । तर, यो चाहिँ अवश्य नै हो, यसबाट तपाइँ हार्न सक्नुहुन्छ, म हार्न सक्छु । इतिहास साक्षी छ, मानव जातिले हार्ने छैन । कोभिड–१९ को महामारी विश्व महामारीमा पहिलो घटना होइन । इतिहासमा कयौं त्यस्ता कहालिलाग्दा दिन पनि आएका थिए, जसले मानव सभ्यतालाई विघटनकै मुखमा पुर्याएको थियो । स्पेनी फ्लु नामको भाइरसले १०० वर्षअघि ५० करोडमा संक्रमण र ५ करोडको मृत्यु गराएको थियो । चौधौं शताब्दीमा ५ वर्षसम्म फैलिएको ‘ब्ल्याक डेथ’ नामक महामारीले आधा जनसंख्यालाई सखाप पारेर मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने चेष्टा गरेकै हो । विश्वमा महामारीका यस्ता दर्जनौं घटना छन् जुन मानब जातिका लागि निकै कठिन बन्दै गए । तर अन्त्यमा मान्छेले नै जित्दै गयो । यी परिदृष्य हेर्दा कोभिड–१९ ‘सफ्ट’ महामारी हो । यसको संक्रमणको गति उच्च छ, तर यसको सर्भाइभल दर पनि उच्च नै छ । अहिलेसम्म संक्रमित मध्ये औसत ५ प्रतिशतको मात्रै मृत्यु भएको तथ्यांक छ । बाँकी ९५ प्रतिशत जनसंख्या निको भएर घर जाने गरेका छन् । अर्कोतर्फ, एकपटक निको भएर फर्किएको व्यक्तिलाई यो संक्रमण फेरि भएको अवस्था निकै कम छ । त्यसमाथि पनि फेरि संक्रमण भएर मृत्यु हुनेको संख्या शुन्यप्रायः नै छ । त्यसैले यो भाइरस मानव सभ्यतालाई चुनौती दिनेगरी आएको होइन । यो महामारीको अन्त्य कहिले हुन्छ र जनजीवन सामान्य अवस्थामा कहिले फर्किन्छ भन्ने एकीन गर्न कसैले सकेका छैनन् । तर, हार्डवर्ड विश्वविद्यालयको अध्ययनले यो महामारी अन्त्य भएर अवस्था सामान्य हुन कम्तीमा पनि २ वर्ष लाग्ने जनाएको छ । चीनले वुहान शहरले लकडाउन खुला गरे पनि ‘सामाजिक दूरी’ कायमै राख्नुले पनि हामीले भोगिरहेको बन्दाबन्दीको अन्त्यलाई नै कोरोना महामारीको अन्त्यको रुपमा बुझ्न नहुनेचाहिँ प्रष्ट भएको छ । लेखक कोरोनाले हामीमा निम्त्याएको पीडालाई शब्दमा उतार्न थाल्ने हो भने शब्द नै कमजोर बन्छ । किनकी शब्दले मात्रै सञ्चारको काम गर्न सक्दैन । भनिन्छ, हजार शब्दले गर्न नसकेको वर्णन एउटा चित्रले गर्छ । र, हजार चित्रले गर्न नसकेको वर्णन एउटा अनुभवले गर्छ । तपाइँ हाम्रो यो अनुभवलाई कम्युटरको स्क्रिनमा देखिएका काला अक्षरले वर्णन गरेर सक्दैन । त्यसमाथि सञ्चारको प्रक्रियामा शब्दको भूमिका ७ प्रतिशत मात्रै हुन्छ । बाँकी ९३ प्रतिशतमध्ये स्वरको ३८ प्रतिशत र बडिल्याङ्वेजको ५५ प्रतिशत भूमिका हुन्छ । ७ प्रतिशतको सीमितताभित्र बसेर हजारौं गुणा शक्तिशाली अनुभवलाई जित्ने चेष्टा नगर्दा नै राम्रो हुन्छ । त्यसैले आजको अवस्थाबारे वर्णन गर्ने साहस गरिएन । तर, पीडाको बीचमा पनि यो महामारीले हामीलाई धेरै कुरा सिकाएको भने छ । हिजोसम्म हाम्रो राष्ट्रियता भावनामा मात्रै सीमित थियो । अहिले यसलाई व्यवहारमा उतार्नुपर्ने दिन आएको छ । हिजो कानूनको डरले मान्दै आएका नियमहरु अहिले स्वतः लागू गर्ने अवस्थामा हामी पुगेका छौं । परदेशमा रहनुको पीडा र एक्लोपनबाट सिर्जित हुने ‘डायस्पोरिक चेतना’ अहिले फेरि फुल्न थालेको छ । यो महामारीको बीचमा मानवको प्रकृति माथिको दोहन रोकिएको छ । पहिले हामी वर्षको एक दिन ‘फ्युल होलिडे’को उत्सव मनाएर हिँडेर कार्यालय जाने गर्थ्याै । आज महिनौं भयो विश्वमा तेलको माग घट्न थाल्यो । हजारौं शहर लकडाउन भए । तेलको माग ज्यादै कम भयो । यसकै परिणाम हो, अहिले आकाश खुला भएको छ । पृथ्वीले आफ्नो रुप देखाउन सुरु गरेको छ । शहरको कोलाहल र प्रदुषण एकाएक हराएको छ । प्रकृतिले मान्छे र जनावरलाई बाँच्ने बराबर अधिकार दिएको रहेछ भन्ने चेतना पनि योबेला जागृत भएको छ । अहिले यसलाई व्यवहारमा उतार्नुपर्ने दिन आएको छ । हिजो कानूनको डरले मान्दै आएका नियमहरु अहिले स्वतः लागू गर्ने अवस्थामा हामी पुगेका छौं । परदेशमा रहनुको पीडा र एक्लोपनबाट सिर्जित हुने ‘डायस्पोरिक चेतना’ अहिले फेरि फुल्न थालेको छ । हामी ‘ब्याक टू दि नेचर’ भन्थ्यौं । तर, विकासको जति रफ्तार बढ्दै गएपनि मान्छेहरु शहरबाट फर्किएर गाउँ जाने अवस्था कहिलै बनेन । नेपालमात्रै होइन विश्वका विकसित देशहरुमा पनि शहरतिरै हुँइकिने प्रवृत्ति कायमै रह्यो । जापानका गाउँहरुमा मान्छे भन्दा घर धेरै छन् । अमेरिकाको डिभीको नाममा खाली गाउँमा राख्न वार्षिक लाखौंलाई नागरिकता दिएर आफ्नो देशमा लगिरहेको छ । तर, कोरोनोको महामारीले यो अवस्थालाई बदलिदिएको छ । हजारौं माइल हिँडेर आफ्नो गाउँ पुग्नुले गाउँप्रतिको माया र आत्मीयता झल्काएको छ । सभ्यताले गर्न नसकेको यो परिवर्तन महामारीले गर्ने सम्भावना देखिएको छ । महामारीको जोखिमभित्रको सकारात्मक पक्ष त्यही होला सायद । गाडी नचलेपछि हिँडेरै गन्तव्यमा जाँदैगर्दा थाकेर बसेका मजदूर यस्तो महामारीपछि परिस्थिति ‘बाउन्स ब्याक’ भएर पूर्ववत सम्भावना कम हुन्छ । हार्डवर्ड विश्वविद्यालय अनुमानजस्तै २ वर्षसम्म महामारीको अन्त्य नहुने हो भने लकडाउन खुलेपछि पनि अब तत्कालै गाउँको मान्छे शहर फर्किनसक्ने सम्भावना हुँदैन । बरु शहर र विदेशमा अड्किएकाहरु गाउँ फर्किने सम्भावना नै बढी हुन्छ । त्यसैले उनीहरुले केही समय गाउँमै अवसर खोज्न लाग्नुपर्ने अवस्था आउन सक्छ । त्यो अवस्थासम्म हाम्रा आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाहरु निकै परिवर्तन भइसकेका हुनेछन् । हुन त, सबै महामारीले विद्यमान सन्तुलनलाई एक प्रकारले ध्वस्त नै बनाइदिन्छ । यसले मान्छेको काम गर्ने ठाउँ, समय र कार्यशैलीलाई परिवर्तन गराइदिन्छ । त्यसले प्रारम्भिक अवस्थामा निकै ठूलो असहजता निम्त्याउँछ । यो असहजताले भविष्यमा दुईवटा रुप धारण गर्न सक्छ । पहिलो, यो विस्तारै सहजता परिणत हुन्छ । दोस्रो, यो झनै भयावह भएर जान्छ । तर भयावहको त्यो अवस्थामा पुग्ने चाहना भने कसैको पनि हुँदैन । नेपाल र नेपालीको लागि त यो अवस्था झनै विशेष खालको छ । हाम्रो अर्थतन्त्र, रोजगारी, उपभोग, सरकारको राजश्व र पुँजी निर्माणको संरचनाका कारण यो परिस्थितिको सामना झनै चुनौतीपूर्ण बन्ने देखिएको हो । वर्षौंदेखि नेपाली अर्थतन्त्र बाह्य अर्थतन्त्रसँग ‘टाइअप’ भएर अडिएको छ । हामी काम गर्न विदेश जान्छौं । कमाएर नेपालमा रेमिट्यान्स पठाउँछौं । त्यही रेमिट्यान्सले हाम्रो परिवारको उपभोग चल्छ । त्यो उपभोग पनि विदेशबाट आयातीत सामानकै हुन्छ । त्यही सामानबाट सरकारको राजश्व प्रणाली चल्छ । देशभित्रको व्यापार व्यवसाय पनि त्यहीबाट सञ्चालित हुन्छ । यसप्रकार, विप्रेषणले अर्थतन्त्रको मुहानको काम गरिरहेको छ । चैतको खडेरीसँगै यो मुहान सुक्ने अवस्था सुरु भएको छ, यसबाट तिर्खाउने भविष्यका दिन हामीले देखिरहेका छौं । महामारी लम्बिँदै जाँदा विदेशमा श्रम गर्न गएका करिब ३० लाख मान्छे स्वदेश फर्किने सम्भावना विज्ञहरु औंल्याउँछन् । यो संक्रमणपछि विश्वका प्रमुख श्रम गन्तब्यहरुमा काम ठप्प भएका छन् । अहिले विभिन्न खाडी मुलुकहरुले कामदार कटौती गर्ने कानून ल्याइसकेका छन् । कतिपय देशले आप्रवासी श्रमिकलाई स्वदेश पठाउने प्रक्रिया समेत सुरु गरिसकेका छन् । रोजगारी कटौतीको पहिलो मारमा अदक्ष कामदार नै पर्ने हुन्, नेपालीको निर्भरता त्यसैमा बढी छ । त्यसैले नेपालको बैदेशिक रोजगारी संकटको घडीमा छ । लकडाउनको समयमा चौतारीमा जम्मा भएर बसेका धार्केका किसान त्यस्तै, वार्षिक रुपमा श्रम बजारमा प्रवेश गर्ने करिब ५ लाख जनसंख्या र देशभित्रै रोजगारीको अवसर गुमाएर बेरोजगार हुनुपर्ने अर्को ५ लाखको संख्या अनुमान गरिएको छ । त्यो जनसंख्या समेत जोड्ने हो भने करिब ४० लाखको श्रमशक्ति अबका दिनमा स्वदेशमै रोजगारीका लागि भौतारिरहेका हुनेछन् । यी सबै जनसंख्या अन्ततः निर्वाहमुखी कृषि क्षेत्रमै गएर ठोक्किने हुन् । तर पूर्वाधार, हाम्रो प्रणाली र हाम्रो साधन स्रोतका कारण सबैलाई यो क्षेत्रले एकैपटक धान्न सक्ने अवस्था छैन । यसलाई सम्बोधन गर्नु सरकारको मुख्य चुनौती हुनेछ । र, यो समस्यालाई उपयुक्त रुपमा ‘ट्याकल’ गर्न नसक्दा आउने सामाजिक विचलनको अबस्था नै माथि उल्लेख गरिएको भयावह अवस्था हो । जसको परिणाम हामीले अहिलै अन्दाज गर्न सकेत सक्दैनौं । त्यसो त, यो महामारीपछि सरकारको क्षमतामा कमी आउने प्रष्ट नै देखिन्छ । राजश्वको स्रोत गुम्दा सरकारी खर्चका लागि वैदेशिक सहयोगमा समेत कमी आउने देखिन्छ । द्विपक्षीय रुपमा पाइँदै आएको सहयोग अर्को वर्षदेखि नपाइन सक्छ, किनकी सबै देशहरुले महामारीपछिको पुनर्स्थापना गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नै गाँस कटाएर अरुको पेट भर्ने चाहना उनीहरुको हुँदैन । बहुुपक्षीय सहयोग निरन्तर हुनसक्छ तर त्यो पनि अपेक्षाकृत परिणममा नआउन सक्छ । किनकी त्यस्तो सहयोगको अपेक्षा गर्ने मुलुकको संख्या धेरै हुनेछ । यसले गर्दा सहयोगको हिस्सा कम हुन सक्छ । यसले गर्दा सरकारी खर्च नियन्त्रण गर्नैपर्ने वाध्यता हुन्छ । तर सरकारी खर्च घटाउँदा पहिलो मार विकास निर्माणमा पर्छ । यसले उपभोगको अवस्थालाई पनि घटाउँछ । उपभोगमा कमी आउँदा उत्पादन घट्छ । यसले अर्थतन्त्रमा थप बेरोजगारी सिर्जना हुन्छ । अर्थतन्त्रको डाउनटर्नको यही चक्रलाई हामी ‘गरिबीको दुष्चक्र’ भन्छौं । रोगसँगको लडाइँपछि सुरु हुने भोकविरुद्धको त्यो दुष्चक्रको अवस्थालाई पनि हामी नकार्न सक्दैनौं । तर, निराशाको कालो बादलभित्र अवसरको चाँदीको घेरा हुन्छ । त्यो घेरा बादलपारि रहेको उज्यालोको संकेत हो । यसको अर्थ, हाम्रो उज्यालो गुमेको होइन, छेकिएको मात्रै हो । कोरोनाले ल्याउनसक्ने तात्कालीक विषमताको कालो बादलभित्र वर्षौंदेखिको हाम्रो सांस्कृतिक र आर्थिक प्रणालीको पुनर्संरचना गर्ने र दीगो समाज र बलियो अर्थतन्त्र निर्माण गर्ने अवसरको उज्यालो किरण यसभित्र लुकेको छ । करिब ३५ खर्बको आन्तरिक उत्पादन (कुल ग्राहस्थ्य उत्पादन) र करिब १५ खर्बको आयात समेत गरी हाम्रो वार्षिक कुल आन्तरिक माग करिब ५० खर्बको छ । त्यसमध्ये हामी मुस्किलले १ खर्बको निर्यात गर्छौं । बाँकी ४९ खर्ब हाम्रो वार्षिक उपभोग रहन्छ । यो हाम्रो माग पक्ष हो । यहाँनिर हामीले १४ खर्ब रुपैंयाको खुद आयात गरिरहेका छौं । यसले हाम्रो वैदेशिक ब्यापारमा माग पक्षको ‘डोमिनेसन’ भन्ने देखाउँछ । यो हाम्रो आन्तरिक आपूर्तिको लागि ज्यादै सकारात्मक पक्ष हो । अहिलेको अवस्थामा हाम्रो ब्यापार सन्तुलित थियो भने वा निर्यात बढी थियो भने यहाँ झनै ठूलो समस्या हुन्थ्यो । विदेशी बजारको माग हाम्रो नियन्त्रणमा हुने थिएन । त्यसैले उत्पादन भएका सामान नबिकेर जानसक्ने अवस्था पनि हुनसक्थ्यो । त्यो झनै भयावह हुन्थ्यो । तर हामीले आन्तरिक मागलाई आन्तरिक उत्पादनले परिपूर्ति गर्दै जाने अवस्था छ । हाम्रो अहिलेको मुख्य समस्या भनेको भण्डारण र बजारको हो । त्यही समस्याका कारण माग र आपूर्तिबीच ‘मिसम्याच’ भइरहेको छ । वास्तवमा यही असन्तुलन हाम्रो पहिलो र मुख्य समस्या हो । यहाँ जसले उत्पादन गर्छ उसैले बिक्री गर्नुपर्ने अवस्था परिरहेको छ । कामको विशिष्टकरण नहुँदा मुस्ताङमा स्याउ फलाउनेले पोखराको बजारमा आफैं बिक्री गर्नु परिरहेको छ । बजारको ग्यारेन्टी हुन्थ्यो भने उत्पादन कुनै समस्या थिएन । तर त्यही ग्यारेन्टी नहुँदा हामी विदेशबाट आयात गरेर जीविका चलाइरहेका छौं, तर हामी आफैं उद्यमी बन्न सकिरहेका छैनौं । कर्णालीमा झुलिरहेका मार्सीधानले काठमाडौंको भान्सामा पाक्ने ग्यारेन्टी पाउँछ भने धान फलाउनु समस्या होइन । चितवनमा उत्पादन गरिएको दुध बाटोमा पोखिनुपर्दैन भने गाईभैंसी पाल्नु समस्या पनि होइन । हाम्रो अहिलेको मुख्य समस्या भनेको भण्डारण र बजारको हो । त्यही समस्याका कारण माग र आपूर्तिबीच ‘मिसम्याच’ भइरहेको छ । बजारको ग्यारेन्टी हुन्थ्यो भने उत्पादन कुनै समस्या थिएन । कर्णालीमा झुलिरहेका मार्सीधानले काठमाडौंको भान्सामा पाक्ने ग्यारेन्टी पाउँछ भने धान फलाउनु समस्या होइन । चितवनमा उत्पादन गरिएको दुध बाटोमा पोखिनुपर्दैन भने गाईभैंसी पाल्नु समस्या पनि होइन । हामीकहाँ विकासका पूर्वाधारको उपलब्धता अहिले फैलिँदै गएको छ । प्रत्येक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने कुरा भइरहेको छ । धेरैजसो गाउँहरुमा बाटोघाटो खोलिएका छन् । विजुली र खानेपानीको पहुँच ९० प्रतिशत भन्दा माथि पुगेको छ । सञ्चारमाध्यमबाट अहिले कोही पनि विमुख हुनु परेको छैन । यो सक्षमताले उत्पादन र बजारीकरण गर्ने क्षमता विस्तार हुँदै गएको छ । त्यसलाई कार्यान्वयन गर्ने सोच र इच्छाशक्ति मात्रै अब चाहिएको हो । अबको अवस्थामा प्रत्येक गाउँका उद्यमीको उत्पादनले बजार पाउने व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो । धेरैजसोले अहिले पुँजी नभएर उद्यमी नबनेका होइनन्, बजार नभएर मात्रै हो । यसका लागि स्थानीय सरकारहरुले स्थानीय उत्पादनको संकलन, भण्डारण र बजारीकरणको अगुवाई गर्नुपर्छ । त्यसका लागि माथिल्लो तह र एउटै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने वातावरण मिलाउनुपर्छ । संघ, प्रदेश र स्थानीय तहमै पुग्न सक्नेगरी कमोडिटिज बजारलाई व्यवस्थित गरेर निजी क्षेत्रमा विस्तारै त्यसको हस्तान्तरण गर्दै जाने हो भने तत्कालका लागि बजारको समस्या समाधान हुन्छ । त्यसले प्रशस्त रोजगारीको अवसर समेत सिर्जना गर्छ । दीर्घकालमा यसले सरकारी भूमिकालाई कम गर्दै जाने र निजी क्षेत्रलाई नै मूलधारमा ल्याउने अवस्था पनि यसले सिर्जना गर्नसक्छ । त्यसैले यो अवस्थामा हाम्रो क्षमता र सरकारको भूमिकालाई रिडिफाइन गर्नुपर्ने अवस्था आएको छ । कोरोना भाइरसको महामारीसँगै चीनले एउटा मोबाइल एप्लिकेसनको विकास गरेको छ । यसले प्रत्येक दिन नागरिकको स्वास्थ्य अवस्था र गतिविधिलाई ट्र्याकिङ गरिरहेको हुन्छ । यदि कुनै व्यक्तिमाथि संक्रमणको आशंका गरियो भने उसले त्यो अवधिमा भेटेका सबैको जानकारी यो एप्लिकेसनले राख्छ र तत्कालै सबैलाई उपचारको दायरामा ल्याउन सकिन्छ । यो एप्लिकेसन मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताका हिसावले उपयोगी एप्लिकेसन पक्कै होइन तर हामीले त्यस्तै एप्लिकेसनको विकास गरेर माग र आपूर्तिको असन्तुलनलाई हटाउने औजारको रुपमा प्रयोग गर्न सक्छौं । अर्थतन्त्रले हाम्रा गतिविधिलाई विभिन्न ३ वटा क्षेत्रमा वर्गीकरण गरेको हुन्छ । प्रारम्भिक क्षेत्र, द्वितीयक क्षेत्र र तृतीयक क्षेत्र । प्रारम्भिक क्षेत्रमा कृषि, बन र खनिज पर्छ । द्वितीयक क्षेत्रमा उद्योग पर्छ भने तृतीयक क्षेत्रमा ब्यापार र सेवा क्षेत्रहरु पर्छन् । यहाँ पहिलो क्षेत्रको उत्पादनको मूल्य ज्यादै न्यून हुन्छ । दोस्रो क्षेत्रले यसमा प्रशस्त ‘भ्यालु एड’ गर्न सक्छ । अहिलेको अवस्थामा त्यस्तो मूल्य अभिवृद्धि गर्ने उद्योगहरुको खाँचो नेपाललाई छ । यसले हाम्रो ठूलो जनसंख्यालाई रोजगारीको दायरामा समेट्न सक्ने अवस्था सिर्जना गर्छ । तर, यतिले मात्रै चाहिँ पुग्दैन । हामीले हाम्रा राष्ट्रिय व्यवहारलाई देखाउनुपर्ने दिन आएको छ । त्यसका लागि उपलब्ध भएसम्म नेपालकै उत्पादनलाई उपभोग गर्ने बानीको विकास हामीले गर्नुपर्छ । त्यति मात्रै होइन नेपालमा जुन उत्पादनले सबैभन्दा बढी मूल्य अभिवृद्धि गरेको छ, त्यसलाई उपभोगको पहिलो प्राथमिकतामा राख्ने बानीको विकास हामीले गर्नुपर्छ । त्यसो त, सरकारले पनि नेपालमै उत्पादन हुनसक्ने सामानको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सक्छ । त्यसले वास्तविक रुपमा राष्ट्रियतालाई झल्काउँछ । यसले आत्मनिर्भर अर्थतन्त्रलाई विकास गर्न सहयोग पनि गर्छ । अर्को कुरा, हामीले हाम्रो उपभोग प्रवृत्तिलाई केही समयको लागि ‘निलम्बन’ गर्नुपर्ने अवस्था पनि आएको छ । कोरोनाको लागि हामीले एक महिनासम्म घरमा थुनिएर योगदान गर्न सक्छौं भने देशको लागि हामीले एक वर्ष न्यूनतम उपभोग गरेर बाँच्न पनि त सक्छौं नि ? मकै बेचेर हर्लिक्स आयात गर्नुभन्दा त्यही मकैको सातु बनाएर खान सक्छौं नि ? उद्योग प्रतिष्ठानहरुले पनि एक वर्ष न्यूनतम नाफा लिएर धेरै भन्दा धेरैलाई रोजगारी दिन पनि सक्छन् । यदि त्यसो गर्न सकियो भने भोकविरुद्धको यो लडाइँमा हामीले फेरि पनि जित्छौं । क्लार्कसनले आफ्नो गीतमा भनेझैं यदि हामी मर्दैनौं भने हामी बलियो भएरै छोेड्छौं । हाम्रो अर्थतन्त्र मर्दैन भने यो बलियो भएरै छोड्छ । कोरोनाको महामारीलाई दीगो विकास र बलियो अर्थतन्त्रको आधारशिला बनाउने सुनौलो अवसरको रुपमा हामी यसलाई प्रयोग गर्छ सक्छौं ।

निम्बस समूहले शिखर इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं । निम्बस समूहले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराएको छ । समूहले शिखर इन्स्योरेन्समार्फत कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोरोना बीमा गराएको हो । हालको परिस्थितिमा कारोनाको भाइरसको सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोभिड बीमा गराएको समूहले जनाएको छ । हाल कोभिड १९ बाट श्रीजीत स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यस बिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, डिश इन्फेक्सन टनेलको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ । निम्बसले पनि अत्याबश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा निम्बसडटकम मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएको छ । निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्- ‘हामीले सबै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सबै किसिमका जोखिम न्यनीकरण गर्नाका लागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं ।’

कोरोनाबाट सुत्केरीको मृत्युको खबरले मलाई अत्यन्त दु:खी तुल्यायो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट २९ वर्षिय सुत्केरी महिलाको मृत्यु भएको खबरले आफूलाई अत्यन्तै दु:खी तुल्याएको बताएका छन् । ट्वीटमार्फत प्रधामन्त्रीले भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी २९ वर्षिय सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दु खी तुल्याएको छ  ।’ प्रधानमन्त्री ओलीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

कोरोना रोक्न नसकेको भन्दै ओबामाले गरे ट्रम्पको आलोचना

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाको संक्रमण फैलिएसँगै वर्तमानलाई लिएर कडा आलोचना गरेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा ट्रम्प प्रशासनले गम्भीर त्रुटी गरेको आरोप ओबामाले लगाएका हुन् । स्थानीय समयअनुसार शनिबार राति यो वर्ष कलेजबाट दीक्षित विद्यार्थीको भर्चुअल दीक्षान्त समारोह उद्घाटन क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरे । सत्तामा रहेको व्यक्तिले सधैं आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने गरेको भन्दै पूर्वराष्ट्रपति ओबामाले दीक्षित विद्यार्थीसामु ट्रम्पको नाम नलिईकन आलोचना गरेका हुन् । कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले पर्याप्त प्रयास गर्न नसकेको ओबामाको आरोप छ । एक हप्ताअघि पनि ओमबामले आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेका व्यक्तिहरूसँगको छलफलमा ट्रम्प प्रशासनको आलोचना गरेका थिए । शनिबार हिस्टोरिकल ब्ल्याक कलेज तथा विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई भर्चुअल सम्बोधन गर्दै ओबामाले भने, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिको वास्तविकता छर्लंग पारेको छ ।’

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकले लकडाउनबारे निर्णय गर्नेछ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । संक्रमित संख्या २ सय ९१ पुग्दा १ जनाको मृत्यु भइसकेको छ । त्यसकारण सरकारले कम्तिमा १० दिन लकडाउन बढाउने तयारी गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । यसअघि केही स्थानमा लकडाउन खुकुलो पारिएको थियो । तर, संक्रमिट बढ्दै गएपछि देशभर लकडाउनमा कडाइँ गरिएको छ । नेपालमा पटकपटक गरेर थपिएको लकडाउनको म्याद सोमबार सकिँदैछ ।