विकासन्युज

लक्ष्यभन्दा ३ अर्ब ४८ करोड कम राजस्व सङ्कलन

काठमाडौं । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को वैशाख मसान्तसम्म बन्दाबन्दीकै कारण भन्सार कार्यालयले लक्ष्यभन्दा २ अर्ब ४८ करोड ५३ लाख २२ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् । भन्सार प्रमुख निरौलाका अनुसार सो अवधिमा १२ अर्ब ७६ करोड ८८ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा कुल नौ अर्ब २८ करोड ३५ लाख ५१ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ । बन्दाबन्दीका कारण चैत ११ गतेदेखि नै सीमा नाका बन्द गरिएपछि अत्यावश्यक वस्तुबाहेकको आयात निर्यात नहुँदा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको हो । (गोरखापत्रबाट)

सीमानाकामा कडाइ जारी, अवैध क्रियाकलापमा आएन कमी

सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको हो । जिल्लाको भारतसँग सीमा जोडिएका ५१ किलो मिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ । सोह्र बेसक्याम्प र ८२ ड्युटी पोष्ट बोर्डरमा करिब ८० देखि १ सय मिटरको दूरीमा ५ सय सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीले जनाएको छ । भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरिेएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए। सीमानाका खुला रहेका र पछिल्लो क्रममा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेका कारण सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको भए पनि आपराधिक क्रियाकलापमा भने खासै परिवर्तन आउन सकेको छैन । करिब ३.५ किलोमिटर दूरीमा करिब ५ सय जनशक्ति बोर्डरको लागि परिचालन गरिएको भए पनि खुला सिमानाका कारण लुकीछिपी नेपालमा लागुऔषध तथा हातहतियार भित्रने क्रम निरन्तर रहेको छ । सोही क्रममा जिल्लाको विष्णु गाउँपालिका–४ बाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेका छन् । प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बगैँचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले ती दुई जनाको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरेको स्रोतले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको जिकिर सशस्त्र प्रहरीको भए पनि उनीहरूको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ भने नेपालमा गैरकानूनी क्रियाकलाप त्यत्तिकै भइरहेका छन् । त्यस्तै भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम पनि थप बढेको छ । रासस

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

काठमाडौं । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए । अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको प्रजिअ गुरागाईले बताए । सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । साथै युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र उनको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको समेत प्रजिअ गुरागाईँले बताए । गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसैबीच आजदेखि लकडाउनलाई अझ कडा बनाइने प्रजिअ गुरागाईँको भनाइ छ । रासस

भारतीय नागरिकको आक्रमण रोक्न सीमामा हवाई फायर

भद्रपुर । दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौंको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५/१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताए । नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो । एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो । यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए । रासस

रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ९१

काठमाडौं । रौतहट जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट जिल्लाको दुई नगरपालिकाका १० जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । जो रौतहट, राजपुर नगरपालिका, फरहदवा -९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षिय पुरुषहरु र रौतहट जिल्ला कै इशनाथ नगरपालिका -३ र ५ निवासी २८, ३०, ३३ वर्षिय पुरुषहरुमा कोरोना पुष्टि भएको सह प्रवक्ता अधिकारीले जनाएका छन् । संक्रमित १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपाल कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने १ जनाको महिलाको मृत्यु भएको छ । त्यस्तै ३६ जना उपचार पछि निको भएका छन् ।

कोरोनाबाट संसारभर ९६ नेपालीको मृत्यु, ७ हजारभन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसबाट संसारभरी ९६ जना नेपालीको मृत्यु भएको गैरआवासी नेपाली संघ (एनआरएन)ले जनाएको छ । शनिवार बेलुकासम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु भएसँगै ७ हजार ६२ जना नेपाली विश्वका १९ देशमा रहेको एनआरएनले जानकारी दिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १५ नेपालीले ज्यान गुमाएका छन् । त्यस्तै युएईमा नौ र साउदी अरबमा दुई नेपालीको मृत्यु भएको छ । आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र नेपाल प्रत्येक देशमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समिति संयोजक डा। संजीव सापकोटाले जानकारी दिएका छन् । कोरोना भाइरसका कारणले यो साता मात्र नेपालमा एक जनासहित १८ जनाले ज्यान गुमाए । सो साता बेलायतमा १२, युएईमा तीन, साउदी अरबमा दुई र नेपालमा एक जनाको मृत्यु भएको छ । संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपाली कोरोना भाइरसबाट संक्रमित छन् भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

सिंहदरबार प्रबलीकरण पुनः रफ्तारमा

काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ यतिबेला टायलरमार्वल एवं पेन्टिङको काम भइरहेको छ । सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताए । विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उहाँको भनाइ छ । कामदारहरुलाई सानो सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती–न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए । चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी, लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पुनः सुरु भएको छ ।

६ सय ३५ मेगावाटको दुधकोसी जलविद्युत आयोजनाको लगानी जुटाउन दातृ निकायसँग छलफल

काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास बैक (एडीबी), युरोपेली लगानी बैक (इआईबी), एसियाली पूर्वाधार लगानी बैक (एआईआईबी) र कोरियाली एक्जिम बैकका प्रतिनिधिसँग प्रारम्भिक बैठक गरेका हुन् । छलफलमा महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जलाशययुक्त आयोजनाको निर्माण सरकारको प्राथमिकतामा रहेको र दूधकोसी तुलनात्मक रुपमा सस्तो एवं आकर्षक रहेकाले आयोजनामा लगानी गर्न बैकहरुलाई आग्रह गर्नुभएको थियो ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको हालसम्मको अवस्था, लागत, लगानी ढाँचा, जलाशययुक्त आयोजनाको महत्वलगायतका विषयमा बैकहरुलाई जानकारी दिए । बैंकहरुले लगानीका लागि प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्ताव अर्थ मन्त्रालयमार्फत पेश गर्न आग्रह गरेको घिसिङले जानकारी दिए । ‘एडीबीले ५५ करोड अमेरिकी डलरसम्म, इआईबीले ५० करोड डलरसम्म, एआईआईबीले ३० करोड डलरसम्म र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्रमार्फत २० देखि ३० करोड डलरसम्म लगानी गर्न सकिने जानकारी उनीहरुले गराएका छन्,’ घिसिङले भने । ‘कोरियन एक्जिम बैकले हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न सकिने बताएको छ ।’ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममार्फत दूधकोसीलाई प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा गरेको छ । गत पुसमा आयोजनास्थलको निरीक्षणमा जानुभएका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दूधकोसीलाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा अगाडि बढाउने बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले पहिचान गरेका १० उत्कृष्ठ जलाशययुक्त जलविद्युत आयोजनामध्ये दूधकोसीलाई पहिलो प्राथमिकतामा राखेको छ । आयोजनाको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ६० अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सहवित्तीयकरणमार्फत लगानी गर्ने बैकको नेतृत्व एडीबीले गर्ने छ । एडिबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ । ‘दैनिक एवं मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत छिमेकी मुलुकमा निर्यातका लागिसमेत जलाशययुक्त आयोजना तत्काल निर्माण अगाडि बढाउनु पर्छ,’ घिसिङले भने । ‘दूधकोसीको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ, अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक रुपमा सस्तो र आकर्षक भएकाले यो आयोजना आर्थिक रुपमा लगानीयोग्य भएको बैकहरुलाई जानकारी गराएका छौं ।’ आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाबाट खोटाङ,ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ । जलाशययुक्त आयोजना भएता पनि विस्थापित हुने घरधुरी तुलनात्मक रुपमा कम रहेको छ । १ सय ६२ घरपरिवार मात्र पूर्ण रुपमा विस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुनेछन् । यस्तै एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने छ । आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दुधकोशी नदीमा १७ मिलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने छ । यस्तै १३. ३० किलोमिटर लामो सुरुङ हुनेछ । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक लगभग तयारी अवस्थामा छ ।