काठमाडौं । कोरोना भाइरसबाट संसारभरी ९६ जना नेपालीको मृत्यु भएको गैरआवासी नेपाली संघ (एनआरएन)ले जनाएको छ । शनिवार बेलुकासम्म ७७ पुरुष र १९ महिला गरी ९६ नेपालीको मृत्यु भएसँगै ७ हजार ६२ जना नेपाली विश्वका १९ देशमा रहेको एनआरएनले जानकारी दिएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १५ नेपालीले ज्यान गुमाएका छन् ।
त्यस्तै युएईमा नौ र साउदी अरबमा दुई नेपालीको मृत्यु भएको छ । आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र नेपाल प्रत्येक देशमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समिति संयोजक डा। संजीव सापकोटाले जानकारी दिएका छन् ।
कोरोना भाइरसका कारणले यो साता मात्र नेपालमा एक जनासहित १८ जनाले ज्यान गुमाए । सो साता बेलायतमा १२, युएईमा तीन, साउदी अरबमा दुई र नेपालमा एक जनाको मृत्यु भएको छ ।
संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपाली कोरोना भाइरसबाट संक्रमित छन् भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छैन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
