विकासन्युज

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख १६ हजार ९ सय ७१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १२ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ भने १८ लाख १० हजार ४६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८९ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ७ हजार ८ सय ६४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ भने अहिलेसम्म २ हजार ८ सय ७१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ८१ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला

कोरोना माहामारीको विश्वब्यापी अवस्था नसोचेकाे, नसम्झेको, रोग आयो कस्ताे आँखै अघि कालो मृत्यु, मडारिए जस्तो नदेखिने वस्तुसँग, विश्व जुधि रा’छ । हेर्दा यस्तो नरसंहार, सपनी झैँ भा’छ ।   सारा विज्ञान लागिरा’छ, यसको निदान खोज्न सक्या छैन अझ सम्म, सही कुन हो रोज्न एकान्तवास विकल्प हो, एउटै मात्र अहिले अत्यास लाग्छ यो संकट, सकिने छ कहिले हिजोसम्म सारा विश्व, थियो आफ्नो धुनमा डढेलो झैं फैलियो यो, अछुतो छ कुनमा पैसा, ज्ञान, चातुर्यले, न त संकट टार्यो धनाढ्यकै देशमा अझ, झन् विचल्ली पार्यो राम्रो स्वास्थ्य भा’को भनी, हेरिन्थ्यो जुन देशलाई आच्छु, आच्छु पारि रैछ, झन् पहिला त्यसलाई अश्त्र, शस्त्र, अणुबम, त्यी सबको के काम सजग हुन नजान्नेको, मेटिन्छ कि बा नाम ? सारा विज्ञान लागिरा’छ, यसको निदान खोज्न सक्या छैन अझ सम्म, सही कुन हो रोज्न एकान्तवास विकल्प हो, एउटै मात्र अहिले अत्यास लाग्छ यो संकट, सकिने छ कहिले नेपालको अवस्था लेखक अजै पनि हाम्रो देशमा, विपत्ति त छैन यसको मतलब सुरक्षित नै, हौँ भन्ने चाँही होइन लाग्छ ढिला अझै पनि, भ’को छैन हाम्रो लक डाउनको पूर्ण पालन, भै दिएकै राम्रो संक्रमित जो भेटिए, विदेशबाट आ’का जोगाउनु पर्ने रै’छ, रोगी बुढा पाका एकान्तवास् बस्नलाई, नगरौँ अटेर हराउनु छ यसलाई अब, सबै डटेर विदेशीको डाटा हेरी, आत्तिहाल्नु हुन्न बेलैबाट सजग भए, रोगले हाम्लाई छुन्न हेल्चेक्रयाइ गर्ने देशको, हालतलाई हेरौँ ढिला गर्नु हुन्न अब, दैनिकीलाई फेरौँ यसबाट बच्ने उपाय चाँडै सर्ने मानिसमा, रै’छ यसको जात बच्नलाई धुनुपर्छ, पटक पटक हात दूरी कायम गर्नु भन्छन्, मान्छे मान्छे बीचमा विकल्प नै छैन अरु, यो रोगको जितमा सामान किन्न जाँदाखेरी, पञ्जा मास्क लगाउँ ल्याएपछि शुद्दिकरण, गर्न नविराउँ अनिमात्र हाम्रो पहल, प्रभावकारी हुन्छ ल हेरौँ त कोरोनाले, कसो गरी छुन्छ ? ताजा खाना, शक्ति बलियो, बनाउनु पर्ने इम्युनिटी बढी हुँदा, हुन्न रै’छ सर्ने खान पिनको मेसो मिलाइ, खानु पर्यो अब लाग्नु पर्यो बच्न बचाउन, आजैबाट सब नेपाल अगाडि देखिएका चुनौति नेपाल यसै श्रोत साधन, कमी भ’को देश त्यसमाथि नेतृत्वको, धनी हुने रेश व्यवस्थापन फितलो छ, भन्छन् जान्ने जति नसुध्रिए सबै पक्ष, होला ठूलै खति घर भित्र बस्नु भन्छन्, घरै छ’र कहाँ सडकैमा जीवन काट्ने, मानिस छन् यहाँ रोगले भन्दा भोकले यहाँ, ठूलो दुःख दिन्छ भन्छन् तिनी खान पाए, को बाहिर हिँड्छ ? हुने खाने भन्दा बढी, हुँदा खाने हामी भ’को बाँढीचुँढी खाउ, सबै समान ठानी ज्यान रहेन , धनी गरीब छुट्याएर हेर्नु बचाउन नसक्ने धन, साँची के नै गर्नु विश्व समुदायमा यसले ल्याएको चुनौति सबै थोकमा शक्तिशाली, भ’कालाई नि गाल्यो चुनौति नि कति दियो, विश्व झुक्न थाल्यो ठूलो तागत राख्ने देशलाई, तहसनहस पार्यो निर्ममतापूर्वक हेर, कति मान्छे मार्यो ? निर्मित हो कि भन्दै देश, विभाजित भा’छन् आशङ्खाले वुहानप्रति, कर्के नजर ला’छन् WHO को भूमिका नि, प्रभावकारी रै’न भन्छन् ठूला देशहरुनै, सहि हो या हैन सबलाई शक्ति देखाएर, ठूलो हुनुपर्ने मरिमेटी संकट रोक्न, कहिले लागी पर्ने लाग्नु पर्ने बेला यै हो, यो विपत्ति रोक्न दोष जति आतुर छन्, एक अर्कालाई पोख्न मानिसका अधिकार, लुटिए रे भन्छन् निर्धाहरुको छैन आवाज, चुपचाप सहन्छन् सत्य तथ्य के हो अझै, खुल्न आको छैन UNO नि बोल्न सक्ने, अवस्थामा रै’न देश् देश् बीचको लडाँई पो, वार्ताबाट मिल्ने भाइरससँग मिलापत्र, को छ गर्न सक्ने आशा राखौँ चाडैँ केही, विकल्प भेटिन्छ पहिला जस्तै संसार सारा, सामान्य देखिन्छ विश्व अर्थतन्त्रमा पारेको प्रभाव ठप्प हुँदा विश्व सारा, विकास कहाँ हुन्छ ? भन्छन् विज्ञ आर्थिक मन्दी, संसार भरी हुन्छ युगै परिवर्तन हुने देखिँदै छ गुन पुँजीवाद सकिन्छ रे, भन्ने आयो सुन्न नेपली अर्थतन्त्रमा पारेको प्रभाव बन्द हुन सक्छ यहाँ, विदेश जाने होड नयाँ युग सुरु हुने, वा यहि हो मोड स्वदेशकै बाँझा बारी, होलान् हराभरा पसिनाले सञ्चित हुँदा, आफ्नै देश सारा विश्व समुदायलाई दिएको सन्देश जीवनसँगै प्रकृतिलाई, मिलाएर लान नसकिए आउने संकट, यस्तै रै’छ जान कम मूल्याङ्कन नगर्नु है, यो अवस्थालाई नबिर्सिनु सजग हुन, यस्तो सवक पाइ वातावरण स्वच्छ राख्न, ध्यान दिनु पर्यो सन्तुलन बिग्रीएरै, यस्तो रोग सर्यो मानिस अब पर्यावरणको, अस्तित्वलाई बुझौँ आजैबाट सबको भलो, गर्नलाई जुटौँ । चेतनशील प्राणी भनी, कहलिने मान्छे शक्तिशाली आफूमात्र, हौँला भन्ने ठान्थे प्रकृतिले चुनौति दियो, खै सकेको जुध्न छोड्छ क्यारे अब विश्व, पैसा पछि कुद्न आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला जान्नु पर्यो अब सबले, जीवित हुने कला जीवन नै नरहे त, शक्ति कसले हेर्छ ? मनुष्यको मूर्ख्यालाई, प्रकृतिले टेर्छ ?   कार्यरत संस्था बेलवारी नगरपालिका, माेरङ

मृत्यु भएकी महिलाको उपचार यात्राः धामी झाँक्रीदेखि धुलिखेल अस्पतालसम्म

काठमाडाैं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे । उनमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि विभिन्न ठाउँमा धाएकाे खुलेकाे छ । उनी उपचारकै लागि  धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताएका छन् । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि एक युवकले मोटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकोमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेको बताए । घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए । सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बोलेरो गाडीमा हालेर घर ल्याइएको थियो । फेरि पनि उनकाे स्वास्थ्य अवस्था जटिल बन्दै गयाे । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएको थियो । उनलाइ एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए । उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा बिहीबार मृत्यु भएको हो । उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् ।    

कोरोनाबाट मृत्यु भएकी महिला उपचारका लागि भौतारिएकी थिइन, कुन-कुन अस्पताल गइन् ?

काठमाडौं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे । उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् । पहिले उनमा काेराेना छ संक्रमण भएकाे भन्ने थाहा थिएन । तरपनि उनी उपचारका लागि विभिन्न ठाउँ गएकाे बुझिएकाे छ । उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएर २४ गते डेलिभरी भएकी उनी २५ गते डिस्चार्ज भएकी थिइन् । डिस्चार्जपछि सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । पुनः समस्या देखिउपछि स्थानीय मेडिकल तथा स्वास्थ्यकर्मीलाई देखाइएकाे बताइएकाे छ । स्वास्थ्य अवस्था झन झन् जटिल बन्दै गएपछि उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा बिहीबार मृत्यु भएको हो । यस सम्बन्धमा थप विस्तृत विवरण लिईएको र उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

थप दुई जनामा देखियो कोरोना

काठमाडौं . नेपालमा थप २ जनामा कोरोना देखिएको छ । नयाँ संक्रमित धनुषाका २० र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । कोरोना कारण एक जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाकै कारण मृत्यु भएको पहिलो घटना, काे हुन् उनी ?

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले मृत्यु भएकी महिला  सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला भएकी जानकारी दिएका छन् । उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी थिइन् । उनकाे २४ गते डेलिभरी भएको र उनी अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर गएकी बताएकाे छ । उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकाे तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि  धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको हाे । यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।

योजना निर्माणमा सहयोगी बन्दै सङ्कटमा तयार भएका तथ्याङ्क

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्ला दुई महिना बाँकी रहँदा यहाँका स्थानीय तहलाई विकास निर्माणको काममा भ्याइनभ्याइ छ । लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर पूर्वाधार विकास र मानव विकासका कार्यक्रम शुरु गरेका नगर तथा गाउँपालिकाले केन्द्र सरकारले पठाएको बजेट सिलिङमा रहेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीसमेत थालेका छन् । लकडाउनका कारण थलिएको अर्थव्यवस्थाका बाबजुद स्थानीय तहले गरिरहेको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि कोरोनाको रोकथाम र नियन्त्रणका लागि तयार पारिएका तथ्याङ्कले भने सघाउने भएको छ । गत वर्ष अनुमानकै आधारमा गर्भवती तथा सुत्केरी महिलाको पोषण कार्यक्रम सञ्चालन गरेको बरेङ गाउँपालिकाले यो वर्ष अनुमानकै आधारमा कार्यक्रम बनाउनुपर्ने छैन । किनभने तत्कालका लागि गर्भवती र सुत्केरी महिलाको तथ्याङ्क तयार भएको छ । सोही तथ्याङ्कका आधारमा आगामी वर्षको सङ्ख्या अनुमान गर्न सकिन्छ । “तीन महिनाका गर्भवतीदेखि सात महिनाभित्रका सुत्केरीको तथ्याङ्क लकडाउनमा तयार भयो”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “गर्भवतीको सङ्ख्या यकिन नहोला तर यो तथ्याङ्क हेरेर अनुमान गर्न सकिन्छ ।” दीर्घरोगीलाई निःशुल्क औषधि बाँडेको गाउँपालिकाले ४  सय १० नियमित औषधि खाने बिरामी रहेको तथ्याङ्क तयार पारेको छ । जसका कारण आगामी वर्षका लागि स्वास्थ्य शाखाले औषधि खरिद गर्दा तथ्याङ्कको सहायता लिन सक्छ र सोहीअनुसारको योजना गाउँपालिकाले बनाउने उनले बताए । लकडाउनकै समयमा अतिविपन्न, मजदुर तथा गरिब घरपरिवारको तथ्याङ्क तयार छ । “हामीले योजना बनाउँदा अनुमानकै आधार बन्ने गरेका स–साना सूचकहरु सङ्कटको समयमै भए पनि तयार भए”, जिल्लाको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, “यो सकरात्मक पाटो हो ।” कृत्रिम विद्यार्थी खडा गरेर गाउँ तथा नगरपालिकाले दिने सुविधा भोग गर्दै आएका विद्यालयलाई लकडाउनले सत्यतामा रहन बाध्य बनायो । लकडाउन अघि लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्न गाउँ तथा नगरपालिकाका सोसलसाइटहरु प्रयोग गर्नुपर्ने बाध्यताका कारण विद्यालयले लुकाएका तथ्याङ्कसमेत बाहिर आए । “विद्यालयमा विद्यार्थी कति छन् भन्ने सही तथ्याङ्क अहिले आएको छ, यसले हामीले शिक्षाका लागि बनाउने नीतिमा अवश्य अर्थ राख्छ”, बरेङका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, “दरबन्दी मिलान, भवनमा अनुदानलगायतका शीर्षकमा हामीले कदम चाल्न सक्छौं ।” मजदुर, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका लागि तयार हुने कार्यक्रम सबैमा यो समयमा तयार भएका तथ्याङ्कले सघाउने दाबी उनको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यहाँका १० वटै स्थानीय तहले कुनै न कुनै रूपमा तल्लो तहसम्म पुगेर तथ्याङ्कको सङ्कलन गरिरहेकै छन् । राहतका लागि होस् वा उद्धार तथा उपचारका लागि तयार भएका तथ्याङ्कका नतिजाले योजना निर्माणमा सहयोग पुग्ने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । यहाँका सबै स्थानीय तहमा मजदुर, विपन्नदेखि पालिका बाहिर रहेका र रोजगारीमा रहेका तथा बेरोजगारको समेत तथ्याङ्क तयार भएको छ । रासस

त्रिवि शिक्षण अस्पतालको कर्मचारीलाई कोरोना नभई पुष्टि

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कर्मचारीलाई कोरोना नभएको पुष्टि भएको छ । उक्त अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको हो । कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर, नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्दै गलत प्रचार भएकोमा अस्पतालले आपत्ति जनाउँदै अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो । हाल ४६ वर्षिय तुलसीपुरका ति व्यक्तिलाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।