जीवन बीमा कम्पनीले साेचेकाे भन्दा राम्राे गर्न पनि सक्छन्
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । पुँजी, बीमा कोष, आम्दानी, नाफा, वासलातको आकार, नेटवर्क, बीमितको संख्या लगायत धेरै परिसूचकमा यो कम्पनी अरु भन्दा अगाडि छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफले जे गर्छ, अरु सबै बीमा कम्पनीको लागि चासोको विषय बन्छ । कोरोना महामारीको बेलामा नेपाल लाइफ कसरी चलिरहेको छ ? सेवा, व्यापार कसरी गरिरहेको छ ? महामारीले बीमा बजारमा, कम्पनीहरुको लाभांशमा कस्तो असर गर्छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत रहि उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग गरेको कुराकानी । सामान्य अवस्थामा र महामारीको अवस्थामा बीमाको महत्व कति फरक हुँदो रहेछ ? जीवन बीमा होस् वा निर्जीवन बीमा, संकटको बेलामा आर्थिक जोखिम व्यवस्थापन गर्ने महत्वपूर्ण माध्यम हो भनेर सबैले स्वीकार गरेका छन् । सामान्य अवस्थामा होस् वा महामारीको अवस्थामा बीमाको महत्व उत्तिकै हुन्छ । फरक केवल जनचेतनामा मात्र हो, सोच्ने तरिकामा मात्र हो । संसारका कुनै देशमा ९० प्रतिशत मानिसले जीवन बीमा गरेका हुन्छन् भने कुनै देशमा कुल जनसंख्याको ५ प्रतिशतको पनि बीमा भएको हुँदैन । कुनै विपद् वा महामारीले बीमाबारे जनचेतनामा प्रभाव पारेको हुन्छ । यतिबेला बीमाको बारेमा स्वभाविक रुपमा छलफल बढी हुन्छ । विज्ञापन गरेर, लेखहरु प्रकाशित गरेर, टक शोहरु गरेर, बीमितहरुले आफन्तमा यसको लाभबारे जानकारी गराएर बीमा जागरण बढाउन मद्दत गरेका हुन्छन। २०७२ सालको भूकम्पपछि होस् वा अहिलेको कोभिड–१९ आयपछि बीमाको महत्वबारे वहस बढेको छ । हामी सबैको जीवन अनिश्चित रहेछ, त्यसमा पनि आर्थिक जीवन व्यवस्थापन कार्य कठिन रहेछ भन्ने अनुभूति मान्छेले गरेका छन् । कोभिड–१९ विश्व महामारीसँगै विश्वका केही देशमा बीमा व्यवसाय नै विस्तार भएको पनि देखिएको छ । तर नेपालमा भने बीमा पोसिली बिक्री घटेको छ । विदेशमा बीमा बढ्ने तर नेपालमा घट्ने किन भयो ? नेपालमा पनि कोभिड–१९ बीमा पोलिसी आएको छोटो समयमा ठूलो संख्यामा यो पोलिसी बिक्री भएको छ । यसले नेपालमा बीमाको चाहाना बढेको संकेत गर्छ। तरपनि नेपालमा यतिबेला जीवन बीमा घटेको छ । कारण के पनि हुनसक्छ भने हाम्रा बीमा लेखहरु परम्परागत भए । बीमा लेख बिक्री गर्ने विधि पनि पराम्परागत भए । नयाँ बीमा लेख जारी गर्दा अभिकर्ता र बीमित प्रत्यक्ष भेट्नु पर्ने बाध्यता छ । अभिकर्ताले नयाँ मान्छेलाई भेटेर, प्रत्यक्ष कुराकानी गरेर, फारम भराएर, हस्ताक्षर लिएर, ल्याप्चे गराए पछि मात्र बीमा पाेलिसी जारी हुन्छ । विदेशमा अभिकर्ताले पनि डिजिटल माध्ययबाट बीमा गर्न सक्छन् । भौतिक रुपमा अफिस जानु पनि पर्दैन, मान्छे–मान्छेबीच प्रत्यक्ष भेट पनि आवश्यक छैन । मलाई लाग्छ आगामी दिनमा विस्तारै डिजिटल माध्ययमबाट बीमा हुन्छ । अहिले पनि हामीले धेरै काम डिजिटली गर्न थालेका छौं । बीमा लेख परिपक्व भएपछिको भुक्तानी, बीमा नविकरण शुल्क भुक्तानी, अभिकर्ता कमिशन भुक्तानी लगायत धेरै कुरा डिजिटल माध्यमबाट हुन थालेका छन् । अब प्रडक्टको रेन्ज परिवर्तन हुनसक्छ । स्वास्थ्य जोखिम बढेकोले पहिला भन्दा बढी बीमाङ्कको बीमा पोलिसी माग भएको छ कि ? पहिला मानिसहरु बचत प्रकृतिको बीमा लेख रुचाउथे भने अहिले जोखिम धारण गर्ने खालका बीमा लेखप्रति उपभोक्ताको चासो बढेको छ । अहिले बचत पछि गयो, जोखिम अगाडि आयो । पहिला मानिसहरु बचत प्रकृतिको बीमा लेख रुचाउथे भने अहिले जोखिम धारण गर्ने खालका बीमा लेखप्रति उपभोक्ताको चासो बढेको छ । अहिले बचत पछि गयो, जोखिम अगाडि आयो । हामी प्रडक्ट सिफ्ट गर्दैछौं । अहिले स्वास्थ्य बीमा सम्बन्धि बीमा लेखहरु पर्याप्त छैनन् । मानिसले कस्तो खालको पोलिसी खोजेका छन्, त्यसतफ हामीले ध्यान दिनुपर्छ । परम्परागत बीमा लेख लिएका वा जीवन बीमा गरेको मान्छेहरुको कोरोना भाइरसको कारण मृत्यु भयो भने उनीहरुले बीमाङ्क बराबर रकम पाउँछन् कि पाउँदैनन् ? पाउँछन् । धेरैको मनमा यस्तो जिज्ञासा रहेको छ । कोरोना महामारी आउँछ भनेर पहिला कसैले पनि कल्पना गरेका थिएनन् । तर जीवन बीमा पोलिसी लिँदा जुन जुन अवस्थामा बीमा दावी लाग्दैन भनिएको छ, त्यो बाहेक सबै अवस्थामा बीमितको मृत्यु भएको पैसा पाउँछन् । त्यसैले, म्यादी बीमा होस् वा आवाधिक बीमा, सर्तभित्र रहेर सबैले बीमा दावी पाउँछन् । मलाई लाग्छ, भाइरस संक्रमणका कारण हुने मृत्युलाई धेरै बीमा पोलिसीले कभर गरेको छ । महामारीको कारण बीमा शुल्क महँगो बन्ने जोखिम कति छ ? संक्रमण धेरै भएको छ तर मृत्यु दर विगतमा महामारीको तुलनामा कम देखिएको छ । विश्व बजारमा हेर्दा जीवन बीमामा भन्दा निर्जीवन बीमामा बीमा दावी बढी पर्ने देखिन्छ । ठूला खेलकुदका कार्यक्रम स्थगित भएका छन्, ठूला व्यापार मेलाहरु स्थगित भएका छन्, अन्तराष्ट्रिय सम्मेलनहरु स्थगित भएका छन् । यस्ता सबै इमेन्टको बीमा गरिएको हुन्छ । यस्ता इभेन्टहरु स्थगित हुँदा वा रद्द हुँदा बीमा दावी धेरै पर्न सक्छ । धेरै ठाउँमा विवादहरु आएका छन् । ओलम्पिक गेम स्थगित हुँदा ठूलो बीमा दावी परेको छ । यसले आगामी दिनमा बीमा शुल्क वृद्धि हुने सम्भावना रहन्छ । बीमा इतिहासमा पनि के देखिन्छ भने जब ठूलो असर पर्ने घट्नाहरु हुन्छन तब मूल्यमा असर पर्ने गरेको छ । जीवन बीमामा मृत्युदरले पनि बीमा शुल्कमा ठूलो असर गरेको हुन्छ । महामारीले मृत्युदरमा कस्तो परिवर्तन ल्याएको छ ? हो, मृत्यु दर ह्वात्तै बढ्यो भने बीमा शुल्क वृद्धि हुने सम्भावना हुन्छ । अमेरिका, इटाली, स्पेन, बेलायत जस्ता देशमा मृत्युदर उच्च छ । अहिलेको अवस्था के छ भने एकातिर विश्वमा कोरोनाका कारण हुने मृत्यु बढी देखिएको छ भने अर्कोतिर दुर्घट्नाका कारण हुने मृत्यु घटेको छ, लगभग निलमा नै झरेको छ । किनभने हवाई, रेल, बस, पानी जहाज सबै प्रकारका यातायात सेवा ठप्प छ । नेपालमा नर्मल डेथको रेट पनि घटेको भन्ने कुरा आएको छ । अहिले अस्पतालमा आउने नर्मल विरामीको संख्या नै कम भएको देखिन्छ । त्यसैले अहिले नै मृत्युदरमा कस्तो परिवर्तन आउँछ भन्न गाह्रो छ । यतिबेला बीमा कम्पनीहरुले बीमितलाई कसरी सेवा दिईरहेका छन् ? अहिले नयाँ ग्राहक बनाउने र सेवा दिने भन्ने कुरा प्राथमिकतामा रहेन । भएका बीमितलाई सकेसम्म राम्रो सेवा दिनु नै ठूलो कुरा भयो । बीमा लेख परिपक्व भएको बीमितलाई बीमा रकम भुक्तानी दिएका छौं । बीमा नविकरणका शुल्क पनि अनलाईनबाट भुक्तानी दिन सकिन्छ । यदि अहिले सकिएन भने पनि लकडाउन अवधिको व्याज लाग्दैन भनेर बीमा समितिले भनेको छ । कति बीमितले बीमा लेख धितो राखेर कर्जा लिएका छन् । उनीहरुले अहिले नै कर्जा तिर्छु भनेको अवस्थामा कम्पनीले उनीहरुलाई आवश्यक सेवा दिईरहेको छ । डेथ क्लेमको विषयमा हामीले सूचना लिने लिने, डिजिटल पेस डकुमेन्ट लिएर डिजिटल बेस पेमेन्ट गरिरहेका छौं । हामी विगतमा सबै काम कागजी प्रक्रिया पुरा गरेर हुन्थ्यो । दावी फच्र्यौट पूर्जामा सहि गराएर भुक्तानी दिने गरेका थियाै भने अहिले अनलाईन डकुमेन्ट र सूचनाको आधारमा खाताबाट खातामा भुक्तानी दिने काम गरिरहेका छौं । नयाँ बीमा पोलिसी जारी गर्नको लागि एप बनाउने, वेवसाइटलाई अझ प्रभावकारी बनाउने तर्फ हामीले काम गरिरहेको छौं । नयाँ व्यवसाय कस्तो छ ? लकडाउनले सबै गतिविधि ठप्प नै छ । अभिकर्ताले नयाँ मान्छेलाई भेटेर बीमा गराउने अवस्था छैन । हामीकहाँ स्वतस्फूर्त बीमा गर्ने अभ्यास कम छ । जो भनेपनि बीमाको लागि फोर्स लगाउनै पर्छ । महामारीको बेलामा निर्जीवन बीमा कम्पनीहरु सक्रिय भएको तर जीवन बीमा कम्पनीहरु प्यासिप भएको देखिन्छ नि ? तपाईले कोभिड–१९ बीमाको बारे जोड्न खोज्नु भयो । यसमा बीमा समितिको पनि ठूलो भूमिका छ । अहिलेको आवश्यकता पनि हो । यसको रेस्पोन्स पनि राम्रो आयो । तर तपाईहरुले ध्यान दिनुपर्ने कुरा के छ भने जीवन बीमा कम्पनीको हरेक बीमा पोलिसीले कोभिड–१९ बाट हुने डेथको कभर गर्छ । निर्जीवनमा त्यस्तो प्रडक्ट केही पनि थिएन । कोभिड–१९ लागेको विरामीको उपचार खर्च सरकारले बेहोर्ने भनेको छ । उनी बीमित हो र मृत्यु भयो भने जीवन बीमाले कभर गरेको हुन्छ । १० लाखको बीमा पोलिसि लिनेले १० लाखको र २० लाखको बीमा पोलिसी लिएको छ भने २० लाख क्षतिपूर्ति पाइहाल्छ । अहिलेको अवस्थामा जीवन बीमा कम्पनीहरु पनि सक्रिय छन्, नयाँ प्रडक्ट बन्दैछन् । यसको प्रक्रिया लामो छ । बीमा कम्पनीहरुको आम्दानीमा कस्तो असर पर्ला ? नेपाल लाईफ इन्स्योरेन्स कम्पनीकै कुरा गर्ने हो भने चैत र बैशाखमा सवा १ अर्बको विजनेश हुनुपर्ने हो । तर यस अवधिमा साढे दुई करोडको व्यवसाय भयो । अब व्यवसायको स्वरुप परिवर्तन गरेर नयाँ ढंगले जानुको विकल्प नै छैन । हामीले ध्यान दिनुपर्ने कुरा के हो भने अर्थतन्त्र संकटमा पर्दा बीमा कम्पनीहरुलाई त्यसको ठूलै असर पर्छ । व्याजदर घट्यो भने बीमा कम्पनीहरुको आम्दानी घट्छ । बीमा कम्पनीहरुले निश्चित दरको बोनस ग्यारेन्ट गरेका बीमा पोलिसी पनि छन् । त्यसमा कम्पनीहरुले मार खानेछन् । नेपाली बीमा कम्पनीहरुको अर्को समस्या के हो भने बीमा कम्पनीहरुको ठूलो हिस्सा बैंकको मुद्दतिमा लगानी छ । अहिले आएर संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने नीति बैकिङ क्षेत्रले लिएको देखिन्छ । नीति निर्माताले यसमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाल टेलिकम जस्तो संस्थागत निक्षेपकर्ता पनि छन् जसको मुल व्यवसाय अर्कौ हो, कमाएको नाफा बैंकमा निक्षेप राख्ने हो । तर जीवन बीमा कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी संचय कोषको अवस्था फरक छ । बीमा कम्पनीले बीमा शुल्कको पैसा बैंकमा निक्षेप राखेको हुन्छ । त्यसैबाट आउने आम्दानीले बीमितलाई बोनस दिने हो । हामीले सरकारका दीर्घकालिन ऋणपत्रका लगानी गर्ने मौका पनि पाएनौ । बैंकको व्याज कहिले १२ प्रतिशत, कहिले ५ प्रतिशत, कहिले ३ प्रतिशत हुँदा बीमा कम्पनीहरु जोखिममा परेका छन् । कुल बैंकको निक्षेपमा जीवन बीमा कम्पनीको हिस्सा नै करिव १० प्रतिशत छ । तर यो पैसा अल्टिमेट्ली बीमितको पैसा हो । नाफामा कस्तो असर पर्छ ? नयाँ बीमा भएकाे छैन । पुराना नविकरण पनि डाउन छ । बीमा कम्पनीहरुले गरेको लगानीको प्रतिफल पनि कम हुनेवाला छ । विगतमा बीमा कम्पनीहरुले व्यापक रुपमा सेवा विस्तार गरे । त्यसले खर्च बढायो । अब त्यसले नाफामा असर गर्छ । बैंकको व्याजदर घट्दा नाफा घट्छ । सेयरमा गरिएको लगानीको प्रतिफल घटेको अवस्थामा कम्पनीको नाफा घट्न सक्छ । अहिले हामीले सोचेको भन्दा खराब अवस्था पनि आउन सक्छ । यो संकटको अवधि छोटो भएर हामीले सोचे भन्दा राम्रो अवस्था आउन पनि सक्छ ।
बैंकर बुहारी र बोनस
“टिरिङ्…टिरिङ्…”, बिहानको ठिक ५ बजे मोवाइलमा अलार्म बज्छ । “ओहो ! अघि भर्खरै मात्र सुतेको जस्तो लाग्छ, कति चाँडै बिहान पो भइसकेछ ।” हत्तनपत्त उठ्दै अनि हल्काराले दलिनमा फ्याँकेको दैनिक पत्रिका बैठकको टेवुलमा राख्दै ऊ नुहाउनका लागि बाथरुम पस्छे । एक्कासी उसलाई मिटिङमा उपस्थित हुन चाँडै अफिस पुग्नुपर्ने कुरा याद आउँछ र टाउको मात्र नुहाएर निस्किन्छे । बैठकमा पत्रिका पढिरहेका ससुरा र मोवाइल चलाउँदै बसिरहेका सासु तथा श्रीमानका लागि भनेर चुलोको एकातिर चिया र अर्को तिर तरकारी बसाउँदै ऊ सुतिरहेका छोराछोरीलाई उठाउँछे र दुध बिस्कुट दिँदै होमवर्क गर्न लगाउँछे । एक्कासी तरकारी डढेको गन्ध उसको नाकसम्म आउँछ र विवस अनुहारमा झन् तनाव थोपरिदिन्छ । ऊ आफैंसँग विस्तारै फत्फताउँछे – “हत्तेरिका, तरकारीको कारणले फेरी सासु कराएको सुन्नुपर्ने भो ।” विहानको घरधन्दा सकिओरी साढे ८ बजिनसक्दै ऊ हतारहतार नजिकैको चोकमा माइक्रो कुर्न पुगिसक्छे । अफिस पुग्ने हतारले माइक्रोको ढोका बाहिरसम्म झुण्डिएको भीडलाई नजरअन्दाज गर्नु उसको विवसता नै बनिसकेको हुन्छ । हतार गरेर पनि केही फाइदा भएन, आजपनि अफिसमा ९ः३५ मा मात्र उसको क्लक इन (प्रवेश) हुन्छ । दुइ दिन भइसक्यो ऊ यसरी ढिलो अफिस आइपुगेको । महिनामा तिन दिन मात्र पनि ९ः३० भित्रै अफिस आइपुगिएन भने एक दिन को बिदा कट्छ । यो अफिसको नियम नै हो । तनाव पनि कति थरिका, अघिल्लो दिनकै मात्र कुरा हो, टेलरमा बस्दा जम्मा १ हजार रुपैयाँको हिसाब नमिल्दा पनि उसलाई कम्ति टेन्शन भएको थिएन । धन्न, सबै स्टाफहरु बेलुका ७ बजेसम्म बसेर भएपनि गल्ती पत्ता लगाइदिएपछि मात्र उसले सन्तोषको सास फेरेको कुराले आज उसलाई अलि चनाखो बनाएको छ । मिटिङ सुरु भयो । मेनेजरसँग आँखा जुधाउन उसलाई डर लागिरहेको छ । त्यो डरका पछाडि दुई ओटा कारण छन् । पहिलो, आफूले अघिल्लो साँझ सवै स्टाफलाई ढिलो गराइदिएको, र दोस्रो यो हप्ता आफूले थोरै संख्यामा मात्र खाता खोलाउन सकेको । बैकहरु धेरै संख्यामा भएको हुनाले ठूलो प्रतिष्पर्धा भइरहेको र आफ्नो बैंकले नाफा कमाएन भने तलव खुवाउन सक्दैन भन्ने कुरा उसले नबुझेकी पनि होइन । तर, सोचेजस्तो कहाँ हुँदो रहेछ र ! मिटिंग सकिएको केही बेरमै उसको पेट नराम्रोसँग दुख्न थाल्यो । “उफ, सेनिटरी प्याड त ल्याउनै पो बिर्सेंछु ।” खुइय सुस्केरा हाल्दै उ मनमनै सोच्न थाल्छे, “सानो शाखा थोरै कर्मचारी, त्यसमा पनि महिलामा म एक्लै । मिटिङका वेला महिलालाई छुट्टै ट्वाइलेट् चाहिन्छ भनी प्रस्ताव राखौं भन्छु, बोल्ने हिम्मत नै आउँदैन । त्यसमाथि आफ्नो त क्यास डिपार्टमेन्ट, एकछिन छोडेर पसल जान पनि नमिल्ने । पुरुष सहकर्मीलाई कसरी प्याड ल्याइदेउ भन्नु ?” जेठ आउन लागिसक्यो, यसरी हेर्दा असाढ मसान्त पनि अब धेरै टाढा छैन । सामान्य वेलाको जस्तो पाँचै बजे अफिसबाट निस्कन के मिल्थ्यो र ! त्यसमाथि पनि भर्खरैको मिटिङमा बिजनेस लाई एग्रेशिभ्ली बढाउने म्यानेजरको योजना सुन्दा त आज घर निस्किनलाई सात बज्ने कुरामा ऊ ढुक्क छे । रात पर्नै लाग्दा ऊ घर पुग्छे । बिहानदेखिका जुठा भाँडा उसलाई नै पर्खेर बसिरहेका हुन्छन् । घर आइपुग्ने हतारले तरकारी किन्न पनि बिर्सिन्छे । गुन्द्रुकको झोल पकाउने दुस्साहस मात्र के गरेकी हुन्छे, सासुको बचनवाणहरु उसका कानमा आएर ठोक्किन्छन् – “कसैको नभाको जागिर, अरुले पनि त जागिर खाएका छन् नि । विहान डढेको तरकारी खुवाइस् अहिले तरकारी विनैको खाना खुवाउन लागिस् ?” ऊ एक्कासी सानो स्वरमा झर्किन्छे – “भैगो त आमा, म भोलिनै राजिनामा दिन्छु ।” ऊ दगुर्दै आफ्नो कोठामा जान्छे र भक्कानिन्छे । उसलाई आफ्नो ममी–बाबाको खुब सम्झना आउँछ । बि.बि.एस पास हुने बित्तिकै बाबाले आफ्नै खुट्टामा उभिनु पर्छ भनी हौसला दिएको, बैंकमा जागिर पाउँदा गर्व महसुस गरेको, छोरीले बिर्सिन्छे कि भनेर ममीले सुटुक्क ब्यागमा प्याड राखिदिएको अनि अफिसबाट फर्किंदा चाहिँ टाउको मिचिदिएको जस्ता सम्झनाले उसको मनलाई अमिलो बनाउँछ । बिहे अघिसम्म पनि ऊ कहाँ यस्ती थिइ र ! अन्य स्टाफभन्दा अगाडि नै अफिस पुग्थी, साँझ अबेरसम्म काम गर्थी । ऊ वास्तवमै उदाहरण थिई । जहिल्यै मेनेजरले उसको तारिफ गर्थे । तर हिजोआज ऊ शिथिल भएकी छे । अफिसबाट ‘कर्मचारी होमलोन’ लिएर घर बनाउँदा पनि र बिजुली–टेलिफोन तथा बच्चाको स्कुल फिमा मज्जाले सघाउँदा पनि घरका सदस्यहरुले कहिल्यै चित्त नबुझाइदिँदा उसलाई नमज्जा लागेर आउँछ । तर जे भएपनि सासु भनेको सासु नै हो, आफूले मान त गर्नै पथ्र्यो । रिसको झोँकमा सासुसँग मुखमुखे लागेको कुरामा भने उसलाई ग्लानी महसुस हुन्छ । यता उसलाई ग्लानी महसुस हुँदै गर्दा उतापट्टि सासुलाई पनि बुहारीले जागिर छोड्ने हो कि भन्ने चिन्ताले सताउन थाल्छ । बुहारीले अघिल्लो साल खाएको वोनसबाट आफूलाई आठ आनाको बेरुवा औंठी किनिदिएको र यसपाली पनि बोनस खाने वेला हुन लागेको कुराले सासुको मानसपटलमा घच्घच्याउन थाल्छ । भोलिपल्ट विहान अलार्मको आवाजसँगै बुहारी उठ्दा त सासुले चिया पकाइसकिछन्, अघिनै तरकारी पनि किनेर ल्याइसकिछन् । एकैरातमा सासुमा आफूप्रतिको धारणामा आएको परिवर्तन देखेर ऊ अचम्मित हुन्छे र अब खाइपाइ आएको जागिर कहिल्यै नछोड्ने निर्णय गर्दै भान्सातिर पस्छे । बिराटनगर–५ हाल तेह्रथुम
बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपाली ६३
काठमाडौं । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिए । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो । रासस
कपिलवस्तुमा थप ३ जनामा कोरोना देखियो, संक्रमितको संख्या २ सय ७६
काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको कोरोना परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयले विहान १० बजे मात्र बर्दिया, पर्सा, सर्लाही, सिराहा र चितवनमा ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको जानकारी दिँदै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिए । तलकाे समाचार पनि पढ्नु हाेला : नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो
मदन–आश्रित स्मृति दिवस : मुलुकको मुहार बदल्ने सङ्कल्प
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जना देश बमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाए । २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गरी उनीहरुले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरुको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयास गरेको उल्लेख गरे । “थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको छ”, वक्तव्यमा भनिएको छ । वि.सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जिप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्ष अगाडि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएको थियो । दिवङ्गत भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुराएको उल्लेख गरेका छन् । लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात गर्दै कम्युनिस्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको स्मरण गरेका हुन् । उक्त घटनाको रहस्य अझै उद्घाटित हुननसकेको र आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नरहेको भन्दै विज्ञप्तिमा नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिने गरेको जनाइएको छ । ‘माक्सबाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका छन् । स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका सङ्घर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यो पार्टी आज जनादेश प्राप्त गरेर राज्य सञ्चालनको केन्द्रीय भूमिकामा स्थापित भएको छ’, विज्ञप्तिमा भनिएको छ । ‘आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू हासिल भएका छन् । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।’ विज्ञप्तिमा पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्ने र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई तात्कालिक लक्ष्यका रूपमा निर्धारण गरेको उल्लेख छ । दलाल नोकरशाही पूँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्ने, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्ने र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न केन्द्रित रहेको जनाइएको छ । “स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत सङ्गठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै हामीलाई यो ऐतिहासिक दायित्व पूरा गर्ने सामथ्र्य प्रदान गर्दछ भन्ने यथार्थप्रति पार्टी स्पष्ट छ”, विज्ञप्तिमा भनिएको छ । एकीकरण यताका दुई वर्षबीचमा हामीले पार्टीको सङ्गठनात्मक एकीकरणलाई आधारभूतरूपमा सम्पन्न गरेको र केन्द्रीय कमिटीको निर्णयअनुसार ‘पार्टी एकता सदृढीकरण र जन–सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण प्रभावित भएको जनाउँदै अब पनि एकीकरणका बाँकी कामलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक रहेको जनाइएको छ । रासस
अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको छ । साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त¬’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियाे ।
उता इभानाकाे बा र भाइ विते, यता दुधे बच्चा र सुत्केरी भोकै
विश्वभरी फैलिएको कोरोना महामारीका करण आजकल मेरो हरेक दिन घरमै बसेर बित्छ। हरदिन हरसाँझ एउटा कोठामा सीमित हुनुपर्दा मन त्यसै त्यसै आलस तालस भएर आउँछ। तर जतिसुकै आलस तालस भएतापनि बस्नुपर्ने त्यहीँ कोठामै छ। किनकि अहिलेको यो अवस्थामा घरमा बस्नु बाहेक हामीसंग अर्को कुनै राम्रो विकल्प छैन। समय कटाउने बाहानासगैं मेरी एक इटालियन साथी इभानालाई मैले केही हप्ता अघि पठाएको म्यासेजको जवाफ आयो कि भनेर म फेसबुक खोल्छुँ। तर उनको केही जवाफ आएको हुदैन। `कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या यति लाख कट्यो। थप संक्रमितको संख्या यति पुग्यो, उति पुग्यो।´ सामाजिक संन्जालभरी व्याप्त यस्ता समाचारहरु सुन्दैपिच्छे उदेक लागेर आउँछ। तर यो कुनै नयाँ घटना होईन। विगत केही महिनादेखि हामी हरेक दिन, हरेक रात यस्तै समाचारहरु सुन्दै र पढदै आईरहेका छौँ। कोरोना भाइरसको पहिचान सन् २०१९ को मध्य डिसेम्बरमा मध्य चीनको वुहान सहरमा भएको थियो। जनावरबाट मानिसमा सरेको भनिएको कोरोना भाइरस एक मान्छेबाट अर्को मान्छे हुँदै आज विश्वभरी एक विनासकारी महामारीको रुपमा फैलिरहेको छ। कोरोना भाइरसकै कारण आज पुरै संसार बन्द भएको छ। लाखौं मानिसहरुले ज्यान गुमाईसकेका छन भने लाखौं लाख मानिसहरू यस भाइरसबाट संक्रमित भईरहेका छ्न। विश्वभरी भयावहको स्थितिको छ। मृत्यु र संक्रमित हुनेको संख्या अस्थिर छ। विषेशगरी संयुक्त राज्य अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, ईरान, बेलजियम, चीन लगायतका देशमा कोरोनाले गरेको मानवक्षति कहालीलाग्दो छ। नेपालमा पनि कोरोना भाइरसको महामारी सन् २०२० जनवरी २४ मा पहिलो पटक एक महिलामा देखा परेको थियो। त्यसपछि नेपाल सरकारले बिश्व स्वास्थ संगठनको आज्ञा पालना गर्दै देशभर लकडाउन घोषणा गरेको थियो। संक्रमितकाे संख्या बढ्दै गएकाे छ । यसले कुन रूप लिन्छ त्यसको कुनै टुंगो छैन। कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिन थालेपछि मैले मेरी इटालियन साथी इभानालाई उसको र त्यहाको स्थितिको बरेमा सोधेको थिएँ। “केही ठिक छैन आनस,” उसले जवाफमा भनेकी थिई “सबथोक यति अचानक भईरहेको छ कि मानौँ एउटा ठूलो हुरी चलेको छ। सुरुमा यसलाई कसैले गम्भीर रूपमा लिएनन्। तर जब स्थिति खराब बन्दै गयो तब सबैजना आतिन्न थाल्यो। अहिले सबै त्रासित छन।” उनको कुरा सुनेर मलाई लाग्यो, संसारकै बिवेकी प्राणी भनिएको हामी मान्छे पनि कहिलेकाही यति अटेरी बनिदिन्छौ कि साँच्चिकै महत्त्वपूर्ण कुरालाई पनि हलुका रुपमा लोन्छौं। कोरोना भाइरस फैलिएको केही दिनमै यसको बारेमा पत्ता लागेको थियो। यसका लक्ष्ण र यसबाट बच्ने उपायहरु सार्वजनिक गरिएको थियो। बेलाबेलामा साबुनपानीले हात धुईरहे। भिड्भाडबात टाढा रहे। कतै जानूपरे मास्कको प्रयोग गरे। हातमा स्यानीटाईजरको प्रयोग गरे। नाक, मुख, आँखा हातले नछुने जस्ता सामान्य सावधानी अपनाएको भए सायद आज यस्तो विकारल अवस्था आउने थिएन होला। कोरोना महामारीका कारण आज संसार प्राय बन्द सरह भएको छ। सरकारी कार्यलय, विद्यालय तथा विश्वविद्यालय, हवाई उडान, यातायात, खुद्रा बजार, पर्यटकीय स्थल, सिनेमा घर, खेलकुद मैदान, होटल रेस्टुराँ, पुस्तकालय, संग्रहालय, सरकारी कार्यलय, भौतिक विकास निर्माण कार्य, धार्मिक क्षेत्र लगायत जे जति छ ती सबै बन्द भएको छ। उद्योग कलकारखानासँगै दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने कम्पनी बन्द भएको छ। निर्माणधीन विकास कार्य रोकिएको छ। धेरै क्षेत्रमा आतंक किनमेल देखिएको छ र फलस्वरूप खाद्यान्न र अन्य किराना बस्तुहरुको अभाव देखिएको छ। अत्यावश्यक बस्तु आपूर्ति अभावका कारण बजार मूल्य बढेको छ भने ब्यक्तिगत सुरक्षा सामानको माग बढेको छ। कोरोनाको यस महामारीका कारण पेट्रोलियम पदार्थको खपत दर घटेको छ। यस महामारीले होटल रेस्टुराँ व्यावसायमा ठूलो प्रभाव पारेको छ। सिट डाउन अर्डर बन्द भएर टेक आउट अर्डर र वितरणमा सीमित भएका छन्। ठूल-ठूला रिटेल स्टोरहरु बन्द भएकाले खुद्रा क्षेत्रलाई प्रत्यक्ष असर परेको छ। यसका साथै सिनेमा घरहरु बन्द भएकाले प्रदर्शनका क्रममा रहेका चलचित्रहरु रोकिएका छन्। जसको असर बक्स अफिसमा परेको छ। कोरोना महामारीको कारण आर्थिक उथलपुथलको स्टक, ब्राँन्ड, कमोडिटी (कँच्चा तेल र सुनचाँदी) लगायतका वित्तीय बजारमा व्यापक र गम्भीर प्रभाव परेको छ। यसका साथै पर्यटकीय व्यावसाय पनि यसको मार्कामा परेका छन। कोरोना भाइरसका कारण अर्बौं मानिसहरुले आफ्नो रोजगार गुमाएका छन्। जसले गर्दा उनीहरुको जीवनस्तरमा प्रत्यक्ष असर परेको छ। अन्तत यी सम्पूर्ण क्षेत्रको प्रभावले विश्वको अर्थतन्त्रमा नै प्रतिकुल असर पार्दछ। यस महामारीका कारण विभिन्न विकसित राष्ट्रहरुको मात्रै नभई पुरै विश्वकै अर्थतन्त्रमा गिरावट आउने प्राय निश्चित जस्तै छ। विश्वका प्राय जसो सम्पूर्ण विद्यालय र विश्वविद्यालयहरु बन्द गरिएको छ। जसले गर्दा करोडौं विद्यार्थीहरु शिक्षाबाट बन्चित भएका छन्। मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका सम्पूर्ण धार्मिक स्थलहरु बन्द भएकाले धार्मिक अनुयायीहरु मार्कामा परेका छन्। सिनेमा हल, खेलकुद, फेसन सो, नाटक घर लगायतका क्षेत्रहरु बन्द भएकाले मानिसहरूका मनोरञ्जन खोसिएको छ। यी सबै कुराहरु मानव अधिकारसंग जोडिन आउँछ। विद्यालय गई शिक्षा लिन पाउने, धार्मिक स्थलमा सहभागी हुन पाउने, खेलकुद लगायत सिनेमा जस्ता मनोरञ्जनात्मक क्षेत्रमा सहभागी हुन पाउने कुरा मानवअधिकारको विषय हो। तर अहिले यी सबै अधिकारहरु हामीबाट खोसिएको छ। तर यो अधिकार कुनै व्यक्ति, राजनैतिक दल, वा कुनै राष्ट्रले खोसेको होइन। प्रकृतिमा आएको एउटा विपत्तिले खोसेको हो। प्रकृतिलाई कसैले जित्न सक्दैन। त्यसैले धैर्यता नै हाम्रो अहिलेको सबैभन्दा उत्तम विकल्प हो। एकदिन साझँ खाना खाईसकेपछी फेसबुक खोल्न बसेँ। इटालियन साथी इभानाले एउटा लामो म्यासेज पठाइएकि रहिछे। खोलेर हेरें। लेखेकी थिई “धेरै दिन भयो तिमीसँग नबोलेको। मलाई आशा छ तिमी सन्चैँ छौ। तर यहाँ केही ठिक छैन आनस। बा हिजो साझँ बित्नुभो। अहिले म सबभन्दा बढी दुःखी छु आनस। म कति मिस्ड गरिरहेकी छु मेरो बालाई। कोरोना भाइरस पोजेटिभ देखिएपछि बा तीन दिनदेखि आइसोलेसनमा हुनुहुन्थ्यो। हिजो बित्नुभो। मैले सोचेकै पनि थिईनँ। यस्तो दिन पनि आउँछ भनेर। म मेरो बासँग सधैँ झगडा गरिरहन्थेँ । स-सानो कुरामा पनि झर्किन्थेँ। तर बाले मलाई कहिल्यै केही भन्नुहुन्थ्यो। दुई हप्ता अघि बाको बर्थ डे थियो। त्यो बेला पनि म बासँग रिसाएको थिएँ। मैले बालाई बर्थ डे विस पनि गरिनँ। अहिले बाले हामीलाई सधैं सधैंका लागि छोडेर जानुभो। म उहाँलाई कति माया गर्थें, त्यो मैले उहाँलाई कहिल्यै भन्न पाईनँ। उहाँलाई सम्झनैपिच्छे भक्कानो फुटेर आउँछ। आजकल हरेक पल म उहाँलाई सम्झिन्दै रोएर बिताउँने गर्छु। बा हिजो साझँ बित्नुभो। अहिले म सबभन्दा बढी दुःखी छुँ आनस। म कति मिस्ड गरिरहेकी छुँ मेरो बालाई। दुई हप्ता अघि बाको बर्थ डे थियो। त्यो बेला पनि म बासँग रिसाएको थिएँ। मैले बालाई बर्थ डे विस पनि गरिनँ। उसको म्यासेज पढिरहँदा मेरो आँखा रसायो। आँशुले गहँ भरियो। आफ्नो गुमाउनुको पिडा कस्तो हुन्छ, त्यो मलाई राम्रोसँग थाँहा छ। कोरोना महामारीले लाखौं मानिस मरेका छन। कतिले आफ्ना बाआमा गुँमाएका छन। कतिले आफ्नो छोराछोरी गुँमाएका छन। मर्ने त मरेर जान्छ तर जिउँदो रहनेलाई के बित्यो होला। उनीहरूका त्यो रोदन, उनीहरूको त्यो वेदना, त्यो पिडा केवल म महसुस गर्न सक्छुँ। कमसेकम नेपालमा त्यो अवस्था छैन। यो सम्झेर म सान्त्वनाको सास फेर्छुँ। तर सास घाटीभित्रै कतै अड्के जस्तो लाग्छ। के थाँहा कतै त्यो अवस्था भोलि नेपालमा पनि आउँन सँक्छ। नेपालमा पनि अहिले अरु देश जस्तै सबैथोक बन्द गरिएको छ। खुद्रा बजार देखि लिएर होटल रेस्टुरेन्ट। स्कुल कलेजका पठ्नपाठन। सरकारी कार्यालय, सिनेमा घर, यातायात लगायत भौतिक निर्माण कार्य सम्पूर्ण बन्द गरिएको छ। यो एउटा बाध्यता हो। हाम्रो आफ्नै स्वास्थ्यको लागि यो विनासकरी महामारीसंग हामीले गरेको एउटा सम्झौता हो। एउटा युद्ध हो। यति जन्दा जान्दै पनि कहिलेकाँही कति ब्यक्तिहरुले यसको अवज्ञा गरेको समाचारहरु सुन्दा दुःख लागेर आउँछ। किन यति अटेरी बन्दैछ मान्छेहरु ? ती विकसित देशहरूले समेत नियन्त्रण गर्न नसकेको त्यो विकारल अवस्था भोलि हाम्रो देशमा पनि आयो भने के होला ? त्यो कल्पना भन्दा धेरै बाहिरको कुरा हुनेँछ। कोरोना भाइरसको महामारीले पुरै नेपाल ठप्प भएपछि यसबाट सबैभन्दा बढी मार्कामा परेका छन–गरीब मजदुरहरु। जो दिनमा कमाउँछन र साझँमा त्यसैबाट परिवारका छाक टार्छन। अहिले उनीहरुको रोजिरोटी खोसिएको छ। घरमा दुधे बच्चा र सुत्केरी श्रीमती भोकै छन। सरकार त भन्छ – “घर भित्रै बस्नु।” तर उनीहको घर नै कहाँ छ र ? सरकार त भन्छ – “धैर्य गर।” तर भोकको धैर्यता नै कहाँ हुन्छ र ? सरकारले दिएको राहत उनीहरुकै कार्यकर्ताले बाँड्छ्न। आफैँ आफैँ राँख्छन्। राहत पाउनको लागि यहाँ ठाउँमा आफ्नो मान्छे चाहिँन्छ। उनीहरुको न कुनै पहुँच छ। न कुनै शक्ति। उनीहरूसंग त केवल भोक छ। अव्यक्त पिण्डा छ। कसैले बुझ्न् नसक्ने वेदना छ। घरमा दुधे बच्चा र सुत्केरी श्रीमती भोकै छन। सरकार त भन्छ – “घर भित्रै बस्नु।” तर उनीहको घर नै कहाँ छ र ? सरकार त भन्छ – “धैर्य गर।” तर भोकको धैर्यता नै कहाँ हुन्छ र ?`मर्नुभन्दा बौलाउँन जाति´ भन्छ। सायद सत्य होला। `मर्नुभन्दा बौलाउँन जाति´ भन्छ। सायद सत्य होला। त्यसैले त आज जादैछ्न उनीहरू यो शहर छोडेर। हजारौं किलोमिटरका दूरीहरु पार गरेर। पानीको घुट्टकोले भोकको प्यास मेट्दै। दुधे बच्चालाई काखमा च्यापेर, जादैछन उनीहरू यो निर्जन शहर छोडेर। किनकि यो सहरमा उनीहरुको आवाज सुन्ने कुनै कान छैन। उनीहरुको आँशु पुछ्ने कुनै हात छैन। उनीहरूको दुख देख्ने कुनै आँखा छैन। उनीहरुको ब्यथा बुझ्ने कुनै हृदय छैन। छ्न् त ठूलो छ यो शहर तर उनीहरू अटाउने कुनै सानो ठाउँ छैन। केहि नहुनेहरुका लागि उजाड छ यो शहर, हुनेहरुको लागि त स्वर्ग। कोरोना महामारीको कारण विद्यालय विश्वविद्यालयका परिक्षा रोकिएको छ। विभिन्न खेलकुद समारोह, सभा सन्मेलन, धार्मिक तीर्थयात्रा लगायत भौतिक विकास निमार्णका कार्यहरू रोकिएको छ। ती रोकिएका कार्यहरु बेलैमा नसके अर्को वर्षको कार्ययोजनामा असर पर्न सक्छ। विकशित मुलुकहरूमा विज्ञान प्राविधिको प्रयोग गरेर कतिपय कामहरू अघि बढाउन थालिसकेको छ। तर नेपाल जस्तो आर्थिक स्थिति कमजाे भएको देशको लागि भने यो एक चुनाैति बनेको छ। मनसुनको समय सुरु हुनै लागेको छ। सडक तथा अन्य भौतिक निर्माणका कार्य वर्षा याममा त्यति उचित र सहज हुदैन। त्यसैले भौतिक विकास निर्माणको काम पछि पर्नसक्ने चुनौती छ। यो जटिल कोरोना महामारी पूर्ण रूपमा समाप्त हुन कति समय लाग्छ, त्यसको कुनै ठेस पूर्वानुमान गर्न सक्ने अवस्था छैन। त्यस अवधिसम्मको लागि दैनिक उपभोग्य सामान, स्वास्थ्य सामग्री लगायतका मागको आपूर्ति गर्न नेपाल जस्ता गरीब राष्ट्रका लागि चुनौति हुन सक्छ। समग्रमा भन्ने हो भने, कोरोना महामारीले निम्त्याएको यस खाड्ल पुरेर पुरानो अवस्थामा फर्किनु विश्वका सबै राष्ट्रहरुको लागि एक चुनौती बनेको छ। लकडाउनका कारण काठमाडौंका अस्तब्यस्त सडकहरु सुनसान भएका छन। यस फुर्सदमा म केही लेख्न खोज्छुँ। तर शब्दहरूले साथ दिदैँन। इभानाको म्यासेज नआएको धेरै दिन भयो। के गर्दै होली उ ? म उसलाई सम्झन्छुँ। र सम्झन्छुँ, उसँग चिनजान भएका सुरुवाती दिनहरू। उसको र मेरो चिनजान एउटा अनौठो संयोगले भएको थियो। त्यो चिनजान पछि बिस्तारै एउटा सम्बन्धमा परिणत भयो। र एउटा बृक्ष झै फुल्दै, फल्दै, झ्यांगिन्दै गयो। रोममा इभानाको एउटा लाईब्रेरी थियो। दिउसोभर उ आफ्नो लाईब्रेरीमा बस्थी। र, साँझ मलाई दिनमा भएका प्रत्येक घटनाहरु म्यासेजमा पठाउँथी। उसलाई पुस्तक पढ्न र घुम्नमा शौख थियो। “म संसारको कुना कुना चिहार्न चाहान्छुँ आनस।” कहिलेकाँही उ मलाई भन्ने गर्थी। धेरै दिनसम्म इभानाको कुनै म्यासेज नआएपछि एकसाझँ मैले फेरि उसलाई अर्को एउटा म्यासेज पठाएँ। त्यसको रिप्लाई भोलिपल्ट आयो। रिप्लाईमा उसले लेखेकी थिई “म्यासेजको रिप्लाई आएन भनेर दुःख नमान आनस। म बिरामी छुँ त्यसैले रिप्लाई गर्न सकिनँ। तिमी बिश्वास गर्दैनौँ होला कि मलाई कोरोना भाइरस संक्रमण भएको छ। बाबा बितेको तीन दिनपछि मेरो भाई बित्यो। म बुझनै सकिरहेको छुइँन, मेरो जीवनमा यो के भईरहेको छ ? किन भईरहेको छ ? रुँदा रुँदा आखाका आशुहरु रितिसक्यो। म कसरी भन्नु तिमीलाई, म कति धेरै दुखी छुँ। जिन्दगी सधैं एकनासले बगिरहने नदी जस्तो होइन रहेछ आनस। तिमी आफ्नो ख्याल गर। म कामना गर्छुं तिमीलाई केहि नहोस्। यहाँ फोन चलाउनु मिल्दैन। त्यसैले रिप्लाई आएन भनेर दुखी नहुनु। तिमीलाई भन्न मन लगेको कुरा म्यासेजमा पठाई राँख्नु। भोलि के हुन्छ, त्यो मलाई थाहा छैन। बाचेँ भने म तिम्रो म्यासेजको जवाफ दिनेछुँ। म्यासेजको जवाफ कहिल्यै आएन भने सम्झँनु – म तिमीले कहिल्यै नसम्झिने तिम्रो यादहरुमा बसेको छुँ। तिमीले कहिल्यै नदेख्ने दृश्यहरुमा बसेको छुँ। अहिले म जान्छुँ। आफ्नो ख्याल राख्नु। आई मिस्ड यु आनस। धेरै धेरै।” रिप्लाईमा उसले लेखेकी थिई “म्यासेजको रिप्लाई आएन भनेर दुःख नमान आनस। म बिरामी छुँ त्यसैले रिप्लाई गर्न सकिनँ। तिमी बिश्वास गर्दैनौँ होला कि मलाई कोरोना भाइरस संक्रमण भएको छ। बाबा बितेको तीन दिनपछि मेरो भाई बित्यो। म बुझनै सकिरहेको छुइँन, मेरो जीवनमा यो के भईरहेको छ ? किन भईरहेको छ ? रुँदा रुँदा आखाका आशुहरु रितिसक्यो। उसको म्यासेज मैले मुस्किलले पढि सिध्याएँ। मेरो हिक्का छुट्यो। मलाई डाको छोडेर रुन मन लाग्यो। आफैँमा च्यातिन मन लाग्यो। आफैँमा चिथोरिन मन लाग्यो। म कल्पन्छु, यी दिनहरु केवल एउटा भ्रम मात्रै भईदिउँन। एउटा सपना मात्रै भईदिउँन। बिउँझन्दा हराई जाने सपना। बिलाई जाने सपना। तर यथार्थमा त्यस्तो कुनै चमत्कारी हुनेवाला छैन। भ्रम जस्तै लाग्ने यो तितो यथार्थलाई टाउँकोले टेकेर हिड्नु नै छ। कोरोना भाइरसको महामारीमा आज हामीले जुन कठिन समय बिताईरहेका छौँ , त्यो भोलिका दिनमा एउटा इतिहास बनेर सुरक्षित रहनेछ्न इतिहासका पानाहरुमा। आज जसरी हामी विगतका इतिहास पढेर कहालिन्छौँ। त्यसरी नै भोलिका हाम्रा सन्ततीहरु पनि आजका यी दिनहरू पढेर कहालिनेछ्न। यो कोरोना भाइरसले निम्त्याएको एक महामारी मात्रै होइन। यस्तो संकटको समयमा एउटा मानवताको हिसाबले कसले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराको परिक्षा पनि हो। राजनैतिक कर्मी र देशका नेतृत्वकर्ताहरुका लागि आफ्नो देशको जनताप्रति कति बफादार छ भन्ने कुराको परीक्षा हो। विपद्को घडीमा एक राष्ट्रले अर्को राष्ट्रसंग कस्तो सम्बन्ध राख्छ भन्ने कुराको परीक्षा हो। र पृथ्वीका सम्पूर्ण मानव जगतका निम्ति मानिसको जीवनमा सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने प्रश्नको परीक्षा हो। आज पन्ध्र दिन बित्यो इभानाको कुनै म्यासेज आएको छैन। आजकल मेरो हरेक दिनहरु उसको म्यासेज कुर्नुमा बित्छ। प्रत्येक एक-एक घण्टामा फेसबुक र इमेल चेक गर्छुँ। तर त्यँहा इभानाको कुनै म्यासेज आएको हुँदैन। म उसले अन्तिम म्यासेजमा भनेका कुराहरु सम्झन्छुँ। र कता कता आफैँमा फाटिन्छुँ। आफैँमा चुडिन्छुँ। आफैँमा विरक्त्तिन्छु। मनमा एकाएक चिसो भएर आउँछ। कतै उनि पनि….? तर त्यस्तो नहोला। म आशा राख्छु, किनकी निराशा समस्याको समाधान होइन। हरेक घटना र समस्याहरुले केहि न केहि सन्देशहरु दिएर जाने गर्छन। तर त्यसलाई कस्ले कति सकरात्मक रूपमा लिन्छ भन्ने कुराले महत्त्व राँख्छ। कतिपय व्यक्तिहरु यस कोरोना भाइरसलाई कुनै अमूक मुलुकको राजनैतिक षड्यन्त्र हो भनी अफवा फैलाउँदै हिँडिरहेका छन्। भलै उसलाई भाइरस के हो र यसले कसरी रोग निम्त्याउँछ भन्ने कुराको सामान्य जानकारी समेत थाहा हुदैन। कुनैपनि विषयको ज्ञान पाउँनको लागि त्यसमा विशेषज्ञता हासिल गरेको हुनैपर्छ भन्ने छैन। तर भाइरस, सरुवा रोग र जीव विज्ञानको आधारभूत ज्ञान थाहा पाउनै पर्छ। हरेक व्यक्तिले विज्ञानलाई विस्वास गर्नुपर्छ भन्ने सन्देश यस महामारीले दिन्छँ। विगतका महामारीमा मानिसहरू चर्च, मठ मन्दिर, गुम्बा, मस्जिद लगायतका धार्मिक स्थलमा गई पूजाआजा तथा झारफुक गर्थे। तर अहिले सबै धार्मिक स्थलहरु बन्द भएका छन। धार्मिक अनुयायीहरुलाई पनि विज्ञानमा विश्वास गर्नुपर्छ भन्ने सन्देश यो महामारिले दिएको छ। यस विपद्काे घडीमा पनि विश्वका धनी राष्ट्रहरु आफ्नो अहमता, घमण्ड र शक्त्तिको प्रदर्शन गरिरहेका छन। अहिले कोरोना भाइरसको औषधी र भ्याक्सिम कसले पहिले बनाउने भनेर दौडधुप चलिरहेको छ। अन्य राष्ट्रहरुसंग सहकार्य गर्नुलाई परनिर्भरताको बर्दी दिएर भूल गरिरहेका छन। त्यसैको नतिजा स्वरुप कतिपय विकसित राष्ट्रहरुले ठूलो मानव क्षति गुमाइरहेका छन। मानिस एक परनिर्भर प्राणी हो। मानिसले बनाएको राष्ट्र त के संसारमा अन्य कुनै कुरा पनि पूर्ण रुपमा आफैमा आत्मनिर्भर हुदैँन। त्यसैले एक अर्काबीचको सहकार्य, वैज्ञानिक सूचनाको आदनप्रदान, धनी मुलुकले गरीब मुलुकलाई सहयोग जस्ता विश्वब्यापी सहकार्यले नै यस महामारी सँगै भविष्यमा आउने विपद् माथि जित हासिल गर्न सकिन्छ भन्ने अत्यन्तै महत्त्वपूर्ण सन्देश यस महामारीले दिएको छ। जो बाहिर देखि हेर्दा अत्यन्तै शक्तिशाली देखिन्छ त्यो वास्तविक रूपमा त्यति नै शक्तिशाली नहुन पनि सक्छ भन्ने सन्देश यो महामारीले दिन्छ। त्यसका साथै आर्थिक रूपमा विकशित राष्ट्रहरु मात्रै शक्तिशाली राष्ट्र हो भन्ने मान्यता केवल एक भ्रम मात्रै हो भन्ने प्रष्ट भएको छ। आज विश्वका गरिब राष्ट्रहरु नै आफ्नो गरिबीपनको डरका करणले यस महामारी रोकथामका सावधानीहरु इमानदारीतासाथ पालना गरेर आफ्नो मुलुकमा यो महामारी फैलन नदिई रोक्न सफल भएका छन। धनी र शक्तिशाली मानिएका राष्ट्रहरु यो मामिलामा नराम्रोसँग पराजित भएका छ्न। सबै युद्धहरु जित्नका लागि युद्धभूमिमा उत्रेर युद्ध लड्नै पर्छ भन्ने हुँदैन। कतिपय युद्धहरु केहि कदम पछि हटेर, आत्मा विश्वास र धौर्यताकासाथ बसेर पनि जितिन्छ। यसको लडाइ गर्ने नियम नै यहीँ हो भन्ने सन्देश यस महामारीले दिन्छ। दिन प्रतिदिन कोरोना महामारी झन जटिल बन्दै गईरहेको छ। लाखौंले ज्यान गुमाईसकेका छ्न भने लाखौं लाख संक्रमित भएका छ्न। विश्वको अर्थतन्त्र मात्रै नभई हरेक क्षेत्रलाई गम्भीर प्रभाव परेको छ। कोरोना भाइरसको विरुद्ध बिज्ञहरु खोज अनुसन्धान गरिरहेका छन। तर कुनै ठूलो जित हात परेको छैन। यो महामारीको अन्त्य हुन अझै कति समय लग्ने हो। त्यसको कुनै यकिन छैन। पूर्णरुपमा यसको अन्त्य हुनजेल कति जनधनको क्षति हुने हो, त्यो अनुमान गर्न सकिन्दैन। तीन हप्ता बित्यो। इभानाको कुनै अत्तोपत्तो छैन। म हरेक दिनझै उसको म्यासेजको पर्खाइमा बस्छु। मेरो पर्खाइलाई भेट्न सदाझै आउँछ दिनहरू। आउँछ अन्ध्यारा रातहरु। आउँछ आकाशमा केही चराहरु। तर उसको खबर कहिल्यै आउँदैन। तैपनि म अझै झिँनो आशा राख्छुँ, आखिर किन ? मलाई वास्तवमै थाहा छैन, म किन अझै आशावादी छु। अनेकन कुरा सोचेर टोलाउछुँ म। भित्ताको घडीको आवाजले मलाई झस्काईदिन्छ। घडी हेर्छ, घडीको सुई घुमिरहेको छ। झयाल खोलेर बाहिर हेर्छु, लाग्छ – समय जँहीको त्यहीँ अडिएको छ। साँझतिर मन भुलाउन छतमा निस्कन्छु। घाम आकाशको दक्खिन किनारै किनार हिडिरहेको छ। काठमाडौंका सडकहरु शान्त देखिन्छ। कहिँ कतैबाट पनि कुनै आवाज आउँदैन। वातावरणको त्यो मौनता देख्दा यस्तो लाग्छ मानौं, पुरै संसारमै सन्नाटा छाएको छ। फिक्का निलो आकाशमा केही बादलका टुत्राहरु उडिरहेका छन। बादलका टुत्रा संगै केही चराहरु पनि उडिरहेका छन। ती चराहरुलाई पनि लाग्दो हो, यी शहरहरु किन चुपचाप छ ? यी सडकहरु किन निँदाएका छन ? एउटा चरा फुर्र उडेर मेरो छेउमा आएर बस्छ। चिरबिर चिरबिर गर्दै दायाँबायाँ उफ्रिन्छ। मलाई उ कतै टाढाबाट मेरो खबर लिन आएको छ झै प्रतित हुन्छ। म पनि ती चरालाई उसको खबर सोधी पठाउछुँ। उ फुर्र उडेर जान्छ, आकाशको पश्चिम दिशातिर । उ उडदा उसको पखेँटाको हावाले नजिकै रहेको गमलाको फुल हल्लिँन्छ। म त्यो गमलामा हेर्छुँ, सेतो फुल हल्लिरहेको छ। एकैछिन पछि अध्यारो छाउँछ। र साँझ हुन्छ। म विश्वास गर्छु – यो अध्यारो संगै रात सकिएपछि फेरि उज्यालो दिन आउने छ। अवस्य आउने छ। * * *
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो
काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो । जो बर्दिया नार्खु – ११ निवासी २८ वर्षिय महिला, सिराहा, सखुवा- १९ का ३० वर्षिय पुरुष, पर्सा विरगञ्ज – १२ का २८, २९ वर्षिय पुरुष, सर्लाही, रामनगर -४ निवासी १८ वर्षिय महिला र चितवन गढौली- १ का २५ वर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारले जानकारी दिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।