गागामा अब सशस्त्रको गुल्म : यस्तो छ तयारी
गागा । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १ सय ६० सशस्त्र प्रहरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ । बिहीबार मात्रै सशस्त्र प्रहरीको इञ्जीनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ । लकडाउनलगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । गुल्ममा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १ सय ६० जनाको टोली रहने छ । उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा गर्नेछ । सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । गुल्मका लागि अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को १ सय १५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त भइसकेको छ । गृह मन्त्रालयबाट बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि ११ करोड रुपैयाँ रकम विनियोजन गरिसकिएको छ । लकडाउनलगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा इन्द्रजीत राईले राससलाई जानकारी दिए । सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले गुल्मका लागि प्राप्त जग्गाको बिहीबार स्थलगतरूपमा पुगेर आवश्यक नापजाँच गरेको छ । सुरक्षाका दृष्टिले यहाँको सामरिक महत्व रहेकाले सरकारले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । अन्य क्षेत्रमा सुरक्षाफौज तैनाथ गर्ने योजना रहे पनि पहिलो प्राथमिकतामा यहाँको गुल्म छ । भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रैमहिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ । सन् १९६२ मा भारत–चीनसँगको द्वन्द्वका बेला यहाँको कालापानीलगायत क्षेत्रमा भारतले सेना प्रवेश गराएको थियो । त्यो बेला राखिएको सेना अझै कालापानीमा छ । दार्चुलाका प्रजिअ पौडेलका अनुसार पहिले त्यस आसपास क्षेत्रमा नेपालको पाँच इलाका थियो । तिङकर र छाङ्रु नेपालमा छ । नेपालको तिकु र गुञ्जी भारतीय नियन्त्रणमा छ । भारतले काली नाघेर कालापानी तल भएर बग्ने अर्को नदीलाई कालीको नाम दिई सीमा नदी बनाएर विवाद निकाल्दै आएको छ । त्यसैले पनि सरकारले यहाँ गुल्मको सोच राखेर त्यस आसपासका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने योजना अघि सारेको हो । सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले गुल्म बसेपछि सो क्षेत्रको सुरक्षा मजबुत हुने बताए । भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जी, कालापानी, हुँदै लिपुभञ्जाङ पुर्याएको छ । तर नेपालतर्फ कुनै प्रयास छैन । यस्तो अवस्थामा यहाँ सीमा रक्षाका लागि सुरक्षाकर्मी परिचालन गरीएको छ । “राज्यको उपस्थिति अहिलेका लागि ठूलो हो, सीमा क्षेत्रमा सशस्त्र मात्रै होइन, प्रहरीका दुई समूहसमेत पु¥याएकाले आपराधिक गतिविधि नियन्त्रण, जनताको सुरक्षा र सीमा रक्षाका लागि दूरगामी र ऐतिहासिक कदम भएको छ”, प्रजिअ पौडेलले भन्नुभयो । गुल्मका लागि भवन नबन्दासम्म भने मासिक रु २५ हजार भाडा तिर्ने गरी यहाँ सशस्त्रको बिओपी बसेको छ । त्यसको पश्चिमपट्टि १५ रोपनी जग्गामा भवन बन्ने छ । गत मङ्सिर २३ गते यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । यो सहति १४ स्थानमा मात्रै बिओपी स्थापना भएको छ । अन्यत्र हुनसकेको छैन । यहाँको बिओपी राख्ने निर्णय दार्चुला प्रशासनले विसं २०७५ मै गरेको थियो । सोही क्षेत्र हुँदै चीनको मानसरोवर जोड्नका लागि सन् २००८ देखि नै यहाँ भारतले सडक निर्माण गरेकामा अहिले उक्त सडक उद्घाटन भएपछि सीमा विवाद चुलिएको थियो । सरकारले त्यसलगत्तै यही वैशाख ३१ गते छाङ्रुमा सुरक्षाकर्मी पु¥याएको छ । नेपाली सेनाको हेलिकोप्टरले तीन दिन लगाएर आज बिहान यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बन्दोबस्तीको सामान पु¥याएको छ । हेलिकोप्टरले आठ ट्रिप गरेको र सो क्रममा १९ हजार किलो सामान लगिएको जनाइएको छ । यहाँ २१ नेपाल प्रहरी पनि पु¥याइएको छ । त्यसमध्ये १२ तिङ्करमा र बाँकी छाङ्रुको नीतिकुण्ड ९सीतापुल सीमानजिक० राखिने दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । यहाँको व्यास गाउँपालिका–१ छाङ्रुमा ११५ घरधुरी छ । १० किलोमिटर पर रहेको तिङ्करमा ६८ घरधुरी छ । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेका छन् । यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ । तिङ्कर १० किलोमिटरमा पर्छ । तिङ्करबाट लिपुलेक अन्दाजी १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताए । दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङ्रुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन । सशस्त्र प्रहरी आएपछि भने यहाँका स्थानीयमा छुट्टै खुशी छाएको छ । सरकारले शुक्रबारको नीति तथा कार्यक्रममा भारतले मिचेको जग्गा समेटेर नक्सा बनाउने घोषणा गरेको छ । भारतीय एसएसबी फोर्स र सेनाले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला नेपाली सुरक्षा फौज आउनु महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । अहिलेको अवस्थामा यहाँ सबैभन्दा ठूलो टेलिफोन समस्या छ । त्योसँगै सडकको पनि समस्या छ । सरकारले यहाँ भएर तिङ्कर जाने ८७ किलोमिटर सडक नेपाली सेनालाई बनाउन जिम्मा दिने निर्णय गरेकाले केही आशा पलाएको छ । अन्य क्षेत्रमा थपिँदै लगिने सरकारले गत मङ्सिर २३ गते यहाँ बिओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १ सय ७ बिओपी थियो । मङ्सिरमा सरकारले १ सय १४ ठाउँमा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि यो सहित जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारी निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा बिओपी राख्ने निर्णय भएको थियो । अब हुम्लाको हिल्सा, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः बिओपी राख्ने तयारी यसअघि नै गरिएको थियो । तर कार्यान्वयन हुनसकेको थिएन । अहिले भने भारतले सीमा अतिक्रमण गरेपछि मात्रै तत्कालै छाङ्रुमा सशस्त्रको टोली पठाइएको हो । हाल कायम रहेको १ सय २० स्थानमा सशस्त्रको सीमा निगरानी चौकी रहेको छ । एउटा चौकीमा ३५ सशस्त्र प्रहरी रहेका छन् । एक सुरक्षा चौकीको दूरी झण्डै १७ किलोमिटरको रहेको छ । यसलाई दूरी घटाउनुपर्ने आवश्यकता छ । भारतमा ५ सय ३० स्थानमा बिओपी रहेकाले सरकारले त्यही हाराहारीमा नेपाली सीमा क्षेत्रमा पनि सुरक्षा चौकी स्थापना गर्ने तयारी गरिरहेको छ । रासस
सीमाका नेपाली भन्छन् : खानापानी पाएका छैनौं
सुर्खेत । नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए । “हामीलाई सीमाबाट फर्काइएपछि भारतको बाबागञ्जमा लिएर क्वारेन्टाइनमा राखियो । १५ दिनपछि बिहीबार राति ९ः०० बजे देखि राम्रोसँग खाना र पानी पाएका छैनौँ”, बोहोराले भने । भारत अम्बिकडनगरबाट फर्केपश्चात बाबागञ्ज क्वारेन्टाइनमा बसेर आउनुभएका हिमा गाउँपालिका–१ सिञ्जा जुम्लाका गोगनबहादुर शाहीले बिहीबार राति सीमानाका पुगेपछि सबैलाई तरकारी मण्डीमा सुताइएको गुनासो गरे । घर फर्कने आशा लिएर फर्केको ४५ दिन भए पनि अझै घर पुग्न समस्या भएको उनले बताए । पलाता गाउँपालिका–७ कालिकोटका कुम्भिर बमले कहिले भारत लेखेट्ने, कहिले नेपाल लखेटेर पनि घर पुग्न समस्या बनाउने प्रवृत्तिले आफूहरुलाई हैरान बनाएको दुखेसो गरे । बमले भने, “जमुनाह नाकामा हाम्रो जाँच भइरहेको छ । यस क्षेत्रमा हामीसँग रहेका रोल्पा, पूर्वी रुकुम, प्यूठान, दाङ, अर्घाखाँचीका मान्छेलाई लिन जिल्लाबाट गाडी आएका छन् । तर हामी कहाँ जाने त्यसको पत्तो छैन ।” रोगले नभइ आफूहरुलाई भोकले पीडा दिएको उनको भनाइ थियो । सीमाका नेपालीलाई प्रजिअको समन्वयमा जिल्ला पठाउँदैछौं जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा ७ सय नेपाली आइपुगेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट ७ सय नेपाली जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको जनाए । “आएका सबैको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ”, उनले भने, “त्यो कार्य सम्पन्न गरेर हामी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा नागरिकलाई त्यहाँ पुग्ने व्यवस्थापन गर्दैछौं ।” यता कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबइमा आइपुगेकाको व्यवस्थापनमा स्वास्थ्य तथा सुरक्षाकर्मीको एकीकृत टोली खटाएको छ । सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी नभएकालाई बबइमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित स्थानीय तहको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । कर्णाली सरकारलाई ८ सय ८० थान स्वास्थ्य सामग्री हस्तान्तरण सेभ द चिल्ड्रेन मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८ सय ८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनले कोरोना भाइरसको प्रकोपबाट बच्न सघाउने उद्देश्यले शुक्रबार व्यक्तिगत तथा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई हस्तान्तरण गरेको हो । उक्त संस्थाले ८ सय ८० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) र स्वास्थ्य सामग्रीमा ३ सय ७० थान डिस्पोजेवल एप्रोन, ३ सय ६२ थान एन–९५ मास्क, ३३ थान आइआर थर्मोमिटर, १ सय ७५ जार हस्पिटल ग्रेड डिसइन्फेक्टेन्ट (पाँच लिटर), ७६ थान स्प्रे कन्टेनर, १ सय थान बायोहजार्ड ब्याग, १ सय ९० थान प्रोटेक्टिभ गगल्स र ४ सय ५५ थान कोभिड पोष्टर प्रदान गरेको छ । हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनलाई धन्यवाद दिँदै मन्त्री रावलले कोभिड–१९ महामारीको कठिन समयमा गरेको सहयोगले कर्णालीलाई ‘ग्रिनजोन’ बनाउन सहयोग पुग्ने बताए । “कोभिड–१९ विश्वव्यापी सङ्कट बन्दै गएको छ”, उनले भने, “अबका आउने दिनहरू अझै चुनौतीपूर्ण रहेकाले सेभ द चिल्ड्रेनको थप सहयोगको अपेक्षा गर्छौं ।” सेभ द चिल्ड्रेनले कोभिड–१९ महामारीको योजनामा शुरुआतदेखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले बताए । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने काम प्राथमिकता रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेलले बताए । उनले यो महामारीको समयमा हस्तान्तरित स्वास्थ्य सामग्रीले कोरोनाको प्रभावकारी रोकथाम, उपचार र व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । रासस
कोरोनाको कहरबीच अमेरिकामा गयो ठुलो भूकम्प
काठमाडौं । संयुक्त राज्य अमेरिकामा भूकम्पको गरेको छ । अमेरिकाको लस भेगसको दक्षिणी भागमा रहेको टोनपा शहरमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको अमेरिकाको भूगर्भ विभाग युएसजीएसले जनाएको छ । यो ठूलो भूकम्पपछि निरन्तर केही समय साना भूकम्पहरु पनि गएको जनाइएको छ । शुरुमा गएको ठुलो भूकम्पपछि लगातार दुईवटा पाँच रेक्टर स्केलभन्दा बढीका भूकम्प गएको जनाइएको छ । अमेरिकाका अन्य युटा, साल्टलेक सिटी र क्यालिफोर्निया लगायतमा राज्यमा पनि भूकम्पकाे धक्का महसुस गरिएको जनाइएको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसकाबाट १४ लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित छन् भने ८८ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
दाङका कोरोना संक्रमित पुरुष टिचिङ अस्पतालमा कार्यरत
काठमाडौं । दाङका कोरोना संक्रमितमध्ये एक पुरुष टिचिङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । शुक्रबार पहिलोपटक दाङका तीनजनामा कोरोना संक्रमित पुष्टि भएका थियाे जसमा ३४ वर्षिय पुरूष काठमाडौंको टिचिङ अस्पतालमा कार्यरत रहेको खुलेको हाे । तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको सो उपमहानगरपालिकाको मेयर घनश्याम पाण्डेले सामाजिक संजालमार्फत जानकारी दिए । अस्पतालमा बिरामीको उपचार गर्ने क्रममा उनका संक्रमण भएको हुन सक्ने अनुमान गरिएकाे छ । टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित अन्य मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टि भएको थियो । त्यस्तै अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । कृष्णनगरको क्वारेन्टाइनमा बसेका उनीसहित बिहीबार ९१ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण भएको थियो । जसमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य ८९ जनाको नेगेटिभ देखिएको सो प्रतिष्ठानले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने ३६ जना उपचार पछि घर फर्किएका छन् ।
सन्त्रास
ब्रह्माण्डको धैर्यता डगमगायो क्यारे मृत्युको सङ्खनाद गुञ्जियो जगमा प्रकृतिको सृजनाले नै बिनासको बिज छर्यो कि आफनै प्रगति र प्रविधिको मस्तमगनमा सम्स्त धर्तीलाई खुमच्याएर कल्पनाको कृतिम सहर धेरै बन्यो कि गगनदेखि माथि चन्द्र अनि मङ्गलमा शिखरमा पुग्दै गरेका सपनाहरु धकेलिएर पछारिए विवसता र बाध्यता बनेर आफ्नै आँगनमा विकासको वेगलाई पछि सारेरै भएपनि समयको छाल लहरहरुसँगै बगिरहेको छ आफ्नो जीवन हत्केलामा राखेर भएपनि मानव मानवकै निम्ति भगवान बनिरहेको छ व्यस्त भयो दुनियाँ जीवन अस्तित्वको भिख माँग्नमा नविनतम् सोच र नयाँ आविप्कारले बुनेको झिनो पच्छयौरी समातेर आत्तियो संसारको सर्वश्रेष्ठ प्राणी अनकन्टार अध्याँरो सुनशान एक्लो जीवनतर्फ भाग्नमा भासियो सारा विश्वलाई उन्नतीसम्म हाक्ने सबारी थेग्न नसक्ने गरि बढ्यो अर्थतन्त्रको गह्राैं भारी प्रकृतिले जीवन रक्षाको चुनौतीहरु थपिरहेको छ जीवन मरणको अनयौलताले भित्रभित्रै कपिरहेको छ विकासको वेगलाई पछि सारेरै भएपनि समयको छाल लहरहरुसँगै बगिरहेको छ आफ्नो जीवन हत्केलामा राखेर भएपनि मानव मानवकै निम्ति भगवान बनिरहेको छ सन्त्रास छाएको छ जीवनको हरेक प्रहरमा अनुशासन र आत्मविश्वासको नै साथ छ कोरोना भाईरसले निमत्याएको बिनासकारी कोभिड १९ को कहरमा हरेक गाउँ अनि शहरमा सद्भाव र सदविचारले मनको भयलाई बाहिर झिकौँ खुशीमा साथ हुनेहरुले दुःखमा एकजुट हुन सिकौँ प्रकोपको यो माहामारीमा अपनाउनुपर्छ सावधानी खास संयम्ता र धैर्यताले नै हटाउनसक्छ कोरोना भाईरसको सन्त्रास बेलबारी १, मोरङ नेपाल
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४६ लाख २१ हजार ४ सय ६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ भने १७ लाख ५५ हजार १ सय ३९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८८ हजार ५ सय ७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ८४ हजार २ सय ८४ जना रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ८५ हजार ७ सय ८४ जना पुगेको छ भने अहिलेसम्म ३ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ६७ जना संक्रमित भएका छन् भने ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
उदयपुरका एक पत्रकारमा पनि भेटियो कोरोना
काठमाडौं । शुक्रबार बेलुका थपिएका ९ जना संक्रमितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खुलेको छ। उनी २५ वर्षिय पुरुष रहेकाे खुलेकाे छ । गत बुधबार उदयपुरका २७ जना पत्रकारको कोरोना परीक्षण गर्नलाई स्वाब लिइएको मध्ये उनकाे नतिजा पाेजेटिभ आएको हाे । स्वास्थ्य मन्त्रालयकाे अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
लम्बिएकाे लकडाउन र आत्तिएकाे समाज
कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६/१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र हाम्रो मन मस्तिष्कमा मात्र होइन, संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो । यो शब्दले पुरै विश्व नै हल्लिरहने भएको छ । यसको प्रकोपबाट आज सिङ्गो विश्व नै त्राहिमाम् भइसकेको अवस्था छ । चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वको करिब २०० भन्दा बढी देशहरू यसको चपेटमा आइसकेको कुरा दैनिक मिडियाहरु मार्फत हामी थाहा पाइनै राखेका छौ । जसले गर्दा हरेक दिन विश्व भरीमा लगभग लाखौँको सङ्ख्यामा यो रोग मानिसहरूमा सङ्क्रमित भइरहेको छ भने यसको प्रकोपबाट प्रत्येक दिन हजार भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको छ । तर यसको प्रकोपबाट करिब हजारौँको सङ्ख्या भने मानिसहरू निको पनि भएर आफ्नो घर फर्किरहेको अवस्था छ । हुन त सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ भने निको हुनेको सङ्ख्या थोरै भए पनि निको भइरहेको छ । आज विश्वको ठूला ठूला राष्ट्रहरू यसको औषधी निकाल्न दिन रात लागि परेको छ । तर अहिलेसम्म भने रित्तो हात नै रहेको छ जसको कारण निराशा अझै बढ्दो अवस्थामा छ । “के यसले पृथ्वीमा मानिसकाे अन्त्य हुने त होइनन् ? के यसको भ्याक्सिन निकाल्न सकिएला त ?” यस्तो प्रश्न आज विश्वका सारा मानिसहरूको मनमा उब्जिरहेको छ । विश्वकै सुपर पावर भनिने राष्ट्र अमेरिका आज कोरोना भाइरस (कोभिड–१९) को केन्द्र विन्दु नै बनिसकेको छ । विश्वकै सबै भन्दा बढी प्रभावित राष्ट्र भनेको आज अमेरिका नै रहेको छ । आखिर किन ? नासा जस्तो विश्वकै प्रख्यात वैज्ञानिकहरूको समूह अमेरिका मै अवस्थित छन् तर आज अमेरिका नै यसको कहरबाट त्राहिमाम् बनिसकेको छ । इटाली, स्पेन, जर्मनी, जापान, चिन, अस्ट्रेलिया, रुस जस्तो देशहरूले पनि यसको एन्टिडोइ निकाल्न सकिरहेको छैन, आखिर किन ? “ भनिन्छ कि यो विश्वमा असम्भव भन्ने कुरा केही पनि छैन तर यो कोरोले सायद यो भनाई र विश्व भरिमा रहेका प्रसिद्ध वैज्ञानिकहरूले कमाएको नाम सबैलाई गलत साबित गर्छन् कि ?” जस्तो लाग्न थालेको छ । हुन त यस्तो महामरी इतिहासमा अरु पनि आएका छन र त्यसबाट पनि लाखौको सङ्ख्यामा मानिसहरुको ज्यान गएको हो । र तिनिहरुको एन्टिडोइ निकाल्न कम्तिमा ६ महिना लागेको कुरा विभिन्न सञ्चारको माध्यमले थाहा पाउन सकिन्छौ । त्यसले गर्दा आतिनु पर्ने कुरा त छैनन् तर सजग र सचेत हुन आवश्यक देखिन्छ । लकडाउन लकडाउन, जसको अर्थ तपाई जहाँ हुनुहुन्छ त्यही बस्नु, घरबाट बाहिर ननिस्किनु हो । जहिलेदेखि यो कोरोनाको कहर चीनको वुहानबाट पुरै विश्वमा फैलिएको छ त्यो दिन देखि नै लकडाउन प्रख्यात बनिसकेको शब्द हो । इतिहासमै सिङ्गो विश्व भरिमा नै यसरी एकै चोटिमा पुरै विश्वलाई नै बन्द गरेको पहिलो पल्ट नै होला । यसले गर्दा विश्वको सानादेखि ठूला राष्ट्रहरूले पुरै देशभित्र नै लकडाउन गरेका छन् । यस्तो त अवस्था पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धको बेलामा पनि भएको थिएनन् होला ? आज यसको कारण विश्वकै शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, बौद्धिक तथा मानसिक रूपमा धेरै नै पछाडि धकेलिरहेको अवस्था छ । जुन देशमा कोरोना फैलिसकेको छ त्यो देशको शैक्षिक संस्थान अनिश्चित कालसम्मको लागि बन्द गरिसकेको छ । देशका सबै बिजनेस ट्रेट जस्तै कल कारखाना, होटेल, पसलहरू आदि सबै बन्द रहेको अवस्था छ । त्यसले गर्दा सबै देशको अर्थतन्त्रमा पनि धेरै क्षति बेहोर्नु परेको देखिन्छ । यो कोरोनाले नेपाललाई पनि अछुतो छोरेको छैन । लकडाउनको कारणले गर्दा नेपालमा पनि विभिन्न क्षेत्रमा प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा असर परेको देखिन्छ । शिक्षाको क्षेत्रमा “शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । विद्यार्थीहरुले आफ्नो १० वर्ष लगाएर लगनशीलताको साथमा गरेको मेहनतको परिणाम भनेको एसईईकाे परीक्षाफल हाे । अहिले उक्त परीक्षा नै भएकाे छैन । पढ्ने हरेक विद्यार्थीको एउटै मात्र धोको हुन्छ कि म राम्रो मार्क ल्याएर एसईई पास गर्ने छु जसको लागि मलाई जति मिहिनेत गर्न किन न परोस् । सबैको मनमा यो कुरा खेलिराखेको हुन्छ । त्यस्तै यसपालिको एसईई दिने विद्यार्थीहरूको मनमा यस्तो कुरा खेल्नु स्वाभाविक नै हो । जुन यो कोरोनाको कहरले गर्दा चैत्र ६ देखि हुने एसईई परीक्षा अनिश्चित काल सम्मको लागि स्थगित भएको छ । कक्षा १० मा पढ्ने विद्यार्थीहरू जसले यसपालि एसईई दिनेवाला थियो उनीहरूको मन उदासले भरिएको देखिन्छ । “अव के होला भन्ने प्रश्न सबैको मनमा होला ? हामी यो एसईई परीक्षा कहिले दिने, हाम्रो रिजल्ट कहिले आउला र हामी कहिले आफूले सोचेको गन्तव्य पुरा गरौला ? यस्तो विभिन्न किसिमको प्रश्न आउनु स्वाभाविक नै हो ।” शिक्षाको क्षेत्रमा यति मात्रै होइन कक्षा १ देखि कक्षा ९ सम्मको विद्यार्थीहरूले त कोरोनाको त्रास सँगै परीक्षा दिइयो तर तिनीहरू मध्ये धेरैकाे नतिजा निस्किन पाएको छैन । सबै विद्यार्थीको आकांक्षा हुन्छ कि आउँदो नयाँ सालसँगै म अर्को कक्षामा जान्छु, र तर त्यो आकांक्षा पनि यस पालि कहिले पुरा हुन्छ भने भन्न सकिँदैन । उनीहरूको मनमा पनि विभिन्न किसिमको त्रासहरू उत्पन्न भइनै राखेको होला । सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने यदि शैक्षिक सत्र ढिलो सुरु हुन्छ भने कोर्स कहिले सकिन्छ ? विद्यार्थीहरूको सिकाई कहाँसम्म पुग्छ ? पुरै साल भरि पढाई हुँदा देशको विभिन्न ठाउँको सरकारी विद्यालयहरूमा पुर्णरुपले कोर्स सकेको हुँदैन भने यसपालि कस्तो हुन्छ ? “शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । यति मात्र होइन उच्च शिक्षा सम्मको सबै परीक्षा लगायत प्राविधिक शिक्षा सम्मको परीक्षाको मिति सारेको छ । विद्यार्थीहरूले दिन र रात मिहिनेत गरी परीक्षाको लागि तयारी गरिराखेको हुन्छ तर यो कोरोनाको कहरले सबैको मनोबल नै घटाइ दिएको छ । यहाँसम्म कि लोकसेवा आयोगको परीक्षा दिनको लागि देशको विभिन्न स्थानबाट विद्यार्थीहरू काठमान्डु, हेटौडा, भरतपुर, विराटनगर, धरान, धनकुटा, वीरगन्ज आदी सहरहरूमा गएर कोचिङ गरी राखेको थियो तर यो लकडाउनको कारण रातारात सबै विद्यार्थीहरू आफ्नो घर फर्किएका कुरा दैनिक जसो रेडियो, टेलिभिजन, पत्रपत्रिकाको माध्यमले सुन्न र हेर्न पाएका छौ । लोकसेवा पास गर्नका लागि विद्यार्थीहरू सालौ साल लगाएर पढिराखेको हुन्छ तर यस्तो परिस्थिमा उनीहरूको मनमा कस्तो किसिमको तनाव उत्पन्न भएको होला ? कहिले सरकारले यसको बारेमा सोचेका छन् । जागिर न पाएर बिदेसिनु यस्तै किसिमको समस्याको परिणम हुन सक्छ होला ? यसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । जसले गर्दा हाम्रो देशको शैक्षिक स्तरमा पनि केही न केही अवश्य पनि ह्रास आउन सकिन्छ । स्वास्थ्य क्षेत्रमा परेको प्रभाव ‘अस्पतालको लपारवाहीको कारणले बाराको कलैयामा एक युवाको मृत्यु’, यो समाचार न्युज २४ बाट अप्रिल ५ अर्थात् चैत्र २३ को समाचारको भिडियो रिपोर्टमा आएको थियो । यस्तो समाचार धेरै मात्रामा अहिले सुनिन थालेकाे छ । यस्तो हुनुको कारण बिरामीलाई कोरोना भएको होला भन्ने शङ्काको कारणले चेक जाँच नै नगरी कोरोना हो भन्ने अस्पतालमा भर्ना न लिँदा देशका यस्ता कयाैं मानिसहरू उपचारको विना अकालमै मृत्यु खेप्नु परिरहेको छ ? आखिर मर्नेको के गल्ती ? यदि कोरोना नै लागेको हो भन्ने पहिलो स्टेजमा उसको उपचार गर्न सकिँदैन र ? उपचार नै गर्न सक्ने नभएको भए आज विश्वमा करिब लाखौ लाख मानिसहरू कसरी निको भएर घर फर्किएको छ । यस्तो निजी अस्पतालको लपारवाहीको कारणले अप्रिल ६ अर्थात् चैत्र २४ गते नागरिक न्युजमा “निजी अस्पताल सरकारको नियन्त्रणमा रहने” भन्ने शीर्षकमा समाचार छापिएको थियो । तर त्यो मात्र कोरोना सङ्क्रमित पहिचान गर्नको लागि थियो । तर अहिले सम्म त्यो पनि पूर्णरुपमा लागु हुन सकेको छैन । अहिलेको अवस्थामा सामान्य रुघाखोकी लाग्दा पनि मनमा कोरोनाको डरले गर्दा कतिपय मानिसहरू अस्पतालमा गएर चेक गराउन पनि डराइरहेका छन् । उपचार गर्दा गर्दा ज्वरो आएको बिरामीलाई अस्पतालको डाक्टरले जब कोरोनाको शङ्का लगाउन सकिन्छ भने अरूको त कुरै नगरौं । हिजोअस्ति अर्को एउटा घटना सामाजिक सञ्जालमा चर्चामा रह्यो । “टिचिङ अस्पतालबाट डिउटी सकाएर आइरहेको स्वास्थ्य कर्मीलाई सुरक्षाकर्मीले बेसरी कुट्यो “ यसले गर्दा पनि डाक्टरहरू बाहिर निस्किन मानिनै रहेको छैन । एक त पहिला देखि नै पिपिई नभएको कारणले गर्दा स्वास्थ्यकर्मीहरुलाई गाह्रो भइनै राखेको थियो तर अहिले यसले गर्दा पनि अझ समस्या स्वास्थ्य क्षेत्रमा ल्याएका छन् । गा्रमिण भेगमा रहेको सरकारी स्वास्थ्य चौकीहरूमा एउटा मात्र पिपिई उपलब्ध गराएका छन् भने दिन र रात भोकै प्यासै देश तथा देश भित्र बस्ने जनताको सेवा र सुरक्षाको लागि खटिराख्ने सुरक्षाकर्मीहरुलाई पनि सरकारले पपिई् उपलब्ध गराउन सकेको छैन । जब आम जनतालाई सुरक्षा प्रदान गर्न यी दुवै निकाय नै सुरक्षित रहन सक्दैन भने अरू आम जनता कसरी सुरक्षित रहन सक्छ ? जबकि सरकारलाई अनिवार्य रूपमा यी दुवै निकायहरूलाई सुरक्षा कवज दिनु पर्दथ्यो तर यहाँ सरकारमा बसेका मन्त्रीहरूले आफू घरबाट ननिस्किने र अरूको ज्यानको ज्यान नै नसम्झिने प्रवृत्ति बनिसकेको छ । विश्वको सुपर पावर भनिने देश अमेरिका तथा स्वास्थ्यको क्षेत्रमा दोस्रो स्थान हासिल गरेको देश इटाली जब यो कोरोनाको प्रकोपलाई समान्य राख्न सकिरहेको छैन भने हामी जस्तो सानो तिनो स्रोत र साधन भएको देश कसरी जनतालाई बचाउन सकिन्छौ ? जुन कि हाम्रो देशको पुरै अस्पतालको भेन्टिलेटरको सङ्ख्या गन्यौ भने ५०० सय पनि पुग्न सकिँदैन । अनि कसरी सुरक्षा प्रदान गर्न सक्छौ ? हामी सँग थुप्रै समय भए पनि हामी स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन सकेनौ यो कस्तो किसिमको सिस्टम हो ? कोरोना उच्च स्तरीय समितिको गठन गर्दा विना विज्ञको नै समूह गठन गर्यौ जसलाई कोरोनाको क पनि आउँदैन । त्यस्तो व्यक्तिलाई कोरोना विपत् व्यवस्थापन समितिमा राख्नु यो भनेको हाम्रो देशको लागि लज्जाको विषय हो । जब कि त्यस्तो समितिमा चिकित्सा क्षेत्रको विशेषज्ञ, अर्थ विशेषज्ञ, विपत् व्यवस्थापन विशेषज्ञ जस्तो व्यक्तिहरूलाई राख्नु पर्दथ्यो तर त्यो देखिएन किन ? किन भने कोरोनाको नाममा पनि भ्रष्टाचार गर्नु थियो ! यसले हामी अकडा लगाउन सक्छौ कि हाम्रो देशको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो होला ? अर्थतन्त्र र रोजगारी एकै दिनमा १ लाख भन्दा बढी मानिसहरू काठमाण्डाैंबाट तथा हजारौँको सङ्ख्यामा देशका विभिन्न सहरहरूबाट जब घर फर्किरहेको कुरा सुने र पढे त्यस पछि मानिसहरूले अनुमान गर्न सकियो कि देशको अर्थतन्त्रमा ठूलो गिरावट हुनेबाल छ । आज नेपाल मात्र होइन संसारका ठूला ठूला राष्ट्रहरूले पनि आर्थिक सङ्कट बेहोर्ने विभिन्न अन्तर्राष्ट्रिय सूचनाहरूको अनुमान रहेको छ । कोरोनाले गर्दा भिजिट नेपाल २०२० लाई स्थगित गर्नु पर्यो जसका कारण नेपालले सोचेको आर्थिक लाभ लिन सकेको छैन । देशका विभिन्न कलकारखाना पनि बन्द भइसकेको अवस्था छ । जसको कारण ज्यालादारी गरेर खाने मानिसहरूलाई आफ्नो दिन टार्न गाह्रो हुन थालेको छ। वैशाख ५ गतेको थाहा खबरमा एउटा समाचार पढे ’कि काम देऊ कि माम देऊ’ भन्ने शीर्षक थियो ।यो घटना दाङ जिल्लामा रहेको इँटा उद्योगको हो । जहाँ खानको लागि इट्टा भट्टामा काम गर्ने व्यक्तिहरू खानाको लागि छटपटाइ रहेको छ । नेपालमा यस्तो एउटा मात्र होइन यस्तो समस्या धेरै छन् । वैशाख ५ गतेका दिन फेरी अर्को समाचार पढे काठमाडौं मै बसिरहे भोकले मरिन्छ, घर पुगे पक्कै बाँचिन्छ’ यो घटना सर्लाहीका राजकुमार दास हो जसले काठमाडौँमा कुकर र ग्यास चुल्हो बनाउने काम गर्थे। जोरपाटीमा बस्दै आएका दासको यो पेसा कोरोना भाइरसले खोसिदियो। सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपछि उनले घर(घरमा गएर कुकर बनाउन पाएनन् । सहरवासीले बस्तीमा छिर्न पनि दिएनन् जसको कारण २१ दिनसम्म कोठामै बस्नु पर्यो तर, लकडाउन खुल्ने कुनै छाँट देखिएन । उसको घरमा भएका सबै रासन पानी सकिएपछि उनी आत्तिए। नआत्तिएर के गर्नु आफैँ घरमा रासन पानी आएन। भएको सबै पैसा पनि सकियो। राहत पाउन नाम पनि लेखाए तर, राहतको नाममा एक दाना चामल पनि उनको हातमा पर्न सकेन। यस्तै नयाँ पत्रिकाको पहिलो पेजमै वैशाख ५ गते नै फेरी यस्तै घटना पढ्न पाए । “लकडाउनमा मजदुरको पीडा , राजधानीमा खान पाइँदैन, प्रशासनले घर जान दिँदैन”मानिसहरूले खाना नपाएर आ आफ्नो घर गइरहेको फोटोहरू अहिले फेसबुकमा पनि भाइरल बनेको छ । उनीहरूलाई पैदल नै हिनेर घर जाने कुनै सौक छैन । न त कुनै त्यस्तो इमरजेन्सी नै छ तर भोकै भने कति दिन सम्म काठमान्डु लगायत देशका अन्य सहरहरू बस्न सकिन्छ । त्यसैले गर्दा मानिसहरू भोक भोकै पैदल नै हिनेर घर गइरहेको छ । तर त्यसमै वैशाख ४ गते सरकारले निर्णय गर्यो कि घर बाहिर देख्नेलाई मुद्दा चलाइने छ । के सरकारले मात्र नियम बनाउने हो कि भोकले छटपटाइरहेको मानिसहरूलाई रासनको पनि व्यवस्था मिलाउने हो ? “ सरकार दैनिक ज्यालादारी गर्नेलाई रासन दिनु, उनीहरूलाई घर जाने सोख छैन । खान पाए जहाँ गए पनि बस्नु नै छ । कोरोनाको कारणले मर्नु भन्दा पहिला मानिसहरूले कहीँ भोकै न मरिहालोस् ।” “लकडाउन पुर्णरुपमा लागु गर्न टोल टोलमा हेल्प डेस्क संचालमा ल्याउनु टोलको प्रत्येक व्यक्तिको खाने सबै सामग्री लगायत अन्य अति आवश्यक पर्ने सामग्रीको लिस्ट बनाउनु र भोलि पल्ट उसको गेट अगाडी राखी सुलभ मूल्य लिनु” लकडाउनको पालना स्व्म हुन्छ यदि त्यति गरेर पनि जनताले मानी राखेको छैन त्यस पछि मात्र करवाही गर्नु शोभनमय कार्य हुने सरकार । कालोबजारी र भ्रष्टाचार लकडाउनको बेलामा कालोबजारीले सीमा नाघिसकेको अवस्था छ । जुन समान प्रति केजी पहिला २० पर्थ्यो त्यो अहिले ४० परिराखेको छ । तर वास्तवमा त्यसको मूल्य भने त्यति छैन अहिले पनि । यस्तो आपद्काे घडीमा पनि कालोबजारी गरिरहेको छ तर सरोकारवालाको ध्यान त्यहाँ जान सकेको छैन र त्यो सबैको मर्का आम साधारण नेपाली जनताहरूमा परिरहेको छ । यसको समय मै निगरानी गरी जनताहरूलाई कालोबजारीबाट बचाउने प्रयास होस । भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । गत महिना चैत्रमा कोरोनाको रोकथाम गर्नको लागि स्वास्थ्य सामग्री किन्नमा पनि चरम भ्रष्टाचारको कुरा सबै नेपाली जनताहरूले बुझेको नै हो । म धन्यवाद दिन चाहन्छु रमेश पौडेललाइ जसले स्वास्थ्य सामग्री किन्दा अनियमितता भएको भन्दै एकलै अनलाइन मार्फत अख्तियारमा मुद्दा हाले । जसको कारण त्यही दिन त्यो टेन्डर रद्द भयो जसबाट करोडौँ रकम भ्रष्टाचार हुनबाट जोगियो । यहाँ तल देखि माथि सम्म सबै भ्रष्टाचारले नै भरिएको देश हो । स्थानीय निकायहरूले अहिले कोरोनाबाट बाच्नको लागि बाटिरहेको मास्क, सेनिटाइजर, साबुन सबैमा भ्रष्टाचार नै गरिराखेको देखिन्छ । मास्क जुन एक लेयरको कपडाबाट बनाइएका छन् जुन १ प्रतिशत पनि कोरोनाबाट जोगाउन सकिँदैन भने विज्ञहरूको भनाई छ । आखिरमा त्यस्तो किन बाढने ? के त्यसको पैसा लाग्दैन र ? कुनै पनि कुराको सीमा हुन्छ तर यहाँ भने भ्रष्टाचारको सीमा छैन । कहिले क्वारेन्टाइनको नाममा त कहिले राहत वितरणको नाममा देशको पैसा लुटिरहेको छ । पहिला भुक्पको पैसा, त्यस पछि बाढी पीडितको पैसा र अहिले कोरोनाको पैसा । विश्व बैकले त्यत्रो पैसा कोरोना कोषमा खर्च गर्न सहयोग गरे पनि अहिले सम्म सबै सुरक्षा कर्मी तथा सबै स्वास्थ्यकर्मीहरुले सुरक्षा बवज पाउन सकेको छैन । “विदेशबाट आएको रेमिटेन्स भित्र्याउन अहो अहो गर्ने तर यस्तो विपद्को बेलामा विदेशमा फसेको नेपाली नागरिकहरूलाई नेपाल ल्याउन भन्दा कानमा तेल राखेर बस्ने लाज लाग्दैन सरकार ।” म घरमा बसिरहेको बेला एक जना मेरो मलेसिया बस्ने साथीले फोन गर्यो । कुरा कानी हुँदै थियो र मैले सोधे कस्तो त्यहाँ लकडाउनको प्रभाव उसले मन छोटो पार्दै भन्यो के भन्नु यहाँ त बिजोग छ । मेरो अवधि समाप्त भइसकेको थियो कम्पनीले भोलिको टिकट काटी दिएको थियो अनि त्यही दिन देखि विदेशी उड्डयन सेवा बन्द भयो । मलाई त यहाँ बिजोग नै भइसकेको छ । कम्पनी भन्छन् म जिम्मा लिँदिन यहाँ यस्तो परिस्थितिमा के गर्नु के गर्नु भएको छ ? यस्तो समस्या विदेशमा बस्ने एक जना नेपालीको मात्र होइन यस्तो समस्या विदेशमा बस्ने पुरै नेपालीको नै छ । जहाँ अरू देशले आफ्नो नागरिकहरूलाई आफ्नो प्लेन पठाएर देश फर्काइरहेको छ तर नेपाल सरकारले भने कानमा तेल हालेर बसेको छ । यस्तो बेलामा जसरी भए पनि संकतमा परेको नेपालीहरूलाई नेपाल बोलाउनु पर्दथ्यो र उनीहरूलाई क्वारेन्टाइनमा बस्न लगाउनु पदैथ्यो हैन भने जुन जुन देशमा नेपालीहरू काम गर्न गएका छन् त्यहाँ नेपाल एम्बेसीको सहयोगमा उनीहरूलाई मदत गर्नु पर्छ । ताकि उनीहरूलाई पनि लागोस् कि हाम्रो मातृ भूमिलाई हामीहरूको माया छ । मात्र आम्दानीलाई न सोचौँ सरकार ज्यान बच्यो भने धेरै पैसा कमाउन सकिन्छ । पहिला विदेशमा बस्ने नेपालीहरूको ज्यान जोगाउनु । अन्त्यमा, विद्यार्थीहरूलाई यो विषम परिस्थितिमा अनलाइन पढाईको व्यवस्था मिलाउस सरकार जसले गर्दा विभिन्न तहको विद्यार्थीहरुले आफ्नो घरमै बस्दा पनि पढाइबाट वञ्चित नहोस् । गरिबहरूको लागि खाद्यान्न सामग्री यथा शीघ्र उपलब्ध गराइदिनुस् । देशको जुन सुकै कुनामा बसेको मानिसहरूलाई त्यही ठाउँमै राहत मिलाइ दिनुहोस् । देश भरी खटी रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चार कर्मीहरूलाई अनिवार्यरुपमा सुरक्षा कवाज उपलब्ध गराइ उनीहरूको बिमाको व्यवस्था मिलाउनुहोस् । आज विश्वका शक्तिशाली देश अमेरिका, चीन, इटाली कोरोना भाइरससँग जुधिरहेका छन तर निकास भन्ने पाइराखेको छैन यो अवस्थालाई गम्भीर रूपमा बुझेर यस्तो खालको अवस्था नेपालमा आएमा नेपाल सरकारसँग सम्बन्धित उपकरणरु न्यून रहेको हुनालेडे आफूआफूमा ,गम्भीर र समुदायहरूलाई सूक्ष्म ढंगले विचार गरी दैनिक सरसफाइ, हिँडडुल, जमघट तथा भेटघाटलाई र अन्य विभिन्न सांस्कृतिक पर्व, उत्सवहरूलाई थाति राखी यस महामारीको सामना गर्न दृढ संकल्प र इच्छाशक्ति तथा ऊर्जाशील नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूमा सादर अनुरोध छ । www.facebook.com/biveksharma100