सुर्खेत । नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए । “हामीलाई सीमाबाट फर्काइएपछि भारतको बाबागञ्जमा लिएर क्वारेन्टाइनमा राखियो । १५ दिनपछि बिहीबार राति ९ः०० बजे देखि राम्रोसँग खाना र पानी पाएका छैनौँ”, बोहोराले भने ।
भारत अम्बिकडनगरबाट फर्केपश्चात बाबागञ्ज क्वारेन्टाइनमा बसेर आउनुभएका हिमा गाउँपालिका–१ सिञ्जा जुम्लाका गोगनबहादुर शाहीले बिहीबार राति सीमानाका पुगेपछि सबैलाई तरकारी मण्डीमा सुताइएको गुनासो गरे । घर फर्कने आशा लिएर फर्केको ४५ दिन भए पनि अझै घर पुग्न समस्या भएको उनले बताए ।
पलाता गाउँपालिका–७ कालिकोटका कुम्भिर बमले कहिले भारत लेखेट्ने, कहिले नेपाल लखेटेर पनि घर पुग्न समस्या बनाउने प्रवृत्तिले आफूहरुलाई हैरान बनाएको दुखेसो गरे । बमले भने, “जमुनाह नाकामा हाम्रो जाँच भइरहेको छ । यस क्षेत्रमा हामीसँग रहेका रोल्पा, पूर्वी रुकुम, प्यूठान, दाङ, अर्घाखाँचीका मान्छेलाई लिन जिल्लाबाट गाडी आएका छन् । तर हामी कहाँ जाने त्यसको पत्तो छैन ।” रोगले नभइ आफूहरुलाई भोकले पीडा दिएको उनको भनाइ थियो ।
सीमाका नेपालीलाई प्रजिअको समन्वयमा जिल्ला पठाउँदैछौं
जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा ७ सय नेपाली आइपुगेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट ७ सय नेपाली जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको जनाए । “आएका सबैको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ”, उनले भने, “त्यो कार्य सम्पन्न गरेर हामी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा नागरिकलाई त्यहाँ पुग्ने व्यवस्थापन गर्दैछौं ।”
यता कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबइमा आइपुगेकाको व्यवस्थापनमा स्वास्थ्य तथा सुरक्षाकर्मीको एकीकृत टोली खटाएको छ । सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी नभएकालाई बबइमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित स्थानीय तहको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
कर्णाली सरकारलाई ८ सय ८० थान स्वास्थ्य सामग्री हस्तान्तरण
सेभ द चिल्ड्रेन मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८ सय ८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनले कोरोना भाइरसको प्रकोपबाट बच्न सघाउने उद्देश्यले शुक्रबार व्यक्तिगत तथा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई हस्तान्तरण गरेको हो ।
उक्त संस्थाले ८ सय ८० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) र स्वास्थ्य सामग्रीमा ३ सय ७० थान डिस्पोजेवल एप्रोन, ३ सय ६२ थान एन–९५ मास्क, ३३ थान आइआर थर्मोमिटर, १ सय ७५ जार हस्पिटल ग्रेड डिसइन्फेक्टेन्ट (पाँच लिटर), ७६ थान स्प्रे कन्टेनर, १ सय थान बायोहजार्ड ब्याग, १ सय ९० थान प्रोटेक्टिभ गगल्स र ४ सय ५५ थान कोभिड पोष्टर प्रदान गरेको छ ।
हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनलाई धन्यवाद दिँदै मन्त्री रावलले कोभिड–१९ महामारीको कठिन समयमा गरेको सहयोगले कर्णालीलाई ‘ग्रिनजोन’ बनाउन सहयोग पुग्ने बताए । “कोभिड–१९ विश्वव्यापी सङ्कट बन्दै गएको छ”, उनले भने, “अबका आउने दिनहरू अझै चुनौतीपूर्ण रहेकाले सेभ द चिल्ड्रेनको थप सहयोगको अपेक्षा गर्छौं ।” सेभ द चिल्ड्रेनले कोभिड–१९ महामारीको योजनामा शुरुआतदेखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले बताए ।
कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने काम प्राथमिकता रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेलले बताए । उनले यो महामारीको समयमा हस्तान्तरित स्वास्थ्य सामग्रीले कोरोनाको प्रभावकारी रोकथाम, उपचार र व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । रासस