काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले मृत्यु भएकी महिला सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला भएकी जानकारी दिएका छन् । उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी थिइन् ।
उनकाे २४ गते डेलिभरी भएको र उनी अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर गएकी बताएकाे छ ।
उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकाे तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको हाे ।
यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।