कोरोना सङक्रमितले भरिए रुपन्देहीको अस्पताल
रुपन्देही । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए । कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्यया रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्ययाको आवश्यकता देखिएको छ । अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताए । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् । अस्पतालको आइसोलेसन श्यया भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । रासस
प्रेस लेखेको बाइकमा हातहतियार बोकेर हिँड्ने दुई जना पक्राउ
सर्लाही। मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु जिल्लाकाे बिष्णु गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह हुन्। उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।
राहतको सट्टा रोजगारी
काठमाडौं । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ । नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम शुरु गरेको हो । सो नगरपालिकाको वडा नं ३ मा करिब ६ सय परिवारलाई लक्षित गरी उक्त कार्यक्रम शुरु गरिएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । कार्यक्रमको पहिलो दिन शनिबार ८५ जना रोजगारीमा संलग्न भएको थिए । उनीहरुलाई सोही वडाको हम्सेदुम्से सामुदायिक वनसँगको सहकार्यमा रोजगारी प्रदान गरिँदै आएको उनले बताए । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई लक्षित गरिएको कार्यक्रमअनुसार उक्त सामुदायिक वन क्षेत्रका काममा परिचालन गरिएको उनले बताए । उनका अनुसार वन क्षेत्रमा अहिले वृक्षरोपण गर्ने समय भएकाले वन क्षेत्रमा रहेको झाडी फाँड्ने, आँप बगान गोड्ने, खाल्डो खन्ने कार्य शुरु गरिएको छ । पहिलो चरणमा करिब ६ सय परिवारलाई रोजगारी दिइने तयारी गरिएको र अन्य क्षेत्रमा समेत त्यसरी नै रोजगारीको व्यवस्थापन गर्न लागिएको उनले बताए । स्वास्थ्य सुरक्षासहित सामाजिक दूरी कायम हुने गरी काम शुरु गरिएको हो । दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका एक परिवारलाई दुई दिन रोजगारी दिइने तथा त्यस्ता श्रमिकलाई सरकारले तोकेको दैनिक ज्याला वा खाद्यान्न दिइने वडासचिव सन्दीप सुवेदीले जानकारी दिए । नगरपालिकाले बन्दाबन्दीका क्रममा श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई भने खाद्यान्न राहत नै प्रदान गरिने छ । सो सामुदायिक वनका अध्यक्ष हिमालय दाहालका अनुसार श्रमिकलाई सामाजिक दूरी कायम गराउन वन समिति र वडा कार्यालयले निगरानी गर्न हरेक टोलीमा एक जना स्वयंसेवकसमेत खटाइएको छ । नगरपालिकाले आगामी वर्षदेखि यही मोडलको कार्यक्रमलाई योजना बनाएर सबै वडामा विस्तार गर्ने योजना रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिए । उनले वडा नं ३ को कार्यक्रमको नतिजाले अन्य वडामा पनि विस्तारमा सहयोग पुग्ने बताए । रासस
चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा नागढुंगाबाट एक जना प्रक्राउ
काठमाडौं । चिकित्सकलाई दुव्र्यवहार गरेको आरोपमा नागढुंगा नाकामा खटिएका एक स्वयंसेवी पक्राउ परेका छन् । बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दव्र्यवहार गरेको आरोपमा चन्द्रगिरिका उत्तम कार्की पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएका हुन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी परिसरले जानकारी दिए । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । रासस
‘सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्याे ?’
काठमाडाैं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताएका छन् । नेपाल सरकारको आव २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप लगाए । उनले भने, ‘सरकारसँग यो अप्ठेरो बेला भविष्यका लागि जनता आश्वस्त हुने योजना छैन । एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ ।’ नेता देउवाले सो अवसरमा कोरोना सङ्क्रमणको जोखिमसँग जुधेर देशभरि अग्रपङ्त्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाइकर्मीदेखि कोरोनाबाट सङ्क्रमित नागरिक र यो महामारीका कारण दुःखमा परेका किसान, स्वदेश तथा विदेशमा रोजगारी गुमाइरहेका श्रमिक, विदेशबाट घर फर्कन चाहेका तर नपाएका अप्ठ्यारोमा परेका नागरिक, बसेको ठाउँमा राहत नपाएर सयौँ किलोमिटर हिँडेर घर जान बाध्य हजारौँ मजदुर, विद्यार्थी र बेरोजगारलाई स्मरण गरे । उनले भने, ‘उपचार पाउन कठिनाइमा परेका अन्य रोगका बिरामी, उद्योग व्यापार बन्द भएका साना ठूला उद्यमी व्यापारी, बिहान साँझको छाक टार्न नसक्ने अवस्थामा पुगेका मजदुर, समस्यामा परेका गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सम्झिरहेको छु । म परीक्षण सामग्रीको अभावमा कोरोना परीक्षणको प्रतीक्षामा बसेका नागरिक र भाइरसको महामारीले आफू र परिवारलाई कसरी जोगाउने, प्रकोप बढ्दै गए स्थिति के होला, यसले मुलुकलाई के गर्ला भनेर सन्ताप र त्रासमा बसेका नेपाली दिदीबहिनी, दाजुभाइको स्मरण गरिरहेको छु । अनि हिजोमात्रै समयमै उपचार नपाएर कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी, उनको काखको शिशु र उनको परिवार सम्झिरहेको छु ।’ सरकारले यी सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनुपर्ने समय हो भन्दै नेता देउवाले सरकारले ल्याउने नीतिले यस्ता सबै विषयलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा रहेको तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको टिप्पणी गरे । सरकार महामारी नियन्त्रण गर्ने व्यापक तयारी गर्न चुकेको भन्दै सभापति देउवाले कोरोना देखिएको यति लामो समयपछि पनि स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायत आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, विश्वसनीय परीक्षण किटको अभाव हुनु, अस्पतालमा भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको आपूर्ति नहुनु, कोरोना प्रभावबाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, सिमाना बाहिर बिचल्लीमा रहेका र देशभित्र र घरबाहिर पनि असहाय अवस्थामा रहेका नागरिकलाई सुरक्षित र इज्जतपूर्वक घरमा पुर्याउने योजना नहुनुले जनताले सरकार भएको अनुभूति गरेका छैनन् । ‘म प्रश्न गर्न चाहन्छु सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्याे ?’ स्वास्थ्य सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पिसिआर परीक्षणको दायरा व्यापकरुपले समुदायस्तरमा पुर्याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहतको व्यवस्थित प्याकेज ल्याउन र विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काएर मापदण्डयुक्त क्वारेन्टाइनमा व्यवस्थितरुपले राखेर परीक्षणपश्चात् घर पुर्याउने बन्दोबस्त मिलाउन उनले सरकारसमक्ष माग गरेका छन् । दुई वर्ष पहिलेका नीति तथा कार्यक्रममा उल्लेख गरिएका नै कतिपय योजना र कार्यक्रम अहिले पनि पुनरावृत्ति गरिएको बताउँदै उनले यसले नीति तथा कार्यक्रमको कार्यान्वयन फितलो भएको टिप्पणी गरे । विकासको गति गजबले अगाडि बढेको दाबी गर्ने सरकारलाई न्यून पूँजीगत खर्चको अवस्थाले जिस्काइरहेको उनको भनाइ थियो । राजश्वको यो वर्षको लक्ष्यसमेत नभेटिएको परिप्रेक्ष्यमा पुराना योजना पनि दोहोर्याउने र महामारीसँग लड्न नयाँ खर्च पनि छुट्याउने हो भने यो सबैका लागि स्रोत कहाँबाट आउँछ भनी नेता देउवाले प्रश्न गरे। उनीहरुलाई बैंकबाट उपलब्ध हुने पूँजी सरकारले आन्तरिक ऋण उठाउने र जथाभावी वैदेशिक ऋण लिने गलत नीतितर्फ जाने उनको आरोप छ । कोरोनाले मुलुकका सबै क्षेत्रलाई अत्यन्त नकारात्मक रुपले प्रभावित गरेको छ । यसका अल्पकालीन र दीर्घकालीन प्रभाव रहने बताउँदै नेता देउवाले सरकारका नीति तथा कार्यक्रम समस्या समाधानतर्फ उन्मुख नभएको, देशभित्र उद्योगधन्दा, निर्माण क्षेत्रमा पर्ने प्रभाव र विदेशबाट देश फर्किनेको ठूलो सङ्ख्याले बेराजगारीको समस्या भयावहरुपले बढ्ने विषयमा सम्बोधन गर्न सरकारसँग इच्छाशक्ति, क्षमता, इमान्दारी र दूरदृष्टिको नितान्त अभाव रहेको टिप्पणी गरे । सरकारले अहिले पनि उद्योग, रेमिट्यान्स आदि क्षेत्रमा कोरोनाबाट भएको प्रारम्भिक क्षति अनुमान गर्न नसकेको बताउँदै उनले यसले राहत पाउनुपर्ने उद्योगलाई प्रोत्साहित गर्ने विषय नीति कार्यक्रममा नसमेटिएको, सरकारसँग निर्यात बढाउने विश्वसनीय र नयाँ योजना नभएको धारण राखे । नेता देउवाले भने, ‘अहिले कोरोनाबाट व्यापकरुपमा प्रभावित भएको पर्यटन क्षेत्र पनि हो । पर्यटन प्रवद्र्धनसम्बन्धी कुनै नीति आएको छैन । केही एयरपोर्टको निर्माण र मर्मतमात्र दिगो र गुणस्तरीय पर्यटनको स्रोत होइन । सबैभन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा पुराना सामान्य किसिमका विषयको पुनरावृत्तिबाहेक कुनै नवीन सोच र योजना छैन ।’ नेता देउवाले नेपाली भूभागमा भएको अतिक्रमण र सडक निर्माणबारे छिमेकी मुलुक मित्र राष्ट्र चीनसँगसमेत उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरी समस्याको समाधान गर्नुपर्ने तथा अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धी सम्झौता एमसिसीलाई यो सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान
बेइजिङ । चीनमा कोरोना भाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोना भाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ । सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९ सय ४७ पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २ सय २७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ । रासस/पिटिआई
कोरोनाबाट आमा गुमाएका १२ दिने शिशुसहित ४ जना आइसोलेसनमा, सबैकाे स्वाब संकलन
काठमाडाैं । कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएकाे छ ।
फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै
तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र निर्माण थालिएको हो । नगरपालिकाले एउटै ढाँचाका संकलन केन्द्र निर्माण गर्ने गरी रु तीन लाखका दरले ३३ लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको व्यास नगरपालिकाले जनाएको छ । व्यास बजार क्षेत्रमा रहेका २, ३ र ४ वडामा नगरपालिकाले नै कृषकका लागि बिक्रीवितरण गर्ने विक्रीकक्ष बनाउन प्रक्रिया अघि बढाइसकेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । पर्यटन र उद्योगले गति लिन नसक्ने अवस्था आएपछि फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनासहित नगरपालिकाले पहल कदमी थालेको उनले बताए । वडा कार्यालयमा कृषि क्षेत्रका लागि न्यूनतम १० लाख रूपैयाँ नघटाई आगामी बजेटमा सम्बोधन गर्ने योजना छ । व्यास–१ का वडाध्यक्ष खरसिं दरैले वडामा निर्माण गरिएको संकलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको बताए । व्यास–१ स्थित बुल्दीखोला पुल नजीकको ओरालामा तीन कोठाको संकलन केन्द्र निर्माण गरिएको उनले बताए । वडामा फलफूल तथा तरकारी संकलन केन्द्र नहुँदा खुला आकाशमुनि घामपानी र हावाहुरी नभनी सडक किनार छेउमा बसेर बिक्रीवितरण गर्नुपर्ने सर्वसाधारणको बाध्यता थियो । व्यास– ७ मा भने लकडाउनका कारण संकलन केन्द्र निर्माण प्रभावित भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । क्वारेन्टिनमा बस्ने बढ्दै जिल्लामा क्वारेन्टिनमा बस्ने बढ्दै जान थालेका छन् । वैशाखको अन्तिम सातामा न्यून हुँदै गएकामा पुन : थपिने क्रम बढ्न थालेको छ । वैशाख २८ गतेसम्म ३८ जना क्वारेन्टिनमा रहेकामध्ये ३१ जना घर फिर्ता भई सात जना मात्रै क्वारेन्टिनमा बस्दै आएका थिए । गत बिहीबार र शनिबार तीनतीन जना थपिएपछि क्वारेन्टिनमा बस्नेको संख्या एक महिलासहित १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जिल्लामा हालसम्म शङ्कास्पद ८ सय ६२ मध्ये ५ सय ७० पुरुष र ८२ महिला गरी ६ सय ५२ को आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ को स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र पाँचको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताए । जिल्लाका क्वारेन्टिन व्यास, घिरिङ र देवघाट गाउँपालिकामा तीनतीन तथा भानुनगरपालिका र आँबुखैरेनी गाउँपालिकामा दुईदुई गरी तेह्र जना छन् । जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४ सय ९३ महिलासहित एक हजार ९ सय ७ जनाको तापक्रम मापन गरिसकिएको बताइएको छ । रासस