नेपाल बङ्गलादेश बैँककाे सबै कर्मचारीको कोरोना बीमा
काठमाडौं । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस कोभिड १९ महामारी विरुद्धको बीमा गरेको छ । बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । बैक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो । सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । हाल बैकले आफ्ना ९५ वटा शाखा कार्यालय मार्फत नेपालभरी आफ्नो बैकिंग सेवा दिइरहेको छ ।
सरकारले तयार गर्यो लिम्पियाधुरासहितको नक्सा, छिट्टै सार्वजनिक गरिने
काठमाडाैं । सरकारले लिम्पियाधुरासहितकाे नक्सा तयार गरेकाे छ । नेपाल सरकारले भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको हाे । सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न सरकारले नापी विभागलाई निर्देश गरिसकेकाे बताइएकाे छ । नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ ।
ह्रदयघातपछि श्रममन्त्री यादव गंगालाल अस्पतालमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रमेश्वर राय यादवलाई ह्रदयघात भएको छ । ह्रदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हस्दय रोग केन्द्रमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार यादव अहिले खतरामुक्त छन् ।
सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत
काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रममा नेपाली काँग्रेस सांसद डा मिनेन्द्र रिजालले संशोधन प्रस्ताव प्रस्तुत गर्दै स्थिरता र स्थायित्वका लागि नीति तथा कार्यक्रममा सञ्चारजगत्लाई मर्यादित र अनुशासन बनाउने उल्लेख भएकोे भन्दै पहिले सरकार आफू मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिए । साथै उनले इतिहासकै कठिन चुनौतीमा रहेको वर्तमान अवस्थामा उत्पन्न हुने आर्थिक सङ्कटलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नीतिमा नभएको धारणा व्यक्त गर्दै अप्ठ्यारोमा परेका जनतालाई तत्कालको समस्या समाधानका लागि आवश्यक कार्यक्रम ल्याउन आग्रह गरे । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीको तर्फबाट संयुक्त संशोधन प्रस्ताव प्रस्तुत गर्दै लक्ष्मणलाल कर्णले कृषि, उद्योग, पर्यटन, श्रमलगायत सबै क्षेत्रलाई तत्काल राहतको आवश्यकता रहेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा कृषि प्राथमिकतामा नपरेको भन्दै संविधान संशोधन र सबैका अधिकार सुनिश्चित गर्न र लाल आयोगको प्रतिवेदन प्रकाशन गर्न मााग गरेका छन् । साथै उनले प्रदेश नं २ र कर्णाली प्रदेशका लागि विकास तथा समृद्धि गर्न एउटै कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । अर्का संशोधन प्रस्तावकर्ता प्रेम सुवालले समाजवाद उन्मुख लेखेर मात्रै नहुने भन्दै त्यसका लागि उत्पादनका मुख्य साधनलाई सामाजीकरण गरी व्यक्तिलाई होइन समग्र जनतालाई अवसर दिनुपर्नेमा जोड दिए । संशोधन प्रस्तावकर्ता सरिता गिरीले नीति कार्यक्रम परम्परागत र औपचरिकतामा सीमित भएको आरोप लगाउँदै कोरोनाबाट परेको प्रभाव र जनतालाई राहतका बारेमा खासै सम्बोधन नगरेको टिप्पणी गरे । संशोधन प्रस्तावकर्ता दुर्गा पौडेलले नीति तथा कार्यक्रममा समाजवाद उन्मुखका लागि ठोस कार्यक्रम नभएको भन्दै अहिलेको अवस्थामा विकेन्द्रित र सन्तुलनको नीति अपनाउनुपर्ने आवश्यकता औँल्याए । बैठकमा यसअघि प्रधानमन्त्रीको तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सम्माननीय राष्ट्रपति महोदयले यही जेठ २ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७७/७८ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । रासस
अब उद्योगी व्यवसायीले पास लिँदा कर चुक्ता प्रमाणपत्र देखाउनु पर्ने
काठमाडाैं । सरकारले लकडाउनकाे समयमा सवारी पास लिने चाहनेहरुका लागि नयाँ व्यवस्था गरेकाे छ । अब सवारी पास चाहनेहरुले अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासनसँगै सरकारको निर्णयका आधारमा उद्योगी व्यवसायीले सावरी सञ्चालनका लागि लिइने सवारी पासका लागि अनिवार्य कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ छ। विभागमा महानिर्देकशक नेत्रप्रसाद सुवेदीले पनि सवारी पासका लागि अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने बताए। सरकारी निर्णयअनुसार सवारी पासका लागि कर चुक्ता प्रमाण पत्र मागिएको बताए । विभागले लकडाउन अगाडिसम्मको कर तिरेको चुक्ता प्रमाण पत्र खोजको उनकाे भनाइ छ । सरकारले आाजबाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने पनि बताएकाे छ । पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको वाणिज्य विभागबाट र उद्योग तर्फको उद्योग विभागबाट नयाँ पासको वितरण गर्न सुरु गरिएकाे हाे । सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । ४४ प्रकारका उद्योग सञ्चालनका लागि आजबाट उद्योग विभागले नै पास दिन थालेको उनले बताए । उद्योग विभागको हकमा भने निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अर्फ कर्मको सहकार्यमा आजबाट पास दिन थालिएको हो ।
लकडाउन दुई हप्ता थप्ने सरकारको तयारी
काठमाडौं। कोरोना भाइरसको कारण जारी लकडाउनलाई दुई हप्ता थप्ने सरकारले तयारी गरिरहेको छ । चैत ११ गतेदेखि जारी लकडाउनकाे समयावधि भाेलि सकिँदै छ । वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको स्राेतले बताकाे छ । स्रोतका अनुसार अब लकडाउनलाई थप प्रभावकारी र रणनीतिक तरिकाले अगाडि बढाइने छ । अब लकडाउन कसरी अगाडि बढाउने र कतिसम्म बढाउने भन्नेबार अहिले उच्चस्तरीय समितिको अनौपचारिक बैठक बसिरहेको छ । सो बैठकले लकडाउनलाई कहिले सम्म बढाउने भन्ने मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ । काेराेना भाइरसका बिरामी बढ्दै गएपछि सरकारले लकडाउन पुन: बढाउने तयारी गरेकाे हाे । कोरोना रोकथाम तथा उपचारका लागि भएका प्रयासबारे छलफल गर्न दिउँसो अहिलेउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिको बैठक जारी छ । बैठकले कम्तीमा दुई साता लक डाउन थप्न सरकारलाई सिफारिस गर्ने स्राेतले बतायाे । आज नै बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक पनि बस्दैछ । समन्वयन समितिको सिफारिसका आधारमा बस्ने मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि थप गर्ने बताइएकाे छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकार पनि लकडाउन बढाउने र पीसीआर परीक्षणको दायरा बढाउने रणनीतिमा छ । यसअघि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो । राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधी अझै थप गर्ने बुझिएको छ । अवस्था हेरी लकडाउनलाई थप कडाइ गर्ने पनि सरकारको तयारी छ । पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरि संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ ।
भारतको महाराष्ट्रले लकडाउन दुई हप्ता बढायो
काठमाडाैं । भारतको महाराष्ट्र राज्यले लकडाउन अवधि दुईहप्ताको लागि बढाएको छ। महाराष्ट्र सरकारले मे ३१ सम्म लकडाउन लम्ब्याएको घोषणा गरेको भारतीय सञ्चार माध्यममा समाचार छ । आइतबार मध्यरातदेखि भारतमा लकडाउन अवधि समाप्त हुँदैछ। यसबीचमा महाराष्ट्रले लकडाउन चौथो पटक बढाएको हो। भातरमा यसअघि ३ पटकसम्म लकडाउनको अवधि थपिएको छ। त्यहाँको सरकारले पुनः लकडाउन लम्ब्याउने तयारी थालेको पनि बताइको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या कोरोनाको उद्गमस्थल चीनमाभन्दा बढी पुगेको छ। चीनमा दैनिक काेराेना संक्रमितकाे संख्या बढ्द ैगएकाे छ ।
धनुषामा कोरोना सङ्क्रमितकाे संख्या सात पुग्यो
काठमाडाैं । धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका-९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए । ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको उनले बताए । ती दुवै व्यक्ति लकडाउनको अवधिमा चितवनबाट साइकल चढेर जनकपुर आएको जानकारी जनाइएको छ । उनीहरुलाई नगराइनको स्थानीय क्वारेन्टाइनमा राखिएको थियो । यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी विज्ञप्तिका अनुसार रौतहटका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अब सो जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको जनाइएको छ । रासस