मोरङमा २ र धनकुटामा १ जनामा देखियाे काेराेना
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मोरङमा २ र धनकुटामा १ जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा संक्रमण देखिएको हाे । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।
ऋण ४ खर्बले बढ्दा प्रोभिजनिङ् साढे २ अर्ब बढ्यो, वितरणयोग्य नाफा १८ अर्ब कम
काठमाडौं । बैंकहरूकाे कर्जामा बृद्धी भएसँगै खुद प्रोभिजन रकम पनि बढेकाे छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको साेही अवधिमा बैंकहरूकाे ऋण लगानी ४ खर्ब ८८ करोड रुपैयाँ र प्रोभिजन २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँले बढेकाे हाे । बैंकहरूले प्रकाशित गरेकाे चैत मसान्तसम्मकाे परिष्कृत वित्तीय विवरण अनुसार प्राइम कमर्शियल बैंकले सबैभन्दा बढी ऋण लगानी गरेको छ । कैलाश विकास बैंकलाई प्राप्ति (एक्वायर) गरेको प्राइमले सो अवधिमा ४२ अर्ब ८७ लाख रुपैयाँभन्दा बढीको ऋण लगानी गरेको छ । एनआईसी एशिया बैंकको भने ऋण लगानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा एनआईसी एशिया बैंककाे ऋण रकम ४ लाख ३ हजार रुपैयाँले घटेको छ । त्यस्तै, बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ वटा बैंकबाहेक बाँकी बैंकको प्रोभिजन बढेको छ । सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको एनएमबि बैंकको प्रोभिजन १ अर्ब ३० करोड २६ लाख रुपैयाँले बढेको छ । कृषि विकास, सेञ्चुरी, एभरेष्ट, हिमालयन, जनता, कुमारी, मेगा, नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, प्रभु, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्राभिजन गत वर्षको भन्दा घटेको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको प्रोभिजन ४२ करोड ८० लाख रुपैयाँले घटेको छ । त्यस्तै, बैंकहरुले प्रकाशित गरेका चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा र वितरण योग्य नाफा भने घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तमा नाफा ४२ करोड १७ लाख रुपैयाँले र वितरणयोग्य नाफा १८ अर्ब २५ करोड रुपैयाँले घटी हो । सो अवधिमा १३ बैंक बाहेक बाँकीको नाफामा वृद्धि भएको छ । सबैभन्दा बढी ग्लोबल बैंकसँग मर्ज भएको जनता बैंकको नाफा एक अर्ब रुपैयाँले घटेको छ । गत वर्षको तुलनामा यस वर्षको चैत मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी नाफा कमाएको छ । सो अवधिमा बैंकले ८३ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बाहेक बाँकी सबै बैंकहरुको वितरणयोग्य नाफा घटेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक वर्षको अवधिमा २० करोड ६८ लाख रुपैयाँले वितरणयोग्य नाफामा वृद्धि गरेको छ । वितरणयोग्य नाफा घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा बढी घटेको छ । गत आवको चैत मसान्तको तुलनामा बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड रुपैयाँ कम रहेको छ । त्यस्तै, ६ वटा बैंकको वितरणयोग्य नाफा एक अर्ब रुपैयाँ बढीले घटेको छ ।
न्युरोडको प्युखामा आगलागी
काठमाडाैं । न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतबार साँझ सवा ६ बजे लागेको आगोले विभिन्न पसलमा क्षति पुगेको छ। आगो विद्युत सर्ट भइ लागेको हुन सक्ने बताइएकाे छ । आगलागीका कारण के कति क्षति पुग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।
बर्दियाका संक्रमित कालीमाटीका व्यवसायी, पाँच दिनअघि काठमाडौँ आएका थिए
काठमाडाैं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौँ फर्किएको स्थानीय प्रशासनले जनाएको छ । काठमाडौंँमा स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो । उनलाई कोरोना पुष्टि भएपछि लालपुर शनिबार दिउँसोदेखि बन्द गरिएको छ । कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंँ गएका थिए । उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए । शनिबार दिउँसोदेखि लालपुरका कसैलाई पनि घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बर्दियामा हालसम्म दुई जनामा कोरोना पुष्टि भइसकेको छ । रासस
अब सेलपेबाटै कोरोना बीमा गर्न सकिने, यस्ताे छ प्रक्रिया
काठमाडौं । कोरोना भाईरस विरुद्धको बीमा अब सेलपे सेवाबाटै गर्न सकिने भएको छ । सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस(कोभिड-१९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने छन् । हाल विश्वभरी कोरोना भाईरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेले उक्त सुविधा ल्याएको हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्ससँगको कम्पनी सहकार्यमा कोरोना भाईरस विरुद्ध बीमा सुविधा खरीद गर्न सकिने छ । यसको मुख्य उद्देश्य भनेको कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको छ । यससँगै, ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन् । सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोभिड १९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन् । यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ । १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिनेछ । यस बीमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी भएको गर्नु १२ महिनासम्म कोरोना भाईरस पाजेटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सक्नेछन् । ग्राहकहरुले एक लाख रुपैयाँसम्मको कोनारा भाईरस विरुद्ध बीमा गराउन सक्नेछन् ।
अब सरकारले विदेशबाट दैनिक ६ हजार नेपाली स्वदेश ल्याउने
काठमाडौं । सरकारले विदेशबाट दैनिक ६ हजार नेपाली स्वदेश ल्याउने तयारी गरेकाे छ । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्दार गरी स्वदेश ल्याउने तयारी गरेको बताइएकाे हाे । काेराेना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा यसबारे छलफल भएको स्राेतले बतायाे। उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ । यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखराका होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएकाे छ ।
डिजिटल भुक्तानी सेवामा अघि बढ्दै सिभिल बैंक, गर्यो सेलपेसँग सहकार्य
काठमाडौं । सिभिल बैंकले नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी गर्न सकिने छ । बैंकले हाल ११३ शाखाहरु, २ एक्स्टेन्सन काउन्टर र ८५ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।
आज मे १७: ‘फरक यौनिकता मानसिक रोग होइन’
काठमाडौं । “अहिले स्वतन्त्ररुपमा आफ्नो परिचयसहित हिँड्न पाउँदा निकै खुशी छु, कुनै बेला छक्का र हिजडा भनेर अपमानित गर्नेहरुले पनि अहिले विन्दिया जी भनेर सम्मान गरेको पाउँछु”, नौलो बिहानी पोखराका अध्यक्ष विन्दिया गौतमले भने, “चौध वर्ष अगाडिदेखि आजसम्म अधिकांश समय मानसिक विक्षिप्तता लिएर बाँचेको अनुभव छ ।” जैविकरुपमा छोरा भएर जन्मँदा परिवार र समाजले छोरा नै ठान्नु तर आफ्नो सम्पूर्ण स्वभाव छोरी हुनु, मेरा लागि मात्रै होइन परिवारका लागिसमेत उत्तिकै चिन्ताको विषय बन्यो ।” गौतमले भनिन्, “आज मानसिक समस्याबाट टाढा रहेर स्वतन्त्र जीवन बाँचेकी छु, अब अरुको स्वतन्त्र जीवनका लागि आवाज उठाएर मानव अधिकार स्थापित गर्ने दौडानमा क्रियाशील छु ।” आज मे १७ लाई विशेषरुपमा सम्झँदै विन्दियाले भनिन्, “फरक यौनिकता हुनुलाई विश्व समुदायमै असामान्य रुपले लिइन्थ्यो, यस्तो अवस्थालाई मानसिक रोग वा सामाजिक विकृति भनेर बुझ्ने गरिन्थ्यो । सन् १९७० मा अमेरिकी वैज्ञानिक सङ्घ र अमेरिकी मनोरोग चिकित्सक सङ्घले एलजिविटी हुनु भनेको कुनै मानसिक रोग नभएको पुष्टि गर्दै मानसिक रोगीको सूचीबाट हटायो । त्यस्तै सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले पनि एलजिविटीलाई मानसिक रोगीको सूचीबाट हटाएको थियो, यो समुदायले आजको दिनलाई एक उत्सवकाे रुपमा मनाउँदै आएका छन् ।” हाल विश्वभरि देखिएको कोरोना सङ्क्रमणको कारणले आजका दिनका सबै कार्यक्रम भने रोकिएको उनले जानकारी दिए । जीवनमा अपहेलना तिरस्कारसँग जुध्दै आफ्नो फरक पहिचानलाई स्थापित गराउन सफल गौतम सन् २००६ बाट आफ्नो अस्तित्वको लडाइँमा उत्रिएका हुन् । आफ्नो फरक हुर्काइका कारण आमाबुबाले समेत धेरै मानसिक पीडा भोग्नुपरेको अनुभव सुनाउँदै गौतम भन्छन्, “आमाहरुले छोरा भएर जन्मेर छोरी हुने कस्तो रोग लागेछ भन्दै भाग्यलाई धिक्कार्नुहुन्थ्यो । समाजले हिजडा र छक्का भनेर हेयको दृृष्टिकोणले हेथ्र्यो, पृथ्वीनारायण क्याम्पसमा स्नातक भर्ना हुँदा पनि म धेरैको नजरमा हाँसोको पात्र बन्थेँ । त्यसपछि मलाई पढ्न जानै मन लागेन ।” सन् २००७ नौलो बिहानी समाज भनेर संस्था खोलेपछि अफिसमा केटीको पहिरन लगाएर बस्ने र घर आउँदा केटा भएर आउने गरेका अनुभवहरु उनीसँग छन् । जीवनमा पहिलोपल्ट २००७ मा ‘मिस पिङ्कमा’ फष्ट रनरअप हुँदाको पलले खुशी दिएको र दोस्रोपल्ट आमाबुबाले आफ्नो अवस्थालाई स्वीकारेर दिएको आत्मियताले आफ्नो आत्मबल र आत्मविश्वास बढ्दै गएको बताउँछन् । गौतमका अनुसार ‘यो पाँच प्रकारको हुन्छ ‘लेस्बियन’ भनेको महिला समलिङ्गी हो । जो जन्मदा बालिका भएर जन्मिएको हुन्छ र आफू महिला भएर पनि महिलासँग नै मानसिक, शारीरिक र भावनात्मकरुपले आकर्षण रहन्छ, गे– पुरुष समलिङ्गी, जो जन्मदा बालक भएर जन्मन्छ र पुरुषसँग नै आकर्षण हुन्छ । बाइसेक्सुअल– दुई लिङ्गी जो व्यक्ति महिला पुरुष दुवैसित आकर्षण हुन्छ । ट्रान्सजेन्डर– तेस्रो लिङ्गी बालक भएर जन्म भएको र पछि बयस्क बन्ने क्रममा आफूलाई महिला सोच्ने र पुरुषलाई मन पराउनेलाई तेस्रो लिङ्गी महिला भनिन्छ । जन्मदा बालिका भएर जन्मिएको र पछि हुर्कंदै बढ्ने क्रममा आफूलाई कहिल्यै पनि महिला नठान्ने, पुरुषको हाउभाउ गर्ने र महिलाप्रति आकर्षित हुने व्यक्ति तेस्रो लिङ्गी पुरुष हो । इन्टरसेक्सड्– जो जन्मदा न महिला न पुरुषको जस्तो हुन्छ उसको लिङ्ग नै प्रष्ट हुँदैन उसलाई अन्तरलिङ्गी बच्चा भनिन्छ । तेस्रो लिङ्गी महिला जो जन्मदा बालक र हुर्कने बढ्ने क्रममा महिलाको जस्तो हाउभाउ गर्नेे महिलाको भावना विकास भएको र आफूलाई तेस्रो लिङ्गी महिला भनेर चिनाउन गर्छन् ।” निलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले यस समुदायका मानिसले सामाजिक, आर्थिक, मानसिक, राजनीतिक, सांस्कृतिक विभेद र हिंसा भोग्नु परेको बताउँछन् । उनले संविधानको धारा १२ मा लैङ्गिक पहिचानबमोजिम नागरिकता उपलब्ध गराउने भनिए पनि नागरिकता विधेयकमा भने चिकित्सकीय सिफारिसमा मात्र नागरिकता उपलब्ध गराउने भनेपछि यसले थप समस्या उत्पन्न गराएको उनको भनाइ छ । यस समुदायका व्यक्ति सबैको स्वास्थ्य जाँच र लिङ्ग परिवर्तनको कुरा कत्तिको पहुँचमा होला र कति उपयुक्त हो भन्ने नै अहिलेको चुनौती भएको उनी बताउँछन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घका अध्यक्ष मनिषा ढकालले कूल जनसङ्ख्याको करिब आठदेखि १० प्रतिशत जनसङ्ख्या यो समुदायअन्तर्गत रहन सक्ने अन्तर्राष्ट्रिय आँकलन रहेको बताए । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय एकदमै प्राकृतिक तर समाजले नबुझिदिँदा आफ्नै पहिचान र अधिकारका लागि निरन्तर लडिरहेको समुदाय होे, अझै पनि खुलेर बाहिर आउन सकिरहेका छैनन्, त्यसैले पनि यकिन तथ्याङ्क बाहिर ल्याउन समस्या भएको छ”, ढकालले भने । उहाँले नागरिकता विधेयकले यस समुदायको आत्मसम्मानमा चोट पु¥याएको र पहिचानको नागरिकता लिनबाट व्यवधान सिर्जना गरेको बताए । यस समुदायका लागि उत्सवका रुपमा मानिने मे १७ कोरोना त्रासले विशेष कार्यक्रम हुन नसकेको भन्दै उहाँले भर्चुअल बैठकबाट समुदायका व्यक्ति बीचमा शुभकामना आदानप्रदान गरेर, साझा समस्या र चुनौतीका बारेमा छलफल हुने जानकारी दिए । रासस